नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरूङले पार्टी सभापति पदमा उठ्ने औपचारिक घोषणा गरेका छन्।
काठमाडौंमा बुधबार पत्रकार सम्मेलनमा गरेर उनले पार्टी नेतृत्व युवाको हातमा आउनुपर्ने भएकोले सभापति लड्न आफूले आँट गरेको बताए।
सभापति पदमा उम्मेदवारी घोषणा गर्दा उनको साथमा परिचित नेताहरू थिएनन्। महाधिवेशन प्रतिनिधि आनन्द सन्तोषी राई र नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा मात्रै थिए।
पार्टीमा ९ लाख क्रियाशील सदस्य रहेको र तीमध्ये ६० वर्ष उमेरमुनिका ८० प्रतिशत रहेकोले युवाको प्रतिनिधित्व गर्न सभापतिमा उठ्ने निर्णयमा आफू पुगेको गुरूङले बताए।
‘६० वर्षमाथि उमेर समूहबाट पार्टीमा क्रियाशील सदस्य २० प्रतिशत हाराहारी मात्रै छ। तर सभापतिका दाबेदार ६० वर्षमाथिकै १० जनाभन्दा धेरै नेताहरू हुनुहुन्छ,’ गुरूङले भने, ‘६० प्रतिशत युवाको प्रतिनिधित्व गर्दै म यसपटक सभापति पदमा उठ्न लागेको हुँ।’
नेविसंघका पूर्वअध्यक्ष गुरूङ ५१ वर्षका भए। युवाको साथ लिएर युवा नै पार्टी नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएको गुरूङ बताउँछन्।
उनले पार्टीभित्रका करिब २० जना युवा केन्द्रीय सदस्यसँग पनि आफूले कुराकानी गरेको बताए।
‘६० वर्षमाथिबाट पार्टीमा १० जना सभापतिका लागि उम्मेदवार भए ६० वर्ष मुनिबाट २० जना दाबेदार हुनुपर्यो,’ उनले भने, ‘यसबारे मैले युवा केन्द्रीय सदस्यहरूसँग पनि कुरा गरेँ। युवा नेताहरू यसपटक केन्द्रीय सदस्य नउठ्ने हो भने नयाँ साथीहरूले केन्द्रीय समितिमा आउने अवसर पाउनुहुन्छ। केन्द्रीय सदस्य भइसकेकाहरू पदाधिकारी उठ्दा भइगो।’
६० वर्षमुनिका नेताहरूले सभापतिमा उम्मेदवारी नदिने हो भने क्षमतामै प्रश्न उठ्ने उनले बताए। ‘विभिन्न ४६ देशमा ६० वर्षमुनिकै नेता नेतृत्वमा पुगेका छन्,’ उनले भने, ‘बिपी ३३ वर्षमै कार्यबहाक सभापति हुनुभो।’
उनले पार्टीका संस्थापकमध्येका नेताहरू को कति उमेरमा पार्टी नेतृत्वमा र प्रधानमन्त्रीलगायत पदमा पुगेका थिए भन्ने आँकडा नै पेश गरेका थिए।
‘बिपी ३३ वर्षमै कार्यबहाक सभापति हुनुभयो र ३९ वर्ष हुँदा कांग्रेस सभापति हुनुभएको थियो। ४६ वर्ष हुँदा उहाँ प्रधानमन्त्री भइसक्नुभएको थियो,’ उनले भने, ‘मातृका कोइराला ३६ वर्ष हुँदा सभापति हुनु भएको हो, अनि अहिलेका युवाले किन आँट नगर्ने?’
उनले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा पनि ५२ वर्षकै उमेरमा प्रधानमन्त्री भएको, वरिष्ठ नेता रामचन्द्र पौडेल सभामुख भएको पनि बताए।
यतिमात्र होइन, उनले कृष्णप्रसाद भट्टराई २७ वर्षकै उमेरमा सभामुख भएको कुरा पनि सुनाएका थिए।
‘यस्तो पार्टीका कार्यकर्ता रहेका युवा आज किन नेतृत्व लिन सक्दैनन्?,’ उनले प्रश्न गरे, ‘के युवा नेतृत्व गर्न सक्षम छैनन्?’ आफू देशभर पुग्दा भने युवा सक्षम रहेको पाएको उनको भनाइ थियो।
गुरूङले आफू सभापति भएँ भने के सुधार गर्न सकिन्छ भन्नेबारे बताएका थिए। विधान संशोधन गरेर एक व्यक्ति एकै पदमा दुई पटकभन्दा धेरैपटक अवसर लिन नपाउने, स्थानीय तहमा महिला र पुरूषलाई ५०/५० प्रतिशत हुने गरी प्रमुख र उपप्रमुख उम्मेदवार बनाउने व्यवस्था विधानमै राख्ने उनले सुनाए।
दुई पटकभन्दा धेरैपटक मन्त्री हुन नपाउने संवैधानिक व्यवस्था गर्न पहल गर्ने, शिक्षा, स्वास्थ्य, सबै वडामा वर्थिङ सेन्टर बनाउने र पार्टीभित्र गुटबन्दी तथा भागबन्डा अन्त्य गर्ने योजना पनि उनले सुनाएका थिए।
उनले २०७२ सालमा भएको १३ औं महाधिवेशनमा भाग नलिएका ५० प्रतिशत नयाँ महाधिवेशन प्रतिनिधि यसपटकको महाधिवेशनमा आउने र तीमध्ये धेरै युवा भएकोले आफूले सभापति जित्ने दाबीसमेत गरे।
आफ्ना कुरा टुंग्याउनुअघि उम्मेदवारीलाई बार्गेनिङको माध्यम नबनाउन पनि गुरूङले नेताहरूमा अपिल गरेका छन्।
‘जसले जे पदमा उठ्छु भनेको छ त्यही पदमा उठ्नुस्, उम्मेदवारीलाई बार्गेनिङको माध्यम नबनाउनुस्,’ उनले भने। गुरूङ वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट भए पनि पौडेल पक्षले सभापतिको उम्मेदवार टुंग्याउनुअघि नै उनी आफैँ सभापतिमा अगाडि बढेका छन्।
कांग्रेसको १४ औं अधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा छ। वडा अधिवेशन भने भदौ १८ गते हुँदैछ। वडा अधिवेशनको मुखमा गुरूङले केन्द्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्। पत्रकारलाई अब भेट्दा पदाधिकारीको प्यानल नै घोषणा गर्ने उनले बताए।