हेल्प नेपाल नेटवर्कको २० औं स्थापना दिवस लण्डनमा एक कार्यक्रम गरी मनाइएको छ। लण्डन मेयरको कार्यालय रहेको लण्डन सिटी हलमा मंगलबार सांझ आयोजित कार्यक्रमका सहभागीहरुले हेल्प नेपालका कल्याणकारी कार्यहरुको खुलेर प्रशंसा गरे।
हेल्प नेपालले सञ्चालन गरेका विभिन्न प्रोजेक्टहरुबारेको भिडियो प्रिजेन्टेसन कार्यक्रममा देखाइएको थियो।
त्यसअवसरमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले हेल्प नेपाललाई एक उदाहरणीय संस्थाका रुपमा चर्चा गर्दै उसका परोपकारी कामहरु प्रशंसनीय रहेको बताए।
बिजनेस मामिलामा लण्डनका डेपुटी मेयर राजेश अग्रवालले हेल्प नेपालले नेपालमा सञ्चालन गरिरहेका कार्यहरुको प्रशंसा गर्दै लण्डन मेयरको कार्यालयबाट हुन सक्ने सहयोग गर्न तयार रहेको बताए।
त्यसअवसरमा लण्डन एसेम्बलीमा लेबर पार्टीका नेता लेन डुभल, एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्य, एनआरएन यूके अध्यक्ष योगकुमार फगामी लगायतले शुभकामना मन्तव्य दिदै हेल्प नेपालका कल्याणकारी कार्यहरुको प्रशंसा गरे।
हेल्प नेपाल नेटवर्क नेपालका अध्यक्ष अरुणसिंह बस्नेतले बेलायतका नेपालीको महत्वपुर्ण योगदानबाटै हेल्प नेपाल स्थापित बनेको भन्दै सहयोगी सबैप्रति आभार प्रकट गरे।
कार्यक्रममा हेल्प नेपाल नेटवर्कका तर्फबाट भगिरथ योगी र सचिन श्रेष्ठले प्रिजेन्टेसन गर्दै नेटवर्कले सञ्चालन गरेका प्रमुख प्रोजेक्टहरुबारे जानकारी गराएका थिए।
हेल्प नेपाल यूकेका अध्यक्ष डा प्रणव ज्ञवालीले स्वागत गरेको कार्यक्रमको अन्त्यमा यादव भण्डारीले धन्यवाद मन्तव्य दिए। अन्त्यमा नाम्लो ब्याण्डका गायक गंगा थापाले गायन प्रस्तुत गरेका थिए।