नेपालका अर्थमन्त्री डा. युवराज खतिवडा तीन दिनको छोटो बेलायत भ्रमण सकेर शनिबार स्वदेश फर्किएका छन्।
यसपटक उनको भ्रमण उद्धेश्य बेलायती लगानीकर्तालाई नेपालमा आकर्षित गर्नु थियो। आउँदो महिना नेपाल सरकारले गर्न लागेको लगानी सम्मेलनमा बेलायतबाट उल्लेख्य सहभागिता गराउन पनि मन्त्री डा. खतिवडा बेलायत आएका थिए।
लन्डनस्थित नेपाली दूतावासमा शुक्रबार आयोजित पाँचौं नेपाल विकास सम्मेलन अन्तर्गत खतिवडा ‘नेपालमा लगानीका सम्भावना’ विषयक अन्तरक्रियामा प्रमुख वक्ता थिए।
सम्वोधनका क्रममा उनले नेपालमा लगानीको वातावरण सुरक्षित र मुनाफा सुनिश्चित रहेकाले ढुक्क भएर लगानी गर्न आउन ब्रिटिश लगानीकर्ताहरुलाई आव्हान गरेका छन्।
मन्त्री खतिवडाले लगानी मैत्री वातावरण बनाउन नेपाल सरकार प्रतिवद्ध रहेको बताउँदै लगानीकर्ताहरुलाई सबै सुविधा एकै थलोबाट प्राप्त होस् भन्ने उद्देश्यले सरकारले एकद्वार प्रणाली सम्बन्धी निर्देशिका जारी गरिसकेको र आउँदो महिनाभित्रै सो प्रणाली कार्यान्वयनमा आउने पनि बताए ।
उनले नेपालमा कार्यरत विदेशी लगानीकर्ताहरुले लगानीको शतप्रतिशतसम्म मुनाफा आर्जन गरिरहेको बताउँदै त्यस्तो लगानी अन्यत्र पाउन नसकिने दावी पनि गरे ।
सो अवसरमा बोल्दै ब्रिटिश संसदको ‘अल पार्टी पार्लियामेन्टरी ग्रुप अन नेपाल’ का उपाध्यक्ष तथा हाउस अफ लर्डसका सदस्य लर्ड शेखले भारत तथा चीनको बीचमा रहेको नेपालमा लगानी गरेर ती दुई विशाल बजारहरुमा पहुँच पाउन सजिलो हुने जनाए ।
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपालले खुला, उदार अर्थनीति अपनाएको बताउँदै गैरआवासीय नेपालीहरु लगायत ब्रिटिश लगानीकर्ताहरुलाई नेपालमा सूचना प्रविधि, बायोटेक्नोलोजी, विद्युत तथा पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
‘डुइङ विजनेश इन नेपाल’ नामक छलफल सत्रमा बोल्दै गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्यले संसारका ८० मुलुकमा संघको शाखा रहेको र संसारभरि फैलिएका नेपालीहरुले व्यक्तिगत तथा सामूहिकरुपमा नेपालमा लगानी गरिरहेको बताए ।
डोल्मा इम्प्याक्ट फण्डका संस्थापक तथा प्रमुख कार्यकारी टिम गोचरले आफ्नो कम्पनीले ब्रिटिश तथा अन्य लगानीकर्ताहरुबाट रकम संकलन गरी नेपालमा ९ वटा परियोजना संचालन गरिरहेको र झण्डै चारहजार मानिसलाई रोजगारी दिएको बताए ।
ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजन कंडेलले नेपाल लगानीका लागि खुला रहेको, प्रतिष्पर्धा न्यून रहेको र उच्च मुनाफाका अवसरहरु रहेको बताए । छलफल सत्रको सञ्चालन वन टु वाच कम्पनीका प्रवन्ध निर्देशक सुमन जोशीले गरेका थिए ।
वान टु वाच कम्पनीका अर्का प्रवन्ध निर्देशक विलेम ग्रिमिन्कले नेपालले साना तथा मझौला उद्यमीहरुलाई सघाउन विशेष जोड दिनुपर्ने बताए ।
उक्त कार्यक्रममा एरो रुट्स, बर्गर स्याक, ग्रीन रोड वेस्ट म्यानेजमेन्ट, हजुरी खाद्य उद्योग, हेल्मेट्स नेपाल, लीफ प्लस, नो चिनी, अनियन फिल्म्स, सीडल्याण्ड नेपाल तथा द मिन्ट स्टुडियोका उद्यमीहरुले आकर्षक प्रस्तुति गर्दै आफ्ना उद्यमहरुमा लगानी गर्न आव्हान गरे ।
कार्यक्रममा डिएफआइडीको विकासकालागि व्यापार विभागका प्रमुख एण्ड्रयु म्याककब्री, नेपालस्थित डिएफआइडिका प्रमुख रुरिक मार्सडेन, सिडिसी ग्रुपको इन्टरमिडियरी ग्रुपका निर्देशक पियरे भ्यान हनिल्याण्ड लगायतका वक्ताहरुले नेपालमा लगानीको सम्भावना तथा सुधारका क्षेत्रहरुबारे बोलेका थिए ।
नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको उक्त कार्यक्रममा उल्लेख्य बेलायती तथा नेपाली व्यवसायी सहभागी थिए ।