ब्रेक्जिट सम्झौताको विषयमा युरोपेली संघसँग थप वार्ता गर्ने आफ्नो प्रयासलाई बेलायती प्रधानमन्त्री टेरेसा मेले जारी राखेकी छन्।
यही शिलशीलामा बुधबार उनी युरोपेली नेताहरू भेट्न जाँदैछन्। तर, युरोपेली संघका नेताहरुले भने थप वार्ता हुन नसक्ने आफ्नो अडान अझै छोडेका छैनन्।
यसअघि महिनौं लामो वार्तापछि युरोपेली संघ र बेलायती प्रधानमन्त्रीबीच ब्रेक्जिट सम्झौतामा सहमति भएको थियो। तर उक्त सम्झौता बेलायती संसदबाट भारी मतसहित विफल भएपछि प्रधानमन्त्री मे थप वार्ताको कोशिसमा जुटिरहेकी छन् ।
आयरल्याण्डको बोर्डरसम्बन्धी विषयमा बेलायतमा धेरै सांसदहरुको आलोचना भएको छ । प्रधानमन्त्री मेले सोहि विषयमा कानुनी रुपमै ग्यारेन्टी व्यवस्था गराएर सम्झौताको पक्षमा सांसदहरुको समर्थन जुटाउने कोशिस गर्दैछन् ।
प्रतिपक्षी दलहरु मात्र नभएर सत्तारुढ दलकै धेरै सांसदहरु उक्त सम्झौताको विपक्षमा उभिंदा प्रधानमन्त्री मेमाथि दबाब बढेको छ ।
ब्रेक्जिटको लागि तोकिएको तिथि आउन अब ६ साता मात्र बांकी छ । तर बेलायती संसदले सम्झौता अहिलेसम्म पनि अनुमोदन नगरेपछि अब के हुन्छ भन्ने अन्योल कायम छ ।