बेलायत र युरोपेली संघबीच भएको सम्झौता बेलायतको संसदमा पास हुने अवस्था नबनेपछि मंगलबार हुने भनिएको ब्रेक्जिट सम्झौतामाथिको मतदान स्थगित भएको छ।
सम्झौतामा पर्याप्त सांसदहरुको समर्थन जुटाउन नसकेपछि प्रधानमन्त्री टेरेसा मेले मतदानलाई नै पर सार्ने निर्णय गरेकी हुन् ।
सम्झौतामा सांसदहरुको समर्थन जुटाउन केही दिन पर्खिएरै भए पनि पहल गर्ने उनको योजना छ।
ब्रेक्जिट सम्झौतालाई संसदबाट अनुमोदन गराउनको लागि प्रधानमन्त्री मेले सांसदहरुलाई कन्भिन्स गराउने प्रयास भने जारी नै राखेकी छन्। धेरै सांसदहरुले विरोध गरेको आयरल्याण्डको बोर्डरसम्बन्धी सहमति परिमार्जन गर्न पहल गर्ने आश्वासन उनले सांसदहरुलाई बाँडेकी छन् ।
संसदमा मतदान स्थगित गरिसकेपछि प्रधानमन्त्री मेले मंगलबारदेखि नै युरोपसँग पुनः वार्ता गर्ने प्रयास सुरू गरेकी छन्। सम्झौतामा रेनेगोसिएट गर्ने प्रयासमा युरोपेली संघसँग थप वार्ताको पहल उनले अघि बढाएकी छन् ।
तर युरोपेली संघले सम्झौतामा थप छलफल गर्न तयार नरहेको बताएको छ।
तर, युरोपियन कमिसनका अध्यक्ष जिन क्लाउड जन्करले सम्झौतामा पुनर्विचार नहुने बताउँदै सम्झौतालाई थप व्याख्या गर्ने र स्पष्ट पार्ने बाहेक अरु विकल्प बाँकी नरहेको बताएका छन्।
यसअघि सोमबार मात्रै युरोपेली अदातलेले बेलायतले ब्रेक्जिटबाट पछि हट्न चाहेको खण्डमा युरोपेली संघबाट अनुमति लिइराख्नु नपर्ने स्पष्ट पारेको थियो ।
मार्च २९ मा तय ब्रेक्जिटको तिथि नजिकिँदै गर्दासमेत बेलायतमा सम्झौताको विषयमा सहमति जुट्न सकेको छैन । सम्झौता संसदबाट पास हुने अवस्था बन्न नसके त्यसपछि के हुने भन्ने अहिले अन्योल छ।