बेलायतमा फेसन डिजाइनिङको क्षेत्रमा प्रतिष्ठित मानिने एक अवार्डको लागि बेलायतमा क्रियाशिल एक नेपाली फेसन डिजाइनर पनि छनोटमा परेकी छन्।
लण्डनमा बेहुली बुटिक सञ्चालन गरिरहेकी डिजाइनर संयुक्ता श्रेष्ठ द ब्रिटिश ब्राइडल वेडिङ अवार्ड २०१९ को लागि बेस्ट ब्राइडल ( विहेको ड्रेस ) डिजाइनरको लागि छनोट भएकी हुन् ।
संयुक्तासँगै छनोट भएका बेलायतका प्रतिष्ठित ११ ब्राइडल फेसन डिजाइनरमध्ये एक जनालाई आउँदो वर्ष उक्त अवार्ड प्रदान गरिनेछ।
अवार्डको विजेता चयन गर्न अनलाइन भोटिङ खुला भएको छ। आउँदो जनवरी १८ सम्म उक्त भोटिङ लाइन खुला रहनेछ।
लण्डन कलेज अफ फेसनबाट फेसन डिजाइनिङकी ग्रयाजुएट संयुक्ताले डिजाइन गरेका पहिरनहरू विश्व चर्चित सेलिब्रेटिहरूले लगाइसकेका छन्।
चर्चित गायिका लरा राइट, फिफ्थ हार्मोनीदेखि भिक्टोरिया सेक्रेटकी सुपर मोडल क्यान्डिस स्वानीपोएलसम्मले संयुक्ताका डिजाइनमा सजिएका छन्।
प्रख्यात डिजाइनरहरुको डिजाइनहरु संग्रहित लण्डनस्थित फेसन म्युजियममा समेत संयुक्ताको एक डिजाइन राखिएको छ ।
सन् २००४ मा बेलायत आउनुअघि नेपालमै रहँदा पनि उनले मिस वल्र्ड, मिस युनिभर्स, इण्डियन आइडललगायतको लागि डिजाइन गरेकी थिइन्।
फेसन डिजाइनिङमा संयुक्ताले प्राप्त गरेको सफलता कैयौं चर्चित अन्तर्राष्ट्रिय फेसन म्यागेजिन र टेलिभिजनहरुमा पनि फिचर भएको छ। उनले नेपाल तथा अन्तर्राष्ट्रियस्तरमा समेत कैयौं अवार्डहरु समेत हात पारेकी छन् ।
यो लिंकमा गएर संयुक्तालाई भोट गर्न सकिनेछ ।