कतारले केही विदेशीलाई स्थायी बसोबासको अनुमति दिने तयारी गरेको छ। कतारी संसदमा यस विषयको मस्यौदा स्वीकृत भइसकेको छ।
अलजजिरा र अन्य स्थानीय समाचारमाध्यमका अनुसार कतार बाहिरका नागरिकसँग विवाह गरेकी कतारी महिलाका छोराछोरीलाई स्थायी बसोबासको अनुमति दिइने छ। यसका साथै कतारमा बसेर राम्रो काम गर्ने विदेशीलाई पनि यो अनुमति दिइने भएको हो।
कुनै विदेशीका लागि स्थायी बसोबासको अनुमति दिने कतारको यो कदम खाडी मुलुकमै पहिलो हो।
कतारको यो नयाँ कानुन अनुसार स्थायी बसोबासको अनुमति पाउने विदेशीले निःशुल्क शिक्षा, स्वास्थ्य सुविधाका साथै सम्पत्ति जोड्ने अधिकार पाउन सक्नेछन्। उनीहरुलाई त्यहाँ आफ्नो व्यापार गर्न कुनै स्थायी नागरिकता जरुरी पर्दैन।
खाडी मुलुकमा काम गर्ने विदेशीको संख्या अधिक भएपनि उनीहरुले स्थायी बसोबास गर्ने अनुमति भने विरलै पाउँछन्।