कोरियाबाट नेपाल फर्किएकाहरूको र कोरियामै रहेकाहरूको सक्रियतामा नेपाल कोरिया उद्यमी व्यवसायी संघ गठन भएको छ।
आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा प्रेम कुमार गुरूङको संयोजकत्वमा संघको तदर्थ समिति घोषणा भएको हो।
दुई दशक कोरिया बसेका गुरूङले नेपालमा कोरियन भाषा कक्षा, घैटे चिया, कोरियन रेस्टुरेन्ट र नेपाली खाना रेस्टुरेन्ट सञ्चालन गरेका छन्।
तदर्थ समिति २५ सदस्यीय छ।
संघले आफ्नो अवधारणा-पत्र समेत सार्वजनिक गरेको छ।
कोरियाबाट फर्किएका र कोरियामा रहेका उद्यमी व्यवसायीहरूलाई संगठित गर्दै सहकार्य र समन्वयको वातावरण निर्माण गर्ने गुरूङले जानकारी दिए।
'स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नको लागि सीप र प्रविधिको स्थानन्तरणलाई प्रोत्साहन, सञ्जाल र सहकार्यको माध्यमबाट सामूहिक लगानी प्रवर्द्धन, सदस्यहरूबीच आपसी सहयोग, अनुभव आदान-प्रदान र मनोबल अभिवृद्धि र सकारात्मक सोच, प्रेरणा र आत्मनिर्भरताको भावना विकास गर्दै व्यवसायको प्रवर्द्धन गर्ने,' अवधारण-पत्रमा भनिएको छ, 'कोरियाबाट फर्किएर उद्यम व्यवसाय गरिरहेका उद्यमी व्यवसायीहरूको क्षमता अभिवृद्धि तथा व्यवसाय विस्तारको लागि व्यावसायिक तालिम, गोष्ठी र सीप विकास कार्यक्रमहरू सञ्चालन गर्ने तथा उत्पादनदेखि उपभोक्ता सम्मको सञ्जाल विस्तार गर्ने।'
अहिले तदर्थ समिति गठन भएको भन्दै गुरूङले कोरियाबाट फर्किएका र कोरियामै रहेर लगानी गर्न चाहनेहरूको बीचमा समन्वय गरिने बताए।
आजको भेलामा सिन्धुली हाइवे प्रोजेक्ट बनाउने समेत घोषणा गरिएको उनले बताए।
'बिपी राजमार्गमा पर्ने रातमाटे डाँडामा ५ सय ७० रोपनीमा नेपालकै महत्वपूर्ण प्रोजेक्ट अघि बढाउने हाम्रो तयारी छ। त्यहाँ हामीले सुविधासम्पन्न रिसोर्ट, पेट्रोल पम्प, गाडी चार्ज स्टेसन लगायत बनाउने योजना छ,' उनले भने, 'यसमा दक्षिण कोरियाबाट फर्किएका र त्यही रहेकाहरूको लगानी हुन्छ। कोरियाबाट फर्किँदै गर्दा मालिक बनाउने हाम्रो योजना हो।'