संयुक्त राष्ट्र संघीय महिलाविरूद्ध भेदभाव उन्मुलन गर्ने समिति (सिड) ले वैदेशिक रोजगारमा जाने महिलामाथि भइरहेको विभेद अन्त्य गर्न नेपाललाई सुझाव दिएको छ।
नेपालले स्विट्जरल्यान्डको जेनेभामा फेब्रुअरी ३, ४ र ५ मा भएको सिडको बैठकमा सातौं आवधिक प्रतिवेदन बुझाएको थियो। त्यस्तै नागरिक समाजले छाया प्रतिवेदन बुझाएको थियो।
सो क्रममा सिडले महिलालाई विभेद नगरी सुरक्षा प्रत्याभूतिसहित वैदेशिक रोजगारमा पठाउन सुझाव दिएको हो।
'घरेलु कामका लागि सबैभन्दा धेरै महिला विदेशिने गरेकोमा हाल मध्यपूर्वी लगायत केही मुलुकमा प्रतिवन्ध छ। यसले महिलामाथि विभेद भइरहेको औंल्याउँदै सिडले विभेद हटाउन सुझाव दिएको छ,' अधिवक्ता सविन श्रेष्ठले भने।
राष्ट्रिय महिला आयोग कि अध्यक्ष कमला पराजुलीले सरकारले महिलालाई सुरक्षित रूपमा वैदेशिक रोजगारीमा जाने व्यवस्था मिलाउनुपर्ने बताइन्।
उनले घरेलु काममा पठाउँदा संवेदनशील भएर छुट्टै कानुनी व्यवस्था र गन्तव्य मुलुकसँग सम्झौता गरेर पठाउनुपर्ने उल्लेख गरिन्।