श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले रूसका लागि छिट्टै श्रम स्वीकृति खुलाउन आवश्यक पहल गर्ने बताएका छन्।
गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीसँग शुक्रबार भएको भेटमा मन्त्री भण्डारीले उक्त प्रतिबद्धता जनाएका हुन्।
यस सम्बन्धमा खासै धेरै समस्या नरहेको र परराष्ट्र मन्त्रालयसँग समन्वय गरी छिट्टै श्रम स्वीकृति खुला गर्न सरकार तयार रहेको श्रममन्त्री भण्डारीको भनाइ थियो।
भेटमा संघको तर्फबाट अध्यक्ष केसीले तत्कालीन अवस्थालाई ध्यानमा राखी नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको निर्णयमा पुनरावलोकनका लागि पहल गर्न आग्रह गरेका थिए।
वर्षौंदेखि विभिन्न रोजगार, पेसा, व्यवसाय एवं उच्च शिक्षा अध्ययन गर्न रसियामा बसिरहेका हजारौं नेपालीहरूका लागि सहज रूपमा आवतजावतका लागि श्रम स्वीकृति एवं नवीकरण कार्यलाई तत्काल सुरू गर्न समेत केसीले मन्त्री भण्डारीको ध्यानकार्षण गराएका थिए।
युद्धरत देश रूसमा सेनामा सहभागी हुन सक्ने सम्भावना रहेको र सोबाट सिर्जना हुन सक्ने मानवीय जोखिम रहेको भन्दै एक वर्षअघि वैदेशिक रोजगार विभागले रूसका लागि श्रम स्वीकृति दिन रोकेको थियो।
यस्तै, भेटका क्रममा अध्यक्ष केसीले इराकको कुर्दिस्तानमा रहेका नेपालीका समस्याबारे जानकारी गराउँदै तत्काल समस्या समाधानका लागि पहल गर्न अनुरोध गरे।
उक्त भेटमा रूसका लागि नेपालका राजदूत नियुक्त जंगबहादुर चौहान र संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत समेत उपस्थित थिए।