ग्लोबल नेपाली
चितवनका स्थायी बासिन्दा सुरज सुनार युएई (संयुक्त अरब इमिरेट्स) को सबभन्दा ठूलो सहर दुबईमा छन्।
उनी १२ वर्षअघि आलमिनियमका सामान उत्पादन गर्ने एउटा कम्पनीमा 'हेल्पर' बनेर गएका थिए। त्यो कम्पनीले आलमिनियमका झ्याल–ढोका र ठुल्ठूला भवन निर्माणमा प्रयोग हुने सामग्री बनाउँथ्यो।
सन् २०१३ मा काम सुरू गर्दा उनको तलब मासिक ९ सय युएई दिराम थियो। अतिरिक्त समय (ओभर–टाइम) खट्दा ११ सय दिरामसम्म हुन्थ्यो।
उनले काम त गरे तर तलब चित्तबुझ्दो थिएन।
'श्रम गरे अनुसार तलब भएन भन्ने लाग्थ्यो तर आज–भोलि भन्दाभन्दै त्यही कम्पनीमा सात वर्ष बित्यो,' सुरजले भने।
त्यति लामो समयपछि अलि सजिलो काम र केही राम्रो तलबसहित अर्को कम्पनीमा अवसर पाए। हेल्परबाट स्टोर किपर भए, तलब पनि बढ्यो।
अहिले उनी यही काम गरिरहेका छन्। उनले स्टोरमा रहेका सामानको लेखा राख्नुपर्छ। कति सामान सकियो, के के सामान कति फिर्ता आयो, के सामानमा क्षति भयो इत्यादि दैनिक विवरण तयार पारेर बुझाउनुपर्छ।
उनको स्टोरमा टेप, रेन्ची, बोल्ट, विभिन्न किसिमका केमिकल, प्लास्टिक डोरी र निर्माणका लागि चाहिने यस्तै अन्य मसिना सामान हुन्छन्।
सकिएको सामान बजारबाट ल्याउने जिम्मेवारी पनि उनकै हो। कहिलेकाहीँ साइट (निर्माण क्षेत्र) मा झ्याल–ढोका हाल्ने, प्यानलहरू काट्ने, वेल्डिङ गर्नेजस्ता काम पनि गर्नुपर्छ।
'साइटमा प्रायः आलमिनियम कटिङमा हुन्छु। नापेर साइज लिने, फलाम काट्ने, मेसिनमा हाल्ने जस्तो काम हुन्छ। तलब चित्तबुझ्दो नै छ,' सुरजले भने, 'चित्त बुझेन भनेर आफ्नै देश फर्किऊँ भने पनि देशको अवस्था झन् बिजोग छ।'
सामाजिक सञ्जालतिर हेर्दा विदेशबाट थोरै पुँजी लगेर आफ्नो देशमा केही काम गर्छु भनेर लागेका कतिपय उद्यमीको अवस्था खराब भएको देखेको उनी बताउँछन्।
'म आफै त देश (नेपाल) फर्केर काम गरेको छैन। अरूको स्थिति देखेर नै डर लाग्छ। अहिले काठमाडौंमा कतिपय सटर बन्द छन्,' ३० वर्षीय सुरज भन्छन्, 'मसँग त धेरै पुँजी पनि छैन। विदेशमा पसिना बगाएर जम्मा गरेको पैसा पनि डुब्यो भने के गर्ने!'
उनले शरीरमा तागत रहुन्जेल विदेशमै काम गरेर पैसा कमाउने सोचेका छन्।
सुरजकी श्रीमती पनि दुबईमै छिन्। उनी एउटा ब्युटी पार्लरमा काम गर्छिन्। उनी गएको तीन वर्ष भयो। उनको काम सजिलो छ, कमाइ पनि ठिकै छ।
उनीहरूको बिहे भएको ९ वर्ष भयो। सुरज आफैले मेसो मिलाएर श्रीमतीलाई उतै लगेका हुन्। करिब ६ महिनाअघि दुवै जना एकैसाथ बिदा मिलाएर नेपाल आएका थिए।
'परदेशमा भए पनि हामी सँगै छौं। फुर्सदमा घुमफिर गर्न निस्किन्छौं। अझै केही वर्ष दुबईमै काम गर्छौं,' उनले भने।
विदेशको कमाइमा ऋणबाट केही पैसा थपेर उनीहरूले चितवनमा एउटा पक्की घर बनाएका छन्। दम्पतीको संयुक्त कमाइबाट मासिक सरदर साढे एक लाख रूपैयाँ नेपाल पठाउँछन्।
'हामी रेमिटेन्स पठाउँछौं तर नेपाल सरकार हामीलाई कुनै सहयोग गर्दैन। तिमीहरूको कुनै समस्या छ कि भनेर सोध्दैन,' सुरजले भने, 'घर बनाउँदा चर्को ब्याजमा ऋण लिनुपर्यो। रेमिटेन्स पठाउनेलाई सहुलियत दिनुपर्छ भनेर सरकार अलिकति पनि सोच्दैन।'
सरकारले देशमा व्यवसायको राम्रो वातावरण बनाउन सके मात्र विदेशमा रहेका युवाहरू स्वदेश फर्किन्छन् र लगानी गर्छन् भन्ने उनलाई लाग्छ।
'सरकारले विदेशमा रहेका मान्छेलाई स्वदेश फर्क भनेर मात्रै हुँदैन। देश फर्किने वातावरण बनाउन सहुलियत ऋण, अनुदान र बीमाको व्यवस्था गर्नुपर्छ,' उनले भने, 'विदेशमा पनि सजिलो छैन, नेपालीले नै नेपालीलाई ठग्ने प्रवृत्ति पनि छ। दिनमा १२ घन्टा काम गरेर बल्ल ९ सय दिराम (साढे ३३ हजार रूपैयाँ) पाइन्छ।'
रोजगारीका लागि युएई जान चाहनेले कामको प्रकृति, तलब र अन्य सुविधाबारे राम्रो जानकारी लिन उनी सुझाव दिन्छन्।
जुन देश गए पनि कामको सीप सिकेर मात्रै जान पनि उनको सुझाव छ।