क्यानडामा पशुपतिनाथ मन्दिर


 

क्यानडाको पशुपतिनाथ मन्दिरमा शिवलिंगको विधिवत स्थापना गरि दैनिक पुजा शुरु गरिएको छ। गत शनिबार वैदिक विधिबाट ८ सय किलोग्रामको शिवलिंगको प्राणप्रतिष्ठा सम्पन्न भएपछि नवनिर्मीत पशुपतिनाथ मन्दिरमा दैनिक पूजा आराधना शुरु भएको हो ।

४ फिट अग्लो साढे ३ फिट आधारको गोलाई भएको पशुपतिकै शिवलिंगको प्रतिमूर्तीलाई नेपाली बाबाको नेतृत्वमा ११ जना ब्रामणबाट रूद्री पाठ गरि प्राणप्रतिष्ठा गरिएको हो ।

प्रतिमूर्तीका लागि लाग्ने करिब ५ लाख रूपैया वर्लींटन निवासी युवराज अर्यालले सहयोग गरेका छन्। त्यस्तै २ सय किलोग्रामको बसाहाका लागि लाग्ने एक लाख रुपैया टोरोण्टो निवासी अमित उपाध्यायको परिवारले सहयोग गरेका छन् ।

यहाँस्थित नेपाली तथा भारतीय भक्तजनहरुको मागलाई मध्यनजर गर्दै ब्राम्हण राखेर बिहान बेलुकि नियमित पूजा शुरु भएको नेप्लिज क्यानेडियन हेरिटेज सेन्टर(एनसिएचसी)का अध्यक्ष राम पौडेलले बताए।

नेप्लिज क्यानेडियन हेरिटेज सेन्टर(एनसिएचसी)को अगुवाइमा ग्रेटर टोरोण्टो क्षेत्रको ब्राम्टनस्थित ७९५५ तोरब्राम रोडमा गत वर्ष एक तले भवन खरिद गरि पशुपतिनाथ मन्दिर निर्माण गरिएको थियो।

करिब ३ करोड रुपैयाँमा खरिद गरिएको मन्दिरका लागि नपुग रकम यहाँका नेपालीले सापटी दिएर सहयोग गरेका थिए ।

क्यानडामा नेपाली मन्दिर निर्माण गर्ने ९ बर्षदेखिकै योजना भए पनि आवश्यक रकम शंकलन गर्न नसकेका कारण यो सफल हुन सकेको थिएन।

विभिन्न समयमा गरिएको देउसी, भैलो तथा चन्दा संकलनबाट गतबर्ष करिव डेढ करोड रूपैया संकलन भएपछि मन्दिरका लागि भवन खरिद गर्न सहज भएको थियो।

क्यानडाको ग्रेटर टोरोण्टो क्षेत्रमा भारतीय मुलका आप्रवासीको बस्ती ठूलो छ । पशुपतिनाथप्रति उनिहरुको प्रगाढ आस्था भएका कारण भविष्यमा धेरै भारतीय श्रद्धालुहरु पशुपति दर्शनका लागि आउनसक्ने सम्भावना छ।

क्यानडामा मन्दिरका लागि चाहिने प्रावधानहरु पुरा गरि पशुपति मन्दिरले ब्राम्टन सिटीबाट दैनिक पूजाका लागि अनुमति समेत पाइसकेको छ।

विशेष पूजा र चाडपर्वमा भक्तजनहरुले गर्ने दान नै अहिले मन्दिरको नियमित श्रोत हो। करिब १ सय ८० जना भक्तालुहरुले प्रत्येक महिना १० डलरका दरले मुठी दान गरिरहेका छन्।

संस्थाका साधारण सदस्य, आजीवन सदस्य र संरक्षक सदस्य बापतको शुल्कबाट उठने रकम अर्को श्रोत हो। संरक्षक सदस्यका लागि सात हजार ५ सय, आजीवन सदस्यका लागि १ हजार र साधारण सदस्यका लागि १ सय ८ डलर शुल्क तोकिएको छ। हालसम्म संस्थामा ४ जना संरक्षक, १ सय ७० जना आजीवन सदस्य र ४७ जना साधारण सदस्य रहेका छन्।

भविष्यमा यो मन्दिर सानो हुने भएका कारण फराकिलो स्थानमा जग्गा किनेर मन्दिर निर्माण गर्ने योजना रहेको नेप्लिज क्यानेडियन हेरिटेज सेन्टरका प्रवक्ता सिएम उप्रेतिले जानकारी दिए। गत शनिबार मात्र जग्गा खरिदका लागि भूमीदान स्वरुप करिब २ करोड रुपैयाँ सहयोगको बचनबद्धता प्राप्त भएको पनि उनले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.