भारत र क्यानडाले एक अर्काका कुटनीतिज्ञ निस्कासन गरेका छन्।
भारतले क्यानडाका र क्यानडाले भारतीय कूटनीतिज्ञ निस्कासन गरेका हुन्।
एक वर्षअघि क्यानडामा खलिस्तानी पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्या भएपछि भारत र क्यानडाबीच तिक्तता सुरू भएको थियो।
क्यानडाले निज्जरको हत्यामा भारतीयको संलग्नता रहेको प्रमाणहरू भेटिएपनि भारतले अनुसन्धानमा नसघाएको आरोप लगाएको छ। यद्यपि भारतले भने क्यानडाको उक्त आरोप अस्वीकार गर्दै आएको छ।
त्यसयता दुवै देशको सम्बन्ध चिसिँदै आएकोमा सोमबार भारतले क्यानडाका उच्च आयुक्तसहित ६ जना कुटनीतिज्ञलाई निस्कासन गरेको हो।
भारतको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै क्यानडाका उच्च आयुक्तसहित ६ जना कुटनीतिज्ञहरूलाई निस्कासन गरिएको जानकारी दिएको छ।
निस्कासित कुटनीतिज्ञहरूमा उच्चआयुक्त स्टिवार्ट रोस ह्वीलर, उप उच्च आयुक्त प्याट्रिक हबर्ट, प्रथम सचिवहरू म्यारी क्याथरिन जली, आयन रोस डेविड ट्रिटेस, एडम जेम्स र पाउला ओर्जुयला छन्।
उनीहरुलाई शनिबार मध्यराति १२ बजेअघि नै भारत छाड्न निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ।
भारतले क्यानडाका उच्च आयुक्त सञ्जयकुमार बर्मालाई पनि फिर्ता बोलाउने निर्णय गरेको बिबिसीले उल्लेख गरेको छ।
निज्जर हत्या प्रकरणको अनुसन्धानबारे जानकारी दिन क्यानडेली प्रहरीले सोमबार आयोजित पत्रकार सम्मेलनमा उक्त घटनामा भारतीय उच्च आयुक्त बर्मा र अन्य कूटनीतिज्ञहरू पनि जोडिएको बताइएको थियो।
त्यसबारेमा क्यानडाले भारतलाई कूटनीतिक नोटसमेत पठाएको थियो। कूटनीतिक नोट प्राप्त भएपछि भारतले बर्मालाई फिर्ता बोलाउने निर्णय गरेको बिबिसीले जनाएको छ।
उनलाई फिर्ता बोलाउनुपर्ने कारणमा भारतले क्यानडामा सुरक्षा चुनौती बढेको भनेको छ।
क्यानडाले पनि भारतका उच्च आयुक्तसहितका कूटनीतिज्ञहरुलाई निस्कासन गरेको बताएको छ। बिबिसीका अनुसार निज्जर हत्या प्रकरण र त्यसमा भारतीय एजेन्टहरुको संलग्नता भेटिएको भन्दै क्यानडाले अहिलेसम्म ४१ जना भारतीय कुटनीतिज्ञहरूलाई निस्कासित गरिसेकको छ।