बाबुराम भट्टराई सिड्नी आउँदै


सिड्नीको चिनिएको विश्वविद्यालयको कार्यक्रममा सहभागि हुन पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई अष्ट्रेलिया आउने भएक छन्। युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीको एक कार्यक्रममा दक्षिण एशियाको राजनीतिक अर्थशास्त्र विषयमा प्रवचनका लागि डा.भट्टराई सिड्नी आउने नयाँशक्ति पार्टीसँग निकट अन्तर्राष्ट्रिय नेपाली समाजका अष्ट्रेलिया अध्यक्ष सुवान चौलागाईँले बताए।

तीन दिनका लागि सिड्नी आउने डा. भट्टराईले उक्त क्रममा नेपालको पछिल्लो राजनीतिक विकास क्रम र दक्षिण एशियाको राजनीतिक अर्थशास्त्र विषयमा अन्तरक्रिया समेत गर्नेछन्।

२१ सेप्टेम्बरमा सिड्नी आइपुग्ने पूर्वप्रधानमन्त्री डा. भट्टराईले २२ तारिख युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीको कार्यक्रममा सहभागिता जनाउनेछन्। समाजका अध्यक्ष सुवान चौलागाईंले उक्त युनिभर्सिटीमा अध्ययनरत विद्यार्थीहरुसँग पनि सोही दिन अन्तरक्रिया गर्ने र अष्ट्रेलियाका राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने निधो भएको जानकारी दिएका छन्।

डा. भट्टराईले युटिएस भवनको भूकम्प प्रतिरोधात्मक मोडलको अवलोकन गर्नुका साथै सेप्टेम्बर २३ मा सिड्नीमा रहेको नेपाली समूदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.