किन बढ्छ अस्ट्रेलियामा सम्बन्ध विच्छेद?


केही दिनअघि म एक मित्रको घरमा धेरै समयको अन्तरालपछि गएको थिएँ। फोनमा सम्पर्क भए पनि हामीहरू दुवैजना काममा व्यस्त हुने हुनाले लामो समयदेखि भेटघाट गर्ने अवसर जुरेको थिएन। करिब डेढ वर्षको अन्तरालमा मैले उनलाई भेट्न गएको थिएँ। उनको घरमा पहिले म जाँदाखेरि एक जोडी नेपालीहरू उनीहरूसँगै युनिट शेयर गरेर बस्थे। अहिले नयाँ मान्छेलाई देखेर कुराकानीको क्रममा सोधेको थिएँ – ‘खै त यहाँ पहिले बस्ने नेपालीहरू?’ उनी एकछिन  रोकिएर लामो सास ताने अनि केही अप्रिय घटनाको संकेत गरे। पछि उनले मसँग सविस्तार कुरा राखे। कुरो यस्तो रहेछ—

नेपालबाटै प्रेम सम्बन्धमा बाँधिएर अस्ट्रेलिया आएका ती युगल जोडीको केही समय दुःखसुख गरेर राम्रैसँग दिनचर्या चलेको रहेछ। केटी विद्यार्थी र केटा डिपेन्डेन्ट भएर अस्ट्रेलिया आएर आफ्नो कर्मअनुसार दिनहरू बिताउँदै गएछन् तर नेपालबाट आएको करिब तीन वर्षपछि केटीको अर्कै केटासँग प्रेम सम्बन्ध गाँसिएछ। सँगै जिउने मर्ने कसम खाएर यो विरानो भूमिमा होमिएका ती जोडीको सम्बन्ध बाहिरबाट हेर्दा राम्रै देखिन्थ्यो। तर, अचानक एक दिन ती युवकले आफ्नी ‘कथित’ प्रेमिकालाई अर्कै केटासँग रङ्गेहात समाएछन् अनि आवेगमा आई हिंसात्मक रूपमा प्रस्तुत भएछन्। अर्को दिन ती युवतीले प्रहरी कार्यलयमा गएर उजुरी गरिछन्। अनि अदालतमा मुद्दा दायर भएपछि घरेलु हिंसाको अपराधमा ती युवकलाई एक वर्ष जेल सजाय सुनाएछ। साथै सजाय सकिनासाथ नेपाल डिपोर्ट गर्ने आदेश पनि दिएछ। अहिले जेल सजाय सकेर ती युवक नेपाल फिरिसकेका रहेछन् भने ती युवती नयाँ प्रेमीसँगै कतै रहेको तर आजकल कुराकानी नभएको कुरा ती मित्रले सुनाए।

नेपाल फर्किनका लागि युवकसँग टिकट काट्ने पैसा पनि केही साथीभाइ मिलेर काटिदिएको कुरा समेत उनले उल्लेख गरे। उनको मनमा ती युवकप्रति केही सहानुभूतिको भावसमेत मैले कुराकानीको क्रममा महसुस गरेँ भने यदि हिंसा नगरीकन ती युवकले कानुनी उपचार खोजेको भए अहिले नतिजा उनकै पक्षमा हुने अड्कलसमेत लगाएँ।

ती मित्रको कुराले मलाई अर्को घटनाको याद दिलाएको थियो। मेरा अर्का एक मित्रका आफन्तले मलाई यस्तैखाले गुनासो पोखेका थिए। उनी अस्ट्रेलिया आएको करिब सात वर्ष तथा वैवाहिक सम्बन्ध गाँसेको करिब एघार वर्ष भइसकेको थियो। अहिले विविध कारणले आपसी सहमतिमै उनीहरुको सम्बन्ध विच्छेद भएको थियो तर अहिले उनी आफ्नो एक मात्र सात वर्षीय छोरीको भविष्यले साह्रै चिन्तित रहन्थे। यसले उनको मात्र होइन उनको परिवारका सबै सदस्यहरूलाई असरहरू पारिरहेको छर्लङ्ग हुन्थ्यो। बाह्य रूपमा राम्रै देखाउने प्रयत्नमा रहे पनि उनको जीवनप्रतिको उदाशिनता छोपिन भने सकेको थिएन।

समग्र अस्ट्रेलियन समाजको तुलनामा न्यूनजस्तो देखिए पनि बाक्लिँदो प्रवासी नेपाली समुदायमा यस्ता प्रकृतिका घटनामा वृद्धि भएको जानकारहरू बताउँछन्। कतिपय घटनाहरू जो प्रहरी वा अदालतसम्म पुग्छन् तिनीहरू मात्र बाहिर आएका भेटिन्छन्। साथै नेपाली समाजको संस्कार र प्रवृत्तिले पनि कतिपय घटनाहरू बाहिर आउन नसकेको पाइन्छ। यद्यपि यस्ता प्रकृतिका घटनाहरू हाल अस्ट्रेलियाको प्रवासी नेपाली समुदायमा बढिरहेको तथ्यांकले देखाउँछ। यी प्रतिनिधि घटनालाई कानुनी आँखाले को सही र को गलत भनेर मात्र हेर्नु भनेको प्रवासी नेपाली समुदायको समस्याको गम्भियर्तालाई नबुझ्नु हो त्यसैले पनि हामो समाजभित्र यस्ता घट् भइरहेको छ र यसबाट कसलाई असर परिरहेको छ भनेर सोध्न जरुरी हुन्छ। साथै यी समस्याले कुनै दुर्घटना निम्त्याउन नदिनका लागि पनि सबै सम्बद्ध पक्ष सचेत रहेर यस्ता घटनाका पीडितहरूलाई परामर्श तथा उचित व्यवस्थापन गर्न पहल गर्नुपर्ने देखिन्छ।

कतिपय नेपालीहरू पैसा बचाउनका लागि गैरकानुनी रूपमा नौलो मान्छेसँग डिपेन्डेन्ट भएर आउने, विवाह नगरे पनि डिपेन्डेन्ट खोजेर आउने वा आफ्नै दाजुभाइ, दिदीबहिनी जस्ता नातागोतामा समेत डिपेन्डेन्ट भएर आउने गरेको समेत पाइएको छ। यो अस्ट्रेलियामा पूर्ण रूपमा गैरकानुनी मानिन्छ। यसरी आउँदा शुरुमा केही आर्थिक राहत त पाइएला तर भविष्यमा भने धेरै बेफाइदाहरू हुन्छन्। यस्ता नेपालीहरूले पिआर पाइसकेपछि सम्बन्ध विच्छेद गर्ने गरेका छन्। यस्ता सम्बन्धलाई इमिग्रेसनले शंकास्पद रूपले हेर्ने समेत गरेको पाइन्छ र यसको सरकारी पक्षबाट अध्ययनपश्चात् डिपेन्डेन्ट भिसामा गरिने कडाइले गर्दा वैध जोडीहरूका लागि समेत टाउको दुखाइ बन्न सक्ने संकेत गर्दछ। यस्तो गैरकानुनी कार्यमा कतिपय कन्सल्टेन्सीहरूले समेत आफैले जोडीहरू खोजिदिएर कमिशन लिने वा यस्तो गैरकानुनी कार्यलाई बढावा दिइरहेको जानकारहरू बताउँछन्।

अस्ट्रेलियाको नेपाली समुदायका चिरपरिचित कानुनव्यवसायी डा. शमशेरसिंह थापा भन्नुहुन्छ – ‘अस्ट्रेलियामा नेपालीको संख्या वृद्धि भएसँगै सम्बन्ध विच्छेदका घटनामा पनि वृद्धि भएका छन्। उहाँले, यस्ता घटना बढ्नुका तीनवटा मुख्य कारणहरू औंल्याउनुहुन्छ। पहिलो – पूर्वीय सभ्यताको संस्कृतिमा हुर्किएर आएका हामी पहिलो पुस्ताका नेपालीले पश्चिमी संस्कृतिको सोझो सिको गर्दै जाँदा र काम वा पढाइको चेपुवामा पर्दै गएपछि कम समय मात्र एकआपसका लागि छुट्याइनुले पनि धेरै जोडीहरूको सम्बन्धमा चिसोपना बढ्दै गएका घटनाहरू छन् जसले गर्दा तेश्रो मान्छेपट्टि सहजै आकर्षण बढेर सम्बन्ध टुट्ने खतरा बढेका पाइन्छन्। दोश्रो – कतिपय अभिभावकहरूले समेत परदेशका अनेक बाध्यता र विषमतालाई मध्येनजर नगरी एकतर्फी रूपमा एउटाको मात्र पक्ष लिँदा जोडीहरूको सम्बन्ध चिसिएका छन् जसले कालान्तरमा सम्बन्ध विच्छेदको स्थितिसम्म पु¥याइरहेको समेत पाइएको छ। र तेश्रो– श्रीमान् वा श्रीमतीलाई पाठ सिकाउनका लागि सानोतिनो घरेलु वादविवाद पर्दा समेत प्रहरीमा जोहरी दिने प्रचलन पाइएको छ। यो जाहेरी ज्यादै संवेदनशिल हुन्छ र जाहेर गर्ने व्यक्ति साक्षी मात्रै हुन्छ र पछि चाहेर पनि मुद्दा फिर्ता लिन पाउँदैन किनकि यो सरकारवादी मुद्दा बन्छ। यस्ता सम्बन्धहरू धेरै विच्छेद भएका पाइएका छन्।’

उहाँ अगाडि थप्नुहुन्छ – ‘यसका अलावा  डिप्रेशनजस्ता मानसिक रोगले ग्रस्त भएका जोडीहरूको सम्बन्धमा पनि चिसोपना आएको पाइन्छ। हामीसँग आउने करिब ६० प्रतिशत मुद्दालाई आपसी सहमतिमा मिलाउनका लागि फ्यामिली काउन्सिलिङमा पठाउने गरेका छौँ। तर यसले हाम्रो प्रवासमा यस समस्याको विकराल स्वरूपलाई भने छर्लङ्ग पारेको छ।’

मेलवर्ननिवासी मानसिक रोग विशेषज्ञ तथा नेपाली असोसिएसन अफ भिक्टोरियाका अध्यक्ष डा. अनुपम पोखरेल नेपाली समुदायमा हुने सम्बन्ध विच्छेदका घटनालाई यसरी विश्लेषण गर्नुहुन्छ— ‘सम्बन्ध विच्छेद मानसिक समस्याको कारणले र सम्बन्ध विच्छेदका कारणले मानसिक समस्या दुवै प्रकारका स्थितिहरू आजभोलि नेपाली समुदायमा देखिएको छ। गोपनियताको कारणले यस्ता कुराहरू परिचय खुल्ने किसिमले भन्न या लेख्न मिल्दैन। तर, गत दुई वर्षभित्र श्रीमानले यातना दिएर मानसिक रूपमा निकै प्रताडित अवस्थामा मैले मानसिक रोग विशेषज्ञको हैसियतले उपचार गरेको र नेपाली एसोसिएसन अफ भिक्टोरियाको कार्यसमितिले वेलावेलामा उद्दार गरेका थुप्रै उदाहरणहरू छन्। हुन त महिलाहरूले श्रीमानलाई मानसिक यातना दिएर सम्बन्ध विच्छेदसम्म पुगेको घटना नभएको होइन, तर कतिपय सम्बन्ध विच्छेदसम्म पुगेको अवस्थाहरूमा पुरुषद्वारा महिलाहरू मानसिक र शारीरिक हिंसाको चपेटामा पर्दै मानसिक समस्याको शिकार भएको पाइएको छ। त्यस्तै कतिपय अवस्थामा आर्थिक निर्भरता र छोराछोरीको कारणले पनि हिंसाको शिकार हुँदाहुँदै सम्बन्ध जसोतसो कायम गरिराख्ने पनि छन्। यदि हामी नेपाली संस्कारबाट नआएको भए सम्बन्ध विच्छेदको दर अझ बढी हुने थियो।’

जीवनका अनेक उर्जाशिल वर्षहरू मान्छेले आफ्नो परिवारलाई सुरक्षित भविष्य दिलाउन र सुमधुर सम्बन्धमा बिताउन विदेशी भूमिमा होमिनु धेरै मान्छेका लागि वाध्यता हो। हेमन्त रानाको स्वरले सजिएको अनि कालीप्रसाद बाँस्कोटा र हिमाल साउदको शब्द सापटी लिएर भन्ने हो भने ‘चालिस कटेसी रमाउँला’ भन्ने आशामा हामी धेरै नेपालीहरूको श्रम विदेशी भूमिमा सिंचित भएको छ। अझ हामी पूर्वीय सभ्यतामा हुर्केबढेका पहिलो पुस्ताका प्रवासी नेपालीलाई आफ्ना आत्मीय सम्बन्धमा खाडल आएमा अझ बढी पीडा महसुस हुनु स्वभाविकै हो। पहिलो पुस्ताका नेपालीले आफ्ना सन्ततिलाई पूर्वीय सभ्यता र पश्चिमी सभ्यता बीचको पुलको रूपमा काम गरेर बढ्नुपर्ने जिम्मेवारी पनि काँधमा थोपरिदिएको छ। सम्बन्धलाई सुमधुर बनाएर लानु हरकसैको चाहना वा इच्छा हुन्छ। तर अस्ट्रेलियाजस्तो खुला समाजमा पनि कतिपय नेपालीहरूले सांस्कृतिक आर्थिक तथा घरायसी संकुचनले गर्दा दबिएर वा शोषित भएर जिउनुपर्ने बाध्यता पनि कतिपयमा रहको पाइएको छ।

एकथरि वर्ग छ जो संस्कार, सभ्यता, आर्थिक असक्षमता आदि कारणले थिचोमिचो सहेर पनि सँगै जिउन बाध्य छ। अर्कोथरि वर्ग यस्तोे पनि छ जो पश्चिमी सभ्यता अंकमाल गर्ने नाममा धेरै छलाङ मारेर खुल्ला जीवन जिउने मोहमा डुब्दा आपसी सुमधुर सम्बन्ध भत्काएर बस्न बाध्य छन्। त्यसैगरी पिआर पाउने लोभमा फँसेकाहरू पनि बेमेलको सम्बन्धमा अनेकौँ यातना सहेर बाँच्न बाध्य भएका समाचारहरू पनि वेलावेलामा आउँछन्। कारणहरू धेरै र जेजस्ता भए पनि यसबाट एउटा यस्तो पुस्ता जन्मँदैछ जसलाई बाबा र आमामध्ये केवल एउटा छान्न बाध्य पारिँदैछ। त्यो अबोध पुस्ताले भविष्यमा अवश्यक एकदिन एउटा गम्भिर प्रश्न तेस्र्याउनेछ जसको जवाफ धेरैसँग नहुन सक्छ।

कानुनी राज्यमा बसेपछि कानुनको पालना सबैले गर्नैपर्छ र कानुनविपरीत काम गरियो भने सोही अनुसारको सजायको भागिदार जोकोही पनि हुनैपर्छ। यसमा दुईमत छँदै छैन। अहिले, अस्ट्रेलिया नेपालीहरूको गन्तव्य स्थलको सूचिमा माथिल्लो स्थानमा रहेको छ। पहिलो पुस्ताका हजारौँ नेपालीहरू उज्ज्वल भविष्यको खोजीमा सात समुद्रपारि विरानो ठाउँमा आएर आफ्नो कर्म गर्नु कुनै नौलो कुरा रहेन। हामीहरू अझ यो कुरामा पनि सचेत हुनु जरुरी छ कि हामी सात समुद्रपारि आउँदा हामीसँगै हाम्रो संस्कृति र सभ्यतालाई लिएर हिँडेका हुन्छौँ र यही दुई सभ्यताबीचको जुहारीको फन्दामा असंख्य प्रवासी नेपालीहरू रुमल्लिएर अनेकौं समस्यामा ग्रस्त भएका छन् जसमध्ये माथिका उदाहरणहरू पनि पर्दछन्। जोकसैको पनि जीवन बर्बाद हुनु वा जीवनको एक उर्जाशील समय त्यत्तिकै खेर जानु भनेको पनि एक दुःखद् घटना हो। यसको जिम्मेवारी लिने स्वयम् कर्ता मात्रै भए पनि यसका कारण खोजेर यस्ता समस्यालाई न्यूनीकरण गर्न सामाजिक रूपमा पहल हुनुपर्ने खाँचो अहिले देखिएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.