टुक्रेर होइन जोडेर बसौं हौ- अमृत गुरूङ


शनिबारको फोटोसुटको चटारो भ्याएर साँझको साढे ५ बजे ट्राफिक छिचोल्दै विजय र म सिड्नीको लुनापार्कतर्फ लाग्यौ।  विजयले गाडी हार्वरब्रिज पुर्‍याउँदै गर्दा पछाडिबाट मैले क्यामरा निकाली फटाफट सेटअप गरेँ। नेपथ्यको कन्सर्टतीर हानिएका हामी बाटोमा गहिरीएको ट्राफीकदेखि ढिलो पुगिएलाकि भन्ने भित्र डराईरहेका थियौ।

‘पहिलो दुई गीतको भिडियो पनि कन्सर्टको एक महत्वपूर्ण भाग हो है’, अघिल्लो रात नै ब्याण्ड म्यानेजर किरण कृष्ण श्रेष्ठले सम्झाएका थिए।

धन्य समयमै पुग्यौं। हामी पुग्दै गर्दा स्थानीय कलाकार स्टेजमा प्रस्तुत हुन तम्तयार थिए। म भने सिधै हानिए ग्रीन रूम तर्फ। कुनै पनि स्टेजमा प्रस्तुत हुनुअघिको कलाकारको लागि महत्वपूर्ण समय हुन्छ, र म कुनै विशेष तस्वीरको लोभले जहिले पनि ब्याक स्टेजमा पुगेकै हुन्छु।

नेपथ्यको अगुवा अमृत गुरूङ ग्रीन रूममा साथीहरूसँग रिल्याक्स मोडमा थिए। अरू बेला स्टेजमा जानुअघि आफूलाई एक्लाउने गुरूङ आज खुबै रमाईरहेका भेटिए। त्यति मात्र नभई ‘ल, आज म पनि तिम्रो फोटो खिच्दिन्छु है’, भनी अमृत गुरूङले आफ्नै क्यामरा तेर्स्याए। संगीत र चित्रकलाबाहेक अमृत गुरुङ एक प्यासोनेट फोटोग्राफर पनि हुन्। म पनि दंग पर्दै बसेँ। त्यस्तै निरज,  सुरज, ध्रुव र शान्ति पनि मोनाका भाईहरूसँगै बिस्तारै गफ गरिरहेका थिए तर सुबिन भने सधै झै गिटारमै भुलिरहेका थिए।

स्टेजबाट समय हुनै लागेको सूचना आएपछि सबैलाई शुभकामना दिई ग्रिन रूमबाट बाहिरिएँ। अर्पन शर्मा र किरण कृष्ण श्रेष्ठ आफ्नै ध्याउन्नमै हलमा हराएका थिए। भित्ताको घडीले अझै केही बाँकि रहेको देखाईरहेको थियो। दर्शलाई स्टेजमा आफ्नो प्रिय युगगायकको प्रस्तुती हेर्न आतुर भइसकेको थियो।

स्थानीय कलाकारको प्रस्तुती सकिनासाथ मोनाका अध्यक्ष हरि राम्झाली स्टेजमा उक्लिए। दर्शकको धैर्यको बाँध टुटिसकेको थियो – जसको फलस्वरुप भीडको आवाजले राम्झालीलाई बोल्ने अवस्था दिएन।

भित्ताको घडीले बाँकि समय शून्य देखाईसकेको थियो – स्टेजको बिशाल स्क्रिनमा हिमालपारीका हिरोको रुपमा चर्चित स्वर्गीय थिन्लेका साथमा उपर डोल्पोका पहिरणमा युग गायक अमृत गुरुङ देखिए।

‘सा जौका भारी गौँका पुला ….कम्पनी ….सा पुला बान्दी जया बैनै ..कम्पनी …’ गीत बज्दै गयो। बिगटपमा ओइरिएका दर्शकहरु नेपालकै सबैभन्दा सुन्दर शे–फोक्सुण्डो तालको सौन्दर्यमा डुब्दै आफूलाई नेपथ्य समूह र नेपालको नजिक पुग्दै गएको पाएका थिए।

त्यसपछि तुरून्तै ‘घरका कुरा…’ गीतको भिडियो शुरू हुँदा पुनः परदेशको आफ्नो कथालाई सम्बोधन गरिएको भान भएको थियो।

‘कुरूप अनुहार हो…..यहाँ कोही साथी छैन…’ सरूभक्तद्धारा रचित जीवन्त गीतबाट आफू स्टेजमा प्रस्तुत उत्रने बित्तिकै दर्शकहरू मन्त्रमुग्ध भईसकेका थिए। पहिलो पटक सिड्नीमा गाईएको उक्त गीतमा अमृत डुब्दा उनीहरूको खुसीको सीमा नै थिएन। लाग्थ्यो यो गीत हाम्रो लागि गाईरहेका थिए।

लगत्तै उनले दर्शकहरूलाई लाङटाङबाट नारायण वाग्लेद्धारा संकलित ‘भेडाको ऊन जस्तो…’गीत सुनाउँदा साच्चै नेपथ्य उत्सवमा सुनमा सुगन्ध थपिएको थियो। भित्र ग्रीन रूममा साधारण रुपमा देखिएका अमृत गुरुङ अहिले स्टेजमा सगरमाथा जस्तो बिशाल भएर संगीतमा हराईरहेका थिए। करिब ३ हजार मनहरू पनि सँगसँगै नाच्न र गाउन थाल्यो।

डेढ दशक अघि पहिलो पटक रोयल एकेडेमीमा खिच्दाको अमृत गुरूङ र अहिलेको अमृत गुरूङमा चाँदीका कपाल र जुंगा बाहेक हेर्दा खासै फरक नदेखिए जस्तो लागे पनि उनको गीत प्रस्तुतीमा संवेदनाको गहिराईले डाँडो काटेको महसुस भयो।

द्वन्द्वताका गरेका सांगीतीक यात्राले उनलाई सुख, दुःख, प्रेम सबै नजिकबाट महसुस गरेकै भएर होला, उनका गीतहरुमा जिन्दगीका सबैपाटाहरु उम्लिएर पोखिएका हुन्छन्। त्यही पोखिएका कथा, व्यथा र उत्सवहरु त्यतिखेर हजारौ मुटुमा छोइरहेको थियो।

“तालको पानी”, “रेशम”, “छेक्यो छेक्यो”, “यो जिन्दगानी”, “मै नाचे छमछमी”, “जोमसोमै बजारमा”, “जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना,” “यानीमाया,” “रेशम,” “तालको पानी” लगायतका नेपथ्यको बहुचर्चित गीतहरुमा साँझ छिप्पीदै गई रहेको थियो।

क्लीक….क्लीक..क्लीक….तस्वीरहरु बन्दै गयो।

दर्शकहरु पनि अमृतको आहैमा आहै मिलाउँदै गाईरहेका थिए। उत्कृष्ट नेपाली संगीत र गीतहरुको बीचमा उनले सरलताका साथमा दिने “एकता र शान्ति”का सन्देशहरुले एउटा साधारण गायकको होइन।

गीटारमा नीरज, बेस गीटारमा सुबिन, ड्रममा ध्रुव, किबोर्डमा सुरज र मादलमा शान्तिको बेजोड साथले कन्सर्टमा ज्यान हालिदिएको थियो।

कार्यक्रम सकिएपछि भित्र गएर एकै सासमा भन्न भ्याएँ- ‘दाई, यसपाली एकदमै छोटो भाको जस्तो लाग्यो’…।‘धन्यवाद’ उत्तर आयो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.