आकर्षक कमाइ हुने र सहजै पैसा कमाउन लोभमा न्युजिल्यान्ड आएका करिब पाँच सय नेपालीहरू यतिबेला काम र प्रायोजनको खोजीमा अकल्यान्ड, क्राइष्टचर्चजस्ता सहरको चक्कर काट्न बाध्य छन्।
संख्यामा ह्वात्तै वृद्धि भएको र विस्तारै समस्यामा पर्दै गएको न्युजिल्यान्डको अकल्यान्डस्थित अवैतानिक वाणिज्यदूत दिनेश खड्काले बताए।
‘अहिले काम र स्थायित्वको खोजीमा ठूलो संख्यामा नेपालीहरू हिँडिरहेको हामीले पाएका छौं, त्यसमध्ये समस्यामा परेका केही हाम्रो सम्पर्कमा समेत आउनु भएको छ’, वाणिज्यदूत खड्काले सेतोपाटीलाई भने।
यति मात्र होइन न्युजिल्यान्डमा गत महिना सम्पन्न महिला विश्वकप हेर्ने बहानामा न्युजिल्यान्ड छिरेका करिब दुई सय नेपाली यतिबेला काम र स्थायित्वको खोजीमा रहेका नेपाली वाणिज्य दूतावासले जनाएको छ।
ओसेनिया क्षेत्रमा अस्ट्रेलिया नेपाली विद्यार्थीको पहिलो रोजाइ भए पनि विस्तारै न्युजिल्यान्डमा पनि नेपाली विद्यार्थीहरूको संख्यात्मक वृद्धि हुन थालेको छ। यसैबीच बिस्तारै नेपाली समाज बढ्दै जाँदा मानव तस्करहरूको नयाँ गन्तव्य न्युजिल्यान्ड बन्न थालेको हो।
यसरी भ्रमण भिसामा आउने केही नेपालीहरूले आफूहरू २० लाखसम्म तिरेर न्युजिल्यान्ड आएको र काम नपाउँदा दु:ख पाएको समेत गुनासो गरेका छन्।
न्युजिल्यान्डमा भ्रमण भिसामा आउने र नगदमा काम पाउन निकै कठिनाइ हुने भएकोले उनीहरू आफूहरू विभिन्न बहानामा ठगिएको बताउन थालेका छन्। उनीहरूलाई न्युजिल्यान्ड गएपछि काम सहजै पाइने र कतिपय सवालमा प्रायोजन समेत पाइने भन्दै दलालहरूले ठगेको सुनाए।
पछिल्लो समय नेपालीहरू न्युजिल्यान्डमा आउने र अवैध बसोबास गर्न थालेपछि अध्यागमन विभागले समेत निकै कडाइ गरेको छ। जसअनुरूप विश्वकप र अन्य कार्यक्रमका नाममा आएका करिब एक दर्जन नेपालीलाई विमानस्थलबाट फर्काइएको बताइएको छ।
यसबाहेक पनि न्युजिल्यान्डमा करिब सात सयभन्दा बढी नेपाली कामदार भिसामा न्युजिल्यान्डमा छन्। त्यसमा पनि विभिन्न आर्थिक प्रलोभनमा पारेर कम्पनीहरूले प्रायोजन गर्ने र चरम श्रम शोषण गर्ने गरेको घटना बाहिरिन थालेको छ।
रेष्टुरेन्ट, पसल लगायतका विभिन्न कम्पनीहरूले सम्बन्धित विज्ञताका आधारमा कामदार प्रायोजन गर्न पाउने कारण न्युजिल्यान्ड सरकारको सोही सुविधाको दुरूपयोग गरेर आर्थिक प्रलोभनमा मानिसहरू ल्याइने गरेको तथ्य समेत सार्वजनिक हुन थालेको छ।
पछिल्लो महिना सरकारको प्रायोजन शर्त अनुरूप हप्तामा कम्तीमा ३२ घन्टा काम दिनुपर्ने र घन्टाको कम्तीमा २९.६६ डलर तिर्नुपर्नेमा पचास साठी घन्टा काम लगाउने र ३२ घन्टाको पैसा दिएर श्रम शोषण गरिएको एक घटना सार्वजनिक भएपछि राज्य समेत चनाखो भएको थियो।
‘यस विषयमा हामीले न्युजिल्यान्डका श्रममन्त्री एन्ड्रु लिटललाई समेत भेटेर यस्ता समस्याका बारेमा अवगत गराइसकेका छौं’, वाणिज्यदूत दिनेश खड्काले भने।

न्युजिल्यान्ड सरकार श्रम शोषणको विषयमा निकै गम्भीर देखिएको छ। यदि कसैले श्रम शोषण गरेको प्रमाणित भएमा कामदारलाई क्षतिपूर्तीसहित छ महिनाको कामदार करार भिसा थपिने प्रावधान छ। तर श्रम मन्त्री लिटलले यस्तो परिस्थितिमा कामदारको हितमा सो वर्क परमिट भिसा एक वर्ष गरिन लागिएको समेत बताएका छन्।
‘हाम्रो सवाल भनेको कुनै पनि नेपालीले दु:ख नपाऊन् भन्ने हो’, वाणिज्यदूत खड्का भन्छन्, ‘न्युजिल्यान्ड आउँदा यहाँको वास्तविकता बुझेर आउन हामी सबैलाई आग्रह गर्दछौं।’
अस्ट्रेलियामा कार्यक्रम र मेला महोत्सवका नाममा मानव तस्करी बढिरहेको र यता कडाइ हुन थालेपछि तस्करहरूले न्युजिल्यान्डलाई समेत आफ्नो नयाँ कमाउ गन्तव्य बनाउन थालेका छन्।
पछिल्लो महिना मात्र अस्ट्रेलियन अध्यागमनले यसरी बदमासी बढ्दै गएपछि भिसामा कडाइ गर्दा वास्तविक कलाकार समेत मर्कामा परेका थिए। जसमा समीक्षा अधिकारी, सिन्धु मल्ल, प्रिती आले जस्ता चर्चित कलाकारले समेत अस्ट्रेलियाको प्रवेशाज्ञा पाएनन्।