सन् २००७ मा अस्ट्रेलिया जाँदा माधव खरेल ५ कक्षा पढ्दै थिए।
उनका बुबा नन्दप्रसाद सन् २००५ मै अस्ट्रेलिया गएका थिए। बुबाले बोलाएपछि उनी आमा, दिदी र बहिनीसँगै डिपेन्डेन्ट भिसामा गएका हुन्।
'त्यो बेला नेपालको अवस्था राम्रो थिएन। अस्ट्रेलियामा पढाइ राम्रो हुन्छ भनेर बुबाले बोलाउनुभयो,' माधवले भने, 'सुरूमा त म धेरै अन्योलमा परेँ। गुल्मीको गाउँबाट सिधै अस्ट्रेलिया पुग्दा भाषा र संस्कृति केही नमिल्नु स्वाभाविक थियो। मैले आफूलाई बिस्तारै अघि बढाउँदै गएँ।'
उनी वकिल बन्न चाहन्थे। त्यही अनुसार मेहनत गरे। सफल पनि भए।
सन् २०२१ मा कानुन व्यवसायी बनेका माधवले डेढ वर्षअघि मेलबर्नमा 'इमिग्रेन्ट लयर्स' नामक ल फर्म खोले। यहाँ उनीसँगै अरू १२ जना काम गर्छन्।
माधवका अनुसार नेपाली समुदायका टोनु घोतानेले सबभन्दा पहिला मेलबर्नमा ल फर्म खोलेका हुन्। आफू सम्भवतः दोस्रो व्यक्ति भएको उनको अनुमान छ।
सानैदेखि अस्ट्रेलियामा पढेको भए पनि आफ्नो परिवारले धेरै दुःख भोगेको माधवले बताए।
उनका बुबा होटलमा काम गर्थे। त्यही भरमा परिवारलाई अस्ट्रेलिया बोलाए।
'हामीले थुप्रै हन्डर र ठक्कर खायौं। आमाबुबाको दुःख देखेर मेहनत गरेर पढ्यौं। म, दिदी र बहिनी तीनै जनाले स्कलरसिप पाएर थप पढ्यौं,' उनले भने।
उनकी दिदी सिभिल इन्जिनियर र बहिनी एकाउन्टेन्ट छिन्। अस्ट्रेलियामै जन्मिएका भाइ ९ कक्षामा पढ्दै छन्।

'१५ वर्ष नपुग्दै मैले किचन हेल्पर भएर काम गरेँ। भाँडा माझेँ। क्याफेहरूमा काम गर्दै गएँ,' उनले सुनाए।
माधवले डिकन युनिभर्सिटीमा कानुन विषय पढ्दै गर्दा झन्डै तीन वर्ष 'स्टुडेन्ट एडभाइजर' भएर पनि काम गरे।
कानुनमा उनको रूचि जागेको भने आमाबुबाले कानुनी समस्या झेल्नुपरेपछि हो।
एक समयमा भिसाको समस्या भएर उनीहरू झन्डै नेपाल फर्किनुपर्ने अवस्था आएको थियो। उनका आमाबुबा ल फर्म धाउँथे। तर भाषाको समस्या हुँदा वकिलले भनेको कुरा नबुझेको पीडा माधवले देखेका थिए।
'हामीले जस्तै पीडा अरू नेपालीले भोग्न नपरोस् भनेर मैले वकिल बन्ने प्रण गरेँ। हाम्रा लागि नेपालीभाषी वकिल भएको भए कति सहज हुन्थ्यो होला,' उनले भने।
उनीहरू फर्किनुपरेन, माधवको अठोट पनि पूरा भयो।
अहिले उनको ल फर्ममा विशेष गरेर आप्रवासन र पारिवारिक समस्या लिएर मानिसहरू आउँछन्। फर्ममा अन्य देशका कानुन व्यवसायी पनि काम गर्छन्। त्यसैले नेपालीसँगै अन्य देशका आप्रवासी पनि कानुनी परामर्शका लागि आउँछन्।
माधवको फर्ममा आउने धेरैजसो सेवाग्राहीको समस्या भिसाकै हुन्छ। भिसाका लागि पुनः निवेदन दिनेदेखि अदालतमा मुद्दा हाल्नेसम्म काम उनको फर्मले गरिदिन्छ। अस्ट्रेलियाका सबै अदालतमा मुद्दा लिएर आफूहरू जान पाउने उनले बताए।

पारिवारिक हिंसा, बालबालिकाका र आर्थिक कारोबारका मुद्दा पनि उनको फर्ममा आउँछन्। परिवेश नमिलेर र अस्ट्रेलियाको कानुन नबुझेर पनि धेरै नेपाली समस्यामा पर्छन्।
उनले उदाहरण दिँदै भने, 'घरेलु हिंसाको घटनामा उजुरी परेपछि पीडितले चाहेर पनि फिर्ता लिन सक्दैन। यस्ता विषयमा नेपालीहरू सचेत छैनन्।'
अस्ट्रेलियामा वकिल बन्न चाहनेका लागि उनी राम्रो अवसर देख्छन्। नेपाली समुदायमै आधारित भएर पनि व्यवसाय अघि बढाउन सकिने उनले बताए। नेपालीको संख्या अनुसार कानुन व्यवसायी कम भएकाले अवसर धेरै भएको उनी बताउँछन्।
माधव नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) का सचिव र गुल्मी समाज भिक्टोरियाका अध्यक्ष पनि भइसकेका छन्। युनिभर्सिटीमा हुँदा उनकै नेतृत्वमा डिकन नेपाली सोसाइटी गठन भएको थियो। त्यो बेला तीन सय नेपाली विद्यार्थी पढ्थे। यो संस्था अहिले पनि भएको उनले बताए।
विदेश बस्ने नेपाली युवालाई नेपालबारे झन् धेरै चासो हुने उनी बताउँछन्।
'बाहिर गएकाले देशको माया के हो भनेर बुझ्छन्,' माधवले भने, 'आफ्नो देशको चासो सबैलाई हुन्छ। रूख जति अग्लो भए पनि जराबाट टाढा हुँदैन। हामी हाम्रो जरासँग जोडिनै पर्छ। अभिभावकले पनि आफ्ना सन्तानलाई आफूहरू कसरी यहाँसम्म पुगेको भनेर जानकारी दिनुपर्छ।'