चौथो ओसेनिया खेलकुद सम्पन्न, न्यू साउथ वेल्सको वर्चस्व


न्युजिल्यान्ड र पपुवा न्युगिनीकोसमेत सहभागिता रहेको चौथो ओसेनिया खेलकुदमा अस्ट्रेलियाको न्युसाउथवेल्स राज्यले १७ स्वर्णका साथ कुल ५६ पदक हात पार्दै प्रतियोगिताको च्याम्पियनसीप ट्रफी हात पारेको छ।

नौ खेल सहभागि गराइएको प्रतियोगितामा ओसेनियाका भरीका आठ सय खेलाडीको सहभागिता थियो।

प्रतियोगितामा भिक्टोरिया (मेलवर्न) दोस्रो स्थानमा रह्यो। भिक्टोरियाले कुल १४ स्वर्णसहित २४ पदक हात पारेको थियो। प्रतियोगिताको तेस्रो स्थानमा क्वीन्सल्यान्ड (ब्रिसबेन) र चौथो स्थानमा न्युजिल्यान्ड रहे।

क्वीन्सल्यान्डले प्रतियोगितामा दुई स्वर्णसहित चार पदक र न्यूजिल्यान्डले दुई स्वर्ण दुई कास्यसहित चार पदक हात पारेको थियो।

प्रतियोगितामा साउथ अस्ट्रेलिया र राजधानी एसीटीले तीन तीन कास्य पदक जितेर क्रमशः पाँचौं र छैठौं स्थान हात पारे। प्रतियोगितामा सहभागि पपुवान्यूगिनीलगायतका राज्यले कुनै पदक जित्न सकेनन्।

प्रतियोगिताको फुटबलमा बेनी एफसीले साउथ अस्ट्रेलियालाई हराउँदै स्वर्ण पदक जितेको छ। यस्तै ३५ वर्षमाथि भने सिड्नीको माछापुच्छ्रेले सेन्ट जर्जलाई हराउँदै उपाधि जित्यो।

यस्तै भलिबलतर्फ छन्त्याल परिवारले मोना अस्ट्रेलियालाई फाइनलमा हराएर उपाधि जितेको थियो। प्रतियोगितामा छन्त्यालका बिनोद काउछा उत्कृष्ट खेलाडी भए। यस्तै क्रिकेटमा न्यूसाउथवेल्स टिमले भिक्टोरियालाई हराउँदै स्वर्ण पदक जित्यो।

फाइनलमा न्यु साउथवेल्सका गोविन्द कार्की क्यान अफ दी म्याच भए। यस्तै गल्फको बिभिन्न विधा अन्तर्गत लङ्गेस्ट ड्राइभमा तपन शर्मा, नियरेस्ट टु दी पीनमा पदम राई, नोभिसमा प्रनव मैनाली, हयान्डीक्यापतर्फ मधु पोखरेल,राम थापा,साजन तामाङ , दिपक खड्का लगायत विजयी भए।

यस्तै अर्को विधा ब्याडमिन्टनमा भने मेलवर्नका खेलाडीले उपाधिमाथि कब्जा गरे।  १५ वर्ष मुनि भिक्टोरियाकी अनुस्का पोखरेल। मिक्स डबल्समा भिक्टोरियाकै  सन्जिव खड्का र आर्या पोखरेलको जोडी, महिला एकलमा भिक्टोरियाकै मेघा चन्द, पुरूष एकलमा भिक्टोरियाकै सन्जय खड्काले स्वर्ण पदक हात पारे।

४५ वर्ष माथिको भिडन्तमा न्युसाउथवेल्सका नरेश ताम्राकार र टिम  तिवारीको जोडीले सन्जय श्रेष्ठ र सिताराम जोशीको जोडीलाई हराउँदै स्वर्ण पदक जिते। ४५ माथिको पुरुष एकलमा सन्जय श्रेष्ठले टिम तिवारीलाई हराउँदै स्वर्ण पदक हात पारेका छन्।

यस्तै मास्टर एकलमा भने क्वीन्सल्यान्डका  दिपक रेग्मीले न्यूसाउनवेल्सका  लिजन मास्केलाई हराउँदै पहिलो स्थान प्राप्त गरे।

बास्केटबलमा न्यु साउथवेल्सको बजरले साउथ अस्ट्रेलियाको वाइल्ड याकलाई पराजित गर्दै स्वर्ण पदक जित्यो। लन टेनिसतर्फ पुरुष एकलमा सिड्नीका मिलन रोकायाले मेलवर्नका विनित श्रेष्ठलाई हराउँदै स्वर्ण पदक जिते।

पुरूष युगलतर्फको भिडन्तमा ज्योती राजभण्डारी र बिनित श्रेष्ठको जोडीले  बिष्णु हमाल र राजु अधिकारीको जोडीलाई हराएर पहिलो स्थान प्राप्त गरेका छन्।

यस्तै मास्टर्स एकलमा मेलवर्नका सन्दिप  भण्डारीले आफ्नै क्षेत्रका राजेन्द्र कार्कीलाई पराजित गरी प्रथम स्थान प्राप्त गरेका थिए। प्रतियोगिताको टेबलटेनिसको पुरूष एकलमा अतुल श्रेष्ठ, ३५ वर्ष माथिको एकलमा कुलदिप प्रधान, महिला एकलमा एरिका महर्जन, पुरूष युगलतर्फ  अतुल श्रेष्ठ र अनुपम श्रेष्ठको जोडी तथा  मिश्रीत युगलमा सन्दिप दुवाल र एरिका महर्जनको जोडीले स्वर्ण पदक हात पारेको छ।

यस क्षेत्रमा बसोबास गर्दै आएका नेपालीलाई  खेलको माध्यमबाट जोड्ने र आपसी भाइचारा कायम गर्ने प्रतियोगिताको मुख्य उद्धेश्य रहेको आयोजक नेपाल रिक्रेयसन क्लबका अध्यक्ष बिष्णु हमालले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.