किन आत्महत्यासम्म पुग्छन् विद्यार्थी अस्ट्रेलियामा ?


नेपालीहरूले अस्ट्रेलियामा काम पाउन सहज होस् भनेर फेसबुकमा खोलिएको कुनै पेजमा एउटा म्यासेज केही दिन पहिले राखिएको थियो । म्यासेज भर्खर नेपालबाट सिड्नीमा पढ्न आएकी एक २० वर्षे किशोरीले लेखेकी थिइन् । म्यासेजमा भनिएको थियो – ‘दाइ म नेपालबाट आएको तीन महिना भयो । अहिलेसम्म केही काम पाएको छैन । अब मैले नेपालबाट ल्याएको सबै पैसा सकिन लागिसक्यो । मसँग ट्रेनमा जाने भाडा पनि छैन । मेरो यहाँ आफ्नो साथीभाइ र आफन्तहरू खासै कोही पनि छैन । म जेसुकै भए पनि काम गर्न तयार छु । कृपया मलाई सहयोग गर्नुहोस् न !’

यो त एउटा प्रतिनिधि उदाहरण मात्र मैले यहाँ राखेको हुँ । यदि नेपालीहरूलाई सहयोग गर्नका लागि खोलिएका फेसबुक पेज वा वेबसाइटलाई अलि नियाँलेर हेर्ने हो भने यस्ता सूचना वा म्यासेजहरू प्रशस्तै रूपमा भेटिन्छन् । केही म्यासेजलाई काम पाउनका लागि गरिएको याचना मात्र मान्ने हो भने पनि यतिविघ्न म्यासेजहरू आउनु समस्याको विकराल प्रकृतिलाई प्रष्ट रूपमा झल्काउँछ । यी म्यासेज मात्र होइनन् यदि हामीले देखेभेटेका साथीभाइ वा छरछिमेकसँग पनि यस विषयमा कुरा बुझ्ने हो भने भर्खर आएका भाइबहिनीहरूले काम नपाएर भित्रभित्रै पिल्सिएका, काम र कलेजको बोझले पिरोलिएका वा काममा अनेकौं दुःख भोगेका घटनाहरू प्रशस्तै भेटिन्छन् । तर विद्यार्थीका लागि यी मात्र समस्या होइनन् । बुझ्न जरुरी के छ भने यदि सही मार्गनिर्देश र सहयोग पाइएन भने यो त समस्याको शुरुवात मात्रै हो । यी समस्याको वेलैमा सही निराकरण नगरिएको खण्डमा यसको अन्त्य साह्रै दुःखद् हुन्छ । जस्तो कि केही समयअघि एक चेलीले आत्महत्याको बाटो रोजिन् । त्यो आत्महत्या केवल एउटा मनको अन्त्य होइन, त्यो आत्महत्या यो समाजका लागि एक गतिलो झापड पनि हो जहाँ यथार्थभन्दा बढी भ्रममा जिउने वातावरण बनिरहेको छ र जहाँ मान्छेको भन्दा बढी धनको आराधना गर्ने गरिन्छ । अनि त्यो आत्महत्या उनीजस्ता हजारौँ किशोरकिशोरीका लागि एउटा चेतावनी पनि हो जस्को जिम्मेवारी उनलाई यो बाटोमा अगाडि बढाउने हरकोहीले केही मात्रामा भए पनि लिनैपर्छ ।

समस्याको शुरुवात

सबैभन्दा पहिले नेपालमा रहेका विद्यार्थीलाई विदेशमा पठाउने मोह सिर्जना गर्नका लागि अनेक विज्ञापनहरू गरिन्छन् । विज्ञापन यसरी गरिन्छन् मानौं विदेशमा सुनको अण्डा दिने कुखुरा पाइन्छ अनि विज्ञापन यसरी गरिन्छन् कि मानौं भिसा पाउनासाथ जिन्दगीले एउटा नाटकीय मोड लिँदै कायापलट गरिदिन्छ किनकि विदेशमा जानेवित्तिकै सबथोक सहजै आर्जन गर्न सकिन्छ – धन, सम्पत्ति, पढाइ आदिआदि । कुनै पनि परामर्शदाताले आफ्नो व्यवसायिक सफलतालाई मध्येनजर गर्दै विज्ञापन गर्नुलाई स्वभाविक मान्न सकिएला तर एउटा विद्यार्थीको भविष्यसँग सम्बन्धित भएका कारणले यदि परामर्शदाताले केवल विद्यार्थी तान्नका लागि मात्र विज्ञापन गर्छ भने त्यो व्यापारमुखी परामर्शदाता मात्र हो । विद्यार्थी भएर विदेशमा जाँदा कति कुरामा ध्यान दिनुपर्छ, कति कुराले विद्यार्थीलाई मर्का पार्न सक्छ र विद्यार्थी जीवनमा केके उतारचढाव हुन सक्छन् भनेर यसको गुण र दोषका बारेमा पनि परामर्श दिनसक्ने परामर्शदाता भएमा मात्र विद्यार्थीको मनमा केवल रंगीन सपना मात्र भरिँदैन, विद्यार्थीलाई आइपर्न सक्ने कठिनाइसँग जुध्न पनि हौसला श्रृजना हुन सक्छ । समस्या त अझ के छ भने नेपालमा परामर्शदातालाई अहिलेसम्म न त सरकारले न त अरू कसैले नै निगरानी गरेको देखिन्छ वा त्यसतर्फ कुनै कार्यक्रम नै ल्याइएको छ । यो वर्ष यति विद्यार्थी पठायौँ र अर्को वर्ष यति विद्यार्थी पठाउने लक्ष्य छ भनेर हाको हाल्ने परामर्शदाताले के बुझ्न जरुरी छ भने विद्यार्थी संख्याले मात्र गुणस्तरीय मापन हुँदैन । पठाइएका विद्यार्थीमध्ये कतिजनाले अध्ययन पूरा गरे अनि त्यही विषयमा काम गरिरहेका छन् त भन्ने प्रश्न मूल कुरो हो ।

आधुनिक युगमा फेसबुकजस्ता सामाजिक सञ्जालले पनि विद्यार्थीको मन भड्काउनका लागि मद्दत पु¥याएका छन् । फेसबुकको भित्तामा राखिने विदेशका सुन्दर दृश्यका तस्वीर, साथीभाइले गरेका मोजमस्तीका तस्वीरहरू हेरेर पनि युवावस्थाका विद्यार्थीहरु सजिलैसँग आकर्षित भएर विदेशको सपना देख्न थाल्छन् । सपना देख्नु कुनै पाप होइन तर समस्या के हुन्छ भने फेसबुकको भित्तामा केवल राम्राराम्रा, मोजमस्ती र रमाइला पलहरू मात्र आइरहेका हुन्छन् । कसैले पनि आपूmले दुःख गरेको वा विदेशमा पीडा र व्यथाका तस्वीरहरू राख्दैनन् जस्ले गर्दा विद्यार्थीले विदेशमा खालि सुख मात्रै पाइन्छ भन्ने मानसिकता बोकेर विदेशिने सपना देख्दछन् ।

विद्यार्थी जीवनको सकस

म विद्यार्थी भएर दस वर्षअघि अस्ट्रेलिया आउँदा हाम्रो कलेजमा एकजना मात्र साथी थिए जो केवल पढ्नका लागि मात्र आएका थिए । हुनेखाने मध्येमा पर्ने उनले आफ्नो पढाइको फिस, बस्ने, खाने र अन्य खर्चका लागि पूर्णतया घरबाट पैसा मगाउँथे र अरू कामहरू केही पनि गर्दैनथे । अब्बल विद्यार्थीमा पर्ने उनले आफ्नो अध्ययन अब्बल नम्बरका साथ पूरा गरे र पढाइसकेपछि नेपाल फिरे । अहिले उनले नेपालमा राम्रै काम गरिरहेका छन् । यीबाहेक हाम्रो ब्याचमा कोही पनि पढ्नका लागि भनेर आएका विद्यार्थी मैले भेटेको थिइनँ र छैन । प्रायःजसो नेपालीहरू अस्ट्रेलियामा मध्यम वर्गीय र निम्न मध्यम वर्गीय परिवारबाट आउँछन् । सम्पन्न परिवारबाट आएकाहरूले खासै विद्यार्थी जीवनमा अरुले जस्तो सकस भोग्नु नपर्ला तर जो मध्यम र त्योभन्दा तल्लो वर्गबाट आउँछन् उनीहरू प्रायः एक सेमेष्टरको फिस नेपालबाट तिरेर आएका हुन्छन् र बाँकी यहीँ कमाएर तिर्ने र बचाएर घर समेत पठाउने आशामा आएका हुन्छन् । त्यसपछि विद्यार्थीको सकसको अर्को पाटो शुरु हुन जान्छ । एक त बीस घन्टाभन्दा बढी कानुनी रूपमा काम गर्न पाइँदैन, त्यसमा पनि फिस तिर्नुपर्ने टेन्सन, भाडा, खाना खर्च अनि अनेकथरि अन्य समस्याहरू । अझ कलेजको गृहकार्य समयमैं गर्नुपर्ने प्रेसर अनि गयल भइयो भने त्यो विषयमा फेल भइनें र अर्कोपटक पैसा तिरेर पढ्नुपर्ने सकस । यी समस्याहरूलाई पनि विद्यार्थीले राम्रोसँग व्यवस्थापन गर्न सकेनन् भने भित्रभित्रै मानसिक यातना भोग्न बाध्य भइरहेका हुन्छन् । यसलाई पनि समयमा नै समाधान गरिएन भने अझ विकराल रूप लिन सक्ने खतरा हुन जान्छ ।

अभिभावकको दायित्व

हर कोही अभिभावकले आफ्ना सन्तानको सुखद् भविष्यको लागि अनेक सपना बुनेका हुन्छन् । सपना साकार पार्नका निमित्त हरतरहले सहयोग गर्नु र त्यस बाटोमा लागेका आफ्ना सन्तानको उचित निगारनी गर्नु तथा सरसल्लाह गर्नु अभिभावकीय दायित्व हो । तर विदेश अध्ययन गर्न जाने सन्तानको मामिलामा भने यो कुरा पूर्ण रूपमा लागू भएको पाइँदैन । आफ्ना सन्तानलाई विदेशमा पठाउँदा आर्थिक तथा व्यवस्थापकीय पक्षमा समेत पूर्ण रूपमा जानकारी हुनु जरूरी हुन्छ । तर हाम्रो समाजमा ‘फलानाको छोरोले विदेश गएको तीन महिनामैँ यति पैसा पठायो तैँले किन पठाउँदैनस्’ भनेर पैसा कमाउनुलाई नै बढी प्राथमिकता दिइन्छ । अझ यो फलानोको छोरोले यति पठायो भन्ने हौवाले त झन् अभिभावकको दिमागमा धेरै नै जरो गाडेको पाइएको छ जसले गर्दा अध्ययन गर्न गएका विद्यार्थीले पढाइलाई भन्दा बढी कामलाई प्राथमिकतामा राख्न खोज्दछन् र यसैको फलस्वरुप अनेक समस्याले ग्रसित हुन सक्ने सम्भावना बढ्न जान्छ।

गलत संगत र आचरण

विदेशमा आफन्त भएका विद्यार्थीहरू आफ्नो आफन्तको निगरानी र सरसहयोगमा बस्ने हुनाले गलत संगत र प्रवृत्तितिर लम्केको खासै भेटिदैन । तर जो विद्यार्थीहरू एक्लै आएका हुन्छन् उनीहरूलाई यदि कुनै समस्या आइप¥यो भने उचित सल्लाह र मार्गनिर्देशको अभावमा गलत प्रवृत्तितिर लम्किने खतरा बढ्छ । यस्तो समस्या व्यापक रूपमा नभेटिए पनि केही नेपालीहरू त्यस बाटोमा फसेको उदाहरणहरू पनि अस्ट्रेलियामा भेटिन्छन् । कोही जुवा खेल्ने लतमा फँसेका, कोही लागू औषधको लतमा फँसेका र कोही वाध्यताले गर्दा देहव्यापारमा समेत होमिएका उदाहरणहरू वेलावेलामा आउने गरेका छन् । त्यस्तै पूर्वीय संस्कृति र पारिवारिक रेखदेखमा हुर्केर एक्कासी पश्चिमी संस्कृति र उदार जीवनशैलीमा आएका केही विद्यार्थीहरूले यसलाई गलत रूपमा व्याख्या गर्दै गलत तरिकाले देखासिखी गर्ने गरेको पनि भेटिन्छ । यस्ता समस्यालाई निराकरण गर्न साथीभाइ, आफन्त, इष्टमित्र र समाजका हरेक सदस्यको उत्तिकै भूमिका जरुरी हुन्छ ।

दायित्वहीन सामाजिक संस्था

हुन त अस्ट्रेलियामा सामाजिक संस्थाको कमी छैन । नेपालको हरेक जिल्लाको नाममा होस् वा नेपालको हरेक पार्टीको नाममा नै किन नहोस् यहाँ सामाजिक संस्थाहरू खोलिएका छन् । तर, समाजको उत्तरदायित्व बहन गरेर समाजका समस्यालाई निराकरण गर्ने मूल मन्त्र बनाएका सामाजिक संस्था भने नगन्य रूपमा मात्र छन् । सदस्यताको हिसाबले अग्रणी स्थानामा रहेको एनआरएनएले अस्ट्रेलियाले विद्यार्थीका समस्यालाई आफ्नो कर्तव्यको उपल्लो स्थानमा राखेको पाइँदैन । जतिसुकै समाजका लागि काम गर्छु भनेर चिच्याए पनि यथार्थमा विद्यार्थीको समस्याको सवालमा यो संस्था पनि निकै पछि परेको महसुस गर्न सकिन्छ ।

विदेशमा अध्ययन गर्न जानुसँगै अनेक दुःख, कष्ट, र पिडाहरू पनि हुन्छन् । दुःख जहाँ पनि छ । विद्यार्थी जीवनमा हुनु पनि स्वभाविकै हो । तर यसलाई समस्याको रूपमा मात्र लिइनु हुँदैन । यसलाई त आफ्नो क्षमताको प्रदर्शन गर्न सकिने गतिलो प्लेटफर्मको रूपमा लिएर सोही अनुरूप जीवनको केही उर्जाशिल वर्षलाई दृढ संकल्प र इच्छाशक्ति लिएर पार लगाउने अठोटका साथ आउन जरुरी छ । निम्न मध्यम वर्गीय परिवारबाटै आएका तर दृढ संकल्प र अठोट लिएर संघर्षशिल भएर आएका अनेक व्यक्तिहरू अहिले स्थापित भएका उदाहरणहरू पनि यही समाजमा प्रशस्तै छन् । समस्याबाट भाग्नु समाधान होइन, डटेर सामना गर्ने अठोट गरौं ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.