रूस, इरान र कोरियामा नाकाबन्दी लगाउने प्रस्ताव अमेरिकी संसदद्वारा पारित


अमेरिकी संसदको तल्लो सदनले रुस, इरान र उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध गरिरहेका भएपनि सदनले यी तीन देशमा नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको हो।

मंगलबार यसका लागि मतदान भएको थियो। कुल ४२२ मतदानमध्ये बिधेयकको पक्षमा ४१९ र विपक्षमा ३ मत परेको थियो।

यो बिधेयक प्रस्ताव राष्ट्रपति ट्रम्पको हस्ताक्षरका लागि पठाउनुअघि सिनेटले पारित गर्नुपर्नेछ।

सिनेटमा बिधेयकको समीक्षा भइरहेको र यदि पास भएमा ट्रम्पलाई समस्या हुने बताइएको छ। यो नयाँ प्रतिबन्धले अमेरिका र रूसको सम्बन्ध जटिल हुने र रुससँग सम्बन्ध सुधार्ने ट्रम्पको योजना असफल बन्ने बताइएको छ।

उनलाई यो बिधेयक विफल बनाउने विशेषाधिकार छ। तर, उनले यसो गरेमा रुसप्रति आफ्नो समर्थन छ भन्ने सबैको अनुमानलाई झन् बलियो बनाइदिनेछन्। त्यसैले राष्ट्रपति ट्रम्पले यो विशेषाधिकार प्रयोग गर्ने सम्भावना कम रहेको सम्बन्धित विश्लेषकहरुको भनाइ छ।

अमेरिकाले यसअघि नै रुसी नागरिक र कम्पनीहरुमाथि नाकाबन्दी लगाएको छ। गत  वर्षको डिसेम्बरमा पूर्व राष्ट्रपति बाराक ओबामाले ३५ रुसी कुटनीतिज्ञलाई फिर्ता पठाइदिएका थिए।

इरान र उत्तर कोरियामाथि भने उनीहरूको परमाणु र मिसाइलका विषयलाई लिएर अमेरिकाले प्रतिबन्ध लगाउन खोजेको हो।

(एजेन्सीको सहयोगमा)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.