ग्लोबल नेपाली
इमर्जेन्सी फिजिसियन डा. रामु खरेल अमेरिकाको ब्राउन विश्वविद्यालयका उपप्राध्यापक हुन्। उनी हरेक वर्ष तीन-चार महिना नेपालमा हुन्छन्।
नेपालमा उनी समुदायस्तरमा काम गर्छन्। उनको प्राथमिकता आकस्मिक उपचारमा छ। यसपटक नेपाल आउँदा पनि उनी यस्तै काममा व्यस्त भए।
उनकै अग्रसरतामा ब्राउन विश्वविद्यालय र अछामको बयलपाटा अस्पतालबीच सहकार्य भएको छ। उनको धेरैजसो कार्यक्षेत्र बयलपाटा अस्पताल र आसपासका ठाउँ नै हो।
उनी 'हेल्थ एड्भान्समेन्ट प्रोग्राम टु सर्भ अल, नेपाल (हाप्सा नेपाल)' नामक एक गैरसरकारी संस्थाका संस्थापक र प्रमुख रणनीतिकार हुन्। उनी नेपालमा 'सिपिआर' र 'चोकिङ' बारे पनि समुदायस्तरमा काम गर्दैछन्।
'बयलपाटा अस्पतालसँग मिलेर आकस्मिक सेवाको सुधारबारे काम गरेका छौं। हाप्सा नेपालको टिम त्यही काममा लागि नेपाल आउँछौं,' उनले भने, 'यसपटक हामीले विपत्ति हुँदा कसरी काम गर्न सकिन्छ र त्यसमा के कस्ता अभाव छन् भन्ने अनुसन्धान गर्यौं। साँफेबगरमा एउटा सर्भे पनि गर्यौं।'
नेपालका सबै प्रहरी र शिक्षकलाई सिपिआर र चोकिङबारे सिकाउने योजनाअनुसार आफूहरू अघि बढेको उनले बताए। उनका अनुसार नेपालमा निस्सासिएर धेरैको मृत्यु हुने गरेको छ। यस्तो घटना रोक्न केही अभियान चलाएको बताए।
सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) मुटुमा रक्तसञ्चार अवरोध हुन नदिन छातीमा गरिने आकस्मिक सेवा हो। चोकिङ भनेको कुनै वस्तु अड्केर सास फेर्न नसकेको अवस्थामा गरिने आकस्मिक सेवा हो।
'म हाप्सा नेपालसँग मिलेर सिपिआर र चोकिङमा काम गरिरहेको छु। हामी तालिम गराउने र त्यसको प्रभाव मूल्यांकन गर्ने काम गर्छौं,' उनी भन्छन्, 'मैले र मेरो टिमले डेढ वर्षअघि त्रिभुवन विश्वविद्यालयमा नेपालको सबभन्दा पहिलो विषसूचना केन्द्र खोलेका थियौं। हामी यसका लागि पनि काम गर्दैछौं।'
उनका अनुसार हाप्सा नेपालले स्थानीय सरकारसँग मिलेर काम गर्ने गरेको छ। सरकारसँग सहकार्य गरेर सरकारकै प्रणाली मजबुत बनाउन उनको जोड छ।
रामु १२ वर्षकै उमेरमा अमेरिका गएका थिए। उतै टेक्सस राज्यको ह्युस्टनमा हाइस्कुल पढे, उर्दू साहित्यमा अन्डर ग्र्याजुएट डिग्री गरे। त्यसपछि मेडिकल शिक्षा पढे।
'मलाई आफू डाक्टर बन्नु छ भन्ने थाहा थियो। बाबाले तँलाई अमेरिका ल्याउँछु तर डाक्टर बन्नुपर्छ भन्नुभएको थियो,' ३३ वर्षीय चिकित्सक रामुले भने, 'पाँच वर्ष उर्दू साहित्य पढेपछि मेडिकल स्कुल गएँ।'
चिकित्सा शिक्षाको एक तह पूरा गरेपछि उनले हार्वर्ड विश्वविद्यालयबाट एक वर्षको पब्लिक हेल्थ कोर्ष पूरा गरे। एमडी पढाइ सकेपछि 'इमर्जेन्सी फिजिसियन' को विशेषज्ञ तालिम लिएर फेलोसिपमा ब्राउन युनिभर्सिटी गएका हुन्। हाल उनी ब्राउन युनिभर्सिटीमा उपप्राध्यापक छन्।
'अमेरिकामा अन्डर ग्र्याजुएट डिग्री जुन विषयमा लिएको भए पनि मेडिसिन (चिकित्सा शिक्षा) पढ्न पाइन्छ। बायोलोजी नै पढेको हुनुपर्छ भन्ने छैन,' उनले भने, 'मलाई उर्दू साहित्यमा रूचि भएकाले त्यही पढेँ। त्यसपछि मात्रै मेडिसिन पढेको हुँ।'
उनका अनुसार अमेरिकामा चार वर्षको अन्डर ग्र्याजुएट डिग्री पूरा गरेपछि मात्र मेडिकल स्कुल जान पाइन्छ। चार वर्षको मेडिकल शिक्षा कोर्स सकेपछि तीनदेखि ६ वर्षको 'रेजिडेन्सी' सेवा गर्नुपर्छ। उनले तीन वर्ष रेजिडेन्सी र दुई वर्ष फेलोसिप गरे। उनी अमेरिकामा माध्यमिक तहको पढाइ पूरा गरेको १३ वर्षमा असिसटेन्ट प्रोफेसर भए।
भुइँचालोले बनायो इमर्जेन्सी फिजिसियन
नेपालको दुर्गम गाउँमा जन्मे-हुर्केका रामुले नजिकको अस्पताल पुग्न आठ घन्टा हिँड्नुपर्ने बाध्यता देखे-भोगेका थिए। अहिले पनि उनको गाउँमा धेरै परिवर्तन भएको छैन। उनले संयोगले विकसित मुलुकमा चिकित्सा शिक्षा पढ्न पाए।
'म दुर्गम क्षेत्रका समस्याको समाधान पहिल्याउन डाक्टर बन्न चाहन्थेँ। बुबा पनि मलाई डाक्टर नै बनाउन चाहनुहुन्थ्यो। संयोगले हाम्रो चाहना पूरा भयो,' उनले भने, 'मैले नेपालमा सन् २०१० मै तामाङ बस्तीमा काम गर्न थालेको थिएँ। सन् २०१५ मा भूकम्प आएपछि त्यो बस्तीका ८० प्रतिशत घर भत्किए। त्यसपछि त्यस्ता बस्तीहरूमा स्वास्थ्य सेवाको काम गर्नुपर्छ भन्ने सोच आयो।'
त्यही विनाशकारी भूकम्प रामुको 'टर्निङ प्वाइन्ट' बन्यो। भूकम्पपछि विपत्ति, चोटपटक र आकस्मिक सेवाका विषयमा उनको चासो बढ्यो।
खासमा उनी स्त्री तथा प्रसूति रोग विशेषज्ञ बन्न चाहन्थे तर भूकम्पपछि उनको ध्यान इमर्जेन्सी फिजिसियनमा गयो। यसकारण उनले भूकम्पलाई आफ्नो टर्निङ प्वाइन्ट मानेका हुन्।
'त्यो बेला (नेपालमा भूकम्प आउँदा) म मेडिकल स्कुलमा थिएँ। मलाई प्रसूति तथा स्त्रीरोग विशेषज्ञ बन्न मन थियो तर भूकम्पले आकस्मिक सेवातर्फ तान्यो,' उनले भने, 'नेपालको भूकम्प मेरा लागि टर्निङ प्वाइन्ट बन्यो।'
एक वर्षअघि जाजरकोटमा भूकम्प आएपछि पनि उनी नेपाल आएका थिए।
डा. रामु दुर्गम गाँउमा आकस्मिक उपचार सेवाबारे जनचेतना फैलाउन सक्रिय छन्। सम्भावित विपदको पूर्वतयारी गर्नुपर्नेमा उनको जोड छ।
उनले अमेरिकामा हुने आकस्मिक उपचार सेवासम्बन्धी अनुभव सुनाए।
अमेरिकामा दुर्घटनामा परेका वा आकस्मिक रूपमा बिरामी परेका व्यक्तिको उपचारमा विशेष सतर्कता अपनाइन्छ। सामान्य कारणले इमर्जेन्सीमा भर्ना हुन चाहने बिरामीका लागि काउन्सिलिङ सेवा दिइन्छ।
अमेरिकामा उनी काम गर्ने अस्पतालमा इमर्जेन्सी सेवाका लागि आउने बिरामीलाई त्यो सेवा जरुरी छ कि छैन, कस्तो सेवा आवश्यक छ भन्ने निर्णय लिनुपर्ने उनको जिम्मेवारी छ। उनी 'ग्लोबल हेल्थ' र 'पब्लिक हेल्थ' मा पनि काम गर्छन्। यसकारण पनि नेपाल आइरहन्छन्। दुर्गम क्षेत्रको आकस्मिक सेवा सुधार गर्न सकेको योगदान गर्छन्।
उनी भन्छन्, 'मैले नेपालमा काम गर्न थालेको सन् २०१० मा हो। जोसँग काम गरेँ ती सबै परिवार जस्ता भएका छन्। खास गरेर नेपालका दुर्गम गाउँको समस्या देख्दा मलाई झन् बढी काम गर्न मन लाग्छ।'
दुर्गमको दुःख
यसपटक अछामबाट बाजुरा र मुगु हुँदै 'कर्णाली एकेडेमी अफ हेल्थ साइन्स' तिर जाँदै गर्दा उनले तीन वर्षका बालक भेटे। बालकको कुहिनोमा दुई दिनअघि चोट लागेको रहेछ, हात नचल्ने भएको रहेछ।
कोदो भिजाएर कुहिनोमा बाँधिएको थियो। बालक रोइरहेका थिए।
डा. रामुले ती बालकको हड्डी भाँचिएको अनुमान गरे। बालकको घरनजिकको स्वास्थ्य चौकीमा एक्स-रे मेसिन वा अर्को आधुनिक उपकरण थिएन। एक्स-रे गराउन करिब सात घन्टा हिँडेर 'कर्णाली एकेडेमी अफ हेल्थ साइन्स' पुग्नुपर्थ्यो।
'दुर्गममा यस्ता धेरै समस्या छन्। समाधान गर्न हामी सबै अघि बढ्नुपर्छ। म दुर्गमको नेपाली हुँ। मलाई नेपाल थाहा छ,' उनी भन्छन्, 'मैले गरिनँ भने, मजस्ता अरूले पनि गरेन भने, अर्को कसैले गर्दैन। दुर्गममा काम गर्ने डाक्टरहरूले धेरै दुःख गर्नुभएको छ।'
यस्तै अनेक कारणले डा. रामु नेपालका दुर्गम क्षेत्रमा काम गर्न अग्रसर छन्।
उनी भन्छन्, 'बयलपाटा अस्पतालमा एक जना अर्थोपेडिक सर्जन हुनुहुन्छ, मन्दिप पाठक। उहाँलाई त्यहाँ भगवान जस्तो मान्छन्।'
उनका अनुसार दुर्गम क्षेत्रका बासिन्दाका लागि अछामको बयलपाटा अस्पतालले उदाहरणीय काम गरेको छ। अस्पतालले त्यस क्षेत्रका चारवटा जिल्लामा निःशुल्क सेवा दिएको छ। वर्षभरिमा करिब ८० हजारले व्यक्तिले निःशुल्क उपचार पाउँछन्।
प्रशासनिक झमेला
नेपालमा काम गर्न प्रशासनिक झमेला धेरै रहेको डा. रामुको अनुभव छ। उनले निकै तितो अनुभव पनि गरेका छन्। सरकारी निकायले कामको निर्णय लिन अनपेक्षित रूपमा लामो समय लगाइदिन्छन्।
आफ्नो मातृभूमिप्रति उनको गहिरो आस्था छ तर नेपालीहरूले नै पराइ ठान्ने गरेको उनको अनुभव छ।
'म अमेरिकामा जहिले पनि नेपाल, नेपाल भन्छु। अमेरिकीहरू यो नेपाली हो, अमेरिकी होइन भन्छन्। नेपाल आउँछु त यो विदेशमा बस्छ, यसलाई नेपाल के थाहा भन्छन्,' उनले मनको बह पोखे, 'कतिपयले त नेपाली नै होइन, विदेशी हो भन्छन्। म नेपालका लागि काम गर्दैछु भन्ने सोच्दैनन्।'
मनको यस्तो बहले मातृभूमिप्रतिको आस्था झन् गढा बनाउन मद्दत गरेको छ। उनी आफूलाई दुई दिने पाहुना नभई विदेशमा बसेर पनि नेपालका लागि काम गर्ने व्यक्तिका रूपमा चिनाउन चाहन्छन्।
अत्याधुनिक सञ्चार प्रविधिले डायस्पोराबाट पनि मातृभूमिका लागि धेरै योगदान गर्न सक्ने उनको विश्वास छ।
'हामी धेरै काम टेली-मेडिसिनबाट पनि गर्न सक्छौं। यहाँ (नेपालमा) प्रशासनिक झमेला छ। यहाँको प्रणालीअनुसार नै काम गर्नुपर्यो,' उनी भन्छन्, 'प्रणाली सुधार्ने काम राजनीतिक दलहरूको हो। हामीले आफ्नो काम गर्ने हो। जसरी सकिन्छ त्यसरी नै गर्नुपर्यो, काम रोकिनु हुँदैन।'
डा. रामुका अनुसार नेपाली र अमेरिकी स्वास्थ्य प्रणालीको तुलना हुँदैन। यसो भए पनि अमेरिकामा सबै राम्रो र नेपालमा सबै खराब छ भन्ने होइन।
'अमेरिकामा धेरै पैसा छ तर नतिजा कम देखिन्छ। अमेरिकाको स्वास्थ्य प्रणालीमा पनि धेरै कमजोरी छन्,' उनी भन्छन्, 'नेपालको स्वास्थ्य प्रणालीमा पैसा धेरै छैन, हुनुपर्ने जति लगानी छैन तर यहाँ थोरै खर्चमा धेरै काम हुन्छ। अमेरिकामा ३०–४० हजार डलर खर्च हुने सर्जरी (शल्यक्रिया) बयलपाटामा पाँच डलरमै हुन्छ।'
नेपालमा रूखबाट लडेर, गाडी दुर्घटनामा परेर मृत्यु हुनेको संख्या निकै ठूलो रहेको उनको भनाइ छ। तर अमेरिकाको तुलनामा उपचार सेवा नेपालमा सहज रहेको उनले देखेका छन्।
नेपालमा डिप्रेसन (मानसिक अवसाद) पनि बढ्दो क्रममा रहेको उनको ठहर छ।
डा. रामु संलग्न संस्था हाप्सा नेपालले शिक्षक र प्रहरीलाई सिपिआर र चोकिङ सम्बन्धी तालिम दिने अभियान अन्तर्गत डोटी, अछाम, मुस्ताङ र काठमाडौंमा काम सुरू गरेको उनले बताए। यसमा नीतिनिर्माणको तहमा काम गर्नुपर्ने आवश्यकता पनि देखेका छन्।
उनी भन्छन्, 'सिपिआर दिँदै गर्दा बिरामीको मृत्यु भयो भने उपचार गर्ने व्यक्तिलाई कानुनले संरक्षण गर्नुपर्छ। उद्धार गर्नेलाई नै कारबाही हुने स्थिति आउनु हुँदैन।'
अमेरिकाको अस्पतालमा आकस्मिक कक्षमा सेवाको जिम्मेवारी रहेको व्यक्ति हरेक वर्ष कम्तीमा तीन महिनाका लागि नेपाल आउन कसरी सम्भव भएको होला?
डा. रामुले जबाफमा भने, 'जहाँ इच्छा त्यहाँ उपाय।'
उनी सामाजिक काममा ब्राउन युनिभर्सिटीका लागि अनुसन्धान समेत हुने गरी नेपाल आउँदा रहेछन्। उनले नेपालमा तीन महिना काम गर्दा ब्राउन युनिभर्सिटीलाई हुने फाइदाबारे विश्वास दिलाएका छन्। उनी इच्छाशक्तिलाई पनि कारण मान्छन्।