ग्लोबल नेपाली
अमेरिकामा जन्मेका अनि हुर्केका साभर थापा शाही अहिले १७ वर्षका भए। ११ कक्षा सकेर १२ पढ्दै गरेका साभरले नेपालसँग जोडिएर काम गर्न सुरू गरिसकेका छन्।
साउन पहिलो साता साभरले चितवनका विकट भेगमा पढ्दै गरेका बालबालिकालाई शैक्षिक सामग्री, पोशाक सहयोग गरे। विद्यार्थीको लागि पोशाक, शैक्षिक र स्वास्थ्य सामग्रीसहित करिब पाँच लाखभन्दा बढीको सहयोग उनले गरेका थिए।
उनले यो सहयोग आफ्ना साथी, आफन्त शिक्षक लगायतसँग जम्मा गरेको बताए।
झोला, कापी, कलम, पोशाक, जुत्ता, मोजा, मञ्जन, ब्रस, रूमाल, टावेल, साबुन लगायतका सामग्री उनले विद्यार्थीहरूका लागि उपलब्ध गराएका हुन्।
'मैले सामाजिक सञ्जालबाट अनि मेरो अभिभावकहरूबाट चितवनको दुर्गम क्षेत्रका बालबालिकाको दुःखबारे थाहा पाएको थिएँ। गो फण्ड मी एपमा गएर उनीहरूको लागि सहयोग गर्न चाहेको उल्लेख गरेँ,' उनले भने, 'त्यसकै आधारमा मेरा साथी, शिक्षक अनि आफन्तहरूबाट सहयोग आयो। झण्डै ५ हजार डलर उठेको थियो। त्यही पैसाले सहयोग गरेको हो।'
सरसर्ती हेर्दा अहिलेको समयमा ५ लाख रूपैयाँ ठूलो रकम होइन। तर अमेरिकामा हुर्कँदै गरेको १७ वर्षे युवाले नेपाल सम्झेर सहयोग जुटाउनु आफैमा महत्वपूर्ण हो। विशेष गरेर विदेशमा जन्मेका पुस्ताको नेपालसँग भावनात्मक सम्बन्ध हुँदैन भनिन्छ। तर साभरले जुन प्रयास गरेका छन्, यसले भने नेपाल बाहिर जन्मिएको र हुर्किएको पुस्तालाई पनि नेपालको चासो हुन्छ है भन्ने पुष्टि गर्छ।

नेपालसँग भावनात्मक सम्बन्ध हुनुको श्रेय भने उनी आफ्ना अभिभावकलाई दिन्छन्।
'मलाई बाबा, मामुले नेपाल पठाउनुभयो। हजुरबुवा हजुरआमाले नेपाली सिकाउनुभयो। हामी घरमा पनि नेपाली बोल्छौं,' उनले भने, 'म सानोमा १७ महिना लगातार नेपाल बसेँ। त्यही भएर मलाई नेपाली पनि ठीकठकै आउँछ।'
नेपालमा रहेका आफ्ना अभिभावकहरू दन्तरोग विशेषज्ञ डा. अजय न्यौपाने (ठूलो बाबा) र सरू थापा (ठूली मामु) ले सामाजिक सेवामा लाग्न उत्प्रेरित गरेको उनले बताए।
अजय र सरूले स्वास्थ्य, शिक्षा, वातावरण र विपद् व्यवस्थापनमा काम गर्ने गरी डा.अजय एण्ड डा.सरु फाउण्डेसन स्थापना गरेका छन्।
फाउण्डेसनले देवघाटका १८ जना बालबालिकाको अभिभावकत्व ग्रहण गरिसकेको छ।
साभरका बुवा समिर शाही र आमा सविना थापा दुवै अमेरकामा इन्जिनयर हुन्। समिरकी आमा सबिनाले आफ्नो व्यवसाय समेत गरेकी छन् भने घरजग्गा कारोबारमा पनि छन्।
यसपटक नेपाल आउँदा साभरले भरतपुर महानगरपालिका–२९ मा रहेको रातामाटे, डुम्रे, कमलपुर र राप्ती नगरपालिका–१२ को डिहिटारका आधारभूत विद्यालयका विद्यार्थीहरूलाई सामग्री वितरण गरेका थिए। त्यस्तै भरतपुर–२५ स्थित सोसी विद्यालय र माडीको दिवाकर स्मृति माध्यमिक विद्यालयका विद्यार्थीलाई पनि उनले सहयोग गरेका थिए।
चितवनको दुर्गम भेगका विद्यार्थीसँग साक्षात्कार गरेपछि साभरको मनमा केही जिज्ञासा आए। त्यसपछि उनले अमेरिका र त्यहाँका बच्चाहरूको बानी व्यवहार समेत तुलना गरे।
'अमेरिकामा बच्चाहरूले सबै सुविधा पाएका छन्। सडक, स्कुल, घर सबै सुविधाजनक छन्। तर त्यहाँका बच्चाहरू असन्तुष्ट र किचकिचे छन्,' उनले भने,'तर यहाँका दुर्गम भागमा न बाटो राम्रो छ, न बस्ने राम्रो घर छ, न उनीहरूलाई खाना लाउन राम्रोसँग पुगेको छ। तर पनि ती बच्चाहरूको खुसी साह्रै लोभलाग्दो छ।'

भविष्यमा अमेरिकाको बच्चाहरू र नेपालको दुर्गम भेगका बच्चाहरूको बीचमा 'एक्सचेन्ज प्रोग्राम' गर्ने उनको योजना छ। त्यसका लागि अब काम सुरू गर्ने समेत उनले बताए। १२ पढ्दै गरेका साभरलाई भविष्यमा डेन्टिस्ट बनेर नेपालसँग पनि जोडिन मन छ।
'अमेरिकमा हुर्केका बच्चाहरूलाई पनि नेपाल चिनाउन प्रयास गर्छु। उनीहरूलाई पनि भावना सिकाउनु पर्छ अनि दुःख र दुर्गम देखाउन पर्छ,' उनले भने,'यताका बच्चाहरूलाई उता लगेर त्यहाँको विकास, प्रविधि र आधुनिकता देखाउनु पर्छ। यसमा मैले आफ्नो तर्फबाट सक्दो प्रयास गर्छु।'
साभर अहिले भर्खर १७ वर्षमा छन्। अहिले उनले बोले अनुसार नै काम हुन्छ भन्ने पनि छैन। तर उनी जसरी नेपालसँग भावनात्मक रूपमा जोडिएका छन्। यसले अरू बच्चाहरू पनि यसरी नै जोडिन सक्लान् भन्ने जिज्ञासा भने पैदा गर्छ। अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा लगायतका देशमा हुर्कँदै गरेको नेपाली पुस्तालाई नेपालसँग कसरी जोड्ने भन्नेमा साभर एउटा उदाहरण बन्न सक्छन्।
बच्चाहरूलाई नेपाली बोल्न लगाउने, नेपाल घुमाउने गरेमा नेपालसँग जोडिने उनको सुझाव छ।
'मलाई जसरी मेरो परिवारले नेपालसँग जोड्यो त्यस्तै सबैले गर्यो भने हामी नेपालबाट टाढा हुँदैनौं। त्यसको लागि नेपाललाई रिलमा होइन रियलमा देखाउनु पर्छ,' उनले भने, 'म अमेरिकामै जन्मिएँ, हुर्किएँ पनि मेरो मन मुटुमा नेपाल छ। मेरो देश नेपाल नै हो जस्तो लाग्छ।'
अमेरिका भन्दा नेपालका बच्चाहरू धेरै सामाजिक सहयोगी र दयालु अनि खुसी रहेको उनको बुझाइ छ। उनलाई नेपालको 'हस्पिटालिटी' पनि धेरै मन परेको छ। त्यसैले उनी सम्भव भएसम्म लामो बिदामा नेपाल आउँछन्। अब नेपाल आउँदा आफूसँग साथीहरू पनि ल्याउने र नेपाल चिनाउन धेरै-थोरै योगदान गर्ने उनले बताए।