उत्तर र दक्षिण कोरिया दुई देशका रुपमा टुक्रिए यता पहिलो पटक एउटै झण्डामा मार्च गर्न सहमत भएका छन्।
आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा यी दुवै देशले एउटै झण्डामा मार्च गर्न सहमत भएको बताइएको छ।
उत्तर कोरियाले दक्षिण कोरियामा हुन लागेको उक्त शीतकालीन ओलम्पिकमा आफ्ना खेलाडीको टोली र अन्य खेलकूद अधिकारीहरु पठाउने जानकारी यसअघि नै दिइसकेको छ। उक्त ओलम्पिक खेलमा सहभागिताका लागि उत्तर कोरियाली केही उच्च अधिकारी र पत्रकारहरू पनि जाने भएकाे बताइएको छ। यसरी उत्तर कोरियाली प्रतिनिधिमण्डल ठूलो हुने भएको समाचारमा जनाइएको छ।
दक्षिण कोरियाले यस खेलकूदमा उत्तरले बढी भन्दा बढी खेलाडी र अधिकारीहरु पठाओस् र जसले गर्दा दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउन सकियोस् भन्ने आग्रह गरेको थियो।
उक्त आग्रहजस्तै उत्तर कोरियाले खेलाडी र अधिकारी पठाउने भएको हो। यतिमात्र नभएर उत्तर र दक्षिण कोरियाले उक्त खेलकूदमा एउटै अथवा संयुक्त झण्डामा सँगसँगै मार्च गर्न सहमति जनाएकोले उक्त खेलकूदलाई एक किसीमले भन्दा सौहार्द वातावरणको रुपमा लिन सकिने पर्यवेक्षकहरुले जनाएका छन्।
यसका साथै युद्धविराम गाउँका रुपमा चिनिने पाममुनजोममा जनवरी ९ मा भएको एक उच्चस्तरीय कोरिया वार्तापछि तिनीहरुले आइस हक्की खेलको महिला तर्फको प्रतिस्पर्धामा संयुक्त टोली समेत प्रस्तुत गर्ने सहमति पनि जनाएका छन्।
यी दुई देशबीच यो स्तरको वार्ता करिब २ वर्षयता पहिलो पटक भएको थियो। सो वार्ताले सकारात्मक वातावरण निर्माण गरेपछि यसै हप्ता पनि दुई देशका अधिकारीहरुबीच कार्य समूहको अर्काे वार्ता पनि भएको थियो। यी दुई वार्तापछि उत्तर कोरियाले सो ओलम्पिक खेलमा आफ्ना खेलाडी पठाउन सहमत भएको थियो। यससँगै दुई वर्षयता पहिलो पटक यी दुई देशबीच शान्तिपूर्ण समझदारीको विकास पनि हुन पुगेको छ।
यसअघि सन् २००६ काे इटालीमा भएकाे शीतकालीन अाेलम्पिकमा यी दुई देशका खेलाडीलेसँगै मार्चपास गरेका थिए।