श्रीलंकामा सात दिन
लगभग दिनको १:३० बजे हामी श्रीलंकाको मिरिसामा सार्वजनिक बसबाट ओर्लियौँ। म गत फागुन ६ गते अर्थात् १८ फेब्रुअरी २०२५ को मध्यान्हको कुरा गर्दै छु। गालबाट मिरिसासम्मको हाम्रो बस यात्रा हिन्द महासागरको निकट किनारामा रहेको सडकमा भयो। हामी बसको समुद्रतर्फको सिटमा बसेका थियौँ। समुद्रप्रतिको हाम्रो रुचि एक रत्ती डगमगाएको छैन। त्यसैले हामीले यस साइडको सिट रोज्यौँ।
गाल छाडेपछि हामीले अहिलेसम्म नदेखेका दृश्य देख्न थाल्यौँ— समुद्रमा। त्यो के भने, समुद्रका बिचमा थुम्काहरू छन् र त्यहाँ अग्ला-अग्ला रुखहरू पनि छन्। कुन प्रजातिका होलान् त्यहाँ वनस्पति? रुख भएपछि चराचुरुङ्गी पनि होलान्। अरू जीवजन्तुहरू चाहिँ होलान् नहोलान्! मानिसको आवतजावत कति हुँदो हो त्यहाँ? त्यहाँ कुन प्रयोजन लिएर जाँदो हो मान्छे? जीवजन्तु छन् भने पक्कै विषालु जीवजन्तु पनि होलान्! कसरी जोगिँदो हो त्यहाँ पुगेको मान्छे?
सडकको छेउछाउमा मानव बस्तीहरू पनि छन् तर हाम्रो मुख्य चासो समुद्र तिरै छ।
आम्मामा! मिरिसामा गोरा पर्यटक बढी होलान् कि स्थानीय बासिन्दा? यहाँ गोरा टुरिस्टलाई टुकटुकको ड्राइभरको सिटमा देख्न पाइन्छ, पसलमा व्यापारीका रूपमा देख्न पाइन्छ, रेस्टुरेन्ट र रिसोर्टमा साहुजीको आसनमा देख्न पाइन्छ।
मिरिसामा उत्रिएपछि हाम्रो भने पहिलो काम भयो— होमस्टेमा पुग्नु। गालमा हाम्रो होमस्टे मूल सडकबाट अलिक भित्रै थियो; यहाँको पिस रिसोर्ट भने सडकबाट तीन/चार घर मात्र भित्र। हामी होमस्टेमा पुग्यौँ।
दुबईमा नौ वर्ष काम गरेर फर्किएको रहेछ होमस्टेवाला पुरुष। उसले दुबईमा काम गर्ने कम्पनीमा प्रशस्तै भारतीय कामदार, केही बङ्गाली कामदार र सानो संख्यामा नेपाली कामदार पनि रहेछन्। सजिलो के भने, नेपाली छुट्टै राष्ट्रियता हो भन्ने उसले बुझेकै रहेछ। हामीले थप व्याख्या गरिरहनु परेन।
हाम्रो रुम रहेछ— मूल घरभन्दा अगाडिको सानो घरमा। दुइटा मात्र रुम। तिनैमध्ये एउटा हाम्रो।
हामीले झोला बिसायौँ र फ्रेस भयौँ।
बाहिर घाम चर्कै छ। नयाँ ठाउँ हेर्ने र नयाँ अनुभूति सँगाल्ने हाम्रो आकांक्षा पनि चर्कै छ। सडकमा निस्केपछि हाम्रो पहिलो काम ‘किङ कोकोनट’ को खोजी गर्ने भयो।
श्रीलंका आएकै दिनदेखि म हरिया र पहेँला केराहरूका बिचमा बोक्रा रातो भएका केराहरू पनि देख्दै आएको छु। स्वादमा ती राता केरा कस्ता होलान् भन्ने जिज्ञासा पनि हुर्किँदै आएको छ— मेरो मनमा। हामीले किङ कोकोनटभन्दा पहिले त्यही केरा चाख्यौँ। र, थाहा भयो— फरक बोक्राको रङमा सीमित रहेछ।
अब हामी मिरिसा बिचतिर लाग्यौँ।
मिरिसा बिच गोरा पर्यटकका लागि आकर्षणको केन्द्र नै रहेछ। केही समुद्रको किनारामा समुद्रसँग जिस्किँदै छन्, केही समुद्रको किनारामा सुतेर ‘सन बाथ’ गर्दै छन्। बिच-बिचमा समुद्रको छाल आउँछ र यिनीहरूलाई छुँला छुँला जस्तै गरेर फर्किन्छ। मानौँ, ठट्टा गर्दै छ।
हामी दुवै पाइन्ट र जुत्ता लगाएर भद्र भेष भूषामा आएका छौँ— सामुद्रिक बीचमा। समुद्रको किनारामा उभिएका हामीलाई एउटा गतिलो छालले रुनु कि हाँस्नुको अवस्थामा पुर्याइदियो।
हामीभन्दा हुस्सु को होला हँ!
हामी आधा सरो भिजेको जुत्ता र पाइन्ट लतार्दै रुममा आयौँ र हाफ-पाइन्ट र चप्पलमा निस्कियौँ। कोलम्बोमा चप्पल किन्नु पर्दा बोक्ने सवालमा एउटा झन्झट थपियो भन्ने लागेको थियो; यहाँ सजिलो भयो।
कोलम्बोमा समुद्रलाई हामीले परबाट देख्यौँ; गालमा समुद्रको छाल र किल्लाका पत्थरहरूका बिचको जोसिलो अङ्कमाल देख्यौँ; मिरिसामा भने हामी समुद्रसँग अझ निकट भयौँ। किनाराको छिपछिपे पानीमा हिँड्दा समुद्रको छाल उसै राँक्किएर माथि-माथिसम्म आउँछ। मानौँ भन्दै छ— ‘आइज, पौडी खेल्न।’
हामीले सागरधरि धेरै देखेका छैनौँ; महासागरसँग कुन आँटले झ्याम्मिन सक्छौँ! हाम्रा लागि किनाराभन्दा अलिकति मात्र तल घुँडा-घुँडासम्म आउने पानी नै काफी छ। यहीँ पनि अलि ठुलो छाल आयो भने हामीले पाखातिर दौडिनु पर्छ।
मिरिसामा एउटा सानो टापु देखिएको छ— ‘प्यारोट हिल’। अलिकति समुद्र तरेपछि पुगिन्छ प्यारोट हिलमा। हामी यहीँबाट देख्दै छौँ; प्यारोट हिलमा मान्छेहरू गइरहेछन्, फर्किरहेछन्। हामीमा पनि प्यारोट हिलमा पुग्ने रहर जाग्छ। हामी त्यतै लाग्छौँ।
बिचैमा रेस्टुरेन्ट नेर उभिएको केटो भन्दै छ— ‘सामुद्रिक कछुवा हेर्न मन छ भने यतै बस।’
कछुवा आइहाले पो हेर्नु! यति समयमा पक्का आउँछ भन्ने भए पो पर्खिनु!
हामीले कछुवा हेर्न लोभ गरेनौँ।
उसो त श्रीलंकामा ह्वेल हेर्ने चान्स मिल्ने पनि मिरिसामै हो। यो ह्वेल देखिने सिजन भने होइन।
प्यारोट हिल नजिकै पुगेपछि थाहा भयो; तर्न सहज छैन। ढुङ्गाहरू छन्, चिप्लिने डर होला। पानी पनि हामीले अनुमान गरेको भन्दा गहिरो रहेछ। त्यसमाथि दुईतिरबाट आउने सामुद्रिक छाल त्यहीँ जुध्ने रहेछ र छाल जुध्दा बिचमा पुगेको मानिसलाई पनि लरखर पार्ने रहेछ।
केही समय किनारामा उभिएर मानिसहरू गए आएका हेरिरह्यौँ हामीले। मन काँप्यो। तर के यहाँ आइसकेपछि सबै गए आएका प्यारोट हिलमा समेत नगई फर्किन हामीलाई छुट छ?
म हातखुट्टा चलाएर तैरिन सक्छु तर मलाई पौडी खेल्न आउँदैन। पानीमा तैरिन सक्नु पौडी खेल्न जान्नु होइन। यो कुरा मलाई सर्लाहीको बडकुरुवामा पर्ने पक्काबाँधले पाँच/सात माना जति पानी खुवाएर चार कक्षामा पढ्दा उहिल्यै बुझाएको छ। त्यसपछि पनि मैले खोला/पोखरीसँग नजिस्किई धर पाएको छैन। एक पटक बयलबासबाट घर जाँदा भिमानदेखि नै एक्लै परेँ। साँझ साँझ पर्न लाग्दा मुजुरा दोभानमा झर्न भ्याएँ तर साथी कोही भेटिनँ। अब तिलङ्गे पुग्नधरि एघार जँघार जिर्गाहा खोला तर्नु पर्छ।
पहिलो जँघार तरेँ। दोस्रो जँघारमा पानीको प्रवाह तीव्र थियो र त्यसलाई काटेर खोलाको शिर तिरै केही जानु पनि पर्थ्यो। मसँग धेरै सोचविचार गर्ने समय पनि थिएन; अवस्था पनि थिएन। म पानीमा हेलिएँ। मैले पानी काटेर माथि जान सकिनँ। जिर्गाहा खोलाले मलाई बगायो। बगाएर पहिलो जँघारमै पुर्याइदियो। अलिअलि पानी पनि खाएँ। म जसोतसो किनारामा फकिएँ। तर म खोलासँग डराएर जङ्गलमा बस्न सक्दिन थिएँ। फेरि हेलिनुको विकल्प थिएन। यस पटक कसो-कसो म खोला तर्न सफल भएँ।
हाम्रा छोराहरू यदाकदा स्विमिङ पुलमा जान्छन्। यिनीहरूको पौडी खेल्ने केही अभ्यास त होला तर स्विमिङ पुलमा पौडी खेल्ने अभ्यासले यहाँ कति काम देला?
मैले चप्पल खोलेर एउटा हातमा लिएँ। अर्को हातमा पानीको बोतल छ। यिनै हातलाई मैले हाफ पाइन्ट माथि सार्न प्रयोग गर्नु पनि छ। अलिकति पानीमा पसेपछि थाहा भयो— समुद्रका ढुङ्गा चिप्लो नहुने रहेछन्। एउटा डर हट्यो। मानिसहरू कता-कताबाट आउजाउ गर्छन् भन्ने कुरा गहिरो गरी ख्याल गर्दै हामी अगाडि बढ्यौँ।
अब समुद्रको यो पानीमा हामी बाबुछोरा सँगसँगै भयौँ। बिचतिर पुगेका थियौँ, समुद्रको दुई तिरबाट उठ्दै आएको छाल हामी भएकै ठाउँमा आएर जुध्यो; छालको पानीले हामीलाई घाँटी-घाँटीसम्म निथ्रुक्क भिजाइदियो। शरीरमा रहेका कपडा सबै भिजे। यसले हामीलाई एउटा सजिलो के भयो भने हामीले अब पानीले भिजाउँछ कि भनेर हाफ पाइन्ट सारिरहनु परेन। भिजिसकेका हाफ पाइन्ट अब किन सार्नु!
हामी जसोतसो प्यारोट हिलको किनारामा पुग्यौँ। हिलमा उक्लिन बाँसको अस्थायी भर्याङ चढ्नु पर्छ। त्यो साँघुरो छ; एक पटकमा एक जना मात्र झर्न वा उक्लिन मिल्ने। पालो पर्खेर हामी हिलमा उक्लियौँ।
दुईतिर बाक्लै झाडीहरू छन्। र, छ बिचमा साँघुरो बाटो।
चप्पललाई हामीले हातबाट भुइँमा झारेनौँ। धेरै वर्षपछि हामीले खाली खुट्टा हिँड्नुको स्वाद लिन पायौँ— प्यारोट हिलमा। यो सानो टापुमा समुद्रतिरको भागमा प्रशस्तै ढुङ्गाहरू छन्। टापुको पल्लो छेउमा एउटा श्रीलंकन बसिरहेको देखिन्छ। समुद्रका ढुङ्गा चिप्ला नहुने रहेछन्। मलाई यी काला ढुङ्गामा फट्किँदै त्यो श्रीलंकनकै हाराहारीमा गएर एउटा ढुङ्गामा बस्न मन छ। तर सार्थक भन्दै छ— ‘किन जानु र?’
बालाई तारेको करेला खान रुचि लाग्ने। ती दिनमा करेला रोप्ने चलन थिएन हामीकहाँ। करेला माथिल्लो ढाँडमा उसै उम्रिन्थ्यो र फल्थ्यो। ढाँडका ढुङ्गामा उफ्रिँदै करेला खोज्नु पर्थ्यो मैले। उसो त फेदीखोलाको ढुङ्गामा हामी डुम खेल्थ्यौँ। ढुङ्गाबाट फड्किएर अर्को ढुङ्गामा पुग्नु पर्ने। ढुङ्गाबाट जमिनमा झर्यो भने त्यो डुम हुन्थ्यो। यहाँका ढुङ्गा चिप्ला छैनन्। मलाई यी ढुङ्गामा फड्किँदै त्यो श्रीलंकन बसेको ढुङ्गासम्म पुग्ने आँट आयो। गोरा पर्यटकले भने त्यहाँसम्म पुग्न उत्साह देखाएको पाइएन।
म सकुशल गएँ, केही समय बसेँ र सकुशल फर्किएँ।
कपडा भिजेका छन्, खुट्टामा चप्पलधरि छैन। फेरि श्रीलंका आइएला कि नआइएला! आइयो नै भने पनि प्यारोट हिलमा आउने सम्भावना क्षीण हुन्छ। यति बेला फोटो लिन चुक्यौँ भने प्यारोट हिलमा फोटो लिन हामी सधैँका लागि चुकेका हुन्छौँ। हामीलाई प्यारोट हिलमा फोटो खिच्न मन छ।
प्यारोट हिलबाट फर्किन पनि पालो बस्नु पर्छ। साँझ पर्न लागेको छ। सूर्यास्तका लागि मिरिसामा नामी छ— ‘कोकोनट हिल।’ सबै त्यतै जान लागेका छन्। त्यसैले प्यारोट हिलमा आउने मान्छेभन्दा प्यारोट हिलबाट फर्किने मान्छे धेरै भएका छन्। त्यसैमा हामी पनि छौँ।
कोकोनट हिल पनि खासै ठुलो हिल होइन। त्यहाँ पुग्न ढिलो गरियो भने रोज्जा ठाउँमा बस्न नपाइएला! हामी हतारमा छौँ।
कोकोनट हिल नामको थुम्कोमा मान्छे भरिनुभन्दा पहिल्यै पुग्यौँ हामी। यस थुम्काको अगाडिको भाग भिरालो छ; धेरै बेर उभिन/बस्न नसकिने किसिमको। पछाडि बसौँ भने सूर्यास्त राम्ररी नदेखिएला भन्ने डर! हामी आफ्नो अनुकूलता हेरेर बसेका हुन्छौँ। सूर्यास्त हेर्न एक घण्टा जति पर्खिनु पर्ला जस्तो छ। हामी पर्खिन तयार नै छौँ।
लौ, सूर्यलाई बादलले ढाक्दै पो आयो!
मिरिसामा पनि हामीलाई सूर्यास्तको मज्जा लिन मिल्दैन जस्तो पो भयो! सूर्यास्त भई सकेपछि हामी खल्लो मन लिएर कोकोनट हिलबाट रुममा फर्कियौँ।
हामीलाई सूर्यास्तको दृश्य हेरेर रमाउने अवसर श्रीलंकामा कहाँ मिल्ला हँ!



