मोबाइल प्रयोग गर्न सुरू गरेदेखि बिहान छिटो उठ्नु छ भने अर्लाम राख्नैपर्ने तर बानी अच्चमको परेको छ। अर्लामभन्दा पहिले बिउँझेर अर्लामलाई नै म अर्लाम बनिदिन्छु। बिहान ३:३० बजेको अर्लाम मैले ३ बजे नै बन्द गरिदिएँ। र तयार हुन थालेँ। आज हामी उत्तर प्रदेश प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा जान तयारी गरिरहेका छौं।
अघिल्लौ दिन साँझपख एवरिडे क्याफे रत्नचोकमा चिया पिउने बहानामा भेट भो। कुम्भ मेला जाने जाने भन्दै त थियौं तर सेड्युल थिएन। जाने भए भोलि नै जाऔं भन्ने कुरा उठ्यो 'हुन्छ हुन्छ' भन्दा भन्दै छ जना तयार भयौं। दुई चार फोन घुमाइयो, पैसा खोजेर आइसी साटियो। दुई चार गाडीसँग भाडादर बुझेर सस्तो भाडा भनेकालाई भैरवासम्मको लागि गाडी बुक गरियो।
नेपाली समय भन्ने उखानलाई मात खुवाउँदै गाडी त ४ बजे नै घर अगाडि आइपुग्यो। चाउथेदेखि म र श्रीमति लक्ष्मी चढ्यौं। मझेरीपाटनदेखि तोत्र बानियाँ, न्युरोडदेखि चन्दा दिदी, आलुमाईलादेखि रवि खत्री र रत्नचोकबाट अरूण गिरीलाई गाडीले बोक्यो।
ठ्याक्कै ५ बजेको समयमा पुम्दिभुम्दी महादेवलाई दाइने पारी कास्की सिमाना पार गरी स्याङ्जा लाग्यौं। भिरैभिरको बाटो, घुम्ती नै घुम्ती हैट!! कम्ता डरलाग्दो छ स्याङ्जा-बुटवलको बाटो।

स्याङ्जा पाल्पाको सिमाना राम्दीमा तातो तातो सेल रोटी तरकारी खाइयो अनि अरूण गिरीले लगाउने त्रिनेत्र टीका पनि लगाइयो। सुनौली पुग्न हतार थियो हतार नै हतार गरी १२ बजे पुग्यौं। सुनौली बोर्डरमा खाना खाइयो। वारि नेपाल पारि भारत बीचमा सिमाना गेट। हाम्रोतिर आउन न कुनै चेकजाँच न कुनै सवाल जबाफ। तर पारि जान कार्ड चाहिने, सामान सुरक्षा जाँच गर्नुपर्ने। वारि सम्पर्कमा आएका गाडीहरूसँग भाडा मिलेन। बसपार्क जाऊँ बसमा यात्रा गरौं भन्ने निधो गर्यौं र झोला बोकेर हिँड्न थालियो। बाटोमा भेटिए जति पछि लाग्दै थिए। सोध्दै गइयो। अलि पर पुगेपछि भारु १२ हजार सुलोली -आयोध्या - प्रयागराज - सुनौलीको भाडा तय गरी २ बजे गाडीमा हुइँकियौं।
गाडी चालकले अलि पर पुगेपछि खाना र सडकको कर तपाईंहरूले तिर्नुपर्छ भन्यो हुन्छ भन्यौं। केही समयको सडक चाहिँ हाम्रो पोखरा मुग्लिङ जस्तै अलपत्र परे जस्तो सडक निर्माण भइरहेको थियो। लाग्यो यताको हावा उता गयो कि उताको यता।
रेलको टिकट सम्बन्धी काम गर्ने उनी केही समय मात्र भएको रहेछ गाडी किनेर चालक बनेका। उनले आफ्नो नाम यादव बताए। भारतमा ग्यासबाट चल्ने गाडी रहेछन्। यात्रामा इलेक्ट्रिक गाडी भेट्टिएन्न।
बाटोमा चिया नास्ता गर्दै गयौं। अझ रमाइलो त योगी आदित्यनाथको पक्षका अरूण र भारतीय समाजवादी पार्टीका समर्थक यादव गाडीको अगाडि सिटमा थिए। उनीहरूको वार्तालापमा रमाइलो मान्ने हामी पछाडि सिटमा।
आयोध्या पुग्दा ७ बज्यो। गाडी पार्किङमा राखेर दर्शन गर्ने अनि बल्ल होटलको जोहो गर्ने निर्णय गरियो र रिक्सा समातेर अयोध्या मन्दिरको नजिक पुग्यौं।
मेन बाटोभन्दा भित्री गल्ली हुँदै हामी मन्दिर जाने तय गरेका थियौं। छोटो बाटो मन्दिर नजिक त पुग्यौं तर मन्दिर छिर्न मेन सडकमा नै आउनु पर्ने रहेछ। फेरि हिँडियो। अत्यधिक भिडको कारण सडक एकतर्फी बनाइएको रहेछ। हामीलाई लागेकै थिएन कि यस्तो भिड होला भनेर।

पहिला हनुमान मन्दिर अनि राम मन्दिर दर्शन गर्ने समय अनुमान गर्यौं। २/३ घण्टा लाग्छ। यतिबेलासम्म ९ बजिसकेको थियो। हामीमा दर्शन गर्ने अनि होटल खोज्ने कि भोलि दर्शन गर्ने समस्या सिर्जना भयो। कोही एक पक्ष, कोही अर्को पक्ष गर्दागर्दै १० बज्यो। आज होटल खोजेर सुत्ने बिहानै दर्शन गर्ने भनि निस्कियौं। कोठाको खोजी गर्यौं भने जस्तो कोठा नपाइने, पाइएकोमा साथीहरू एड्जस्ट नहुने समस्याले समय गयो। जेनतन गरी १२ बजे खाना खाएर बस्यौं।
लता मंगेश्वर चोक जहाँ ठूलो वीणा बनाइएको छ। रातको समयमा झलल बलेको छ। उक्त चोकदेखि २/३ किमी बाटोभरि रामायणका कथा झल्कने चित्र र स्लोकहरू छन्। आर्टहरू कति सुन्दर छन्। रातिको झिलिमिली बेलुकै हेरियो।
बिहान नै दर्शन गर्न लागियो। आज सरासर मेन बाटो गइयो। बिहान भिड कम होला भनेर बेलुका दर्शन नगरेका हामी बेलुकाको भन्दा दोब्बर बढी लाइन बस्नु पर्यो।
पहिला हनुमान मन्दिर दर्शन गर्यौं। भिडले एक अर्कालाई च्यापेको छ। धकलिएको छ। यस्तो भिडमा दर्शन कस्तो होला मन्दिर टेकियो भन्नेर चित्त बुझाउनुपर्ने बाध्यता थियो। हनुमान मन्दिरको पछाडिदेखि राम मन्दिरतर्फ लाग्यौं। विशाल क्षेत्रमा अवस्थित राम मन्दिर। मुख्यद्वारमा इलेक्ट्रिक चेकचाँज, चेकजाँचपश्चात जुत्ता चप्पल राख्ने स्थान। फेरि इलेक्ट्रोनिक्स सामान राख्नु छुट्टै स्थान। राखेर ३/४ मिनेटको पैदलपछि पुन: इलेक्ट्रिक चेकजाँच। अनि बल्ल रामको दर्शन।
विश्वलाई चकित पार्नु गरी उद्धाटन गरिएको मन्दिर कसलाई रहर नहोला दर्शन गर्ने। साना साना करोडौं कलात्मक बुट्टाहरू। भव्य भन्दिर।

रामको भूमि मात्र भएर होइन। मन्दिरको भव्यताले पनि यो आयोध्या चर्चित भएको हो। अहिले तीव्र गतिमा काम चलिरहेको रहेछ। मन्दिर पुनर्निर्माण भएको रहेनछ। अबको २ वर्षपछि यो भव्य हुनेछ। हजारौंको लाइनमा रामको प्रतिमालाई परबाटै दर्शन गरी निस्कियौं। भित्र कुनै पनि फोटो भिडिओ लिन बन्देज रहेछ। बाहिरै फोटो खिच्यौं।
अबको यात्रा प्रयागराजको थियो। शाही स्नान २१ गतेको थियो तर आज १९ गते थियो। हिँड्दै जाँदा वनारस जाने निधो गर्यौं। गाडी साहुलाई थप ३५०० गर्ने गरी वनारसको यात्रा तय गर्यौं।
वनारस पुग्दा साँझ ६ बजेको थियो। वनारसको आरती हेर्न भनी छिटो छिटो घरि रिक्सा घरि दौड्दै गयौं। तर अत्यधिक भिडका कारण आरती बन्द गरिएको रहेछ। यहाँ नि हाम्रो समस्या उही दर्शन गर्ने कि होटल खोज्ने। होटल खोज्न अर्को सकस। बल्ल तल्ल होटल खोज्यौं। खाना खायौं। बिहान सबरै दर्शनका लागि हिँड्यौं। तर ७ घण्टाको लाइनपछि बल्ल मन्दिरभित्र छिर्यौं। कलात्मक उस्तै लोभ लाग्दो। घन्टौं त्यहीँ हराउजस्तो तर भिडको कारण सुरक्षाका मानिसले कहीँ अडिन दिए पो!
श्रीमतीज्यू र दिदीको वनारसी साडी किन्ने, गंगा स्नान गर्ने सपना यसपालि वनारसमा नै छाड्यौं।

वनारस गएर पान खाइएन भने के वनारस जानु भने झैं सबैले मिठा पान खायौं। उस्तो स्वाद कहाँ अन्त पाउनु। पान खाँदै गाडी हुइँकियो।
२० गते बेलुका प्रयागराज चिनीमिल पार्किङमा गाडी राखी कुम्भ स्थान प्रस्थान गर्यौं। हाम्रो यात्राको मुख्य गन्तव्य। हामी यहाँ महाराज आनन्दराज गिरी महाराजको आश्रममा बस्ने योजना थियो। देवधाट आनन्दराज गिरी आश्रमले नेपालीहरूलाई लक्षित आश्रमको व्यवस्था गरिएको थियो। मुख्यद्वारबाट भित्र प्रवेश गर्यौं। भव्य स्थान सयौं बाटा। हजारौं आश्रम। हामीलाई आश्रम खोज्न कठिन नै भयो। सेक्टर १९ मा अवस्थित आश्रम धेरै प्रयासपछि भेटियो। अरूण गिरी र तोत्र बानियाँको सहयोगमा हामी त्यहाँ पुगेका थियौं। स्रोत र साधनको अभावमै भएता पनि यतिको व्यवस्थित देख्दा आश्रमप्रति खुसी लाग्यो। आश्रममा खाना खायौं। केही आश्रमको बारेमा बुझ्यौं। भोलि बसन्त पञ्चमी शाही स्नान परेको कारण सर्वसाधारणलाई अमृत स्नानस्थल ठिलो मात्र खुला हुने जानकारी पाइयो। २ बजेपछि स्नान गरौंला भनी हामी आराम गर्नतिर लाग्यौं।

बिहानै ३ बजे सबै जना उठ्नुस् अब स्नान गर्न जाने भन्दै हातमा पास बोकेर तोत्र जी आउनु भयो। दिउँसो २ बजे जाने हो भनेको बिहानको होइन भन्दै जिस्कायौं। तर महाराजहरूसँग स्नान गर्ने आश्रमको पास रहेछ।
बसन्त पञ्चमीको दिन बिहान ४ बजे नेपालका १००८ महाराजसँगै लाखौं मानिसको भिडमा नेपालको झण्डा फर्फराउँदै रथ यात्रा गर्नु हाम्रो जीवनको एउटा महत्वपूर्ण क्षण थियो। विशेष स्नान भएका कारण हजारौं महाराजहरू, महन्त, बाबाहरूको उपस्थिति थियो। फूलैफूलले सजाएर चिटिक्क पारिएका सयौं रथहरू थिए। रथहरूमा आस्था थियो। धर्मप्रतिको विश्वास थियो।
विशेष स्थानमा स्नान गर्यौं। जहाँ महाराजहरू र उच्च व्यक्तिहरूलाई मात्र प्रवेश हुने रहेछ। जुन स्थान अमृत स्नान गंगा, यमूना, सरास्वती तीन नदीको संगम रहेछ।
करोडौंमा हजारौंले पाउने अवसर यहाँ हामीले पायौं।
धेरै भिड भएको कारण प्रयागराजका मन्दिरहरू बन्द गरिएको सूचना पाइयो। भोलिपल्ट तोत्र जीको श्राद्ध रहेको कारण हाम्रो आज पनि बसाइँ यही नै थियो।
दिनभरि कुम्भ स्थानहरू घुम्यौं। विभिन्न आश्रमहरूको अवलोकन गर्यौं। प्रवचन सुन्यौं। साँझपख कुम्भ स्थान हेर्न मिल्ने पुलमाथि गएर विशाल क्षेत्र हेर्यौं। ओहो यहाँ पानीको व्यवस्था हेरौं, बत्तीको हेरौं, शौचालय हेरौं। सडक हेरौं, स्नान स्थान हेरौं, सुरक्षा हेरौं। त्यो पलहरू शब्दमा कैद हुन सक्दैनन् र सकिँदैनन्। कसरी सम्भव भयो होला। कसरी व्यवस्थित गरिएको होला। हाम्रो कल्पना भन्दा बाहिरको सपना थियो।
सपनालाई विपना बनाउन सके नेपालको देवघाट, पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरमा मानिस कति ओइरिने थिए होलान्।

त्रिवेणी, बागमती, कालिगण्डकीको पानीमा हाम्रो धार्मिक आस्था कति होला। कति प्रचार गर्न सकेका हौंला। कहिले सक्छौं होला। पर्यटक भित्र्याउने कागजी कुराले मात्र कुन पर्यटक आउलान्। सोच्ने कसले?
रातिको दृश्य, बिहानको शाही स्नान, दिउँसोको अवस्था सबै अनुभव गर्यौं। आश्रममा सबै नि:शुल्क थियो। हामीले केही रकम आश्रमलाई सहयोग गर्यौं। तोत्र जीले व्राहमण भोजन गराउनु भयो। २२ गते बिहानै तोत्र जीको श्राद्ध सकेर हामी राति २ बजे सुनौली आइपुग्यौं।
