साँखु (शङ्खरापुर) जानु छ। प्राचीन कालदेखि नै पुन्य भूमि मानिएको स्थान हो शङ्करापुर। जहाँ शालिनदी बगेकी छन्। स्वर्गदेखि अप्सराहरू पनि यहाँ आएर एक महिना ब्रत बस्ने गर्थे भन्ने कथा पढ्दै हुर्किएकी म तर मेरो लागि गुर्जुधारा स्वर्गभन्दा पनि टाढा भयो यतिका वर्ष।
मणिचूर पर्वतको काखमा बज्रयोगिनी मन्दिर उक्लिनुछ। दर्शन गर्नुछ चटानबाट निक्लिएकी माता बज्रयोगिनीको। प्रकृतिको सौन्दर्यमा निमग्न हुनुछ। मन चरी त्यसैत्यसै चरी बनेर उडेकी छ।
सङ्गिनीहरूको साथमा रमाइलो यात्रा तय भएको छ र पनि मेरो मन भत्भति पोल्दैछ। सन्चो छैन गाथामा तर मनमा फुलेका छन् अनेकौँ सञ्जिवनी बुटीहरू।
सङ्गिनी सहकारी संस्थाले आयोजना गरेको रमाइलो तीर्थयात्रा मंसिर १५ गते तय भएको छ। शनिबारको दिन सुन्दर यात्रा सुनिश्चित भयो। बुधबारदेखि नै पेट चलेर उल्का छ। तारान्तारको पखालाले ज्यान गलेको सत्य बाउँडिएका पाँसुला र गडेका आँखाबाट स्पष्ट देखिन्छ। मन बिमार छैन। मस्तिष्क स्फुर्त छ। शरीर ओछ्यानमै छ तर मन यात्राको जहाज चढेर फालकुद्दो छ। शरीर गल्दागल्दै शुक्रबारदेखि नै उठेर खाना पकाउन थालिकी छु। के थाहा भरे आराम गरेर बसे माया गर्नेहरूले जान नदेलान्।
बडो सकसका साथ उभिएकी छु भान्सामा। सुभाषसर भन्नुहुन्छ, ‘जाने नै! लौन सकिन्छ हिँड्न?,’ करैले भन्छु, ‘मज्जाले सक्छु। अब ठीक भइसक्यो।’ बनिबनाउ योजना बिथोलिँदा कस्तो नमज्जा हुन्छ थाहै छ तपाईंहरूलाई पनि। आत्मबलभन्दा ठूलो औषधि केही छैन भन्छन् ज्ञानीजन। पत्याएकी छु। जर्मुराएकी छु आत्मबलको तागतमा। जाने दिन बिहान चारै बजे उठेर तरकारी, दाल पकाएर ताता भाँडाहरूमा राखिदिएँ। चामल कुकरमा ठीक्क पारेर इन्डक्सनमै चढाइदिएँ। ढुक्क भयो मायालुहरूलाई अब आराम भयो। अनि दिदी बहिनी हानियौँ गठ्ठाघरतिर।
बिहानको बाटो काइदाको छ। जाम कतै छैन। सनन्न गरेर कुदेको छ भक्तपुरे गाडी, रिङरोडको खुला सडकमा। समयमै पुग्यौं। शर्मिला दिदीको घरसम्म गयौँ। दिदीको माया तातो तातो कफी खान घरै बोलाउनुभयो। कफी पिउँदा पिउँदै फोन बज्न थाल्यो। हामी हतारिएर गाडी भएको स्थानमा आयौं।
हाम्रो यात्राको लागि सात वटा गाडी रिजर्भ गरिएको छ। छ नम्बरको गाडीमा हाम्रो सवारी छ। गाडीमा चढेका सङ्गिनीहरू कोही नछुटून् भनेर नाम टिप्दैछिन् बुहारी बिभीषा। फर्किंदा पनि आफ्नोआफ्नो गाडीमा नै फर्किनुपर्ने। पहिले सरासर बज्रयोगिनी जाने। मन्दिर दर्शनपछि सक्ने जति हिँडेर सिँढीको बाटो ओर्लने। नसक्ने जति गाडीमै फर्किने। त्यसपछि सबै जना तल जम्मा भएर माधव नारायणको दर्शन गर्ने र अन्तिममा पार्टी प्यालेसमा भोजन गर्ने, नाच्ने, गाउने र रमाइलो गर्ने।’ भन्ने जानकारी दिँदै हुनुहुन्छ सुवर्ण गुरागाईं दिदी। उहाँ सङ्गिनीका संस्थापक सदस्यका साथै आयोजक समूहभित्र हुनुहुन्छ। सबै सङ्गिनी जम्मा भएपछि ठीक ९ बजे गाडी मोडियो सानोठिमीतिर।
परीक्षा नियन्त्रक कार्यालय अगाडिबाट गाडीहरू लस्करै कुदेका छन्। कागेश्वरी नगरपालिकाको भूमि छुन हतारिएका छौं। मूलपानीतिर हुँदै गाडी बत्तिएको छ। क्रिकेट खेल्दै गरेका युवाहरूलाई झ्यालबाटै देखेर चनाखो हुँदै हेर्छु त्यहाँको भूगोल। अहो! यहाँ त क्रिकेट रंगशाला पो रहेछ।
गाडी ओरालो लाग्यो। गाडीभित्र समूह विभाजन गरेर संगीतको खेल आरम्भ हुन्छ सँगसँगै नृत्य पनि चल्छ। मनहाराको फाँटैफाँट हामी गुडेका छौं। गाडी केहीबेरमा साँखु बजारलाई छोडेर उकालियो। हरियाली बोकेका टाकुराहरू देखिन थाले। लुङ्दरले पवित्र पवन बोकेर हाम्रो स्वागत गर्दैछ। हामी बज्रयोगिनीको आँगनमा आइपुग्यौँ। वरिपरि देख्दैछु पसलहरूका बिस्कुन। ताजा सागसब्जी, फलफूलमा केरा, हलुवावेद,स्कूसदेखि पूजाका सामानहरू हामीलाई हेर्दै नजिक आउन इसारा गर्दै छन्। पसलेका आँखा आगन्तुकहरूतिर एकाग्र छन्। सात वटा गाडीबाट झरेका २५० जना सङ्गिनीहरूको ताँती फोटो खिच्न लायक छ। ह्वारह्वार्ती झरेका यतिका देवीहरूलाई देखेर सोच्दैछन् पसलेहरू, ‘मेरा पसलमा आउलान् कि नआउलान्’ । हेर्दैछन् हामीलाई। सबै सङ्गिनीहरू छरिए सबैतिरका पसलहरूमा हेर्दाहेर्दा भरिए सङ्गिनीहरू ग्राहक बनेर पसल पसलमा।
पूजा सामग्रीमा मात्र हैन, सङ्गिनीहरू त ताजा तरकारी बटुल्नमै तल्लीन भएको देखेर पूजा सामग्री किन्दै गरेको मेरो हातहरू तरकारीतिर लहसिन लागे। मन अतालियो ताजा तरकारी पोको पारेर घर लैजान। भोलि बिहान त पकाउनु छ। आज त राति नै पुगिएला। मन छड्किन्छ जिम्मेवारीले। तर मेरो तार्किक मनले व्यावहारिक मनलाई झपार्दै रोक्यो, ‘ओई ! डिग्रीवाली गृहिणी तँलाई गृहिणी नै बन्नु छ आज पनि। आज त अरूले नै पकाएर, पस्किएर खान दिन्छन्। आजको आनन्द पूर्णरूपमा उठा। जे जे गर्नुछ घरको व्यवस्थापन भोलिदेखि गर्लिस्। हेर त चारैतिर तेरो आगमनमा कति हर्षित छ यहाँको वातावरण। संवाद गर प्रकृतिसँग। मणीचूर पर्वतको यो शालीनतालाई हृदयबाट अनुभूत गर। उः तलतिर हेर त मन्दिर परिसर। ती भवनहरू। ती सतलहरू। देवीको मन्दिर परिसरमा यी लुङ्गर देखेर तेरो मनमा जिज्ञासा उठेन? तेरो मस्तिष्कले केही सोच्न सकेन? किन यहाँ बुद्ध र पार्वती सँगै छन् ? सोच अनि खोज बज्रयोगिनीको पावन इतिहास। सोध खोज गर स्थानीयहरूसँग। हेर ती बाँदरहरू कति मोटा, कति स्वस्थ। भोकै छैनन् ती पनि। खोई ! तिनीहरूलाई भोलिको चिन्ता, तँ त ज्ञानी छस् त! अनि फेरि किन आजलाई न्याय गर्न नसकेकी? यात्री भएर हिँड्दा त आनन्दको अनुभव गर। भोलि फेरि त्यही मुखले ‘आफूलाई त भातभान्साले नै छोडे पो त’ भन्दै गीत गाउँदै हिँड्छेस् ? तँलाई कसले भनेको छ आजको फुर्सदिलो समयमा पनि तरकारी नै गुट्मुट्याए हिँड् भनेर। कि तँलाई आफ्नो जिम्मेवारी छोड्नै मन लाग्दैन हँ?’ तरकारीतिर लम्किएका गोडाहरू लुरूक्क परेर फूलतिर मोडिए।
म उभिएको ठाउँबाट देख्दैछु उत्तरपट्टि अग्लो सिँढी। अगाडि सडकमा ठूलो गेट। जहाँ स्वागतमा प्रेमिल शब्द लेखिएको छ। उत्साहका गोडा लिएर वरिपरि बाँदरहरू पनि नाचेका लाग्छन् छमछमी। देवीकै कृपा होला सबै हृष्टपुष्ट छन्। पूजाको सामना लिएर हामी ओरालोतिर मोडियौं। सानो खोल्सी तरेर कुनै दरबारभित्र पसेझैं लाग्यो। रातो ईंट्टाले निर्मित भवनहरू बडो आकर्षक छ। वरिपरि भवनहरूले घेरिएको ठूलो आँगन देख्दैछु। बीचमा निकै कलात्मक ढुङ्गेधारालाई निकैबेर नियालेर हेरेँ। सङ्गिनीहरू आ-आफ्नै तालमा हिँड्न थाले। सबै जना त्यही आँगनभन्दा ठीकमाथिको घरभित्र छिरे। हामी चाहिँ सोझै तलतिर हिँड्यौं।
मन्दिरको गजुर माथिबाटै देखियो। प्राचीन मन्दिर परिसरमा पुगेपछि मन शान्त भयो। मेरा आँखाले दिदी सर्मिलालाई खोज्न थाल्यो। कारण थियो दिदी संस्कृति विषय पढाउँदै हुनुहुन्छ। दिदीलाई लिपी पढ्न आउँछ। मन्दिरको धार्मिक, पौराणिक र पुरातात्विक ज्ञान मसम्म सजिलै सम्प्रेसित गर्न सक्नुहुन्छ। दिदीलाई खोज्न थाले मेरा आँखाहरूले। सङ्गिनीको ताँती जुलुस भएर बग्दो छ, खोजी साध्य छैन।
उर्मिला दिदी, निता दिदी र बुहारी बिभीषा अगाडि जम्मा भयौं। उर्मिला दिदीको फूल प्रसाद त देवीलाई चढाउनु पूर्व नै हनुमानजीले पो ग्रहण गर्नुभएछ। बिभीषा पुनःपूजा सामग्री लिन उक्लिइन्।
एकै ठाउँमा दुई वटा भव्य मन्दिर देखेर मेरो कौतुहल अझ बढ्दो छ। म पहिले बुद्धको ठूलो स्तूप भएको मन्दिरतिर लागेँ। जहाँ पूजारी व्यस्त हुनुहुन्थ्यो। अर्कोतिर सङ्गिनीको समूह फैलिँदै थियो, प्रहरी जवान लाइनमा बस्न अनुरोध गर्दै थिए। म पनि हतार हतार लाइनमा बसेँ। बत्ती किनेकी थिएँ। परिवारको सुख, शान्तिको प्रार्थना गर्दै हातहरू विश्व शान्तिको लागि जोडिए। मूर्तिको दर्शन निकै राम्रोसँग गर्न पाएँ। आहा! बज्रयोगिनीको मूर्ति अहिले नै बोल्निन् झैं लाग्यो। कति उज्ज्वल मुहार। मूर्ति नै यति सुन्दर भएकी देवीको हृदय कति पावन होला लाग्यो। देवीको त्यो कृत्रिम आँखामा प्रेमको सागर देखेर म डुब्दै गएँ देवीको स्नेह र प्रेममा। पूजारीले हामीलाई टीका प्रसाद दिनुभएन। नजिकै राखिएको थियो पूजाको प्रसाद। आफैले लिएर म मन्दिरको मुख्यद्वारबाट बाहिरिएँ।
शर्मिला दिदी पनि आइपुग्नुभयो। उहाँको लाइन सरेर देवीको समीप पुग्नुभन्दा अगाडि नै हामीले फोटोहरू धमाधम खिच्न थाल्यौं। मन्दिरको उत्तर पूर्वमा देखिएको घना जङ्गल सहितको पहाड निकै सुन्दर देखियो। प्रस्तरका ठूला ठूला मूर्तिहरू इतिहास बोकेर बसेका लाग्यो। मन्दिर परिसरमा ठूला ठूला घण्ट देखेर रहस्य, इतिहास, परम्परा, मूल्यमान्यता तथा विविध सूचनाको बलियो संकेत गुञ्जायमान लाग्यो। त्यहीबाट सिँढीको मार्ग हुँदै तल जान सकिने देखेर मन पदयात्राका लागि लालायित भयो तर गोडा गलेकाले आँट आएन। हामी वरिपरि घुम्न थाल्यौँ। संस्कृति, प्रकृति र पर्यावरणले मोहित पार्दै लग्यो। मोडर्न कन्या क्याम्पसमा संस्कृति विषय अध्यापन गर्दै आउनुभएकी मेरी साइँली दिदीलाई सोधेँ, ‘दिदी! बज्रयोगिनीको उत्पत्ति कथा, इतिहास, महत्त्वको बारेमा केही भन्नु न।’
मेरो प्रश्न सुनेर अरू दिदीहरू पनि दिदीको नजिकै आएर उत्पत्ति कथा सुन्न थाल्नुभयो। दिदीले सुनाउनुभयो बज्रगोगिनीको इतिहास, ‘बज्रयोगिनी तान्त्रिक बौद्ध देवी या देवता हुन्। महिला बुद्धत्वको अस्तित्वलाई यसले परिभाषित गर्छ। बज्रयोगिनीको अर्को नाम स्काई नर्तक (डाकिनी) पनि हो। यो शब्दले अद्भूत क्षमताका तान्त्रिक योगिनीलाई बुझाउँछ। योगिनीलाई डाकिनीहरूको रानी मानिन्छ। तान्त्रिक बौद्ध धर्ममा बज्रवरही भनिन्छ। बज्रयानमा ती देवीलाई सर्वोच्च देवता मानिन्छ... ।’ मैले हतारिँदै दिदीलाई सोधेँ, ‘बुद्ध पुरूषभन्दा पनि बढी मानिन्छ?’
दिदीले बडो गर्वकासाथ भन्नुभयो, ‘हो त कुनै बुद्ध पुरूषभन्दा बढी सम्मानित हुन्छिन् बज्रयोगिनी। बज्रयोगिनी संस्कृत नाम हो। बज्र समान। बज्रबाट उत्पन्न भएकी। योगमा पारङ्गत्। योग र तन्त्र सिद्धि प्राप्त योगिनी। अझ यसरी पनि बज्रयोगिनीको बयान गरेको छ, ‘बज्रयोगिनी कृपालु छिन्। विनाशकी देवी हुन्। मानवमा डरलाग्दो गरी बसेको अहंकार र भ्रमलाई नष्ट गर्ने। उनको स्वरूपको बयान उग्र छ। रातो रगतमा उनलाई चित्रण गरिएको छ। यी देवीले खोपडीको माला लगाउँछिन्। हातमा खोपडी र धारिलो हतियार समाउँछिन्। उनको स्वरूप प्रतिकात्मक छ। खोपडीको हारले संस्कृत वर्णमालाका अक्षरहरू र बोलीको शुद्धतालाई प्रतिनिधित्व गर्दछ। चक्कुले सांसारिक बन्धनहरूबाट मुक्ति दिन्छ। कचौराबाट भक्तहरूलाई देवीले आनन्दको वर्षा गराउँछिन्।’
दिदीको जानकारीमूलक कुरा सुनेर म अझ जिज्ञासु बन्छु, ‘दिदी त्यो शिला लेखमा के लेखेको छ। यो मन्दिर कहिले यहाँ स्थापना भयो, कसले स्थापना गरे। अनि साँखुको यति माथि कुन उद्देश्यले यो मन्दिर स्थापना भयो? कसरी देवी प्रकट भइन् होला?’ दिदी बिस्तारै मलाई बुझाउनु हुन्छ, ‘लिच्छिविकालीन लिपी हो। ६४ ज्योतिर्लिङलाई हिन्दुहरूले शिवलिङ्गका रूपमा मनाए झैं योगिनीका रूपमा भगवतीलाई मनाउँछन्। नैरात्मायोगिनी,खड्गयोगिनी, विध्यायोगिनी आदि प्रमुख हुन्। सन् ८२४ मा बज्रयोगिनी मन्दिरको निर्माण गरिएको तथ्य देवमाला वंशावलीमा उल्लेख छ ...। तँलाई बज्रयोगिनीको बारे अरू जानकारी चाहिए एक दिन आइज मेरो घर तँलाई बिस्तारमा पढाउँला यहाँको संस्कृति। लु अब उठ ! ढिलो हुन्छ अझ माथि पनि जानु छ। उः त्यो सतलमा अर्को रहस्य बोकेर अमूल्य इतिहास हामीलाई नै कुरिरहेको छ। लु हिँड् माथितिर जाऊँ ...।’ दिदीले पुलुक्क घडी हेर्नुभयो।
समय सीमा छ। यहाँ त एकदुई दिन बसेर पो यहाँका सबै अमूल्य सम्पत्तिहरूलाई बुझ्न मन लाग्यो तर एक दुई घण्टामा यति रहस्यमयी स्थानलाई बुझेर पार लाग्ला जस्तो पनि लागेन। कुनै दिन दिदीसँग पढ्ने वाचा गर्दै जुरूक्क उठेँ। दिदीको सेतो कपाल उमेरभन्दा अगाडि किन फुल्यो भन्ने लागेको थियो बल्ल आज रहस्य फेला पर्यो। दिदीको मस्तिष्कमा कति रहेछ इतिहासको बूढो समय। दिदीलाई सुनेपछि म निकै गौरवान्वित भएँ। दिदीको विषयप्रति नतमस्तक भएँ। इतिहास भनेको भूतको उत्खनन् मात्र होइन रहेछ। इतिहासले त अथाह ज्ञान, विज्ञान र रहस्य लुकाएर राखेको हुँदो रहेछ। हामी कति सम्पन्नशाली छौं है दिदी! हामीसँग कत्रो सम्पदा र संस्कृति छ। दिदीले हाँस्दै माथि जाने सङ्केत गर्नुभयो। हाम्रा गोडाहरू सतलकी देवीलाई भेट्न उक्लिन थाले।
कुनै किल्लाको भित्तो जस्तो छ बज्रयोगिनी मन्दिरको दायाँ भागको ठीक माथि। नजिकै छ चट्टानी ओडार। ओडारभित्र पनि पसेँ। म जस्ती अग्ली मान्छे पनि सजिलै उभिन सकेँ। तल तल हेरेँ परपरसम्म देखिन्छन् सिँढीहरू। ढुङ्गाका विभिन्न आकृतिहरू पनि देखिन्छन्। घना छ जङ्गल। ध्वजाहरू टाँगिएका छन् वरपर। शान्तिको धून छर्दैछन् ध्वजापताकाहरूले। चाइनिज इँटाबाट निर्मित भित्तोबाट उक्लिन सकेनौँ हामी। बाटो निकै अप्ठ्यारो रहेछ। निर्माण हुँदैछ शायद। सोही मार्ग भएर गएका सङ्गिनीहरू फर्किएर आए। हामीले त्यो रातो इँटा टाँसेर निर्माण गरेको भित्तामा फोटो मात्र खिचाएर चित्त बुझायौँ। त्यहीँ बाटो भएर माथि एक तलामा बिराजमान देवीलाई भेट्न जान मेरो मन उत्पुलक भयो। पुनः बज्रयोगीनी मन्दिरलाई दाहिने पार्दै सिँढी चढेर मास्तिर लाग्यौँ।
सतलमा स्थापित देवीदेवताको दर्शन गर्दै माथि उक्लियौं। आहा! कस्तो रहस्यमयी मन्दिर। मन्दिरको भुइँ तलामा दायाँपट्टि अखण्ड धूनी जलिरहेको देखेँ। छेउमा बौद्ध चैत्य, ठूलो कराही पनि देखेँ। मनमा घरी ओम माने पद्म हूँ को मन्त्र गुञ्जित छ। घरी याः देवी सर्वः भूतेसू भन्दै छ। बौध धर्मावलम्बीहरू उतिकै छन् देवीको सम्मुख। जापानिजहरू पनि ध्यानस्त छन्। मन्दिरको माथिल्लो भागको ठीक अगाडि छ देवीको ठूलो मूर्ति। बौद्ध र हिन्दूहरूको साझा तीर्थस्थल। धार्मिक एकताको नमूना हो। सत्य कहिले खण्डित हुँदैन। शान्ति कहिले वादमा निहित हुँदैन। सूर्यलाई हेरेर पनि केही नसिक्ने हामी धर्मको झमेलामा फसेका छौं। तेरो धर्म सानो मेरो धर्म ठूलो भन्ने अज्ञानको मादल ठोकेका छौं। मलाई झलक्क याद आयो राम चरित मानसको ‘जाकी रही भावना जैसी, प्रभु मूरत देखी तिन तैसी।’ ‘मेरो मनमा भने जिज्ञासाको भुमरी उठ्दो छ। शर्मिला दिदीलाई पुनः खोज्छन् आँखाहरू। त्यहाँ बात मार्ने अवस्था छैन। मनको वादविवाद धन्न सुनिएको छैन।
मन्दिर दर्शन गरेर आएपछि मेरो आँखाहरू त्यसैत्यसै लोलाउन थाले। एक किसिमको नशा चढ्दै गयो। वरिपरि देख्दैछु ध्यानमा निमग्न विदेशीहरू। आखिर हृदयभित्र नै त खोज्दैछन् शान्ति। उहाँदेखि यहाँ आएर पनि आखिर आँखा बन्द गरेर यिनीहरूले आफैभित्र के हेर्दैछन्? ‘मन्दिरमा छ कि मूर्तिमा माया। पत्थरमा छ कि धूलोमा माया, खोई कहाँ छ माया ... ? कानमा नारायण गोपालको आवाज आएर ठोक्किन्छ। मूर्तिमा ईश्वर भए कसले आँखा बन्द गर्थ्यो होला र? टकटकी लगाएर मूर्ति मात्र हेर्थे होलान्। मनमा कुरा छड्किँदै छ। नजिकैको मूर्ति मुसुक्क हाँसेर बोलेझैं लाग्यो, ‘अनिता! तँ पनि आफ्नो हृदयको तलाउमा मेरो दर्शन गर। मूर्ति अझ नजिक आएर भन्दैछ हेर तँभित्र मलाई तँभित्र म विराजमान छु। आफूलाई चिन। आफ्नै मनको सिँढी चढेर मेरो समीप आइज। श्वासको मालामा तैँले मेरो शाश्वत रूप देख्छेस्। मिला तेरो श्वासको रिदम म सङ्गीत बनेर तैँमा गुञ्जिन्छु। विश्वास गर, म त विश्वासमै अडिन्छु।’ झल्याँस्स भएँ।
कस्तो तरङ्ग उठ्यो हृदयमा। हातमा बाँधेको घडीलाई नजरअन्दाज गर्दै निता दिदीलाई ध्यानमा बस्ने इसारा गरेँ।
विदेशीहरूको नजिकै बसेर श्वासको पिङमा मच्चिन थालेँ। अहो! सकारात्मक ऊर्जा चारैतिर भएर होला। छोटो प्रयासमा पनि शरीर हलुको भयो। म उड्न थालेँ। चारैतिर देख्छु बुद्ध, राम, क्राइष्ट, शिव, दुर्गा, पार्वती, बज्रयोगिनी सबैसबै एक साथ हाँसिरहेका ... ।‘ दिदी बोलाउँछे उठ अनिता ! गाडी छुट्छ। म माथिबाट तल आएको अनुभव गर्छु।
अहो! कस्तो उन्माद। कस्तो तृप्ति। आँखा बन्द गरेर अझ बसिरहन मन छ यो पावन तपोभूमिमा। दिदीलाई सोध्छु, ‘दिदी त्यो तलको ठूलो खड्कुला के हो?’ दिदी मलाई पुनः भन्नुहुन्छ , ‘उः त्यो अखण्ड धूनी हेरिस् ? यहाँ सदैव आगो बलिरहन्छ। उः त्यो हेर त्यो चाहिँ दीपंकर बुद्धको शीर्ष भाग र त्यो कराही रहेको छ। माथिको बज्रयोगिनीको साथसाथै सिंहिनी र बघिनीका मूर्तिहरू हो साँखुको जात्रामा निकालिन्छ ... साँखुको जात्रा पारेर एक दिन हामी पनि पुनः घुम्न आउनुपर्छ है। अर्को पनि किम्बदन्ती छ सुन्छेस् ?’ दिदीले मेरो उत्साह देखेर भन्नुभयो। जिज्ञासु आँखाले दिदीलाई हेर्दै भनेँ, ‘कस्तो किम्बदन्ती दिदी! भन्नु न ?’
साँच्चै गुरू पनि असल विद्यार्थीको खोजीमा हुन्छन्। दिदीलाई कुनै थकावट थिएन आफूले जानेको कुरा बताउन।
दिदीले भन्दै जानुभयो, ‘बज्रयोगिनीको आज्ञाले मञ्जुश्रीले चोभारको गल्छी बनाई काठमाडौंको पानीलाई निकासा गरी धेरै कालपछि यस क्षेत्रमा मंजुपतन नामको नगर स्थापना गरी नीति नियम कायम गरेर गाँस, बास र कपासको व्यवस्था नगरबासीलाई उपलब्ध गराएको। अनि आफ्नो खड्ग बज्रयोगिनीलाई चढाएको कुरा उल्लेख छ ... ।’
दिदी घडी हेर्नुहुन्छ, ‘अहो ! लु, उठ नानी ! गाडीमा कुरा गर्दै जाऊँला। लु अब ढिलो हुन्छ ..।’
दिदीका मुखबाट इतिहास सुन्दै जान्छु ... ।