म करिब एक महिना जति ओत र मलहा बिरालोको अध्ययनको सिलसिलामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने मौका पाएको थिएँ।
ओत र मलाहा बिरालो माछा खाने साना खालका स्तनधारी जनावरहरू हुन्।
दुवै पानी छेउका ताल तलैया र खोला किनारमा बस्न रूचाउँछन्। उनीहरूको प्रमुख आहार माछा हो।
दुबैको बासस्थान र आहारा उस्तै उस्तै भएको हुनाले उनीहरूबीच कस्तो खालको अन्तर सम्बन्ध हुन्छ भन्ने हेतुले हामी अध्ययनका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पुगेका थियौँ।
हाम्रो अध्ययन टिम यी वन्यजन्तुको अवस्था कस्तो छ भनेर बुझ्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको दक्षिण क्षेत्रमा पर्ने बेलडाँडी पुगेका थियौं। बेलडाँडीमा हामी चाउन्नी बजारमा बस्यौँ। बस्तीको मुखैमा रहेको, पुरानो खालको देखिने बजारले तराई क्षेत्रको अवस्था र जनजीवनलाई चित्रित गर्दथ्यो। मलाई कहिलेकहिले बुद्धिसागरको फिरफिरे पढ्दा मानसपटलमा बसेको कटासे बजार यही हो कि जस्तो लाग्थ्यो।
तराई र पहाडियाहरू मिलेर बसेको बजार सुन्दर थियो। टिनले बारेर बनाएको सानो जुत्ता सिलाउने पसल, सँगै टाँसिएको घडी पसल, नजिकैको चिया पसल, धुलाम्य बाटो (कथा, उपन्यासहरूमा वर्णन गरे जस्तो दुरूस्त तराईको सानो बजारको झझल्को दिन्थ्यो। ओत र मलाहा बिरालोसम्बन्धी जानकारी लिने क्रममा त्यहाँका बुद्धिजीवी, तथा अरू मानिसहरूसँग संरक्षणसम्बन्धी अन्य धेरै आयामहरूको बारेमा जानकारी लिने अवसर मिल्यो।
बुझ्दै जाँदा थाहा भयो यो बजार र बस्ती अलि पछि विकास भएको रहेछ। पहिले करिब २०५८ सालसम्म यहाँ बस्ने प्राय: मानिसहरूको घर चौधर खोलाको छेउ, मूलपानी भन्ने ठाउँनेर रहेछ र खेतीयोग्य जमिन चौधर खोलाको पारी उत्तरपट्टि रहेछ। चौधर खोला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बीचबाट बग्ने खोला हो। यसले करिब करिब राष्ट्रिय निकुञ्जलाई आदि भागमा बाँडेको छ। मलाई एउटा दाइ भन्दै हुनुहुन्थ्यो 'हामीले त धेरै समय चौधर खोलाको छेउछाउमा बितायौं। पारि खेती गर्ने जमिन, गाईभैंसी चराउने फाँटा थियो। बाल्यकाल उतै बिताएर होला, अहिले पनि मलाई त्यो ठाउँको धेरै सम्झना आउँछ।'
उहाँहरू शुक्लाफाँटा वन्यजन्तु आरक्ष क्षेत्रको पूर्वतर्फको क्षेत्रफल बढाउँदा विस्थापित हुनुभएको रहेछ। धेरैपटक केके आयोगहरू त बन्यो तर हामीहरूले हाम्रो जग्गाको मुआब्जा अझै पाएका छैनौं। सक्नेहरू त घर बनाएर बसे तर धेरै मानिसहरू अहिले पनि शिविरमै आश्रय लिन बाध्य छन् भनेर मलाई सुनाउनुभयो। त्यतिबेला रौतिले रेतुवा भनिने एउटा गाउँ नै स्थानन्तरण गरिएको रहेछ। सुनिरहँदा मान्छेको घर र बस्ती नै उजाड पारेर वन्यजन्तुको बासस्थान बढाउनुपर्ने सरकारलाई त्यस्तो के बाध्यता आइलाग्यो होला भन्ने लागि रह्यो।
चाउन्नी बजारको करिब दुई किलोमिटर तल झिलमिला भन्ने ठाउँ रहेछ। चाउन्नी बजार र झिलमिलाको बीचमा थारू, चौधरीहरूको राम्रो बस्ती रहेछ। थारू, चौधरीहरूको परम्परामा माछालाई एकदमै महत्व दिइने रहेछ। प्रत्येक पूजापाठ पर्वहरूमा यो नभइ नहुने रहेछ। सबैका घरहरूमा माछा मार्ने जालहरू झुण्डाएको देख्यौं र यो देखेपछि धेरैलाई सोध्यौं, आजभोलि कत्तिको माछा मार्नुहुन्छ?
उहाँहरूले भन्नुभयो- माछा मार्ने खोला र तालहरू सबै निकुञ्जभित्र छ, त्यसैले पहिले त जान्थ्यौं, अहिले निकुञ्ज बनेदेखि माछा मार्न कहाँ पाइन्छ र!
धेरैको उत्तर यही थियो। हाम्रो उद्देश्य माछा सँगसँगै ओत र मलाहा बिरालोबारे जानकारी लिनु पनि थियो। धेरै मानिसहरू ओतबारे जानकार हुनुहुँदो रहेछ।
'पहिले निकुञ्जभित्र माछा मार्न जान्थ्यौं र ओत पनि देखिन्थ्यो, अहिले निकुञ्ज बनेदेखि गएका छैनौं र खासै ओत पनि देखेका छैनौं' उहाँहरूले बताउनुभयो। कुरा गर्दै जाँदा एक बृद्ध बुवाले ओतबारे अनौठो कुरा सुनाउनुभयो।
'ओतहरू समूहमा माछा मार्छन् र जति छन् मारेको माछा उनीहरू एकअर्कामा भाग लगाउँछन्, यदि भाग नमिले उनीहरू ती माछा त्यही छोडेर जान्छन्।'
मैले ओतबारे धेरै रिसर्च पेपरहरू पढेता पनि उनीहरूको यो अनौठो बानीबारे भने अवगत थिइनँ।
ओतबारे नयाँ कुरा जान्न पाउँदा खुसी लाग्यो।
म पहिलो पटक राष्ट्रिय निकुञ्जको यति भित्र कोर एरियामा पुगेको थिएँ। मैले पहिलो पटक बाघलाई नजिकबाट देख्ने अवसर पनि पाएँ। पार्कभित्र गरिने अध्ययन अनुसन्धान निकै जोखिमपूर्ण हुने रहेछ भन्ने अनुभव भयो।
कतिबेला हात्ती, बाघ, गैंडाले आक्रमण गर्ने हो भन्ने त्रासका बीच काम गरिराख्नुपर्ने। जताततै बाघ, गैंडा र हात्तीका पाइलाहरू देख्न पाइन्थ्यो। बाक्लो अनि अग्लो घाँस पन्छाउँदै हिँड्नुपर्ने भएकाले कुन जनावर कहाँनेर लुकेर बसेको छ भन्ने थाहा नहुने यसले गर्दा जोखिम अझ बढी हुँदो रहेछ।
जब हामी ओत र मलाह बिरालोको सर्वेक्षणको लागि चौधर खोलाको किनारै किनार बिस्तारै दक्षिणतर्फ मानव बस्ती भएतिर बढ्दै गयौं, उखु र तोरी बारीहरू देखिन थाले, किसानहरू उखु काट्न ब्यस्त देखिन्थे। खोलाको बगरछेउ वस्तुभाउहरू चरिरहेका थिएः मान्छेको चहलपहल बढ्दो थियो। तर वन्यजन्तु, वन्यजन्तुका पाइला, र चराचुरूङ्गीहरूको आवाज भने बिस्तारै कमकम हुँदै गइरहेको थियो।
अनि एउटा प्रश्न र उत्सुकताले मेरो मस्तिष्कलाई केही सोच्न बाध्य बनायो। 'यो पार्क नहुँदो हो त यो ठाउँमा अहिले के हुन्थ्यो होला? मैले अघि भर्खर देखेको बाघ देख्न पाउँथे होला त?, साँच्चिकै ओतहरू चौधरमा यसैगरी भेटिन्थे होला त?'
पक्कै पनि यहाँ रहेका धेरै जनावरहरूको अस्तित्व सङ्कटमा भने रहन्थ्यो होला भन्ने मनमा लागिरह्यो। यसले मलाई संरक्षित क्षेत्रको महत्व के र कति हुँदो रहेछ भन्ने कुराको अनुभूति भने गरायो।
सँगसँगै जसले यी वन्यजन्तु संरक्षणको लागि भनेर आफ्नो घर, जमिन र बस्ती नै त्याग्नुपर्यो, उनीहरूलाई सरकारले उचित व्यवस्थापन र सहयोग नगरेको देख्दा भने नरमाइलो लागेर आयो।
ती उपेक्षित समुदाय जो निकुञ्जका कर्मचारी, र जंगली वन्यजन्तुबाट प्रताडित छन् र सदियौंदेखि भोग गर्दै आएको प्राकृतिक स्रोतबाट बन्चित छन्, उनीहरूको समस्या र आवश्यकतालाई उपेक्षा गरेर पक्कै पनि संरक्षण दिगो हुन सक्दैन। त्यसको लागि मध्यवर्ती क्षेत्रमा बस्ने समुदायलाई सीपमूलक तालिम र कार्यक्रममार्फत् रोजगार तथा आयआर्जनमूलक क्रियाकलापसँग जोड्नु पर्दछ र विस्थापित मानिसहरूको न्यायोचित व्यवस्थापन गर्नुपर्दछ। यसले संरक्षण र समुदाय दुबैलाइ एउटै दिशातर्फ हिँड्न मद्दत गर्दछ। जसले हामीले देखेको संरक्षणको सपना पूरा गर्न टेवा पुर्याउँछ।