भाग-१
त्यहाँ पुग्दा पनि बागमतीको पानी कालो, लेदो र फिँजैफिँज थियो। काठमाडौंदेखि पछ्याइएको बागमती एकपटक बगुवा (ललितपुर र मकवानपुरको सिमाना-बागमती पुल-१) मा देखियो र फेरि तल मदन भण्डारी लोकमार्गको बागमती पुल-२ (मकवानपुर र सिन्धुलीको सिमाना) मुनि, तर उस्तै रूपमा।
सानातिना झोरा, खहरे/खोला र कोखाजोर खोलाको अलि ठूलो निर्मल बहावले पनि अझै संग्ल्याउन सकेको थिएन। बगरभरि ढुंगा मात्र। ती मकै उम्रिएका बगरमाथि माटो र बालुवा कतै देखिएन।
२०८१ सालको असोज १२ पछि त्यो बगर अझै चौडिएको थियो, कहालीलाग्दो श्वेतकंकण बनेर। पक्की पुलको तलमाथि दुबै किनाराहरूमा मकैका बिरूवाहरू उम्रिएका देखिन्थे, ढुंगाहरू छेडेर।
स्थानीय रैथाने 'हाइड्रोपोनिक प्रविधि'। कसले जानेको होला पहिला, केही थाहा छैन। तर वर्षौं यसरी नै प्रत्येक मंसिरमा उनीहरू बगरमा मकैका दाना रोपेर खेती गर्दारहेछन्। स-साना कुलेसाहरू काटिएका थिए, ती मकैका बिरूवामा चिस्यान र खाना पुर्याउन। त्यो कालो पानी त्यता वरदान थियो वा खेत गुमाएकाहरूका लागि नदी अभिशाप थियो, केही बुझिनँ मैले। धानजस्तै पूरै अवधि पानीले सिंचेर मकै फलाउनुपर्ने। त्यही कालो पानीबाट मल, माटो र जल सोसेर मकैले घोगा दिँदोरहेछ। गज्जब!
काठमाडौंबाट बागमती पछ्याउँदै जाँदा त्यो ठाउँमा उज्यालोमा पुगिएन। करिब एक सातापछि काम सकेर काठमाडौं फर्कंदा चालक शंकरसहित हरिहरपुरगढी गापा अध्यक्ष बज्रध्वज वाइवाज्यू, दीपकजी र म थियौं।
हामी बिहान १० बजेको उज्यालोमा त्यो पुलमा पुग्यौं। जाँदा गाडीमा भएको कुरो दीपकजीले त्यो पुलमा पुगेपछि अलि लामै रूपमा बताउनुभयो।
उहाँले भन्नुभो- खेतीवालहरू कुटो,कोदालो, बेल्चा, पाखुरा, नंग्रा र मकैको बिउ बोकेर त्यो बगरमा आउँछन्, यसैगरी प्रत्येक मंसिरहरूमा। त्यो कालो पानी टेक्छन् र वारपार गर्छन्। ढुंगा पल्टाउँछन् र बगर मिलाउँछन्। तिनै साना/मझौला बुल्डर/ढुंगाभित्र मकैका दाना/गेडा रोप्छन्, अनि स-साना कुलेसोहरू बनाउँछन्, त्यो कालो तर मलिलो पानी त्यहाँ पुर्याउन। सिमसारमा धान रोपेजस्तो, पानीले नै भिजाइ रहनुपर्ने। गोड्ने,दोहोर्याउने काम केही हुँदैन। यतिखेर मकैका सुइराहरू ढुंगामाथि निस्किएका थिए, कलिलो घामको किरण जसरी। नरम र माया लाग्दा।
चिल्लो सडकमा हिँडेर बागमतीको ढल भन्दै नाक थुन्नेहरू र त्यही ढलरूपी अमृत पिएर हुर्किरहेका मकैका सुइँराहरूमा मुस्काइरहेको जीवनदायिनी बगरको 'इकोसिस्टम' सबैले बुझ्दैनन् होला। त्यो त अनन्त जीवनको सुमधुर सुवास पो रहेछ। काठमाडौंले पनि सिसा र प्लास्टिकजन्य सह-उत्पादनहरू बागमतीमा नबगाइदिए ती तलका मान्छेहरू अलि खुला रूपमा बगर डुल्नपाउँथे कि- मलाई त्यस्तो लाग्यो। मानिसहरूले कहिल्यै पनि पानीलाई नहेपुन्, पानी जोगाउन् र शुद्ध राखून्। आफूलाई काम नलाग्ने वस्तुहरू अरूलाई नथोपरून्।
बागमतीको सेतो बगर अबको २-३ महिना हरियो 'मकै जंगल' को लोभलाग्दो बगर बन्दोरहेछ। आफ्ना खिइएका नंग्राहरूबाट त्यतिखेर बगेको तातो र रातो रगत यिनै पहेँला दानाहरूले पछि क्षतिपूर्ति दिँदा हुन्, शायद। मैले अहिले देखेको र बुझ्न पाएको यो सत्य त वर्षौंदेखिको जीवन जिउने आधार पो रहेछ। त्यसैले पानी र घुमघाम सँगै हुनुपर्ने रहेछ। पानी जस्तोसुकै रूपमा भए पनि त्यसले जीवन दिँदोरहेछ र घुमघामले अन्तस्करणको सत्-आवाज, अनि आफूलाई सुधार्ने अवसर।
हेमन्त ऋतुको आधातिर गत हप्ता हामी हरिहरपुरगढीतिर निस्कियौं। सह्रदयीहरू हुनुहुन्थ्यो- उक्त गापाका प्रप्रअ दिपेन्द्र कुमार पैंकारा, दिपक कुमार कार्की (जिन्सी तथा खरिद इकाई), विश्वराज थापामगर (पूर्वाधार विकास तथा योजना कार्यान्वयन शाखा) र लोकबहादुर गोले (स्थानीय न्यायिक सहजकर्ता) सरहरू। सबै जना स्थानीय तहका 'भेट्रान' हरू। स्थानीय सरकारका दह्रा दह्रा पांग्राहरू/खम्बाहरू।
लगभग २ बजे दिउँसोतिर चापागाउँ दोबाटोबाट कान्ति लोकमार्ग समाउन गाडीमा सवाररत हुँदै गर्दा अलिकति दु:ख भो-गाडीले स्कुटरलाई छोइदियो। स्कुटर लडेछ। स्कुटरमा सवाररत महिलाले आफूलाई कुनै चोट चाहिँ नलागेको, तर स्कुटर केही भएको छ कि-वर्कसपमा मिस्त्रीलाई देखाएपछि मात्र फाइनल कुरा गर्ने बताएकीले नजिकैको वर्कसपमा मिस्त्रीलाई देखाइयो।
मिस्त्रीले केहीबेर ट्वाकट्वाक टुकटुक गरेर स्कुटरको शारीरिक परीक्षण गरे र कुशलै रहेको निष्कर्ष दिए। अब उनी कन्फर्म भइन्। यसमा १५-२० मिनेटको समय खेर गयो, तै पनि सौहार्दपूर्ण वातावरणमा बिदा हुन पाइएकोमा खुसी भइयो।
मंसिरको अन्तिम साता-दिनहरू छोटा थिए। त्यहीमाथि आकाशे धुलो र मसिनो भुइँ कुहिरोले ३ बजे दिउँसो नै साँझजस्तो। टीकाभैरव पुग्दा टिपरहरूको लस्कर, जाम, खन्दै र ओसार्दै गरेको रातमाटे धुलोले सडक देखिँदैन थियो। फेरि केहीबेर रोकावटमा परियो। टिलिक्क गाडी फुस्रे रातो भो। मोटरसाइकलमा काठमाडौं छिर्नेहरू पूरै होली खेलेर आए जस्ता फुस्रे/रंगीन र दिक्दार देखिन्थे।
गत असोजको वर्षा र बाढीले यो क्षेत्र नराम्ररी कोतरिएको, ताछिएको, क्षत-विक्षत बनेको र बगेको रहेछ। सडक किनाराका ड्रेनहरू ठूल्ठूला मुढा, रूख, गेग्र्यान र बाटो खोल्दा त्यही थुपारिएका डेब्रिसले पुरिएका थिए। अब सानै वर्षाले पनि सडक बन्द हुने, भासिने वा बग्ने झनै प्रबल सम्भावना देखिन्थ्यो। पानीको निश्चित निकास कतै मिलाइएको देखिएन, तर खोला खोतल्ने र गिट्टी बालुवाको सनातनी कारोबार सुरू भैसकेको रहेछ। टीकाभैरव मन्दिर वरपर खोलामा धेरै ट्रक, टिपर र मान्छेहरू स्याउँस्याउँती चलायमान थिए।
भीमकाय पहिरा, भासिएका सडक, लडेका/भत्किएका घरहरू र अजंगका गेग्र्यानहरूले अग्लिएका खोला/खोल्सा हेर्दै/पार गर्दै तीनपाने भन्ज्याङ पुग्दा घडीले दिउँसोको ४ बजायो। तीनपाने भन्ज्याङ अत्यन्त चिसो थियो। हामी रोकिएनौं।
लगभग ८४ किमी लामो टीकाभैरव (ललितपुर)-चौघडा (मकवानपुर) कान्ति लोकमार्ग बनेको ६० बढी वर्ष भएछ। बाटो कहीँ सफा, सुरक्षित र पक्की थिएन। अहिले त झन् असोज १२ पछिको वर्षा र बाढीले धेरै ठाउँमा सडक बगेको, भासिएको र माथिल्लो किनाराका भित्ताहरू अनन्त पहिरोमा कुरूप बनेका थिए। अब समस्या के देखिथ्यो भने, तलबाट सडक उचाल्ने हो वा फेरि तिनै पहिरे भित्ताहरू कोपर्ने हो। खहरेहरूका ती असीमित गेग्र्यान र विशाल चट्टानहरूको व्यवस्थापन कहाँ र कसरी गर्ने हो? टीकाभैरबदेखि बगुवासम्मै सडक क्षतविक्षत थियो।
काल्चे पुगेर चिया खान बस्दा अपराह्नको ५:१५ बजिसकेको थियो। त्यो बाँसको कटेजमुनिबाटै पहिरो गएछ। यही हिउँदमा मात्र बस्लान् उनीहरू त्यहाँ होटल गरेर। गोले सरले म:म खानुभो, बाँकी हामीले चिया मात्र खायौं। अब लगभग अँध्यारो भइसकेको थियो। बगुवामा बागमतीको पुल तर्दासम्म सानो उज्यालो बाँकी थियो। काल्चे मुनिको खहरेले ल्याएको भयावह गेग्र्यान र ढुंगाहरूले बागमती उचालिएछ र पुलको एक्सेस रोड भत्काएर पुल खोलामा पारेछ, तर पुल चाहिँ बगेको र क्षतिग्रस्त भएको देखिएन।
अब ललितपुर सकियो। हामी मकवानपुर जिल्ला लाग्यौं। लटरम्बरेश्वर नजिक 'फास्ट ट्र्याक' मा सुरूङ बन्दै गरेको देखियो तर त्यसबाट उत्सर्जित डेब्रिसहरूले खहरे उर्लिएको निशाना देखियो।
असोज १२ को बाढीमा धन्न बगुवाको बागमती पुल बचेछ र त सुचारू यातायातमा परियो। ठिंगन पुग्दा पूरै रात पर्यो। अब बाहिर देखिने केही थिएन। उहाँहरूले बताउँदै जानुभो। उहाँहरू 'न्यारेटर' बन्नुभो, म शुद्ध स्रोता।
पैकारा सरले गाडीको स्पिड बढाउनुभो। हामीले झन्झने (पालिका भवन रहेको स्थान) को खाना क्यान्सिल गरिसकेका थियौं। हेटौंडा पसेर कतै ढिडो खाने सल्लाह भयो। पालिकामा प्रप्रअ सरलाई भेट्न पाहुनाहरू आउनुभएको जानकारी आएकोले हामी अलि नै बढी हतारमा पर्यौं, तर बाटो अझै आधा जस्तै बाँकी थियो। मकवानपुरगढी पुग्दा साँझको ६:३० बज्यो। जितपुर लेखेको साइनबोर्ड गाडीको लाइटले देखायो। किल्ला त्यही थोरै मुनि छ भन्नुभो उहाँहरूले। जितपुर बजार बाक्लो कुहिरो र अन्धकारमा छोपिएको थियो। सडक पेटिका बत्तीहरूको उज्यालोलाई पनि कुहिरोले निलेको थियो। ७:१५ बजे हेटौंडा चोक पुगियो। अब बिजुलीको उज्यालोमा बागमती प्रदेशको राजधानी मजाले उज्याल्लिएको थियो। हामी ढिडो खोज्न हिँड्यौं।
खाना खाएर चौघडाबाट मदन भण्डारी राजमार्ग समाउँदा रातको ७:४५ बजेको थियो। अब झन्झने पुग्न ५७ किमी बाँकी थियो। मदन भण्डारी राजमार्गमा गाडी उफ्रिँदै र बत्तिँदै पूर्व कुद्यो। सडक ज्यादा घुम्ती र बल्जिंग (Bulging) भएको र लच्काहरू नमिलाइएकाले गाडी हुत्तिने र ओभर टर्न हुने जोखिम रैछ। सडक संकेत चिह्नका साथै 'सेफ्टी ब्यारियर' हरू पनि कमकमै थिए। अनुभवी चालकले पनि धेरै सतर्क भएर गाडी चलाउनुपर्ने रहेछ त्यो राजमार्गमा।
तेस्रो पटक पवित्र बागमती तरेर, हामी ८:३० बजे झन्झने पुग्यौं। त्यो बेला बागमती बगरका मकैहरू देख्न पाइएन। त्यो चिसो र अन्धकार रातमा पनि नउम्रिएका दानाहरू उम्रिँदै र उम्रिएका टुसाहरू आकाशतिर बढ्दै थिए सायद, तर हामी अन्धकारदेखि डराएर सुरक्षित गन्तव्यतिर छिटोछिटो कुद्दै थियौ । उनीहरू हाम्रा लागि उम्रिँदै र बढ्दै थिए, तर हामी उनीहरूलाई हेर्दैनहेरी भाग्दैथियौं।
भनौं, त्यतिखेर प्रकृति र इकोसिस्टमसँग एउटा विकराल स्वार्थपूर्ण लुकामारी चल्दैथियो। जे होस्, त्यो दिनको काठमाडौं- झन्झने यात्रा सहजतापूर्वक सम्पन्न भयो।
अब भोलिदेखि अरू कथाहरू थपिनेछन्।
भुइँकुहिरो लाग्ने झन्झनेमा त्यो दिन बिहानै सूर्यनारायणले आफ्ना कलिला, न्याना र मनोहर रोशनीका साथ पदार्पण गर्नुभो। वरिपरिका तोरी/मकैबारी र घरहरू चम्किला देखिए। सडक छेउछाउ मान्छेहरूको जमघट बढ्न लाग्यो। होटलहरू खुले। आगोमा उम्लिरहेका दुधका बाफहरू मगमग बास्ना बनेर वायुमण्डलतिर उड्दै थिए, कराइमा बाक्लाबाक्ला तरका तहहरू छोडेर। हेमन्तको चिसो मौसम र दुन उपत्यकाको बिहानी साँच्चिकै मनोहर हुँदोरहेछ। सवारी साधनविहीन मदन भण्डारी लोकमार्ग पूर्व-पश्चिम लमतन्न थियो, कालो रङमा। दुग्ध सहकारीमा कराईभरि दुध तात्दै थियो। चिया, दुध र खुवाका पारखीहरू जम्मा हुँदै थिए।
त्यो घामको बिहानीमा, लोकमार्गसँगै सटेर उत्तरपट्टि रहेको पालिका (रातो भवन) अझ स्निग्ध, रक्तवर्ण र चम्किलो देखियो। बागमती र मरिन/मरिणहरू मिलेर वडा न. २ श्रीपुर गाउँको पुछारबाट कर्मैयातिर लागे, सनातनी कर्ममा। शायद, तल स्नान/पुजन/खानेपानी/सिँचाइका प्रार्थीहरू शुभबिहानीको यसै पवित्र जललाई पर्खिरहेका होऊन्। नदी/खोला र जलाशयहरूलाई नि यस्तै सदावर्त धपेडी छ र त जलाधारा टुटाउँदैनन् उनीहरू। मान्छेहरू थुन्न, रोक्न र पथान्तरण गर्न हानाथाप गर्छन्, माथितिर बसेर। हामीहरू बुझेरै/नबुझेरै 'खेर गाको पानी' भन्छौं। तर हैन, अरू थुप्रै 'प्रार्थी'हरू तल्लो तटीय क्षेत्रमा यसैगरी आशामुखी भएर त्यो पवित्र जलधारालाई पर्खिरहेका हुन्छन्। त्यसैले हामीले पानी शुद्ध राख्दै निरन्तर बहन दिनुपर्छ, उसको मनचाह बाटोमा। ऊ प्रार्थीहरू खोज्दै, बाटो बनाउँदै र आफै संग्लिदै उनीहरूलाई भेट्न पुग्छ यथासमयमै। हामीहरू परीक्षा समय त हेल्चेक्र्याइँ गर्छौं, तर ऊ समयसँगै निरन्तर छ। तब त जीवनचक्र निरन्तर छ। कतै यो चक्र खण्डित भएको अवस्था सोचौं त, १ सेकेन्ड पृथ्वी अडिँदा, १ दिन नदी (पानी) नबग्दा/गायब हुँदा वा १ दिन सूर्य नउदाउँदा... ??
वरिपरी सालघारी जंगलले घेरेको करिब ६५ बिगाहाको पालिका भवनको क्षेत्रफल अति नै सुन्दर र शान्त देखियो। करिब १.५ बिगाहामा नास्टले 'नयाँ बिउ विकास' को लागि मकै रोपेको रहेछ।उम्रिएका थिए लहरै, सुइँराहरू ३ पाते बनेर। केही कट्ठामा पालिका आफैले फूल, खर्बुजा, काउली र अन्य तरकारी उत्पादन गरेको रहेछ। करिब १५ बिगाहामा पालिकाले रोपेका विकासे अम्बा र आँपका बोटहरू उत्पादन दिने अवस्थामा थिए। 'भाइरल रोड' र एकनासे सालहरूले निर्मित प्राकृतिक पार्क साँच्चिकै मनमोहक थियो। पालिकाले बनाएको पोखरीमा माछाहरू हुर्किंदै थिए।
'ट्राउट माछा भुरा' उत्पादन केन्द्र निर्माणाधीन थियो। सम्पूर्ण उपकरणहरू सहितको जिम सेन्टरमा शरीर निर्माताहरू पसिना निकाल्दै थिए।
बाढी/पहिरो/खोला/खोल्सा र डुबानरहित, विपश्यना केन्द्र जस्तो पालिका भवन रहेको ठाउँ विशाल मैदानी फाँट थियो। शायद राम्रा योजनाहरूको छनोट, उपयुक्त बजेट विनियोजन र स्वस्थ छलफलका लागि यस्तै ठाउँ चाहिन्थ्यो। एक बिहानमा के डुलिसकिन्थ्यो र? दिपकजी र विजय डिम्ड़ोङ भाइले विस्तृत बताउँदै गाइड गर्नुभो। त्यो बिहानभरि हामी मजाले डुल्यौं। हरिहरपुरगढी किल्ला चाहिँ देखिँदैनथ्यो यहाँबाट। पारि राई गाउँ र बखफ़र क्षेत्रहरू शान्त थिए। जाँदा सुनेका बागमती बगरका मकै खेती र विशेष क्षेत्र हरिहरपुरगढी दरबार हेर्न बाँकी नै रह्यो।
पालिका केन्द्रबाट अरू ठूला साना सहरी, पर्यटकीय क्षेत्र र तीर्थस्थलहरू नजिकै पर्थे। प्रदेश राजधानी हेटौंडा ५७ किमी (पश्चिम), जिल्ला सदरमुकाम सिन्धुलीमाढी बजार ६३ किमी (पूर्व), महेन्द्र राजमार्ग/कर्मैया (सर्लाही) २२ किमी (दक्षिण) वडा न. ८ पथराई हुँदै हरिवन (सर्लाही) २८ किमी (दक्षिण), हरिहरपुरगढी दरवार १८ किमी (उत्तर), जितपुरगाउँ विजय स्मारकस्थल २६ किमी (उत्तर), मरिण-बागमती दोभान (बेनी/बेणी)- २.५ किमी (दक्षिण), प्रसिद्ध लोहासुर पोखरी ५ किमी (पूर्व), प्राकृतिक कुण्ड पोखरी २० किमि (पूर्व-दक्षिण) र मकवानपुर र सिन्धुलीको सीमा बागमती पुल ११ किमी (पश्चिम)।
कान्ति लोकपथको खोरभन्ज्याङबाट हेटौंडा तर्फको बाटो छोडी धुले बाटो समाउँदै हात्तीसुंडे (बकैया खोला पुल) निस्कने हो भने १३ किमी दुरी छोट्ट्याउँदै झन्झने पुग्न सकिन्छ। काठमाडौं- तराई द्रुतमार्ग सम्पन्न हुने बित्तिकै सवादेखि डेढ घन्टाको समयमा संघीय राजधानी पुग्न सकिने देखियो। अहिले बाटो अवरोध नभएको खण्डमा २.५-३.०० घण्टा लाग्दोरहेछ। धुलै सही, सडक विकास र निजी सवारी सम्पन्नताले, अहिले हिउँदमा चाहिँ सेवाग्राही र सेवा प्रदायकहरूलाई ओहोरदोहोर सजिलो नै रहेछ, काममा पुग्न र काम सकेर गन्तव्यमा फर्किन। सानाठूला सुविधा सम्पन्न होटलहरू जताततै उपलब्ध रहेछन्, खल्ती दह्रो हुनेहरूलाई, अन्यथा आफ्नै घर जिन्दावाद। यो दिन यसैगरी सकियो।
क्रमश:...