अहिले सामाजिक सञ्जालमा एउटै प्रश्नले चर्चा पाएको छ, माछापुच्छ्रेको हिउँ खै? यो विषय सबैको चासोमा परेको छ। किनकि पछिल्लो समय हिमालय क्षेत्रका धेरै स्थानमा यो नै साझा समस्या बनिसकेको छ। नेपाल लगायत संसारभर बढिरहेको तापक्रमको असर हिमालयमा पनि परिरहेको छ।
पुस ८ गते, अन्ततः पोखरा जाने योजना बन्यो। साँझ पोखरा पुगेर, बिहान मौसम खुल्ने आशामा सुतेँ। तर अर्को दिन मौसम राम्रो नहुँदा हिमालहरू देख्न पाइएन। अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको माछापुच्छ्रे र यसको हिउँ पनि देख्न सकिएन। मन अलि खिन्न भयो। तर मनमा एउटा कौतूहलता भने थियो, माछापुच्छ्रे हिमाल आफ्नै आँखाले हेर्ने।
पुस १० गते बिहान, हिजोभन्दा मौसम केही सफा देखियो। होटलबाट बाहिर निस्कने बित्तिकै मैले माछापुच्छ्रे देखिहालेँ। तर, दृश्यले मलाई झस्कायो माछापुच्छ्रेको हिउँ हराएर कालो ढुंगा मात्र देखिएको थियो।
फोटो पत्रकार भएको नाताले, म तुरून्तै क्यामरा लिएर पुम्दिकोटतर्फ लागेँ। जलवायु परिवर्तनकै प्रभाव हो भन्ने बुझाइ थियो। अन्य बेला खिचिएका हिमालका तस्बिरभन्दा यस्तो अवस्थामा खिचिएका तस्बिरले अझ बढी महत्व बोकेको महसुस भयो। त्यसैले आत्तिँदै, त्यो क्षणलाई क्यामरामा कैद गरें।
हिमालको बदलिँदो अवस्था देख्दा मनमा गहिरो छाप पर्यो। जलवायु परिवर्तनले हाम्रो प्रकृतिमा कस्तो भयावह प्रभाव पारिरहेको छ भन्ने कुरा माछापुच्छ्रेको त्यो कालो पत्थरले स्पष्ट देखाइरहेको थियो।
पोखरामा पुग्नेबित्तिकै आँखाअगाडि देखिने माछापुच्छ्रे हिमालको कालो पत्थरले धेरैलाई प्रश्न गर्न बाध्य बनाउँछ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसार, विश्वको औसत तापक्रम एक डिग्री सेल्सियसले बढेको छ। यदि तापक्रम यो दरमा अझै बढ्दै गयो भने हिमालय क्षेत्रको आधा हिउँ हराउन सक्ने चेतावनी दिइएको छ।
-1735998369.jpg)
के साँच्चै माछापुच्छ्रेको हिउँ घटेको हो?
नेपालको मौसम प्रणालीअनुसार मंसिरदेखि जाडोयाम सुरू हुन्छ। यस समयमा माथिल्लो भेगमा हुस्सु र बादल लाग्ने, अनि चिसो बढेसँगै हिउँ पर्ने हुन्थ्यो। तर पछिल्ला वर्षहरूमा जाडो बढे पनि हिउँ नपर्नु वा कम समयका लागि पर्नु आम समस्या बनेको छ। यसका साथै, हिउँ जम्ने समय (अडिने आयु) पनि घटिरहेको छ।
विभिन्न अध्ययनहरूले मानवीय गतिविधि (एन्थ्रोपोजेनिक कारण) ले पनि हिउँको आयु घटाएको देखाएका छन्। माछापुच्छ्रेको दक्षिणी भेग पोखराको सहरी क्षेत्रमा फर्किएको हुनाले त्यहाँका क्रियाकलापले पनि असर पार्न सक्ने वातावरणविद् अमृत देवकोटा बताउँछन्।
उनका अनुसार, तीन महिनासम्म पर्नुपर्ने हिउँ राम्रोसँग एक महिनासमेत परेको छैन। यो समस्याले जलस्रोत र कृषिमा प्रत्यक्ष प्रभाव पार्छ। हिउँ कम हुनासाथ तल्लो भेगमा पानीका स्रोत सुक्ने, कृषि उत्पादन घट्ने, र समग्र आर्थिक प्रणालीमा असर पर्नेछ।
पोखरा महानगरपालिका– वड नं ७ का ५४ वर्षीय पुरूषोत्तम पराजुलीले १० वर्षअघिको माछापुच्छ्रे र अहिलेको धेरै फरक पाएको बताए।
पाँच वर्षअघि हिमाल खुल्ने, सफा हुने गरेको उनले बताए।
‘कोभिडका बेलामा भएको लकडाउनले हिमाललाई फाइदा पुगेको थियो,’ उनले भने, ‘त्यसपछिका दिनमा पुनः समस्या आइरहेको छ।’
जसले गर्दा पर्यटन व्यवसायलाई मात्र नभई प्राकृतिक सुन्दरतालाई समेत समस्या पारेको उनले बताए।
-1735998369.jpg)
ग्रामीण पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष शोभा सापकोटाले जलवायु परिवर्तनका कारण हिमालमा असर पुगेको बताइन्।
‘जसले गर्दा हिमाल हेर्न आउने पर्यटक पनि निरास भएर फर्किनु परेको छ,’ उनले भनिन्, ‘पोखरा क्षेत्रमा भएको प्रदुषण पनि हो र यसलाई न्यूनीकरण गर्दै जानुपर्छ।’
स्थानीय, संघीय र प्रदेश सरकारले प्रदुषण नियन्त्रणमा कार्ययोजना बनाएर काम गर्न उनको सुझाव छ।
माछापुच्छ्रे क्षेत्र जैविक विविधताको धनी क्षेत्र मानिन्छ। यहाँ हिमाली, क्षेत्रमा पाइने विविध प्रकारका वनस्पति र जनावरहरू पाइन्छन्। माछापुच्छ्रे र यस वरिपरिका जैविक विविधता जलवायु परिवर्तनको प्रत्यक्ष असरमा परेका छन्। यदि तत्काल समाधान र जलवायु अनुकूलनको पहल गरिएन भने यो क्षेत्रको पर्यावरणीय र सांस्कृतिक महत्त्व गुम्न सक्ने सम्भावना छ।
माछापुच्छ्रेको हिउँ घट्नु केवल एउटा हिमालको समस्या होइन, यसको प्रभावले नेपालजस्तो हिमालयन देशलाई दीर्घकालीन संकटमा पार्न सक्छ। अबका दिनमा यस्ता विषयमा गम्भीर ध्यान दिनु आवश्यक छ, नत्र हामीले सामना गर्नुपर्ने चुनौतीहरू झन् गहिरिने छन्। यो समस्या केवल वैज्ञानिक वा विज्ञहरूको बहसको विषय मात्र होइन। यो संकेतले जनमानसमा सचेतना ल्याउनु र समाधान खोज्नु अबको आवश्यकता हो।
-1735998367.jpg)
-1735998368.jpg)
-1735998367.jpg)
-1735998367.jpg)
-1735998367.jpg)
-1735998368.jpg)
-1735998366.jpg)
(मनिष अर्याल फोटो पत्रकार र वातावरण अध्ययनरत विद्यार्थी हुन्)