पदयात्राः अन्नपूर्ण बेसक्याम्प भाग २:
उनले मप्रति हेर्दै हल्का मुस्कान दिएर भने, 'अभ्यासले धेरै कुरा सहज बनाइदिन्छ, सर। सुरूमा त निकै गाह्रो भएको थियो, तर अहिले बानी परिसक्यो।'
उनबाट यस्तो सहज उत्तर पाएर म प्रभावित भएँ।
सोच्दै थिएँ, कति साहसी र मेहनती छन् भरियाहरू, जो दैनिक आफ्नो श्रमले पर्यटकहरूलाई सुविधा दिने काममा अनवरत लागिरहेका छन् र एउटा सिक पनि दिए कि जीवनमा सुरू सुरूमा जे पनि कठिन नै लाग्दो रहेछ, तर त्यसको निरन्तर प्रयासपछि त्यही कठिन लाग्ने कार्य सहज हुन थाल्छ।
उनले डोरीले बेस्सरी बाँधिएको लगभग ६ फिट अग्लो सामान र विदेशीहरूले ल्याएका विभिन्न सामग्री देख्दा मेरो जिज्ञासा बढ्यो।
मैले थप जिज्ञासा राख्दै, 'अनि यो सामान कति किलो होला? तपाईंलाई कमाइ पनि राम्रै हुन्छ होला?'
उनले उत्तर दिए, 'अह! लगभग ५० देखि ६० किलोको होला र कमाइ राम्रै हुन्छ। तर हामी वर्षभरि काम गर्दैनौं, वर्षको ५–७ महिना मात्र हो काम गर्ने। आन्तरिक पर्यटकहरूभन्दा विदेशीहरूले अलि राम्रो पैसा दिन्छन्। केही आन्तरिक पर्यटकहरू तँ मनपरी धेरै नै बार्गेनिङ गर्छन् र थोरै पैसा दिन्छन्।'
हामी कुरा गर्दै थियौं कि उनका विदेशी पर्यटकले उनलाई 'लेट्स गो' भनेपछि उनी आफ्नो सामान बोकी आफ्नै बाटोतर्फ लागे। बीच-बीचमा विश्राम गर्दै हामी लोअर सिनुवा हुँदै अपर सिनुवासम्म पुग्यौं। त्यहाँ पुग्दा करिब ३ वा ३:३० बजेको समय भएको होला।
सिनुवाबाट ब्याम्बुतिर प्रस्थान गर्दा बाटोमा धेरै मात्रामा बाँसका बारीहरू देखिन्थे, त्यसैले उक्त ठाउँलाई ‘ब्याम्बु’ नाम दिइएको कुरा सजिलै बुझ्न सकिन्थ्यो। बाँदरहरू पनि झाडीमा हाम फाल्दै रमाइरहेका थिए र हामी शान्तसँग आफ्नै गन्तव्यतर्फ अघि बढिरहेका थियौं।
अपर सिनुवामा एक जना पसलेसँग ब्याम्बु कति टाढा छ जिज्ञासा राख्दा उनले बढीमा ४५ मिनेट मात्र लाग्छ भने तर लगभग १ घण्टासम्म निरन्तर हिँड्दा पनि ब्याम्बु पुग्न सकेका थिएनौं, र बिस्तारै अँध्यारो पनि हुन थालेको थियो।
केही साथीहरू हामीभन्दा अगाडि हिँडिसकेका थिए भने मसँग हिँडिरहेकी दुई जना महिला साथीहरूले अँध्यारोमा हिँड्न गाह्रो भएको बताएपछि, हामीले हेड टर्च र मोबाइलको बत्ती बाल्यौं। साथीहरूको सहायताका लागि हात समाएर बिस्तारै अघि बढ्यौं, जसले गर्दा उनीहरूलाई पनि हिँड्न अलि सजिलो भयो।
अन्ततः लगभग डेढ घण्टापछि, हामी ब्याम्बुमा पुग्यौं। हाम्रो कोठाहरू पहिल्यैदेखि नै बुक गरिएकोले कोठा खोज्न कुनै समस्या भएन। होटलको कोठा झिनुको कोठाभन्दा ठूलो र सुविधा सम्पन्न थियो। फ्रेस भएर रातिको खाना खायौं र केही रमाइलो कुराकानी पछि सुत्न गयौं।
मेरो पहिलो पदयात्रा भएकाले म निकै उत्साहित थिएँ। राति अबेरसम्म ब्याम्बुको चिसो हावामा चिया पिउँदै पुराना सम्झनाहरूमा हराउँदै बसेँ। लगभग राति ११ बजेको थियो। सबै साथीहरू सुतिसकेका थिए, तर उक्त होटलको माथिल्लो तल्लाको कोठामा एक जना महिला रमाइरहेको देखेँ। उनले आफ्नो हात हल्लाउँदै 'हाई' भनिन्, र प्रतिउत्तरमा मैले पनि हात हल्लाएँ।
एकछिनपछि उनी तल आइन् र हामीले कुरा गर्यौं। उनी भारतीय नागरिक रहिछिन्। नेपालको प्राय: बोर्डर छेउको सहर जस्तै जनकपुरमा उनी प्राय: घुम्न आए पनि त्यो उनको पहिलो पदयात्रा थियो। पदयात्राको क्रममा उनले आफ्नो रमाइलो अनुभवहरू पनि सुनाइरहेकी थिइन्, जुन मैले पनि पदयात्राको दौरान महसुस गर्दै आइरहेको थिएँ। उनलाई नेपाली भाषा बुझ्न गाह्रो भएकोले म हिन्दी र अंग्रेजी भाषामा कुराकानी गर्दै थिएँ। सामान्य परिचयदेखि सुरू भएको हाम्रो कुराकानी अनेकन विषयमा परिणत हुन थाल्यो। लगभग राति १२ बजेतिर 'हामी बिहानै उठेर अर्को गन्तव्यको लागि तयारी गर्नुपर्छ' भन्दै एकअर्कालाई सामान्य अँगालो दिएर बिदा भयौं र आ–आफ्नो कोठामा सुत्न गयौं।
उक्त होटलको कोठा र बेड ठूलो भएको कारण र शरीर थाकेको कारण पल्टिने बित्तिकै निद्रामा डुबिसकेको थिएँ।
३० अक्टोबर, २०२३
बिहान चाँडै उठ्ने बानी भएकाले म र मसँगैको साथी करिब ५ बजे नै उठ्यौं। फ्रेस भएपछि अरू साथीहरूलाई उठाउन खोज्दा, उनीहरूको कोठाको ढोका बन्द थियो। हाम्रो टोलीमा ४ जना महिला साथीहरू थिए, जो एउटै कोठामा रात बिताएका थिए। ती मध्ये एक जनालाई राति अप्ठ्यारो भएछ रहेछ, तर उनले आफू ठिक महसुस गरिरहेको र पदयात्रा निरन्तर गर्न सक्ने जानकारी गराएपछि हामी ढुक्क भयौं।
बिस्तारै सँगै जाने भनेर एकछिन पछि सबै जना उठ्यौं, फ्रेस भएर खाजा खायौं र देउरालीमा रात बिताउने योजना साथ उकालो चढ्न थाल्यौं। हिजो राति भेट भएको भारतीय महिलालाई देखिन्छ कि भनेर पछाडि फर्केर होटलको माथिल्लो कोठा हेर्दा, उनको कोठामा ताल्चा लागेको देखियो। सायद, उनी बिहानै हिँडिसकेकी रहिछिन् भन्ने लाग्यो।
ब्याम्बुबाट अघि बढ्दै गर्दा हिमालको चिसो हावाले शरीरमा शितलताको साथ साथ स्फूर्ति ल्याइरहेको थियो। हिमालको टुप्पा स्पष्ट देखिन्थ्यो, जहाँ निलो आकाशमा सूर्यको किरणले हिउँलाई झलझल पार्दै हिमाललाई उज्यालो बनाइरहेको थियो। मन एकदमै हर्षित भइरहेको थियो, यात्राको क्रममा भएको थकान बिस्तारै हराउँदै उत्साहले भरिँदै थिए। साथीहरूको मुहारमा पनि ताजगी स्पष्ट देखिन्थ्यो, सबै जना निकै उत्साहित देखिन्थे। सायद, हामी सबैले प्रकृति र वातावरणको मादकता महसुस गरिरहेका थियौं।
बिस्तारै रमाउँदै, गीत गाउँदै, ठट्टा गर्दै, हामी दोभान पुग्यौं। त्यो दिन, अरू दिनभन्दा छिट्टै दोभानमा पुगेका थियौं। हामीलाई पदयात्राको लयमा हिँड्ने बानी परिसकेको थियो, र प्राकृतिक सौन्दर्यले पनि थप ऊर्जा दिइरहेको थियो। दोभानमा थोरै विश्रामपछि हामी अगाडि बढ्यौं, अनि हिमालय पुगेर एकछिन विश्राम गर्दा सबैले आनन्द महसुस गर्यौं र त्यहीँ बसेर खाना खाने भनी सहमति गर्यौं। अन्य ठाउँको भन्दा हिमालयमा आन्तरिक र विदेशी पर्यटकहरूको चाप अलि बढी नै देखेँ।
खाना खाइसकेपछि जब यात्रा अघि बढाउनतर्फ लाग्यौं, पानी पर्न थाल्यो। 'पहाडको पानी हो, एकछिनमै रोकिन्छ, अनि जाउँला,' भनेर एक साथीले सान्त्वना दिनुभयो। त्यसैले हामी सबै त्यहीँ बसेर पर्खियौं, तर आधा घण्टा बित्दा पनि पानी रोकिनुको साटो झन् पानी र चिसो दुवै बढी जाडोले सबै काप्न थाल्यौं। त्यसपछि टोलीको एक जना साथीले एउटा जुक्ति दियो, 'बरू सानो स्वरमा गीत बजायौं, अनि नाचौं, यसले न्यानो मिल्छ।'
गीत बजायौं 'निरा जहिले रिसाउनी .... निरा जहिले रिसाउनी .... निरा कहिले होला माया सँग माया बिसोनी ...' र हामी रमाउन थाल्यौं। केही क्षणको नाचपछि जिउ अलि न्यानो हुन थाल्यो। त्यहाँ भएका विदेशी पर्यटकहरू पनि हामी सँगै रमाउन सामेल भए र रमाइलोको माहोल बनेको थियो।
पानी विस्तारै कम भएपछि, हामीले रेनकोट लगाएर यात्रा निरन्तर जारी राख्ने भनी सहमति गर्यौं। चिप्लो बाटोमा बिस्तारै उकालो चढ्दै करिब डेढ घण्टापछि देउराली पुग्यौं। त्यहाँ पुग्दा धेरैजसो विदेशी पर्यटकहरू देखिन्थे। हाम्रो एक साथीले पहिले नै राति बासको लागि कोठा बुक गरेकोले हामी ढुक्क थियौं, तर दुर्भाग्यवश पर्यटकहरूको भिडभाडमा होटल सञ्चालकलाई त्यो कुरा याद रहेनछ र सबै कोठाहरू भरिसकेका थिए। अँध्यारो पनि भइसकेको थियो।
हामीले होटल सञ्चालकलाई अनुरोध गर्दा, उहाँले होटल पछाडिको एउटा कोठा देखाउँदै भने, 'कोठा सानो छ तर अहिलेको लागि यही एक मात्र कोठा बाँकी छ। तपाईंहरूले यसमै मिलेर रात बिताउनु पर्नेहुन्छ।' कुनै विकल्प नभएकोले हामी ६ जना पुरूष साथीहरू ५ वटा ओछ्यान मिलाएर सुत्ने र बाँकी ४ जना महिला साथीहरूको लागि अर्को कोठामा अरू पर्यटकहरूसँग व्यवस्था गर्ने भनी होटल संचालकसँग सहमति गर्यौं। बेलुकीको खाना खाइसकेपछि सबै जना सुत्न गयौं।
मध्यराति लगभग २ बजे मसँग सुत्ने एक जना साथीलाई लेक लागेजस्तो भयो। हामीले उनलाई लेक नलाग्ने औषधि खुवायौं, लसुन दिएर टाउको र शरीर मसाज गरेपछि उहाँलाई आराम महसुस भएछ र निदाउनुभयो।
३१ अक्टोबर, २०२३
बिहान उठ्दा सबै साथीहरू स्वस्थ र स्फूर्त देखिन्थे। महिला साथीहरूले पनि राति दुई बेडमा जसोतसो रात बिताएको बताए। हाम्रो त्यो रात आरामदायक नबने पनि कम्तीमा रात बिताउन एउटा ठाउँ पाएकोमा राहत महसुस गयौं र होटल संचालकलाई धन्यवाद ज्ञापन गर्यौं। देउरालीमा खाजा खाएर एम.बि.सी.तर्फ यात्रा सुरू गर्यौं। मार्गको दृश्य अत्यन्त रमणीय थियो। म मोबाइलमा तस्वीर खिच्दै प्रकृतिको सुन्दरतालाई कैद गर्नमा मस्त भएँ। एम.बि.सी.को डाँडा पुगेपछि त्यहाँको खुला चौरमा एकछिन बस्यौं, जहाँबाट खुला आकाश, माछापुच्छ्रे हिमालको चुच्चोमा बगिरहेका बादल र अन्नपूर्ण हिमाल प्रष्ट देखिन्थ्यो। घाम पूरा लागे पनि चिसो चिसो हावा छेउमा साथीले बोलेको पनि सुन्न गाह्रो भइरहेको थियो।
एम.बि.सी.बाट ए.बि.सि. सम्मको यात्रा अरू ठाउँको तुलनामा अझ रमाइलो थियो। बाटो फराकिलो र दायाँबायाँ सेतो हिउँले ढाकेका ठूला ठूला पहाडहरू थिए। मेरो अगाडि अन्नपूर्ण हिमाल सफा र विशालकाय देखिन्थ्यो। हामीले त्यहाँका दृश्यहरूलाई क्यामेरामा कैद गर्दै, अनेकौं तस्बिर र भिडिओ बनायौं। बीचमा एउटा सानो खोला पनि भेट्यौं, जसको माथिल्लो सतह बरफले ढाकिसकेको थियो। त्यहाँ पनि रमाइलो गर्यौं। कोही अगाडि त कोही पछाडि हिँडिरहेका थिए। यात्रा गर्दै जाँदा मौसम अचानक परिवर्तन भयो र अन्नपूर्ण हिमाल पूरै बादलले ढाकिएपछि एकछिन अगाडि प्रस्ट देखिएको हिमाल अब बादल पछाडि नै हरायो। मध्य यात्रामा विश्राम गरिरहेको बेला त्यहाँ आउँदै गरेको एक जना भरियासँग कुरा गर्ने क्रममा थाहा भयो कि प्राय: दिनको ११ बजेदेखि मौसम यस्तै बदलिने रहेछ। यो कुरा मेरो लागि नयाँ सिकाइ बन्यो।
फाइनल्ली, एक एक पाइला टेकेर हामी ए.बि.सि. पुग्यौं। त्यहाँ पुग्दा झिनुबाट सुरू भएको थकान सब हरायो। हामी अत्यन्तै खुसी थियौं, त्यहाँ भएको अन्नपूर्ण बेस क्याम्पको बोर्ड छेउमा निकै अलि अबेलासम्म खुसी साटासाट गर्यौं र अनेक तस्बिरहरू खिचाउने क्रममा एउटा ब्यानर झुड्याएको देख्यौं। उक्त ब्यानर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे कास्की, गण्डकी प्रदेशलेको कार्यालयले स्वागतको लागि झुड्याएको रहेछ।
क्रमश: