प्राकृतिक सौन्दर्यले भरिपूर्ण दोलखाको चेर्दुङ डाडा अविस्मरणीय गन्तव्य लाग्छ। यस ठाउँमा पटक पटक पुगेको छु। हिउँले सेताम्मे र वर्षामा हरियाली छाउँदा पनि यस ठाउँ नपुगेको होइन। जतिपटक पुगे पनि भोको पेटझैं लाग्छ।
करिब २ हप्ताअघि नै उमोजा कफी बानेश्वरमा गफगाफको क्रममा पर्यटन अभियन्ता लिलाराम खड्काले चेर्दुङ जाने योजना सुनाउनु भयो।
उहाँले काठमाडौंबाट पत्रकार, फोटो पत्रकार, लेखक, साइक्लिस्ट लगायतका टिम पनि हामीसँगै अनि एक रात चेर्दुङ डाँडामै टेन्ट टाँगेर बस्ने योजना पनि सुनाउनु भयो।
चेर्दुङ डाँडामा ३ पटक पुग्दा पनि एक रात पनि बिताएको थिइनँ। यहाँबाट मलाई पनि सूर्योदय र सूर्यास्त हेर्ने र फोटो खिच्ने ठूलो धोको थियो। यही धोको पूरा हुने भयो भन्ठानेर लिलाराम खड्कालाई हुन्छ भनेँ।
मलाई पत्रकार महासंघको चुनाव लागेको थियो। टिकट पायो भने आफू पनि पत्रकारको नेता बन्ने सोचमा थिएँ। मलाई फोनमार्फत लिलाराम खड्काले पटक पटक जाने निधो गर्नुहुन्थ्यो। म भने भोलि भोलि भन्दै टार्दै गएँ। म दोधारमा थिएँ। जाने दिन ३ बजेसम्म चुनावले नै मलाई अल्झाइरह्यो। अन्तमा काठमाडौंबाट फोटो पत्रकार चन्द्र शेखर कार्की दाइको गाडीमा जाने निधो गरेँ।
जिरी लिंकन बजारमा एक रात बसेँ। भोलिपल्ट जिरी लिंकन बजारबाट क्याङ्सेपोखरीसम्म बोलेरो गाडीमा गएपछि लगभग ३ घण्टा हिँडेर चेर्दुङ डाँडामा पुगेँ। चिसो हावा, हरियाली पहाड, विभिन्न रूख बिरुवा र बुट्यानहरूको साथमा उकालो चढ्दा प्रकृतिसँगको नजिकको सम्बन्ध अनुभूत गर्न सकिन्थ्यो। यात्रा कठिन भए पनि प्रकृतिले दिने ऊर्जा र उत्साहले थकानलाई बिर्साइरहन्थ्यो। दिउँसै पुगेकाले फोटो खिच्ने समय प्रशस्तै थियो। यस ठाउँ गौरीशंकर हिमालसहित नुम्बुर, माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्ण, मनास्लु, लाङटाङ लगायत थुप्रै हिमशृङ्खलाको मोहक दृश्यावलोकनका लागि चर्चित छ।
त्यहाँको प्राकृतिक सौन्दर्य, शान्त वातावरण र रोमाञ्चक अनुभवले मेरो मनमा गहिरो छाप छोड्यो। चेर्दुङ डाँडाको शिखरमा पुग्नासाथ मनमोहक सुन्दर दृश्यहरू शब्दमा बयान गर्न गाह्रो छ। सूर्यास्तको पहिलो झुल्का, हिमालहरूमा सुनौलो चमक, र तल रहेका साना साना पहाडहरूले मनलाई अत्यन्त आनन्दित बनायो।
चेर्दुङ डाँडा पछिल्लो समयमा आन्तरिक पर्यटक र प्रकृतिप्रेमीहरूको गन्तव्य बन्न पुगेको छ। पर्यटन व्यवसायी लिलाराम खड्काको पहलमा डाँडामा विभिन्न गतिविधि आयोजना गरिएको थियो। साइकल यात्रीहरूको लागि ट्र्याक तयार पारिएको थियो भने पत्रकार, फोटो पत्रकार र लेखकहरूलाई प्रेरणादायी वातावरण प्रदान गरिएको थियो।
चेर्दुङ केवल पर्यटकका लागि दृश्यावलोकन मात्र होइन, धार्मिक र आध्यात्मिक महत्व बोकेको स्थल पनि हो। यहाँ पुगेपछि जोकोहीलाई शान्त र निर्मल वातावरणले ध्यान गर्न मन लाग्छ। यहाँको ३६९० मिटर उचाइबाट तल हेर्दा जीवनको विविधताबारे सोच्ने अवसर मिल्छ।
चेर्दुङ डाँडा अहिले प्रकृति, पर्यटन र धार्मिक महत्वले भरिएको गन्तव्यको रूपमा परिचित छ। यस ठाउँको महत्व र विशेषता बुझेकै कारण पर्यटन व्यवसायी लिलाराम खड्का निरन्तर लागिरहेको मैले महसुस गरेँ।
चेर्दुङ डाडालाई लोकप्रिय बनाउन पर्यटन व्यवसायी लिलाराम खड्काको ठूलो योगदान छ। पर्यटकहरूलाई आकर्षित गर्न र काठमाडौंबाट पर्यटकहरू बेला बेलामा चेर्दुङसम्म डोराउने काम पनि उहाँकै हो। त्यसैले एक रात यही डाँडामा बिताउनु र साइक्लिस्टको लागि नयाँ गन्तव्यको खोजी गर्न पनि यस पटकको यात्रा महत्वपूर्ण थियो।
एक रातको बसाइमा यहाँको हावापानी, यहाँको सम्भाव्यता, भावी योजना र सूर्योदय, सूर्यास्तलाई नियाल्ने अवसर पाएँ। पर्यटनसम्बन्धी प्रचुर सम्भावना देखेँ तर सरोकार निकायको खाँचो देखेँ।
यी यस्ता ठाउँको प्रचार प्रसार र प्रवर्द्धन गर्न सकेमा पक्कै जिल्ला, देशकै विकास हुनेछ भन्ने आशा जाग्यो।
तस्बिरहरू: