भाग- २
अघिल्लो भाग सक्किँदा हामी जन्नु बेस क्याम्प पुगेर खाम्बाचेनतर्फ फर्किँदै थियौं। अहिले होटलको किचनमा आगो तापेर बसेका छौं। बाहिर निक्कै चिसो छ। २०८१ साल कात्तिक ३ गते शनिबारको साँझ हो यो।
हिजो लाबुकबाट उकालो लाग्नसाथ मोबाइल नेटवर्क उतै छाडियो। ऊसँग अब फर्केर त्यहीँ पुगेपछि मात्र भेट हुनेछ। इन्टरनेट त धेरै परको कुरा भयो। फुङलिङ तिरैको।
तर फाइदा छ। सिरकभित्र गुडुल्किएर सामाजिक सञ्जाल चहार्ने हतारो परेको छैन। साहुजी/साहुनीसँग भलाकुसारी गर्न पाएको छु। मनमा लागेका कुरा मोबाइलमै भएपनि टिप्न पाएको छु यसरी।
अनुप सरको नयाँ जुत्ता आएको छ, घुन्साबाट। आज उहाँले जुत्ता सिलाउनुपरेको छैन। नत्र तीन दिनदेखि उहाँको हरेक साँझको नित्यकर्म ‘जुत्ता मर्मत’ हुन थालेको थियो।
दुबईबाट मगाएको ब्रान्डेड जुत्ता हिँड्न सुरू गरेकै दिन फाट्यो। सियो धागो बोकेका थियौं। जहाँ फाट्छ, सिउँदै हिँड्नै नीति अपनाइयो। काम चलेको थियो। घुन्साबाट यता लागेपछि जुत्ताले फेरि दाँत देखायो, ङिच्च। यहाँ आइपुग्दा जुत्ता त चप्पलजस्तो भयो, पट्याक-पट्याक। यो सब भइरहँदा आफ्नो छैटौं ट्रेक हिँड्दै गरेको मेरो गोल्डस्टार भने मुस्कुराइरहेझैं लाग्थ्यो मलाई।
होटलका साहुजी/साहुनी भर्खरको उमेरका छन्। तीस नकाटेका। एउटी सानी छोरी छिन् तीन वर्षकी। घर घुन्सा हो। यो होटल खोलेको ८ वर्ष भयो। उनको दाजुको राम्ताङमा टी-सप छ। दिदी लाबुकमा खाना खुवाउँछिन्।
होटलमा करोड माथिको लगानी छ। पर्यटकहरू हरेक साल बढ्दै गएका छन्। आम्दानी राम्रै छ। एक सिजनमा कम्तीमा पाँच-सात लाख रूपैयाँ कमाइ हुन्छ। तैपनि साहुजी मौका परे ‘फ्रान्स हान्निने’ सोचमा छन्।
'किन त्यस्तो सोच्नु भयो हौ?'
'घुन्साको धेरैजना फ्रान्समा छ। उतै बस्छ। बच्चाबच्ची पढाउँछ। लाइफ स्ट्यान्डर्ड छ। यताको केटाकेटीलाई कि काठमाडौं, कि दार्जिलिङ, नभए ताप्लेजुङ राख्नुपर्छ। घुन्सामा स्कुल त छ, पढाइ छैन। मास्टर नै बस्दैन। बसेकोले पढाउनै जान्दैन।'
घुन्सा नै घर भएका अर्का शेर्पा दाइ अँगेनाको डिलैमा बसेर तोङ्बाको चुस्की लिँदै छन्। सैतीसौं वर्षमा हिँड्दै गरेका उनको पेसा पर्वतारोहण हो। गत वर्ष वैशाखमा उनी अन्नपूर्ण हिमालमा थिए। पर्वतारोहीलाई डोहोर्याएर टुप्पोमा पुर्याउने डोरी मिलाउँदै थिए। एक्कासि हिमपहिरो आयो।
हिउँ, ढुंगा र माटोसँगै उनी पनि बढारिए। धन्न डोरी बाँधेर गाडेका किला उप्किएनन्। उनी बाँचे। तर ज्यान फेरि हिमाल चढ्न योग्य भएन।
'साना-ठूला सबै गरी मेरो एक्काइस ठाउँमा हड्डी भाँच्चिएछन्। अहिले म शरीरभरि स्टिल बोकेर हिँडेको छु,' दाइ भन्छन्।
त्यसअघि उनले आफ्नो जीवनका उन्नाइस वर्ष हिमाल चढेरै बिताए।
'इन्स्योरेन्सले पनि सबैथोक नगर्दो रहेछ। उपचार गर्दा मेरो धेरै खर्च भयो। अब स्टिल निकाल्ने बेला हुन लाग्यो। एक्सपिडिसन कम्पनीले वास्ता गरेको छैन। के गर्ने, के गर्ने!'
'पैसा सेभिङ होला नि दाइ। हिमाल चढ्दा त राम्रै आम्दानी हुनुपर्ने हो।'
'के हुनु! बल्ल बल्ल बाँचेर आइएको हुन्छ। काठमाडौं पुगेपछि ‘लु बाँचेर आयो है’ भन्यो। पार्टी गर्यो। एक लाख त, एक रातमा झ्वाम्। त्यस्तो पार्टी पैसा हुन्जेल चलिरहन्छ।'
शेर्पा दाइकी श्रीमती पोहोर उन्नाइस लाख रूपैयाँ खर्च गरेर फ्रान्स गएकी छन्। उनका दाइ पनि उतै छन्। एक छोरा र एक छोरी ताप्लेजुङमा पढ्छन्। अलिअलि बैंक ब्यालेन्स छ। श्रीमतीले पनि पैसा पठाउँछिन् भन्ने आश छ। नत्र, त्यही पैसाले छोराछोरीको पढाइ धान्छु भन्ने छ उनलाई।
'अब तपाईं पनि फ्रान्स नै जाने होला नि त?'
'बुढीले लग्यो भने,' दाइ मुसुक्क हाँस्छन्।
म अहिले ओछ्यानमा पुगिसकेँ। खासै लेख्ने कुरा छैनन्। आज चार सय मिटर माथि चढेर झरेपछि म समायोजित भएको छु। ज्यान हलुका छ। अब भोलि माथि उक्लिनु छ, लोनाकसम्म।
२०८१/०७/०४ राम्ताङ, (४५९२ मिटर)
हिजो मस्त खुलेको मौसम, आज बिहानै घुम्म भयो। बादलको घुम्टोभित्र खबुर, जन्नु र खाम्बाचेन हिमाल हराए।
हलुका खाजा खायौं। झोला टिपेर हिँड्नै लाग्दा फुसफुस हिउँ झर्न थाल्यो। हामी रोकियौं।
साहुजीले दुरबिन लगाएर टाढा टाढा हेरे। वारिपारि नियाले। एकछिन विचार गरे र हिँड्ने सुझाव दिए। हामी आज्ञाकारी विद्यार्थी बन्यौं। हिँड्दा साढे आठ बजेको थियो।
बाटो त उही हो, कञ्चनजंघा बेस क्याम्पबाट नजिकै लोनाकबाट निस्केर हामीलाई लिन आएको घुन्सा खोलाको तिरैतीर। यहाँभन्दा माथि उसको नाम लोनाक खोला हो। उसैले देखाएको बाटो हिँड्नुपर्छ। कहीँ ऊ माथिबाट फाल हान्छ, हामी माथि उक्लिनुपर्छ। ऊ शान्त बगेका बेला भने तेर्सै तेर्सो हिँड्न पाइन्छ।
साहुजीको अनुमान सही साबित भयो। एकैछिनमा आकास खुलेर आयो। हिउँ त कता बिलायो कता!
तिमीहरूसँगै म छु है भनी आड दिइरहेका सँगैका हिमालहरू मुसुक्क मुस्कुराए। हामीलाई बल्ल हिमाली सुरूङभित्र हिँड्दै छौं भन्ने आभास भयो।
आत्मविश्वास त बाटोमा बेलाबेला भेटिने झरनाहरूले पनि भरिरहन्छन्। माथिबाट आउँदै गरेकाहरूले अब यति बाँकी छ, आइहाल्यो भन्दै हौसला दिइरहन्छन् | जति माथि गयो हिमाल उति नजिक देखिन्छन्। प्रेरणा र उत्साहमा त कमी हुनै पाउँदैन।
उचाइ बढेसँगे हिमाल होचा देखिन थाले। तलबाट हेर्दा अग्लो देखिएको मेरापिक हाराहारीकै जस्तो देखियो | पाथीभरा हिमाल हातैले छोइदिऊँ कि जस्तो। दायाँबायाँका हिमाललाई अँगालो मारेर आफू चाहिँ बीचमा हिँडिरहे जस्तो। वरिपरि अरू नामै थाहा नभएका सेता हिमाली थुम्काहरू त कत्ति छन् कत्ति। र, त्यसको सबभन्दा माथि छ कञ्चन निलो आकाश! सर्लक्क ढक्कन लगाएजस्तो।
मैले हिमाल भनेर मरिहत्ते गर्ने यस्तै दृश्यका लागि हो। यस्तै अनुभूतिका लागि हो।
खाम्बाचेनबाट साढे दुई घण्टा हिँडेपछि अहिले राम्ताङ आइपुगेका छौं। यहाँ दुइटा टी-सप छन्। हामी तल्लो (सुरूकै) टी-सपमा छिरेका छौं। हामीलाई खाना बनाइदिनु भन्ने सन्देश आइसकेछ। यहाँ माथि भिरमा चढेपछि बल्ल एक ठाउँमा मोबाइल नेटवर्क टिप्दोरहेछ। टी-सपका साहुजी दैनिक एकपटक भिर चढेर तलको सन्देश लिने गर्दा रहेछन्। यिनी खाम्बाचेनमा हामी हिजो बसेको होटलका दाइ हुन्।
खाम्बाचेनमा पनि यस्तै एउटै ठाउँ थियो नेटवर्क टिप्ने। तर त्यसका लागि हाम्रो जस्तो सामान्य होइन, एरियल भएको विशेष मोबाइल चाहिँदो रहेछ।
वरिपरि हिमालै हिमालले घेरिएको सुन्दर हिमाली फाँट भएको ठाउँ हो राम्ताङ। दाइले प्रशस्त याक/नाक र चौंरी पालेका छन्। दूधको छुर्पी बनाउँछन् र ताप्लेजुङ पुर्याउँछन्। आम्दानी नराम्रो छैन। छोरीहरूलाई ताप्लेजुङ राखेर पढाएका छन्। केही पैसा बचत पनि छ।
तर पनि उनी सन्तुष्ट छैनन्।
'यस्तो ठाउँमा दुःख गरेर के बस्नु? दुख्खै धेरै छ। बरू, अन्तुतिर यसो जग्गा जोडेर होटल चलाउन पाए!'
दाइ यसपालिको हिउँदमा इलामको श्री अन्तुतिर गएर त्यहाँको वातावरण बुझ्ने सुरमा छन्।
पारिलो घाम लागेको छ। अनुप सर बाहिरै हुनुहुन्छ। उहाँलाई हिमाल हेर्न पुगेकै छैन। म चाहिँ दूध र घिउसँग भात खाएर घाममा पल्टिएको छु। टी-सपमा हावा नछिर्ने तर घाम छिर्ने गज्जब व्यवस्था रहेछ।
हिमाली जडिबुटी खाएको चौंरीको दूध खाँदा नपचेर म निकै पटक बिरामी परेको छु। त्यस्तो हुने भनेको बर्खा बेलामा मात्र हो, अहिले हुँदैन भनेर साहुजीले हौस्याए। खाँदा खुब मिठो भयो। तर अब के हुने हो भनेर मन अमिलो भएको छ।
पारिपट्टिको राम्ताङ ग्लेसिएर असाध्यै मनमोहक छ। माथि ग्रेगर थुपारेर भित्रभित्रै घिस्रिनेहरू भन्दा मलाई सेता हिउँले भरिएर चिप्लिरहने हिमनदी असाध्यै सुन्दर लाग्छन्।
बाह्र बज्यो। अघिपछि हुँदै आएको अर्को टोली अघि नै हिँडिसक्यो। यहाँबाट लोनाक पुग्न दुई घण्टा लाग्ने रहेछ। लोनाकमा कञ्चनजंघा आइसल्यान्ड नाम गरेको होटलका भाइ यतै आइपुगेका छन्। उता मोबाइल नेटवर्कका लागि भिर चढ्ने विकल्प रहेनछ। उनलाई तलबाट कति मान्छे माथि आउँदैछन् भन्ने बुझ्नु रहेछ। आज मेरैमा बसौं है भने। उनलाई नाइँ भन्न सकेनौं। आज त्यतै बसाइ हुन्छ होला।
२०८१/०७/०५, लोनाक (४७५२ मिटर)
अहिले बेलुकाको ७:४५ भएको छ। खाना खाएर म सिरकभित्र घुस्रेको छु। अघिसम्म बुलुक बुलुक गरेको मेरो टाउको बिस्तारै स्थिर हुँदैछ। जाडो खपिनसक्नु छ। बाहिर तापक्रम सायद माइनस (-) मा होला, ड्रममा राखेको पानीको माथि बरफको 'तर' परेको छ। चिसो र उचाइको सन्तुलन मिलाउन मलाई हम्मे हम्मे परिरहेको छ। अनुप सर चाहिँ आकासमा मिल्की वे देखियो भन्दै क्यामरा बोकेर बाहिर दौडिनुभएको छ।
आज पनि लोनाक नै बसियो। खाम्बाचेनसम्म बल गर्ने कि भन्ने थियो, सकिएन। अनुमान गरेभन्दा बढी समय लाग्यो।
बिहान बेसक्याम्प जाने बेलामा 'फर्केर आउँदा बस्दैनौं, तल जान्छौं' भनेका थियौं। कोठा बुक गरेको थिएन। आउँदा कञ्चनजंघख आइसल्यान्ड होटल प्याक भइसकेछ। तर भाइले माया गरे। अर्को ‘होटल तिब्बत’ मा कोठा भनिदिए। पैसा बढी लेलान् भनेर यतिभन्दा बढी नलिनू है भनेर न्यूनतम मूल्य समेत तोकिदिए।
उनले गरेको माया यति मात्र होइन। आफूले यसैपालि ३५ लाख रूपैयाँ लगानी गरेर होटल विस्तार गरेका छन्। अट्याच वाथरूम सहितका कोठा थपेका छन्। त्यस्तो कोठाको शुल्क हामीलाई जम्मा पाँच सय रूपैयाँ लिए। खानाको सात सय। खाजा जम्मा तीन सय। तातोपानी निःशुल्क। चिया त त्यसै पनि निःशुल्क भइहाल्यो।
यो सबै प्रकारका शुल्क हामीले यहाँबाट पाँच घण्टा तलको खाम्बाचेनमा तिरेको भन्दा निक्कै कम हो। यसका लागि हामीले गरेको अरू केही होइन। ठट्टैठट्टामा भनेको थिएँ – पैसा सकिन लागेछ भाइ। हामीले तिर्नुपर्ने पैसाको भाँडा माझ्नुपर्यो भने कति दिनमा तिरिसकिन्छ होला?
'एक जना विदेशीको पैसा सकिएछ। उसले आफ्नो गोप्रो क्यामेरा मलाई बीस हजारमा बेचेर गयो,' भाइले अर्कैतिर संकेत गरेका थिए।
त्यस बेला मैले मेरो हातको मोबाइल गोजीमा हालेको थिएँ।
हिजो तलबाट आउँदा दिनको २ नबज्दै लोनाक आइपुग्यौं। त्यसपछि रात नपरूञ्जेल खुब रमाइलो गर्यौं। वरिपरि आफ्नै शिरमाथिका हिमाल, हिमालकै फेदबाट घिस्रिने कञ्चनजंघा हिमनदी। हिमनदीको भित्तामा चरिरहेका नाउरका हुल हेरेर हामी मख्ख पर्यौं।
ढल्किँदो दिनमा हिमालले बादलसँग लुकामारी गरिरह्यो। हामी क्यामरामा रमाइरह्यौं।
भोलिपल्ट अर्थात् आज। बेस क्याम्प पुग्ने दिन।
बिहान सात बजे खाजा खाएर तयार भयौं। लामा दाइ (जो Lama walks का नामले चर्चित छन्) को विदेशी सहित दस जनाको टोली पनि सँगै हुने भयो। हामी अघि पछि हुँदै हिँड्यौं।
डेढ घण्टासम्मको बाटो साह्रै सजिलो। हल्का उकालो तर फराकिलो फाँटको बाटो। हरबखत साथ नछाड्ने सेता हिमालको शृंखला। ठाउँ ठाउँमै भेटिने नाउरका झुण्डहरू। प्रशस्तै पाइने तिब्बती चराहरूले हाम्रो बाटो छोट्याइरहे।
तर यात्रा एकनाश हुँदैन।
माथि ग्रेगर बोकेर बसेको जस्तो देखिने हिमनदी भित्रभित्रै चिप्लिरहेको छ। चिप्लिइरहेको हिमनदीको भर गरेर बसेको धरातल पनि क्रमशः खुकुलो भइरहेको छ। यसले गर्दा धेरै ठाउँमा जमिन धस्सिएको छ। पहिरो गएको छ।
बाटोमा गएको पहिरो छल्न माथि चढ्ने उपाय छैन। माथि खसिरहने भिर र त्यसमाथि हिमाल छ। पाँच हजार मिटर उचाइमा पहिरै पहिरो तल झरेर पहिरो काटी फेरि उसैगरी माथि चढ्दा मुटु मुखैमा आएजस्तो भयो मलाई।
'तलको हिमनदी चिप्लिरहेको छ। माथिबाट पहिरो खसिरहेको छ। निकै ठाउँमा जमिन धस्सिरहेको छ। यो स्खलनको दर हेर्दा निकट केही वर्षमै यो उत्तरी बेस क्याम्पको ट्रेल नै नरहला कि जस्तो पो देखिन्छ त!'
इन्जिनियर (अनुप सर) को इन्जिनियरिङ कुरा त नपत्याउनु पनि कसरी?
मैले पत्याएको छु।
र, यो कञ्चनजंघाबाट सबैका लागि जरूरी सूचना हो। तपाईँले यता आउने योजना बनाइरहनुभएको छ भने आइहाल्नुस् है। पछि ढिला हुनसक्छ!
बायाँतिर बेला बेलामा मात्र हिमालका टुप्पा देखिन्छन्। नत्र पहराले छेलिरहन्छ। दायाँतिर चाहिँ हिमालका लहरहरू छन्। जसमा एउटै हिमाल पार गर्न घण्टौं लाग्छ। पारिपट्टी हिमालको टाकुरामा बुद्ध ध्यानमा बसेजस्तो देखिने प्राकृतिक आकृति छ। त्यो आकृतिसँग हामी झन्डै तीन घण्टासम्म समानान्तर भएर हिँडिरह्यौं।
लोनाकबाट साढे चार घण्टा लम्किएपछि हामी बल्ल बेस क्याम्प पुग्यौं। खासमा हामी पांगेमा पुगेका हौं। ट्रेक जानेहरू त्यहीँसम्म मात्र जान्छन्। यो ५१४३ मिटर उचाइमा छ। वास्तविक बेस क्याम्प पुग्न अरू दुई घण्टा हिँड्नुपर्ने रहेछ। र, त्यो चाहिँ ५३८० मिटर उचाइमा छ।
पांगेमा पुगेपछि मात्र कञ्चनजंघा देखियो एकैचोटि। पाँच चुलीको हिमाल भनेर चिनिने कञ्चनजंघाका चुलीहरू देखिए। अघिसम्म मै हुँ भनेर ठडिएका काङपाचेन, मेरापिक र गिमीगेलाहरूले शिर झुकाए। यालुङकाङले आफूलाई म त उस्तै हैसियतको हुँ है भनेर चिनायो।
असाध्यै भोक लागेको थियो। माथिबाट माटोको छप्पर लगाएको अर्ध-भूमिगत टी-सपमा छिर्यौं। रारा चाउचाउको बटुकाभरि सुप खाएपछि ज्यानमा स्फूर्ति आयो।
यहाँ एउटा टी-सप छ। रातमा बस्छु भन्दा पनि पाइन्छ। सुतेको शुल्क प्रतिव्यक्ति एक हजार रूपैयाँ पर्छ। खानाको पनि त्योभन्दा बढी पर्दैन। सपमा साह्रै मज्जाका भाइ छन्।
बेस क्याम्पमै बास बसेर कञ्चनजंघाको अनेक रूप हेर्छु भन्नेलाई यो राम्रो विकल्प हो।
बाहिर कञ्चनजंघा पर्खिरहेको थियो। हामी निस्कियौं। मौसम सफा थियो। हिमाल सर्वांग खुलेका थिए। मनले ‘भयो अब’ नभनुन्जेल फोटा खिच्यौं। भिडिओ बनायौं। परिवार र साथीहरूलाई सम्झियौं। झन्डै डेढ घण्टा समय बितायौं त्यहाँ।
सन् १९९२ मा कञ्चनजंघा हिमाल चढ्दा बेपत्ता भएकी पोलिस नागरिक वान्दा रूत्किविचको नाममा स्मारक बनाइएको रहेछ। जो सगरमाथा चढ्ने तेस्रो महिला हुन्। उनी आठ हजार मिटरभन्दा अग्ला हिमालहरूमा नवौं हिमाल समिटको लागि रूपमा कञ्चनजंघा चढ्दै थिइन्। स्मारकमा उनको सम्बन्धमा जानकारी राखिएको रहेछ। र, उनले भनेका केही कुराहरू पनि। मलाई चाख लाग्यो।
- When above us, there is only the sky, everything can be seen more sharply. There are no half-truths; there are no grey areas. Everything is black or white. Cold or hot. Either you survive, or you die.
मृत्युलाई नजिकबाट हेर्नेहरूले त्यस क्षण जे देख्छन्, जे भोग्छन्, जे अनुभूति गर्छन्, मलाई त्यस्तो अनुभूति शाश्वत हुन्छ जस्तो लाग्छ। उनीहरूले नै जीवनलाई सबैभन्दा नजिकबाट बुझेका हुन्छन् जस्तो लाग्छ।
अस्ति खाम्बाचेनमा भेटिएका शेर्पा दाइले कैयौं पटक मृत्युलाई नजिकबाट जाँदै गरेको देखेका छन्। केही सेकेन्ड र निमेषको अन्तरले जम्काभेट हुनबाट जोगिएका छन्।
मैले उनलाई सोधेको थिएँ, 'आखिर जिन्दगी के रहेछ त दाइ?'
'जीन्दगी भनेको मृत्युसँगको लडाइँ हो। सकेसम्म उसको बाटो छलेर हिँड्ने नत्र मुकाबिला गर्ने,' उनले भनेका थिए।
ओहो! रातको बाह्र बजिसकेछ। आज लेखिसकेर मात्र सुत्ने सोचेमा छु। यता हुँदा नै लेखिसकिनँ भने यो संस्मरण अधुरै रहन सक्छ। इन्टरनेटको कुलतमा नमज्जाले फसेकोमा म जानकार छु।
यहाँ इन्टरनेट नहुनुसम्म त ठीकै मानौंला। तर मोबाइल नेटवर्क समेत नहुँदा चाहिँ असुरक्षित महसुस हुने रहेछ। यस्तो जोखिमपूर्ण बाटो छ। बीचैमा केही भइहाल्यो भने के गर्ने? कसलाई, कसरी सहयोग माग्ने? कि मृत्यु मात्रै कुरेर बसिरहने?
यतापट्टी एनसेलसँग त कसैको चिनजान नै छैन। घुन्साको नेपाल टेलिकमको क्षमता साह्रै कमजोर छ। हेलो सरकार! यत्तिको ट्रेकिङ ट्रेलमा मोबाइलको नेटवर्कसम्म त आशा गर्न सकिन्छ नि होइन र!
सन्दर्भ आइहाल्यो।
मानौं, मोबाइल नेटवर्कसम्म त आयो रे! तर अब समस्या पर्यो भने रेस्क्यु (उद्धार) सहायता कता माग्ने? सेना, प्रहरी वा कुनै प्रकारको सुरक्षा क्याम्प कतै छैन। कञ्चनजंघा संरक्षण क्षेत्रले प्रवेश जाँचका लागि घुन्साको एउटा होटलमा जिम्मा दिएको छ। नियमानुसार नेपालीको प्रवेश शुल्क १०० रूपैयाँ लाग्छ। तर त्यहाँ टिकट काट्ने चलन छैन। को को गयो भनेर रेकर्ड समेत राखिँदैन। कतिपय विदेशीहरू बिना रूटपर्मिट समेत आउँछन् र घुमेर जान्छन् भन्ने सुनिन्छ।
को गयो र को फर्कियो भन्ने रेकर्ड नहुँदा को हरायो भन्ने थाहा लाग्दैन। त्यसो हुनु भनेको हराउने मान्छेले हराएपछि आफ्नो जीवनको आशा मार्नु हो।
अब अझै गम्भीर कुरा गरौं।
यहाँ छेउमै कञ्चनजंघा हिमनदी छ। परतिर ढिस्कोबाट तल हेर्यो भने ठाउँ ठाउँमै ससाना पोखरी देखिन्छन्। दुइटा चाहिँ अलि ठूला ताल छन्। पानीको निक्कै 'भोल्युम' बोकेका।
अघि खाना खाँदा होटलका दावा दाइसँग जिज्ञासा राख्यौं।
'पहिला त्यहाँ खर्क थियो। नौ-दस वर्षअघि एउटा ताल बन्यो। अनि अर्को बन्यो। पहिला साना थिए। अहिले ठूला भइसके। त्यसअघि अहिले ताल बनेको ठाउँ माथिबाट हामी याक/चौंरीहरू पारि लैजान्थ्यौं,' उनले भनेका थिए।
ती ताल हिमनदीको बाटोमा बनेका छन्। हरेक साल बढ्दो आकारमा छन्। खुकुलो ग्रेगर र बरफको चारकिल्ला छ। बरफ तीव्र रूपले पग्लिँदो छ र ताल आपसमा जोडिनै लागेका छन्।
ताल जोडिँदा के हुन्छ?
म यसै भन्न सक्दिनँ तर अनुप सर भन्नुहुन्छ, 'माथिल्लो तालको भोल्युम सानै देखिन्छ। तर ताल फुटेर एक्कासि पानी बढ्दा तल्लो तालको खुकुलो ग्रेगरको भित्तो भत्काउने सम्भावना धेरै छ। तालको मुनिपट्टि भिरालो धरातल छ। यसो हुनु भनेको जोखिम अत्यधिक बढी हुनु हो। अहिलेलाई ताल फुटेर आए पनि तल्लो तालले थेग्छ भन्ने मानौं। तर हरेक साल पानीको भोल्युम बढेको बढ्यै छ र ताल अड्याएर राख्ने बरफ पग्लिरहेको छ। एकदिन यस्तो एउटा बिन्दु आउनेछ जहाँबाट उता बाँधले पानी थेगेर राख्न सक्दैन।'
गत साल साउथ लोनाक ग्लेसियर लेक विस्फोट हुँदा सिक्किममा टिष्टाले आतंक मच्चायो। अस्ति सोलुखुम्बुमा यस्तै दुइटा ताल मिसिएर फुट्दा थामे गाउँ बगायो।
के यो ग्लेसियर लेक पनि उसैगरी आफ्नो पालो कुरिरहेको छ?
खोला किनारका खाम्बाचेन वा घुन्सा गाउँमा खतराको घण्टी बज्ने बेला भएको हो?
हो भने् यो यस ट्रेलको सबैभन्दा जरूरी सूचना हो।
अब, यो ट्राभलगको मैजारो गर्ने बेला भयो। राम्रा कुरा गरेर सकौं।
मैले कतिपय ट्रेकिङ रूटमा नेपाली र विदेशीमा साह्रै विभेद देखेको र भोगेको छु। यस रूटमा त्यस्तो महसुस हुँदैन। तपाईंले तुलनात्मक रूपमा कम मूल्य तिरेर पनि उस्तै सम्मान र सुविधा पाउनुहुन्छ। यो यस ट्रेलको सुन्दर पक्ष हो।
यहाँ पुग्ने गरी होटलहरू छन्। क्याम्पिङ जरूरी छैन। तर ओलाङचुङ्गोलातर्फको पनि सोच छ भने चाहिँ कम्तीमा स्लिपिङ ब्याग चाहिने देखियो। हामीसँग नभएकोले दोमनमा छौं, उता जाऔं कि नजाऔं भनेर।
ट्रेल सुन्दरताको हिसाबले बेजोड छ। उचाइसँगै फेरिने हावापानी, रङ फेर्ने वनस्पति, जंगली जनावर, चराहरू, मनमोहक हिमालहरू समेतले तपाईंभित्रको ट्रेकर तृप्त भएरै फर्किन्छ।
बाटोको अनियमितता, उचाइसँगको लय, लाग्ने समय, लिनुपर्ने धैर्य समेतले ट्रेकमा अप्ठ्यारो थप्छ। अप्ठ्यारो हुनु अनुभवीका लागि एड्भेन्चर हो। नयाँका लागि भने जोखिम सावित हुन सक्छ। त्यसैले तपाईं नयाँ ट्रेकर हुनुहुन्छ भने यो ट्रेल जानुअघि अरू सजिला २/३ वटा ट्रेक हिँडेर आउनुस् है।
खर्चको कुरा गर्दा दिनको औसतमा पन्ध्र सय रूपैयाँदेखि दुई हजार रूपैयाँ लाग्छ। त्यतिमा मिल्छ। यो फुङलिङदेखि यताको कुरा हो। जिप भाडा समेत जोडेर।
अनि अँ, ट्रेलमा पानीको दुःख छैन। बाटोमा पानी प्रशस्तै पाइन्छ।
भोलिपल्ट
लाबुक पुगेपछि बल्ल मोबाइलमा नेटवर्क आयो। मिस्ड कलको म्यासेजमा अफिस सम्बन्धित नम्बरहरूको थुप्रो लागेको रहेछ। फोन गरेँ। आकस्मिक समस्या परेछ। जति सक्दो चाँडो उता कुद्नुपर्ने भयो।
मलाई नांगो ला पास काट्न जाँगर नभएको कुरा अनुप सरलाई कसरी भन्नु भइरहेको थियो। राम्रो बहाना मिल्यो। रून लागेको मान्छेको आँखा घोचिदिए जस्तो!
भाग १ पढ्नुस्ः