यतिबेला स्मरण गर्दैछु महाकवि लक्ष्मीप्रसाद देवकोटाको निबन्ध 'के नेपाल सानो छ?' आफ्नै मनको चौतारीमा बसेर निकैबेर गम खान्छु।
मन बुद्रुक्क उफ्रिँदै भन्छ, ‘अहँ! मेरा लागि नेपाल भावनात्मक रूपमा मात्र हैन, भौगोलिक रूपमा पनि निकै ठूलो छ। कुनै पनि किसिमले नेपाल सानो छैन मेरो मन चौडा हुँदै जान्छ। अचानक मेरो मन मुसुक्क हाँस्दै मसँग बोल्न थाल्छ, ‘तैँले नेपाल घुमिस् त कान्छी? कुन कुन ठाउँ पुगिस् भन् त?’
मनको प्रश्न चोटिलो लाग्छ अनि एकछिन चुपचाप लागेर रिसाएर कर्के नजरले हेर्छु मनलाई। स्मरण गर्छु आफू पुगेको ठाउँ। हातका औँलामा सीमित छन् मैले टेकेको भूगोल।
सम्पूर्ण पृथ्वी चहारेर मान्छे मंगल ग्रहमा पुगिसके। तर म भने आफ्नै आँगनको चारैतिर घुमेकी छैन। आधा उमेर कटिसक्दा पनि मैले नेपाल आमालाई कति पनि बुझेकी छैन। पूर्ण रूपमा देखेकी पनि छैन? दिकिन्छु म अनि सोच्छु ‘अब यो बाँकी जीवनमा के मैले नेपाल आमालाई पूर्ण रूपमा हेर्न भ्याउँछु होला त!’
फेरि मनमा प्रश्नको भ्यागुतो बुरूक्क उफ्रिन्छ।
नेपाल घुमिसकेका, हेरिसकेका र बुझिसकेका भन्नेहरूले पनि साँच्चै नेपाललाई बुझेका होलान् त! मनमा प्रश्नहरूको फिरफिरे घुमिरहन्छ निकैबेर।
म महाकविसँग एकाकार हुन्छु र मख्खिँदै पुनः गजक्किएर बोल्छु ‘प्राकृतिक, साँस्कृतिक, धार्मिक हिसाबले मात्र होइन नेपाल त मेरो लागि भौगोलिक रूपले पनि सानो छैन नि!’
सानो भएको भए आजसम्म नेपालको चार फन्का मारिसकेकी हुन्थेँ। मनसँग संवाद गर्दै थिएँ, अचानक मनले फेरि हाँस्दै गिज्यायो, ‘तँ गोरखा गएकी छस्?’ निन्याउरो अनुहार पारेर भनेँ, ‘अहँ ! छैन गएको’ मेरो कुरा सुनेर मन मज्जाले हाँस्यो र पुनः गिज्याउँदै बोल्यो, ‘गोरखा, जहाँ इतिहास जीवित छ। जहाँबाट नेपालको इतिहास आरम्भ भयो। जुन ठाउँ विश्वमाझ वीर गोर्खालीको पहिचान लिएर मगमगाएको छ, तँ भने अहिलेसम्म त्यहाँ पुगेकी छैनस् है! लु घुमिछस् तैँले नेपाल।’
मनको कुरा सुनेर सिन्की हुँदैथिएँ झट्ट देखेँ सामाजिक सञ्जालमा स्रष्टा पदयात्राको ९२ औं शृङ्खला गोरखा भ्रमणको लागि तयार भएको रहेछ।
मन चरी नाच्न थाली पो हाली। के चाहियो र जाने योजना तय त भइ त हाल्यो।
२०८१-१२-१ गते शुक्रबार काठमाडौंबाट प्रस्थान गर्ने र ३ गते आइतबार काठमाडौ फर्किने तीन दिने तालिका बन्यो।
ड्रेस पनि किन्नु पर्ने नैतिक जिम्मेवारी थपियो। शीतल दाइको निर्देशन कडा छ। यात्रामा स्रष्टा पदयात्राकै पोशाक अनिवार्य रूपमा लगाउने भन्ने उर्दी छ।
मलाई भने खोकीले उखुम सताएको छ। यो वर्षको खोकी कोरोनाकै आफन्ती जस्तो छ। अटेरी पाहुना जस्तो लागेपछि जानै मान्दैन। आफ्नो मन भने उडेको छ गोरखाको भूमि टेक्न। सक्दो सुरक्षा अपनाएकी छु, खोकी निको पार्न। रहर कत्रो छ आफूलाई गोरखा घुम्ने। आफ्नै शरीरसँग हार्न कदापि मन छैन। त्यसैले पोशाक किन्न जाने आँट पनि गरिनँ। धूलो पनि कारण हो खोकी बल्झिने अनि लक्ष्मी म्यामलाई अनुरोध गरेँ। उहाँ युनिक टेलर बागबजार जाँदै हुनुहुन्छ। मैले फोन गरेँ, ‘म्याम नमस्कार ! हेर्नु न कति खोकी लागेको हो मलाई त गोरखा जान तम्तयार भएसकेँ। यो खोकी अझ बल्झिएला जस्तो लाग्दै छ। त्यसैले हजुरलाई एउटा काम अह्राउन मन थियो।’
उताबाट लक्ष्मी थापा म्यामको शालीन हाँसो गञ्जिन्छ, ‘भन्नु न म्याम मैले के सहयोग गर्नुपर्यो। म सकेको गरिहाल्छु नि!’
साथी सबैभन्दा माथि त्यसै भनिएको हैन। अनि ढुक्कको सास फेर्दै भनेँ, ‘म्याम सुभाष सर र मेरो लागि पनि पदयात्राको टिसर्ट ल्याइदिनु न ल!’ पछि गाडीमै लिन्छु सरी है हजुरको ब्याग अलि भारी त हुन्छ के गर्नू।’
मेरो कुरा सुनेर म्याम बोल्नुहुन्छ, ‘हे केही हुँदैन क्या! म्याम पनि, म ल्याइदिन्छु ढुक्क हुनू। हजुर पनि कति सोचेको!’
लक्ष्मी म्यामसँग कुराकानी टुङ्गिएपछि म त दङ्ग परेर बेसार हालेको तातो पानी अलि बढी नै घुट्क्याउन थालेँ। बाफ पनि तीनचोटि लिन थालेँ जति उकुसमुकुस भए पनि। नुन पानीले कुल्ला पनि पटकपटक गरेँ। घाँटीको छाला खुइलिए पनि। मरेस्! अब तँ कोरोनाको आफन्ती भन्दै शरीरको ढोका बलियो पार्न थालेँ।
यात्रा पूर्ण रूपमा निश्चित भएपछि हामी खुसीको पिङमा मच्चियौँ। तयारी भयो उत्साहको। किनमेल भयो। झोला अजिङ्गर भयो तीन दिनको घर आफ्नो भुँडीमा हुलेर।
यो चोटि भने हामीलाई सजिलो भयो। गाडी छोप्न बिहानै कुद्नु परेन अन्त। नत्र जहिले घरबाट हिँड्दा चाँडो हिँड्नु पर्ने अनि आउँदा हामी नै निकै ढिलो हुने। यो चोटि घरै अगाडिबाट आनन्दले गाडी चढ्ने भयौँ।
भारती न्यौपाने दिदी पनि समयमै आइपुग्नुभयो। हात्तीवनबाट आउँदा अबेर होला भनेर अलि सबेरै दिदी घरबाट हिँड्नुभएछ। गुर्जुधारा नै आउँदा सबैलाई सजिलो हुने भनेर दिदीबहिनीको सल्लाह भयो। भारती दिदीको यात्रा अन्तिम विन्दुमा टुङ्गो लागेको हुँदा सबै साथीहरूलाई आश्चर्य होला भनेर नजिकका साथीहरूलाई पनि जानकारी दिएनौँ।
दिदी आएपछि गुर्जुधाराको घरमा आनन्दले कफी पिउँदै केहीबेर गफियौँ। निकैबेरपछि मन्दिरा दिदीलाई फोन लगायौँ। गाडी कलंकी कटिसकेछ। अब भने हामी हिँड्नलाई सचेत भएका छौँ, झोलाझाम्टा नछुटोस् भन्दै चनाखा भएका छन् हाम्रा आँखाहरू।
सासूआमाले रातो टीका लगाएर हामीलाई साइतको दही पनि खुवाउनुभयो। आमासँग बिदा भएर हामी हिँड्यौँ। गुर्जुधारा चोकमा स्रष्टा पदयात्राको पोशाकमा एउटा काया चलमलाउँदै रहेछ। नजिकै गएर हेर्दा त विजया म्याम पो हुनुहुँदो रहेछ। हामी एक अङ्गालोमा बाधियौँ। खुसी सबैको अनुहारमा छचल्कियो। गाडी पनि आइ त हाल्यो।
ठूलो गाडी माथिदेखि नै भरिएकोले पुछारले हाम्रो भव्य स्वागत गर्यो। अगाडिदेखि सबैलाई अभिवादनमा हात जोड्दै हामी पछिल्तिर बग्दै गयौँ। गाडी नागिन नृत्य गर्दै छ बेलाबेला। दाउरा डोपो पुगेपछि जयराम बिडारी सर चढ्नुभयो। अब भने हामी यात्रीहरू पूर्ण भयौँ।
जाम कतै छैन। सलल बगेको छ गाडी आफ्नै रफ्तारमा। पानी परेर उघ्रेको आकाश निखर नीलो छ। स्वच्छ छ वातावरण। वनपाखा आफ्नो रङमा उभिन पाएर होला त्यसै त्यसै चम्किला भएका छन्। हामीलाई लोभ्याउन त होला नयाँ नयाँ हरिया वस्त्र धारण गरेर सम्पूर्ण जङ्गल वासन्ती वासना छर्दै रहेछ। तर बिडम्वना हामी बसेको सिट खुसीले अलि ज्यादै उफ्रिएको छ। बाटो बन्दै छ। बाटोभरि खाल्टाखुल्टी छन्। बेलाबेला टुटुल्को उठाउने गरी उफ्रिन्छ। हामी पनि थेत्तरो नै भएका छौँ। अघिल्लो सिटको तल पयठ लगाउनु पर्ने अवस्था छ। जति उफार्छ हाँसेर उडाएका छौँ। हामीलाई निकै सकस भएको देखेर होला अगाडिको सिटमा बस्नुभएका हरिस कल्पित सर र चिरञ्जीवी देवकोटा सरले हामीलाई अगाडिको सिट छोडेर आफूहरू पछाडिको सिटमा आउनुभयो।
भारती दिदी र म अगाडि सिटमा गएर आरामले बस्यौँ। हृदयः आभारले भरियो। संवेदनशील मान्छेको मन जहिले सहयोग गर्न तत्पर हुन्छ भनेको सुनेकी थिएँ, सत्य रहेछ। कसैसँग मागेर पनि नपाइने सहयोग। अरूको आँखाले हेरेरै पाइयो। आफ्नो पीडा त सबैले बुझ्छन् तर अरूको पीडा बुझ्नु साधारण कार्य होइन। सहयोगी मनलाई नमन गर्दै हृदयमा डायरीका केही भाव त उतारिहालेँ।

गाडी सङ्गीतमय भएको छ। गीत, भजन र कवितामा हराएका छौँ। बाटो परिचित भएकाले आँखाहरू बाहिरको दृश्यमा लोभिएनन्। गाडीभित्र रमाइलो वातावरण बनेको छ। कवितादेखि गीत र भजन सबै समावेशी छन् अन्ताक्षरीमा। हाम्रो रमाइलो साँच्चै लोभलाग्दो छ। वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल सर पनि हामी रमाएको देखेर बेलाबेला पछाडि फर्किएर हेर्नुहुन्छ। यात्राको आनन्द बटल्नुहुन्छ। घनश्याम सर कवितामै गाउनुहुन्छ। हरिबोल काफ्ले आफ्नै लयमा लयबद्ध। शब्द बिर्सिएका गीतमा हामी सङ्गीत मात्र भर्दैछौँ। समय कटेको पत्तै भएन हामी त कुरिनटार पो आइपुगेछौँ।
अब भने चारो खाने बेला भयो भनेर गाडी मोडियो राजमार्गबाट देब्रे। मलाई राजमार्गको होटलमा खाना खान फिटिक्कै मन लाग्दैन तर समूहमा छु। मेरो कारणले अरूलाई असहज नपरोस् भनेर खाना खान तयार हुन्छु। मनमनै प्रार्थना पनि गर्छु। पोहोर जस्तो बासी खान खान नपरोस्। मरेर निस्तो भात निलेकी थिएँ सबैथोक गन्हाएको। पुनहिल जाँदा पनि समूहमै भएर करैले खाएकी थिएँ राजमार्ग छेउको खाना। उहीबेला शपथ खाएकी थिएँ अबदेखि कहिले पनि बाटोमा खाना खान्नँ भनेर तर आज फेरि परिवन्दले मलाई खाना खान बाध्य पार्यो। जे गर्दिनँ भन्छ मान्छे आखिर त्यही गर्न विवश हुन्छ यो प्राणी। कठैबरी!
हात मुख धोएर खाना खान मात्र के थालेकी थिएँ। जिब्रो पररर गरेर चिरियो। अचार आज पनि गनाएको रहेछ। थालबाट अचार पुछेर फुत्त फालेँ। अनि सागसँग भात लपेटेर खान थालेँ। नुनभन्दा अरूको स्वादै छैन खानामा। नुनको दाल, नुनको तरकारी, नुनकै साग छ धन्न भातमा चाहिँ नुन थिएन। उराठियो मन व्यापारीको हृदय छामेर। अतीतको पर्दा स्वार्र गरेर उघ्रियो उत्तिनैबेला मलाई शान्त पार्न।
आमालाई देख्छु प्रतिकूल समयमा शान्त भएको। खानाको थाली लिएर सानीकेटी भर्याङ उक्लिँदै गरेको। आमाको मुखबाट तारिफ सुन्न हतारिएको मन। भर्खर भर्खर त्यो सानीकेटीले खाना बनाउन सिक्दै छे। आज त बडो मिहिनेत गरेर कटहरको तरकारी पकाएकी छ। सानी केटीकी आमा माथि बिरेन्चीमा (बेन्च) घटना र विचार सुन्दै हुनुहुन्छ। रोटी, गोलभेंडाको अचार र कटहरको तरकारी बोकेर सानीकेटी रेडियो सुनेर बसिरहेकी आमा भएको ठाउँमा पुगेकी छ।
ऊ आमालाई हेर्दै बोली, ‘आमा कस्तो छ तरकारी मैले आफैँले पकाएको।’
आमाले रोटीको सानो टुक्रा च्यातेर तरकारी लपेट्दै मुखमा क्वाप्प हाल्नुभयो।
सानीकेटी एकैछिन अडिई। आमाको प्रतिक्रिया सुन्न उसलाई हतार भएको छ। आमाले चपाउनुभन्दा अगाडि नै कान चनाखा पारेर सानीकेटीले फेरि सोधी, ‘आमा! भन्नु त कस्तो भएछ मैले पकाएको हो के साँच्चै।’
आमा शान्त भएर बोल्दै जानुभयो, ‘अहो! मेरी कान्छी छोरीले पकाएको तरकारी असाध्यै मीठो छ। जाऊ त मेरी छोरी अलि अमिलो दही लिएर आऊ।’
आमाको तारिफ सुनेर ऊ फुरुक्क पर्दै दही लिएर आई।
आमाले एक कचौरा दही त्यही तरकारीमा हालेर मोल्नुभयो र उसलाई भन्नुभयो, ‘अब जाऊ तिमी पनि गएर तातै खाऊ त तिमीले पकाएको मीठो तरकारी। ऊ खुसी हुँदै भान्सामा आएर तरकारी चाख्छे त राम! राम! नुनै नुन पो रहेछ।’ पर्दा उसै गरी सरर लाग्यो।

मेरो ओठमा हल्का हाँसो उठ्यो अतीतको घटना सम्झिएर।
म झल्याँस भएँ कुरिनटारको खानामा पनि अचाक्ली नुन भएपछि मैले पनि अमिलो दही मागेँ तर दहीको अनिकाल रहेछ। पाइएन दही अनि तातो पानी मागेँ। नुनसँग भात खाए जसरी थोरै तरकारीसँग निस्तो भात खान थालेँ। निकैबेरपछि बल्लतल्ल तातो पानी आयो त्यो पनि पञ्चामृत जति। अनि चिसो पानी दालमा खलल खन्याएँ। बाटोमा भोक लाग्ला भनेर अन्नपूर्ण मातालाई श्रद्धाले ग्रहण गरेँ। नुन कम खाने बानीले मलाई नुन बढी भएको छ अरूलाई ठिक्क पनि लाग्यो होला तर यस्तो चर्को नुन सबैको लागि हानिकारक नै हुन्छ।
गोरखा पुग्ने बित्तिकै सोझै कार्यक्रममा जानुपर्ने भएको जानकारी पाएपछि हामीले हतार हतार (शोभा, लक्ष्मी, गीता दिदी र मैले) त्यहीँ होटलको कोठा मागेर स्रष्टापद यात्राको पोशाक लगायौँ।
अब चिरिएर पड्किएको जिब्रो लिएर गाडीमा चढ्यौँ। मेरो मात्र हैन अरूको पनि जिब्रो चिरिएको रहेछ। एउटा एउटा स्याउ मर्काउन थाल्यौँ। जिब्रोलाई शान्त पार्न चक्लेट पनि खायौँ। गाडी हुइँकियो सररर। खाना नमीठो भए पनि पेटमा चारो परेर होला म त झुपुक्क निदाएछु।
केहीबेरपछि आँखा खुल्यो हामी त आँबुखैरेनी पो आइपुगेछौँ। बि सं २०५२ सालमा म यो ठाउँमा करिब एक महिना बसेकी छु। मैले मलाई त्यो उमेरमा हेर्दै गएँ। बलराम भिनाजु गोरखकाली रबर उद्योगमा कार्यरत हुनुहुन्थ्यो। भिनाजूले घुमाउनुभएको थियो गोरखकाली रबर उद्योग। उहाँले नै सुनाउनुभएको थियो रामशाहको अन्त्येष्टि दरौँदी र मर्स्याङ्दी दोभानमा भएको इतिहास। त्यो घाटलाई रामशाह घाट भनिन्छ भनेर झट्ट सम्झिएँ। पढेको थिएँ इतिहासमा पनि।
साँच्चै गोरखाले विशेष इतिहास बोकेको छ। एक महिना आँबु खैरेनी बस्दा पनि म जान सकेकी थिइनँ गोरखा दरबार। हरेक कुराको समय आउँछ भन्छन् हो पो रहेछ। त्योबेला दिदी सुत्केरी हुने भएकोले हामीलाई छोटो समय पनि उपलब्ध भएन। आज जाँदैछु गोरखा। आँखाभरि भर्नुछ गोरखाको सौन्दर्य ... । पानाभरि भर्नुछ यात्राको अनुभूति ...।
क्रमशः