नाम नै ‘कञ्चनजंघा साहसिक पदमार्ग’। सुन्ने बित्तिकै लाग्न सक्छ, कठिन पैदलमार्ग भएर पो नाम रह्यो कि! त्यतिकै कञ्चनजंघा पदमार्गको बीचमा ‘साहसिक’ नाम थपिएको त हैन होला। यात्रा गर्नुअघि नै मनमा खुल्दुली थियो। खुल्दुली मेटाउन त यात्रा गर्नैपर्यो, बुझ्नै पर्यो।
वैशाख १३–१५ गते ‘सिरीजंघा पर्यटन महोत्सव’ को मिति थियो। सिरीजङ्घा गाउँपालिकाद्वारा आयोजित पहिलो महोत्सव। महोत्सवको उद्देश्य थियो–कञ्चनजंघा बेसक्याम्प (दक्षिण बेसक्याम्प) र साहसिक पदमार्गको प्रचार प्रसार गर्नु।
६ जनाको टिम थियौं। वैशाख १० गते गाडी लिएर याम्फुदिन प्रस्थान गर्यौं। सदरमुकाम–याम्फुदिन (ठूलो नेपू) ७ घण्टाको यात्रा रह्यो। त्यही दिन सिरीजङ्घा गाउँपालिका–८ याम्फुदिनमाथि नयाँ झोरेनी पुग्नु थियो। जहाँ एउटा मात्र होटल छ। सञ्चालक डम्बर गुरुङ हुन्। ठूलो नेपुस्थित खाना खाएको घर वडाअध्यक्ष कृष्ण गुरुङको हो। त्यहाँ ४ घर मात्र छन्। बहिनी एलिसा गुरुङले भनिन्,‘चाँडो गरी हिँडे सहज होला। अब त लेकको बाटो सुरू हुन्छ।’

उनले याम्फुदिन–कञ्चनजंघा बेसक्याम्प यात्रा गरिसकेको अनुभव बाँडेकी थिइन्। सबैको पिठ्यूँमा झोला थियो। झोलाभित्र चक्लेट, काजु, किसमिस र उवाको पिठो।
प्लास्टिक गिलासमा पिठो भिजाउन थर्मसमा पानी बोक्नु अनिवार्य थियो। पन्जा, चश्मा, स्टिक, टोपी र ज्याकेट त हुने नै भयो। वडाअध्यक्ष गुरुङसहित उकालो चढ्यौं।
खाना खाने बित्तिकै उकालो पैदल यात्रा। ठूलो ज्यानको भएर होला, राजन गुरुङलाई निकै गाह्रो पर्यो। युवराज बराल र तारा बरालचाहिँ निकै फुर्ती देखिए। यात्राका क्रममा तीन जना खुबै ठट्टा गर्थे। अघिल्लो स्थानीय तहको चुनावमा तीनै जना फुङलिङ नगरपालिकाका वडाअध्यक्ष पनि हुन्। विजय गुरुङ (गोरे) स्वभाव त झनै ठट्टा गर्ने। पिताम्बर बराल चाहिँ कम बोल्थे। वडाअध्यक्ष गुरुङले भने, ‘ग्रुप साँच्चिकै राम्रो रहेछ। हिमाल यात्राको सफलता टिममा निर्भर हुन्छ।’
हिँड्दा हिँड्दै वडाअध्यक्ष र म केही पछि पर्यौं। पारिवारिक र पर्यटन केन्द्रित गफगाफमा पाइला बढ्दै थियो। माझ बर्खेमा पुग्दा साँझ पर्यो। पानी पर्यो। त्यहाँ दावा दाइको गोठ थियो। खाजा खायौं। रेन कोट ओढेर नयाँ झोरेनी पुग्यौं। महोत्सवस्थल भएकाले निर्माणको काम चल्दै थियो।
दोस्रो दिनको यात्रा नयाँ झोरेनी–चैरामको तय थियो।
बिहान उठ्ने बित्तिकै हिमाल गुरुङ देखिए। उनले बोकेको दुधेरीभरि दुध थियो।
मैले हाँस्दै सोधेँ– ‘दुधेरीभरि दुध बोकेर कता?’ उनले मुस्कान मात्र दिए। केही बोलेनन्। छेउमै भएका गोरे दाइले थपे, ‘उठ्ने बित्तिकै हिमाल हेरौं भनेको। हिमाल नाम गरेको मान्छे पो देखियो त।’
हिमालले हाँस्दै भने, ‘भेना! चौरीको दुध हो। हिमाली जडिबुटी खाएको चौरीको दुधमा तागत हुन्छ।’ केहीबेरमै यात्रा गर्नेहरू रातो भेष्टमा सजिए। गाउँपालिकाले हिमालसम्म जानेका लागि भेष्ट उपलब्ध गराएको थियो। ‘सिरीजङ्घा पर्यटन महोत्सव २०८२’ भेष्टमा लेखिएको। वडाअध्यक्ष गुरुङसहित कर्मचारीले यात्रामा जाने सबैलाई होटलको आँगनमा ‘सि’ आकारमा जम्मा गरे। सबैले खाजा खाइसकेका थियौं। वडाअध्यक्ष गुरुङले हिमाल यात्राबारे ब्रिफिङ गरे।

उनले भने, ‘गाउँपालिकाको तर्फबाट सबैलाई स्वागत गर्दछौं। यात्रामा केही असजिलो भए हामी साथमा छौं।’ खाना, खाजा र बास मात्र होइन, गन्तव्यबारे प्रष्ट हुने मौका मिल्यो। छेउमै भएका एक जनाले गीत गाउन थाले। चौरी गाईको दुध मीठो पीतले बटुकीमा, पितले बटुकीमा...। मेरो नजर ती मान्छेतिर सोझियो। दुई जना बहिनीले सबैलाई मग थमाए। अर्को एक जनाले मखमा दुध दिए। वडाअध्यक्ष गुरुङले भने, ‘चौरी गाईको दुध सगुन है हजुर! मगभरि त दिन सकिएन। थोरै भए पनि धेरै तागत मिल्छ।’
लगत्तै जंगलभित्रको पैदलमार्गमा यात्रा सुरू गर्यौं। विभिन्न प्रजातिका गुँरास। तर यसपटक गुँरास रमाएर फुल्न सकेको थिएन। नत्र चैत–वैशाख जंगल नै रताम्मे हुनेगरी फुल्नुपर्ने हो। ठू–ठूला रुखहरू। यात्राका क्रममा ठूलो रुखको फेदको एकापट्टि खाली प्वाल थियो। त्यो प्वाल अचम्मकै थियो। प्वालभित्र छिर्न र निस्कन सहज थियो। ६७ वर्षीय सिंह बहादुर थेबे अचम्म मान्दै प्वालभित्र छिरे। पेदाङका वडाअध्यक्ष बम प्रसाद गौतमलाई तस्बिर कैद गर्न सहयोग मागे। थेबे सिरीजङ्गा गाउँपालिका–१ सिनामका वडाअध्यक्ष पनि हुन्।
उनले भने, ‘यस्तै अचम्मको दृश्यले नै मन तानिरहेको छ। त्यही भएर यात्रा गज्जबकै हुन्छ।’
बिहानको खाना तोरङ्दनेमा खायौं। ठूलो ग्रुपमा खाना तयार गर्न गाह्रो त हुन्छ नै। गोरे दाइले होटल साहुजीलाई खुसुक्क भने, ‘अरूलाई यहाँ पुग्न समय लाग्छ। हामी ६ जनालाई कुकरमा पकाएको खानाले पुग्छ। दिनुभए भिड पनि घट्छ।’ त्यो दिन पानी परेन। हावाहुरी पनि चलेन। साँझ नपर्दै चैराम पुग्यौं। पान्जो शेर्पाको होटलमा बास तय गर्यौं। पुग्ने बित्तिकै शेर्पाको न्यानो स्वागतले थकान भुल्यौं। भोलिपल्ट बिहानै उठ्यौं। होटल अगाडि हेलिप्याड थियो। कञ्चनजंघा बेसक्याम्प–चैराम हेलिकप्टर उडान हुन्छ। क्षणभरमै हेलिकप्टर उडान सुरू हुन थाल्यो। यो वर्ष कञ्चनजंघा हिमाल आरोहण गर्न करिब ६० जना बढी आएको थाहा पायौं। हिमाल आरोहणको तयारीमा रहेको ४/५ जना विदेशी शेर्पाकै होटलमा पनि बसेका थिए। हिँड्न सक्नेहरू चैराम–रामजेर–बेसक्याम्प (ओकताङ) एकैदिनमा गर्ने गरेको जानकारी पायौं। तर हामीले एकैदिन यात्रा गर्ने निर्णय गर्न सकेनौँ। किनकी हावापानीमा घुलमिल हुन समय लाग्छ।
त्यही भएर भोलिपल्ट बिहानको खाना खाएर रामजेर प्रस्थान गर्यौं। चैरामदेखि उकालो लागेपछि पक्का हिमाल फेदको महसुस हुन थाल्यो। धुपीका रुखहरू छोड्न थाल्यौं। सुनपाती र भैरुङपातीका बुट्यान भेटिए। डाँडाकाँडा देख्न थाल्यौं। सेताम्मे हिमाल। चट्टाने पहाड। पहाडको थाप्लोमा अडिएको सेताम्मे कुहिरो। नढाँटी भनौं, हिउँले हिमाल र कुहिरोले पहाड सिँगारिएको थियो। लाग्थ्यो, एक आपसमा कुन राम्रो भन्नेगरी पो उभिएका हुन कि! हामी कहिले नाच्थ्यौं। कहिले गाउँथ्यौ। जुन, बाटो काट्ने मेलो थियो। चैराममाथि डी गोठ थियो। गोठका मालिक ठाकुर गुरुङ हुन्। ठाकुर पनि हामीसँग रामजेरसम्म गए। ३० वर्षीय गुरुङले हिउँ, पशुपालन र प्रकृतिको अनुभव सुनाए। चैराममाथि फराकिलो फाँट छ। जहाँ याम्फुदिनका भोटेहरू बस्थे। तर हिउँ धेरै पर्ने र अन्नबाली कम फल्ने भएकाले पछि याम्फुदिन झरे। याम्फुदिनको एउटा गाउँको नाम नै भोटे गाउँ रह्यो। उनले भने, ‘यो क्षेत्रमा याक, चौरी र डी को पुच्छर निमोठ्दै हिँडेको वर्षौं भयो। तर पहिलेजस्तो न त हिउँ पर्छ, न त पहिलेजस्तो चिसो नै हुन्छ।’

रामजेरमा दिउँसोतिर पुग्यौं। हावा बेस्सरी चल्यो। निकै जाडो भयो। त्यहाँ दुई वटा मात्र होटल छन्। रामजेर नाउर र हिउँ चितुवाको बासस्थान क्षेत्र पनि हो। कहिलेकाहीँ नाउर घरतिर नै आउँछन्। कञ्चनजंघा संरक्षण क्षेत्रको विशेषता यही नै हो।
भोलिपल्ट बिहानै उठ्यौं। रामजेर–बेसक्याम्प यात्रा सुरू गर्यौं। तेस्रो दिनको यात्रामा निकै थकान थियो। तर हिमाल हेर्न आतुर थियौं। बाटामै बदाम, काजु र उवाको पिठो खायौं। थर्मसमा तताएको पानी बोकेका थियौं। बाटो नभुल्नेगरी खम्बा गाडिएको रहेछ। त्यही खम्बा पथप्रदर्शक बन्यो। अढाई घण्टाको पैदलपश्चात बेसक्याम्प पुग्यौं। देव्रेपट्टि विशाल चट्टाने पहाड थियो। दाहिनेपट्टि ग्लासियर। सामुन्ने कञ्चनजंघा हिमाल (८,५८६ मी.)।
ग्लासियर क्षेत्र स्काभेटरले खनेर माटो जम्मा गरेको जस्तो लाग्नेगरिको छ। ठाउँ–ठाउँमा पोखरी छ। आकारमा समानता छैन। पोखरीको रङ पनि फरक। कुनै निलो देखिन्छ। कुनै चाहिँ सेतो। कान थापेर सुन्दा डनन खोला बगेको आवाज आउँछ। कञ्चनजंघाको दक्षिण बेसक्याम्प आफैमा सुन्दर छ। कञ्चनजंघासहित ५ वटा हिमाल अवलोकन गर्न सम्भव छ। ती सबै ८ हजार मिटरमाथिका हिमाल हुन्। पर्यटन व्यवसायी अमिर राईका अनुसार उत्तर बेसक्याम्पबाट कञ्चनजंघासहित २ वटा मात्र हिमाल देखिन्छ। दक्षिण बेसक्याम्पबाट ५ वटा देख्न सम्भव छ। त्यही भएर दक्षिण बेसक्याम्पतर्फ पर्यटकको रूचि बढ्न थालेको छ। तर होटल र बाटोको स्तरोन्नति जरूरी छ।
नापी कार्यालयकी प्रमुख रोजिता श्रेष्ठले भनिन्, ‘पहिलो पटक हिमाल फेदमा आएकी छु। थकान नै भुलेँ।’
सिरीजङ्घा गाउँपालिका उपाध्यक्ष डा. चित्र माबोका अनुसार पर्यटन र जलवायु परिवर्तनको बहस चर्काउने सुरूआत हो।
उपाध्यक्ष डा. माबोले भने, ‘पर्यटनको मात्र विषय होइन। जलवायु परिवर्तनको विषय अब स्थानीय स्तरबाटै उठाउन जरूरी छ।’
नयाँ झोरेनी–कञ्चनजंघा बेसक्याम्प जसरी पुग्यौं, उसैगरी झर्यौं। आवतजावतको क्रममा अधिकांशले चौरीको दुधले खुब काम गर्यो भन्थे। भोलिपल्ट महोत्सवको दिन थियो। दुर्भाग्य, काम विशेषले बस्न सकेनौं। औपचारिक कार्यक्रममा बस्न नपाउँदा मन खल्लो त भयो नै। तर हार्दिकतासहित सगुन स्वरूप दिएको चौरीको दुध यात्रामा नभुल्नेगरीको क्षण बन्यो। चौरीको दुधमा त तागत थियो नै। मगको दुध पिउँदै गर्दा हार्दिकता सहितको शब्द थियो। गन्तव्यबारे गहकिलो जानकारीसँगै गाउँपालिकाको ढाडस पनि थियो। अतिथि देवो भव भन्ने नेपालीपन यथार्थमा परिणत भएको आभास मिल्यो।

१४ गते बेलुकी नयाँ झोरेनीमा बास बस्यौ। सदरमुकाम–याम्फुदिन–बेसक्याम्प यात्रा गर्न ६ दिनको समय पर्याप्त हुन्छ। अन्तिम गन्तव्य रामजेरमा साधा खाना ५ सय रुपैयाँ पर्छ। मासु खाना नौ सय रुपैयाँ पर्छ। ग्रुपमा बसेको कोठाको एक हजार दुई सय पर्छ। पकाएको चाउचाउ तीन सय रुपैयाँ पर्छ। खाजा, खाना र बासको मूल्य ठाउँअनुसार महँगो होइन।
कसरी पुगिन्छ?
सदरमुकाम–याम्फुदिन गाडीमा यात्रा गर्नुपर्छ। ७ घण्टा लाग्छ। कच्ची सडक छ। तर हाइड्रो र गाउँपालिकाले स्तरोन्नति गरेकाले ट्रक गुड्छ। भाडा एकतर्फी १ हजार ५ सय याम्फुदिनदेखि नयाँ झोरेनी ५ घण्टा पैदलमा पुगिन्छ। नयाँ झोरेनी–कञ्चनजंघा बेसक्याम्प ३३ कि.मी. दुरीमा पर्छ। तीमध्ये नयाँ झोरेनी–आम्जीखोला–चैराम २२ किलोमिटर हो। चैराम–रामजेर ८ कि.मी.। रामजेर–बेसक्याम्प ३ कि.मी.। खान बस्न असुविधा छैन। तर नयाँ झोरेनीदेखि बेसक्याम्पसम्म फोन र इन्टरनेट सुविधा छैन।
कञ्चनजंघा साहसिक पदमार्गको काम २०७८ बाट सुरू भएको हो। गाउँपालिकाको ३० र संघीय सरकारको ७० प्रतिशत लगानी छ। पदमार्गको काम गत असोजसम्म थियो। तर भौगोलिक कठिनताका कारण म्याद १ वर्ष थप भएको छ। चेराम मुनि र वर गरी २ वटा झोलुङ्गे पुल बनाउनु छ। यो पैदलमार्ग साँच्चिकै गज्जबको छ। त्यही भएर एक पटक ‘कञ्चनजंघा साहसिक पदमार्ग’ को यात्रा गरौं।



सबै तस्बिरः देवराज गुरुङ