करिब १ वर्ष अघि देखिको धोको पुरा गर्न १ हप्ताको तयारीका साथ मुसिकोट नगरपालिका स्वास्थ्य शाखामा कार्यरत ३ जनाको योजना बन्यो डोल्पाको फोक्सुण्डो ताल घुम्न जाने।
उक्त ताल घुम्न जान इच्छुक महानुभावहरूलाई सामाजिक संजाल मार्फत साथ दिन अनुरोध गरिए पनि अन्तमा मसहित, बेदराम ओली र डेबिड रावलको टोली कात्तिक १० गते बिहान ११:४५ले यात्रा सुरू गर्यौं। डोल्पाको दुनैसम्म पुग्न गुडेको बटालियन बसमा बसेर हामीले शुभ यात्रा गर्यौं जसले जे भनोस् या जसले रिस गरे गरोस।
बस अरू दिन भन्दा केही ढिला गरी आएको थियो। दुनै सम्मको यातायातको साधन काठमाडौं इन्चार्ज हेमराज विश्वकर्मासँग समन्वय गरी तय गरेका थियौं।
मुसिकोट, सानीभेरी हुँदै रिम्ना पुगेपछि बस भित्रका सवार यात्रुहरूलाई अर्का चालकले हाक्न थालेको थियो। आठबिसकोटको चिसापानीबाट पुल तर्दै नलगाड नगरपालिकाको कालिमाटी, दल्ली हुँदै पारीपट्टि राडी बजारलाई नियाल्दै बाटोमा धुलो उडाउँदै तल्लुबगर पुगियो।
भाँचिएको बेलिब्रिज तर्दै गोतामकोटको अवोल, जाजरकोटको दुर्गम भीर पाखा च्याउँदै तल भेरी माथि चट्टानसँग मनमनै भलाकुसारी गर्दै अघि बढ्यौं।
त्रिवेणी, खदांग, त्रिपुरा बगर हुँदै बेलुकी ७:३० बजे दुनैको मयुर होटलमा पहिलो दिनको यात्रा विश्राम भयो।
होटल मयुरको न्यानो सत्कारले रात बितेको पत्तै नभई बिहान ५:३० बजेछ। फ्रेस भएर दोस्रो दिनको गन्यव्य तिर लागियो।
दुनै देखि करिब २.५ किमी तल फर्किसकेपछि से फोक्सुण्डो राष्ट्रिय निकुन्जको हाता भित्र रहेको सुलिगाड झोलुंगे पुल तरेर पहिलो चियाको सुर्कीसँगै नास्ताले पेट पुजा गरियो। फोक्सुण्डोबाट बगेर आउने नदीको तिरैतिर तेस्रो बाटो हिउँदमा बस्ने बस्ती, गाई बस्तुक गोठहरू भएको जेलास भन्ने ठाउँ कटेपछि साङ्टा पुगियो। यहाँबाट शे फोक्सुण्डो गाउँपालिकाको क्षेत्रमा प्रवेश गरियो।
त्यसदिन हामीसँग थुप्रै यात्रा गर्ने समुहहरू कतिबेला अघि कतिबेला पछि गरिरह्यौं। घरबाट ल्याएको अर्गानिक मकै भटमासका खाजा, सेलरोटी र काजुले मुख मिठास गर्दै हिँडेका थियौं। करिब सुलिगाडबाट ४:३० घण्टामा खोलाको किनारैकिनार कतै जंगल कतै पाखोको पैदल यात्रापछि खाना खाने स्थान छेप्का भन्ने स्थान पुगियो। त्यहाँ राम्राराम्रा होम स्टे र होटल पनि सञ्चालनमा रहेछन्।
केही क्षणमै मीठो खाना खाएर बाटो ततायौं। त्यति बेला करिब १:३० बजिसकेको थियो। अगाडि बढ्दै गर्दा खेमझ्यापुवामा धेरै वर्ष पहिले हेरेको माथिल्लो डोल्पा जिल्ला र फोक्सुण्डो तालको दृश्य कैद गरी तयार गरिएको
‘क्याराभान’ फिल्मका नायक थिन्ले लुण्डुप लामाको सम्झनामा चिर्थुम स्मारक निर्माण गरिएको रहेछ, त्यो पनि देख्न पाइयो। यही बाटो हिँडेर जाँदा घोडाबाट लडेर भालेजुरा भन्ने स्थानमा उनको मृत्यु भएको रहेछ। त्यँहाबाट अलि अगाडि हिँड्दै धुने हुँदै सिडाक चिया स्टेशन शे-फोक्सुण्डो-८ मा पर्ने एक चिया पसलमा बसी चिया बिश्राम लियौं। विस्तारै हिड्दै जाँदा तालको अवलोकन गरी फर्किने यात्रुहरू पनि भेटिए र बाँकी यात्राबारे सल्लाह सुझाव पनि लियौं अनि हामीलाई थप सजिलो भयो।
बाटोमा हिँड्दा तल खोँचमा खोला बगेको छ तर देखिँदैन। अलि माथि जंगल र भीरपाखाको पैदल हिँडाइ पछि रयाची भन्ने स्थान पुगिन्छ। त्यहाँ पनि राम्रा सुविधायुक्त होटलहरू रहेछन्।
त्यसपछि आउने रहेछ बाउलीगाड त्यहाँ होटल बास बस्नको लागि नभई चिया कफी खानको लागि रहेछ। आजको यात्रालाई बिट मार्ने बेला नजिक आइसकेको थियो। र्याचीबाट खोलाको किनारै किनार वारिपारि काठेपुल तरेपछि रुग्मो र पुग्मगाडको दोभान भेटियो। जहाँ फोक्सुण्डोबाट आउने खोला र पुग्मोबाट आउने खोला मिसिँदो रहेछ। त्यो ठाउँलाई सुम्दुवा पोष्ट भनिन्छ। करिब २:३० घण्टा हिँडेपछि पुग्मो गाउँमा पनि ४ वटा साना साना ताल पनि छन् रे।
सुम्दुवामा खुर्बु नामको ठाउँ पनि लेखेको देखियो। त्यहाँ नेपाली सेनाको निकुञ्ज सुरक्षा गण रहेछ भने निकुञ्ज चेक पोष्ट रहेछ। होटल ‘सम्झना’ नै आजको बास बिसाउने स्थल बन्यो। खाना पनि कति मीठो लाग्ने त्यो ठाउँ आगोको वरिपरि बसी साबिकको भन्दा दोब्बर मात्रा खाइयो। अनि खोलाको म्युजिकसँगै मीठो निदरिको कामना गरियो।
तेस्रो दिन पनि साढे ५ बजेनै हिँड्यौं, तर केहीबेर हिँडेपछि चस्मा ओछ्यानमै छुटेको चाल पाइयो। बेदराम सरले फेरि फर्किएर सामान ल्याउनु भयो। तर फेरि डेबिट सरले पनि रूमाल छाड्नुभएको रैछ। त्यसलाई त्यहीँ छाड्यौं।
गन्तव्यतर्फ लाग्दा खोलाको किनारै किनार साइजल पुगियो। यसलाई तापरिचा र बोडिङ पनि भनिदो रहेछ। यहाँ नयाँ निर्माण भएका आम्ची अस्पताल, शे-फोक्सुण्डो स्वास्थ्य चौकी बर्थिंग सेवा सहित र आवासीय तापारिचा विद्यालय छन्। रिङ्मो पुङ्मोलगायत आठ गाउँको साझा आवासीय माविका रूपमा तापरिचा विद्यालय छ। यहाँबाट खोला तरेपछि पोलाम पुगिँदो रहेछ। जहाँबाट उकालो सुरू हुन्छ।
करिब दुई घण्टाको उकालो नै ताल पुग्नको लागि अन्तिम उकालो रहेछ। यात्राको क्रममा सबै भन्दा डरलाग्ने ठाउँ पनि यही नै लाग्यो। तल हेर्दा छाँगो भीर, माथि हेर्दा ढुंगा खस्ने पहिरो।
बाटो पनि साँगुरो जहाँ घोडा खच्चड ओहोर-दोहोर गर्दा समेत साइड दिने ठाउँ छैन। त्यहीँबाट सुन्दर तालबाट निस्कने झरनाको दृश्यावलोकनले अप्ठ्यारो बाटो बिर्सिएर थकान मेटाउँदो रहेछ। पहिरो काटेर सुख्खा खोलाको काठे पुल तरेपछि मात्र फोक्सुण्डो ताल भएको गाउँ रिग्मोको प्रवेश गेट भेटियो। बल्ल ताल पुगेको महसुस भयो।
फोक्सुण्डो तालसम्म पुग्न निकुञ्ज क्षेत्रमा पदयात्रा गर्नुपर्ने हुँदा यहाँ पाइने विभिन्न पुतली, चराचुरूंगी, नाउरको बथान, झारल सँगको जम्काभेटको दृश्यले झनै हाम्रो मन लोभ्यायो।
रिग्मो गाउँमा करिब २० भन्दा बढी घरमा होम स्टे र ताल नजिक सुविधायुक्त होटेल रहेछन्। होम स्टेमा डोल्पो जनजातिहरूको सत्कार र आतिथ्य अनि अर्ग्यानिक खानाको स्वादले मोहनी लगाउँछ भन्ने सुनियो तर हामी भने लाग्यौं भिउ पोइन्ट होटल तिर।
सुलिगाडबाट सम्दुवासम्म फोन सम्पर्क नहुने भएपनि रिग्मो गाउँमा वाईफाई प्रयोग गर्न पाइन्छ। जसकारण यात्राका स्मरण सामाजिक सञ्जालमा पोष्ट गर्न पायौं।
गहिरो तालको ताजा पानीको शे-फोक्सुण्डो ताल अल्पाइन हावापानी क्षेत्रमा रहेको र त्यहाँको पानी निकै चिसो भएकाले जीवजन्तुहरू भेटिएनन्। यो ताल अंग्रेजी अक्षर वाई आकारमा फैलिएको छ भन्ने थाहा थियो। होटलबाट खाना खाएर हामी भन्दा पहिले गएका पदयात्रीसँग सूचना लिएर लागियो। त्यहाँ ३ वटा भ्यु टावर छन्।
तालको दक्षिण पश्चिम किनाराबाट चट्टान काटेर हिँड्ने बाटो छ। यही भीरबाट क्याराभान फिल्ममा भारी बोकेको एउटा चौरी खसेको दृश्य देखाइएको थियो। यही बाटो गागर भएर शे गुम्बा हुँदै साल्दाङ भएर उपल्लो डोल्पा जाने मार्ग रहेछ।
यही मार्गबाट अगाडि बढेपछि पहिलो भ्यू टावर पुगिन्छ, कति त त्यहीँबाट लेक लागेर फर्किन्छन्।
हामीले पहिलो पोइन्ट हुँदै दोस्रो पोइन्ट सम्मको यात्रा तय गर्यौं। बाटोमा करिब ३०० चौरीले ज्यादै तर्सायो। बाटो उलाको भीर माथिबाट स-साना ढुंगा झर्ने। तल निलो ताल हेर्दा कहाँ हो कहाँ। बाटोमा हिँडिरहेका चौरी केही गरी खसे ६० देखि ७० हजार क्षतिपूर्ति दिनुपर्ने डर पनि थियो।
केहीबेर पछि करिब ३० मिनेटको अन्तराल पारी चौरीका गुवाला देखिए। हो-हल्ला गर्दै तीब्र गतिमा ती चौरी हामीतिरै सोझिएका थिए। हामी आँखा बन्द गरी कुनामा बसिरह्यौं। हाम्रो मुटु ढुकढुकी बढ्यो। जब बथान सकियो अनि लामो सास फेर्यौं।
केही समय पछि अगाडि गएर दोस्रो पोइन्ट पुग्यौं जहाँबाट वाई आकारको ताल देखिन्छ। त्यहाँ पुगेर हाम्रो अवलोकन गर्ने यात्रा पुरा भयो।
फोक्सुण्डो वाईको एकतर्फ खोलाको मुहान जहाँ तालमा पानी मिसिन्छ। अर्कोतर्फ रिग्मो गाउँतिरको भाग हो। वाईको फेदमा पनि समतल जमिन सहितको भाग रहेछ। त्यति बेला करिब २:३० बजि सकेकाले हावाको बेग धेरै
थियो। अन्तिम पोइन्टमा पुग्न नपाई देखिने दृश्य कैद गरी बास बस्नको लागि रिग्मो गाउँ होटल भ्यु पोइन्ट तिर फर्कियौं। तीव्र हावा चलेकाले त्यो भन्दा अगाडिको दृश्यहरू हेर्न मनमा अथाह ईच्छा हुँदाहुँदै फर्किन बाध्य भएका हौं।
तीनै तिरबाट अग्लाअग्ला चट्टानी र रहर लाग्दा लेकहरू। थोरै हिउँले भरिएका सेताम्य पहाड र त्यसबीचमा रहेको निलो तालले साँच्नै नै प्रकृतिको अनुपम उपहारको रूपमा रहेको पाइयो।
अग्ला-अग्ला लेक र गगनचुम्बी चुलीहरूमा प्रशस्त मात्रामा यार्सागुम्बा पाइने रहेछ यस भन्दा अघि गएकाहरूको भनाई अनुसार यार्सागुम्बा टिप्न यही छोटो र सजिलो पदमार्ग हो। यहाँको यात्राको सबै क्षणमा सबै किसिमका प्रकृतिसँग साक्षात्कार गर्ने अवसर मिल्छ। विशेष गरी तल्लो डोल्पा रूकुम पश्चिमको सिमाना देखि उपल्लो डोल्पा सम्मको संस्कृति, खानपान, बोलिचाली, भेषभूषा र रहनसहनको प्रसस्त अनुभव लिन पाइन्छ।
नीलो फोक्सुण्डो ताल, रिङ्मो गाउँ, परम्परागत घरहरू, फोक्सुण्डो ताल वरपरका गुम्बाहरू, थासुङ छोलिङ गुम्बा र सुलीगाड झरना लगायतका आकर्षणले यहाँ आउने जो कोहीलाई मोहित गर्दछ होला।
हाम्रो टोली फोक्सुण्डो तालको अवलोकन गरी चौथो दिन बिहान देखिने नदेखिने सुन्ने, नसुन्ने भौतिक, अभौतिक, जैविक, अजैविक सबैसँग बिदा मागी मनका बाँकी इच्छा फोटो खिचेर पुरा गरी दुनै तिर लागियो। फर्किँदा पाइलो अलि छिटो हुन्छ कि जस्तो लाग्यो छेप्का खाना खाएर बेलुका दुनै बास बस्न पुग्यौं।
पाचौं दिनको दिन बिहान चिया खाई सकेपछि डोल्पाको दुनै बजार घुम्ने योजना बन्यो र करिब २ घण्टा बजार घुमफिर गरी त्रिपुरासुन्दरी मन्दिर दर्शन गर्ने धोको पुरा गर्न बोलेरो जिप रिजर्ब गरी लाग्यौं त्रिपुराकोट तिर।
बाला त्रिपुरा मन्दिरको दर्शन पछि मीठो खाना खाई त्रिपुरासुन्दरी नगरपालिकाले आयोजना गरेको मेयर कप खेलकुद पनि हर्ने मौका पनि पायौं। अपारान्ह ३:४५ बजे रूकुम पश्चिम तिर गाडीमा फर्किने निश्चित गरि यात्रा छोट्यायौं।
फोक्सुण्डो ताल पुगेपछि देखिने हिमाली गाउँ र विभिन्न जातजातिको संस्कृति पर्यटक र शोधकर्ताको लागि थप अध्ययनको स्रोत बन्ने निश्चित देखिन्छ।
लेखक मानबहादुर खत्री मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत पनि हुन्।