यसपटकको पदमार्गका लागि कञ्चनजंघालाई चयन गरेपछि, म अहिले ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार आइपुगेको छु। आज यात्राको पहिलो दिन हो।
यो ट्रेलमा विदेशीले हिँड्नुअघि ऊसँग अनिवार्य गाइड हुनुपर्छ। विशेष रूटको अनुमति लिनुपर्छ। यसको अर्थ बाटो त्यति सजिलो छैन है भन्ने हो। सजिला रूटमा विदेशीहरू गाइडबिना एक्लै पनि जान पाउँछन्।
यसकारण मैले यो यात्रामा एड्भेन्चरको अपेक्षा गरेको छु। निश्चित नै उत्तारचढावहरू हुनेछन्। त्यसले 'एक्साइटमेन्ट' बढाउनेछ। त्यसै पनि यो अलि लामै ट्रेल हो। यसले गर्दा लेख्नुपर्ने कुराहरू धेरै हुनेछन्।
धेरै लेख्नुपर्ने बोझले थिचिएपछि, स-साना धेरै कुराहरू छुट्छन्। स-साना कुरामा बढी ध्यान दियो भने, लेखिएका कुरा धेरै हुन्छन्। त्यसले कि किताबको माग गर्छ, कि दिक्दारी बढाउँछ। मलाई दुइटै गर्न मन छैन।
बरू, यस यात्रामा म हरेक दिन लेख्छु। र, ती प्रत्येक दिनका टुक्रा उनेर एउटै सिंगो माला बनाउँछु।
आज २०८१ साल असोज महिनाको २९ गते मंगलबारको दिन हो।
नलेखेको धेरै भएछ। मोबाइलको नोट प्याडमा यति लेखिसक्दा मैले पाँचभन्दा बढी पटक सामाजिक सञ्जाल खोलेर स्क्रोल गरिसकेँ। बानी बिग्रेर यसरी भष्म भएको बेलामा, मैले यो ट्राभलग पूरा गर्न सकेँ र तपाईंलाई पढ्न दिन सकेँ भने ठूलो उपलब्धि मान्ने छु। लेखनको गुणस्तरमा अपेक्षा गर्ने छैन।
म अरूको ट्राभलग पढ्दा भएसम्मको जानकारी खोज्छु। जाने रूट, खानेकुरा, बस्ने बास, देखिने दृश्य र लिइने अनुभूति पढ्न रूचाउँछु। एउटा ट्रेलको आधारभूत जानकारी लिन एकभन्दा बढी संस्मरण चहार्न नपरोस्, जस्तो लाग्छ।
लेखनमा साहित्य भन्दा सरलता मन पराउँछु। पाठक भएर लेखकसँगै सर्सर्ती बग्न पाइयोस्, जस्तो लाग्छ।
मैलेजस्तै मबाट अपेक्षा गर्नेहरूको यति अपेक्षा पूरा होस् भन्ने चाहिँ अपेक्षा छ।
आजको बास जानु नाम गरेको होटलमा छ। यसलाई बाहिरबाट हेर्दा लिम्बू संस्कृति झल्कने गरी सजाइएको परम्परागत घरजस्तो लाग्छ। भित्र कोठाहरू राम्रै छन्। खाना ठीक छ। म ठीकै पैसामा राम्रै होटलमा बस्छु भन्नेलाई यो बास सिफारिस गरेँ मैले।
भोलि सेकाथुम भन्ने ठाउँसम्म जिपमा चढेर जानु छ। कच्ची बाटो ५/६ घण्टा लाग्छ भनेका छन्। त्यसपछि हिँड्ने हो। होटलका दावा दाइले हामीलाई पठाउने जिम्मा लिएका छन्। माथि बाटोमा पर्ने विभिन्न ठाउँ र होटलका सम्पर्क नम्बर पनि दिएका छन्।
अनि, अँ! मसँग मेरो एकजना साथी पनि हुनुहुन्छ। अनुप सुवेदी हो उहाँको नाम। पेसागत रूपले सहकर्मी र यो यात्राको सहयात्री।
अघि साँझमा बजार निस्केर छुटफुट केही सामान किन्यौं। सानो चक्कु, लाइटर, सियो-धागो, पोलिथिन ब्याग जस्ता सामान थप्यौं। प्रायः नचाहिने तर, नहुँदा कहिलेकाहीँ नभइ नहुने चिज हुन् ती। उताबाट ल्याएकामध्ये नबोक्दा पनि हुने केही सामान घटायौं।
झोला प्याक भएर ट्रेकका लागि ठिक्क परेको छ। भोलि बिहान ९ बजे गाडी चढ्ने कुरा छ। यो रात आनन्दले निद्रा थपी थपी सुत्ने हो। भोलिदेखिका बास कस्ता हुनेछन्, थाहा छैन।
२०८१ असोज ३०, लामाटार
सेकाथुमबाट ३ घण्टा हिँडेपछि बल्ल यहाँ आइपुगियो। घडीले चार बज्यो, भन्दैछ। अब अगाडिको बास बस्न मिल्ने ठाउँ अम्जिलोसा हो। त्यहाँ पुग्न कम्तीमा तीन घण्टा कस्सिएर हिँड्नुपर्छ।
यहाँ १५/१६ जना बास बस्ने मिल्ने गरीको एउटा होटल छ। च्यादरको छानो र बारबेरा भएको। एक जोडी डच नागरिक र तिनका गाइड आएर बसिसकेछन्। हामीले पनि यतै झोला बिसाएका छौं।
सेकाथुम घर भएकी शेर्पीनी दिदी फरासिली छिन्। मिठो बोल्छिन्। होटलमा उनलाई सघाउन उनका श्रीमान र एउटी छोरी पनि सँगै छन्।
'दस वर्ष भयो, यहाँ होटल चलाएर बसेको,' दिदीले फलामको चिम्टाले सिस्नो झट्कार्दै भनिन्। हामीले रूचि देखाएपछि उनी सिस्नो केलाउँदै छिन्।
'सिजनमा त होटल राम्रै चल्छ होला। अफसिजनमा के गर्नुहुन्छ? तल झर्नुहुन्छ कि'!
'त्यति बेला पनि माथि घुन्सासम्मको मान्छे हिँड्छ। भारी बोक्नेहरू हुन्छ। यतै बस्छौं।'
दिदीहरू पहिले सेकाथुममा पनि होटल नै चलाउँथे। अहिले यहाँ अर्कैको जग्गा भाडामा लिएर होटलका संरचना बनाएका हुन्।
'यो हाइड्रोको ड्यामले भेट्ने जग्गा हो, पछि हाइड्रोले लिन्छ होला।'
'त्यसपछि के गर्ने त?'
'अर्को ठाउँ सर्ने, होटल नै चलाउने। आफूले जानेकै यही छ।'
दिदीका दुइटी छोरी छन्। एउटी काठमाडौं बसेर ब्याचलर पढ्छिन्। सानी चाहिँ पोहोर १२ कक्षा सकेपछि यतै छिन्।
'अब, फ्रान्स जाने अरे, प्रोसेस गरेर बसेकी छे।'
'किन?'
'सबै साथीहरू उतै जाने भन्छन्।'
छोरी चाहिँ किचनमा आगो फुक्दै छिन्।
निर्मल सरहरू बल्ल आइपुग्नुभयो। आडैको फल्याकमा झोला बिसाउँदै गर्दा अगाडिबाट खुर्र कुखुराको भाले दौडियो।
उहाँले मुख्य मिठ्याउनुभयो, 'ल आज यसैलाई ढालौं है, सबै मिलेर।'
यहाँ एकैचोटि को 'निर्मल सर' आए? भन्नुहोला।
म फेरि फुङलिङ पुग्छु, है!
हिजोको थकानले होला, बिहान अबेरसम्म सुतेछौं। आठ बजे बाहिर निस्किँदा आँगनमै जिप आइसकेको रहेछ।
जीतबहादुर श्रेष्ठ सरसँग अकस्मात् भेट भयो। पहिलेदेखि नै चिनजानको मान्छे। घुम्न एकदमै रूचाउने। कतिसम्म भने, एकपटक घुम्नलाई आफ्नो जागिर नै डोल्पा लिएर जानुभएको थियो। उहाँसहित ४ जनाको टोली यसपटक कञ्चनजंघातिर हिँडेको रहेछ। टोलीमा धनकुटाका निर्मल राई र रूकुम पूर्वका नरबहादुर रानासँग पनि चिनजान भयो।
संयोगले हामी सबैजनाको जिप एउटै परेछ। ६ जना मान्छे बोकेर ९ बजे जीप सेकाथुमतिर लाग्यो।
असाध्यै अप्ठ्यारो बाटो। भिरपहराहरू आइरहने। बाटोका असरल्ल ढुंगा र उबडखाबडको त हिसाब छैन। एक ठाउँ पहिरै पहिरोमा उकालो चढ्नुपर्ने रहेछ। चार पांग्रा मात्रै अट्ने गरीको साँघुरो बाटो छ। तलतिर कति बेला जिप खस्छ र निलुँला भनेर आँ गरिरहेको जस्तो तमोर नदी छ।
पहिरोको टुप्पातिरको अन्तिम घुम्ती पुग्ने बेलामा माथिबाट अर्को जिप आयो। उकालोमा ऊ पछाडि जान नसक्ने भयो। हामी नै छेऊ लाग्नुपर्ने भयो। हाम्रो जिप तल्लो घुम्तीसम्म पछाडि सरेर आइपुग्यो। त्यतिन्जेल मैले मुटु हत्केलामा बोकेको थिएँ। गाडी रोकिएपछि फेरि भित्रै हालेँ।
रानीपुलबाट उता लागेपछि तमोर नदी ओलाङचुङ्गोला तिर लाग्यो। हामी घुन्सा खोलातिर गुड्यौं। त्यहीँ छेवैमा रहेछ, सेकाथुम पनि। रिजर्भ भनेर ल्याएको हुनाले जिप भाडा प्रतिव्यक्ति १७ सय रूपैयाँ तिर्नुपर्यो। नत्र, १२ सय रूपैयाँभन्दा बढी तिर्नु नपर्ने रहेछ।
बल्ल सुरू भयो ट्रेकिङ। तर पहिलो गाँसमै ढुंगा लाग्यो। नियमित रूटमा भयंकर पहिरो खसेपछि खोलाको पारिपट्टीबाट नयाँ ट्रेल बनइएको रहेछ। अस्थायी डाइभर्सन भनौं, पहिरो पूरै नथामिउञ्जेलका लागि।
जबरजस्ती गरेर पहिरो कै बाटो हिँड्दा अस्ति एकजनाले ऐया पनि भन्न पाएनछन्। माथिबाट खसेको पहिलो ढुंगाले लाग्दा ठहरै। अर्को ढुंगो थपिँदा छ्यालब्याल। हैट!
यता फेरि डाइभर्सन भिरैभिरबाट छ। कतै पहरामा काठको अस्थायी भर्याङ छ। निगालोको झ्याङको भरोसामा सिलेवरको तारले काठ अड्याएको छ। आकारमा तमोरभन्दा ठूलो घुन्सा खोला भिरको फेदमा सुसाइरहेको सुनिन्छ। उसले तलबाट 'खुट्टा चिप्लियो भने, म छु है' भनेझैं लाग्छ। लहरामा दाउरा बाँधेर माथिबाट झुन्ड्याइएको बाटो सायद पहिलो पटक यसै ट्रेलमा हिँडेको हुँला।
जौ बारीभन्दा अगाडि खोलाले बाटो नै बगाइदिएछ। फेरि, डाइभर्सनले भिरको टुप्पामा पुर्याएर तल झार्यो। यसरी सेकाथुमबाट दुई घण्टा अतिरिक्त समय खर्च गरेपछि आइपुगिने ठाउँ हो लामाटार।
यतिबेला म ओछ्यानमा पल्टिएको छु। खाना मिठै थियो। सुत्ने जोरजाम ठीकै छ। यहाँ विद्युत छैन, इन्टरनेट छैन, मोबाइलमा टावर छैन। एक ढिस्को माथि चढ्दा नेपाल टेलिकमको नेटवर्क आउँदो रहेछ। एनसेलको त नामनिसान समेत छैन।
कलकत्ता तिर घर बताउने ४ जना भारतीयहरू पनि साँझमा बास बस्न आईपुगे। उनीहरू अघि भिरमा चारपाउ टेकेर घस्रिँदै थिए। हामीले उछिनेर आएका थियौं। तीमध्ये एकजना चाहिँ भोलि ताप्लेजुङतिरै फर्किने भएका छन्। भिरमा धेरै नै डराएछन्।
खाना खाँदै गर्दा भन्दै थिए, 'आफ्नो ज्यानभन्दा ठूलो अरू केही हुँदैन।'
सोलारको मधुरो बत्ती धिपधिप गर्दैछ। साहुनीले बन्द गरिदिनु भनेको तेस्रो पटक भयो। अनुप सर अघि नै गुडुल्किई सक्नुभयो। म पनि सुत्छु, अब।
२०८१ कात्तिक १, फले (३२५० मिटर)
फले आइपुग्न यति समय लाग्ला भन्ने सोचेको थिइएन। आइपुग्दा यति थाकिएला भन्ने लागेकै थिएन। बाटोका हरेक निर्देशन बोर्डले यति समय लाग्छ, भनेर गरेको दाबी जितिरहेका हामी, यसरी हार्छौं भन्ने शंका समेत थिएन।
ग्याब्ला आइपुग्दा दुई बजेको थियो। त्यसपछिको गाउँ फले हो। दुई बजे नै ग्याब्ला बस्नुभन्दा अढाई घण्टा अरू हिडेर फले पुगौं भन्ने लाग्यो। तर, अढाई मात्र होइन, ठ्याक्कै चार घण्टा लाग्यो।
किन?
स्टामिना कमजोर भयो। हिजो जम्मा तीन घण्टा हिँडेको। खास हिँडेकै आज हो। अनि, पहिलो दिन नै कस्सिएर हिँड्दा, बिहानदेखि बेलुकासम्म कस्सिइरहन सकिँदैन। साँझ पर्दै जाँदा हामी क्रमशः खुकुलिँदै गयौं।
यहाँ आइपुगेपछि मोबाइलमा नेटवर्क आएको छ। घुन्साबाट तानेर ल्याएको बिजुली पनि छ। मोबाइल र पावर बैंक भोकाएका छन्। तिनलाई अघाउन्जेल खुवाउनु छ।
भोक लागेको झ्वाँकमा अटेसमटेस हुने गरी दालभात खाएपछि अहिले सिरकभित्र घुस्रिएको छु। ओछ्यान चाहिँ त्यति सुग्घर लागेन। ठुस्स गन्हाएको छ। मलाई रूघा नलागोस्!
मुभ दलेको भए पनि खुट्टा झमझम गरिरहेको छ। म आजको बाटो सम्झिरहेको छु।
अर्को कोठामा सुत्नुभएको निर्मल सरले बिहान अलार्मको काम गर्नुभयो। उहाँ सबेरै उठेर भित्र बाहिर गर्दा ढोकाको चुइँइँ.. ढ्याक.. ले छ नबज्दै निद्रा खुलायो। साढे छदेखि सात बजेसम्ममा खाजा खाइसकेर हिँड्ने कुरा थियो। पालो कुर्दा साढे सात भयो। जीत सरहरू अझै तयार हुनुभएन। हामी अगाडि लाग्यौं।
घुन्सा खोला पछ्याउँदै हिँडेको ट्रेलको बाटो फेदी पुगेपछि खोला तरेर उकालो लाग्यो। हामी पछि पछि हिँड्यौं। अम्जिलोसा सम्मको ठाडो उकालोले हाम्रो डेढ घण्टा खोसेर लग्यो।
त्यहाँ बास बस्न मिल्ने गरीका तीन वटा होटल छन्। यो सेकाथुमदेखि एक क्याम्प दुरीको स्थान हो।
हिजो बास बस्न आइपुग्छौं है भनेर फोन गरेका थियौं। तर गुगल म्यापलाई बाटोमा पहिरो झरेको थाहा रहेनछ। खोलाले बाटो भत्काको देखेनछ। गुगल झुक्कियो। उसले गर्दा हामी झुक्कियौं। हामीले गर्दा होटलकी साहुनी झुक्किइन्।
यो झुक्किने र झुक्याउनेको खेल देशमा हेर्यो भने त, झन् भयावह छ। भयो, त्यतातिर नजाम्!
हिजो आश गरेर बसेकी साहुनीकोमा चियासम्म खाइदिऊँ भन्ने लाग्यो। फेरी, अनुहारमा हेरेर ङिच्च दाँत देखाउनु त छँदैछ। फिका चिया खाइसकेपछि याद आयो, साँच्ची यो ट्रेकिङ रूटमा कतै पनि फिका चियाको पैसा त लाग्दैन पो! दूध हालेर फेरि दोहोर्याएर चिया खानुपर्ने भयो।
साहुनीले हाम्रा लागि थेङ्ग्याममा खाना भनिदिइन्। त्यहाँ पुगेर खाना पाकुन्जेल कुरेर बस्न परेन।
तेर्सो, उकालो र ओरालो तीनै थरी बाटो। थेङ्ग्याम पुग्न दुई घण्टा लाग्यो। त्यहाँ २ वटा होटल छन्। हामी होटल सिङ्गलालातिर ओर्लियौं।
हिजो जौ बारीको डाइभर्सनमा भिर उक्लिरहेका चार जना भरिया दाजुभाइहरू यहाँ फेरि भेटिए। उनीहरूको घर टापेथोकभन्दा पारिपट्टी हो। टापेथोक फक्ताङलुङ गाउँपालिकाको केन्द्र हो। ट्रेल सुरू हुने सेकाथुम देखि कञ्चनजंघा (उत्तरतर्फ) सम्मको सबै भूगोल एउटै वडाको हो, फक्ताङलुङ - ६।
उनीहरूको भारी प्रतिव्यक्ति कम्तिमा ४८ किलो छ। सेकाथुमदेखि सामान पुर्याउनुपर्ने घुन्सासम्म। ज्याला प्रतिकिलो १२० रूपैयाँ। त्यसमा खाना आफ्नो। बास आफ्नो।
उनीहरू अरूबेला अलैंचीको काम गर्छन्। खेतीपाती पनि छ। फुर्सदका बेला हो, भारी बोक्ने गरेको।
बाटो सहज भएका बेलामा भारी खच्चडले बोक्छ। यसपालि असहज बाटोले गर्दा केही पिठ्युँ र थाप्लाहरू असहज भएका रहेछन्। मान्छेले भारी बोक्नु परेपछि महँगी बढेको होला। तर खच्चडको दुर्गन्धको सट्टामा बढेको मूल्य तिर्न म चाहिँ तयार छु।
ट्रेकिङ ट्रेलमा खच्चड हिँडाउँदा बिग्रने पर्यावरणको मूल्य तिर्न को तयार हुन्छ?
भरियाहरूसँग दोस्ती भयो। सँगै बास बसिने भइयो। होटल उनीहरूले नै भनिदिए। फले गेस्ट हाउस।गाउँ पुग्नासाथ पहिलो होटल।
२०८१ कात्तिक २, खाम्बाचेन (४०५२ मिटर)
'आज घुन्सा बसेर आराम गरेर जाँदा राम्रो हुन्छ। धेरै मान्छेहरूले त्यसै गर्छ,' साहुनीले सुझाव दिइन्।
फलेबाट घुन्सा २ घण्टाको बाटो हो।
'५२०० मिटरसम्म जानुपर्ने छ। ३५०० मिटरमै त के रेस्छ गर्नु,' मैले फूर्ति देखाएँ।
'त्यसो भए खाम्बाचेन बस्नुस्। त्यहाँ मेरो छोरीको होटल पनि छ।'
'कति हाइटमा हो खाम्बाचेन?'
'४०५२ मिटर। खाम्बाचेन बस्यो भने रेस्ट गरेको दिनमा जन्नु भ्यू प्वाइन्ट जान सकिन्छ।'
'के गरौं अनुप सर? खाम्बाचेन जाऔं?'
'हुन्छ।'
'कि घुन्सै बसौं त?'
'हुन्छ।'
उहाँलाई मेरा हरेक निर्णय ठीक लाग्छन् वा मसँग असहमत नहुन रूचाउनुहुन्छ; मलाई थाहा छैन।
साहुजीले देब्रेतिरको भञ्ज्याङलाई देखाउँदै भने, 'नाङ्गो ला पास त्यहीँ पर्छ।'
हिजो साँझ उनीहरूसँग त्यसबारे निकै सोधखोज गरेका थियौं। कञ्चनजंघाको उत्तरी बेस क्याम्प पुगेर घुन्सा फर्केपछि नाङ्गो ला पास काटेर ओलाङचुङ्गोला निस्कने हाम्रो योजना छ।
'नाङ्गो ला पास जाँदा घुन्साबाट एकैदिनमा ओलाङचुङ्गोला पुगिँदैन। बाटोमा खान बस्न होटलहरू छैनन्। पाटी वा टेन्टमा बस्नुपर्छ। झुक्किने बाटोहरू छन्, गाइड नभइ हुँदैन।'
झोला बोकेर हिँडिसकेका हामी साहुजीको कुरा सुनेर टक्क अडियौं। हामीसँग उनले भनेको जस्तो बाटो देखाउने गाइड थिएनन्। बस्ने टेन्ट थिएन। न त खाने प्रबन्ध नै थियो। तैपनि अवचेतन मनले 'पछि कुनै उपाय निस्केला, अहिले चिन्ता नगर्' भन्यो।
'घुन्सामा गाइड पाइन्छ। जाँदाखेरि पिसफुल गेस्ट हाउसको भाइलाई भनिराख्नू। उसैले खोजिदिएको हुन्छ,' साहुनीले सुझाइन्।
हामी हिँड्यौं।
आधा घण्टा हिँडेपछि बाटोको निर्देशन बोर्डले 'नाङ्गो ला पास जाने यता हो' भन्यो। हामीले 'फर्केर आएपछि जान्छौं है' भन्यौं।
२०६३ असोजमा घुन्सा भिरमा हेलिकप्टर ठोक्किएको थियो। त्यसमै सवार तत्कालीन मन्त्रीसहित २४ जनाको निधन भएको थियो। उनीहरूको सम्झनामा बनाइएको स्मारक बाटैमा पर्दोरहेछ। एकछिन रोकियौं। फोटो खिच्यौं।
छेवैमा फोहोर जम्मा गर्ने खाल्डो देखियो। रूटमा देखिएको यो पहिलो पटक हो। भएर पनि मैले नदेखेको भए, माफ पाऊँ। तर देखेको भए, म हिजो दिनभरि चकलेट-बिस्कुटका खोल गोजीमा बोकेर हिँड्ने थिइनँ।
यो रूटमा व्यक्तिको जग्गा धनीपुर्जा सहितको बसोबास भएको अन्तिम गाउँ घुन्सा हो। यसर्थ, घुन्सा कञ्चनजंघाको द्वार हो। सगरमाथाको नाम्चे भनेजस्तै। तपाईं ओलाङचुङ्गोलाबाट नाङ्गो ला काटेर आउनुस्, या सेले ला पास काटेर कञ्चनजंघा साउथ जानुस्, ट्रान्जिट यही हो।
घुन्सासँग होटल व्यवसाय छ। व्यापार छ। पशुपालन छ। खेतीबारी छ। डोहोर्याएर हिमाल चढाउने शेर्पाहरू छन्। सानो गाउँभित्र पनि जीविकोपार्जनमा विविधता छ। बिजुली र मोबाइल नेटवर्क पनि ऊसँगै छ। रूटमा माथि माथिका अरू होटल चलाउनेहरू पनि यहाँकै हुन्। घुन्साले समग्र ट्रेकिङ रूटको प्राण धानेको छ।
घुन्साभन्दा माथि लागेपछि बाटो आसपासमा फोहोर नगन्य थियो। तर त्यस उता भने, प्रशस्तै। अब दोष कसलाई दिऊँ? स्थानीयलाई? भारी बोकेर लैजानेहरूलाई? वा फोहोर संकलनस्थल नराख्ने कञ्चनजंघा संरक्षण क्षेत्रलाई?
फलेबाट डेढ घण्टामा घुन्सा पुगियो। त्यहाँ खाजा मात्र खाने भयौं। खानाका लागि अरू तीन घण्टा हिड्ने निधो भयो, लाबुकसम्म। झोलाका केही ड्राई-फुड्स घटाएर राख्यौं। ताकि पछि नाङ्गो ला पास गर्दा काम लागोस्। पसिनाले भिजेर गन्हाएका र विकल्प भएका केही कपडाले पनि यतै विश्राम गरे।
पहिरोले निम्त्याएको जोखिम फेरि सुरू भयो। घुन्सा अगाडिका निकैवटा अप्ठ्यारामा पहिरोले अप्ठ्यारो थपेछ। कति ठाउँ पहिरै पहिरो उक्लनुपर्ने! उसैगरी झर्नुपर्ने! बाटोमा सत्तरी उमेर नाघेका केही विदेशी देखेको थिएँ, उनीहरू कसरी कटेर गए होलान्!
परिवारलाई देखाउन नहुने शीर्षकमा निकै वटा भिडिओ लिनुभयो अनुप सरले।
यति बेला बेलुकाको आठ बजेको छ। टाउको झुम्म दुखेको छ मेरो। लाबुकमा खाना खाएर उकालो लाग्दा बढी नै स्वाँस्वाँ हुन थालेको थियो। घाम मधुरो हुन थालेपछि हिमाली स्याँठले पनि मज्जाले हान्यो। चिसो र लेक एकैचोटि लाग्यो।
ट्रेक हिँड्दा ३४/३५ सय आसपासमा रेस्ट गर्नुपर्छ भनेर किन सुझाव दिइन्छ भन्ने बल्ल बुज्दैछु म। शरीरले सामान्यतयाः दैनिक ३०० मिटर उचाइ मात्र समायोजन गर्दै जाने कुरा बिर्सेर हामी एकै दिन ९०० मिटर उक्लिएछौं। मलाई घुन्सा नबसेकोमा पछुतो लागिरहेको छ।
हिजोको फले होटलको सिफारिस मान्यौं। साहुनीकै छोरीको होटल सनराइजमा बसेका छौं। होटलमा हामी बाहेक दुई विदेशी र तिनका गाइड छन्। लसुनको सुप खाएपछि टाउको दुख्न अलि बिसेक जस्तो भएको छ।
जबरजस्ती अलिकति खाना खाएँ। बाहिर चिसो भनिसाध्य छैन। तैपनि अनुप सर चाहिँ बादल हट्ला र हिमाल देखिएला भनेर बाहिरै हुनुहुन्छ। खुल्दाखेरी त हिमाल आँखै अगाडि सर्लक्क देखिन्छ रे! म चाहीँ सुत्छु अब। हिमाल बिहान हेरौंला।
२०८१ कात्तिक ३, जन्नु वेस क्याम्प (४४२० मिटर)
बिहान उठ्दा आज यहाँ आइपुगिन्छ भन्ने लागेको थिएन। टाउको दुखेर रातभरजसो नै खटपटिएँ। निद्राभन्दा बढी तन्द्रामा रहेँ। जति जति बेला झकाएँ, भयंकर सपना देखेँ। जताततै हिंसा र मानव संहारका शृंखला मात्रै। त्यो पनि आफ्नै परिवार माथि। आफैमाथि।
'तपाईंलाई लेक लागेकोले यस्तो भएको हो। सपना पनि डिसअर्डर हुन्छ,' अनुप सरले भन्नुभयो।
मैले पत्याएँ। म अप्राविधिक मान्छेलाई, इन्जिनियरले डाक्टरी कुरा गर्दा पनि हो जस्तो लाग्छ।
बिहान मौसम खुल्यो। वरिपरि हिमालबाट घेरिएको रहेछ, खाम्बाचेन। बिहानको पहेँलो घाम हिमालमा टाँसिदा सुनझैं टल्कियो, टलक्क। वरिपरि सुन रचाँदी जस्ता हिमाल, कस्तो सुन्दर!
अहिले दिनको २ बजेको छ। घाम बिस्तारै मधुरो हुँदैछ। बेतोडको हावाले ढुंगा, पहरा र लेकाली पोथ्राका ठोक्किएर छिनमै बेग्ला बेग्लै संगीत सुनाउँछ।ध्यान दिएर सुन्दा लाग्छ, मौरीको संगीत जस्तो। घण्टी बजे जस्तो। पिपिरी बजेजस्तो। कतै विनायो जस्तो। कता कता मादल जस्तो पनि। अनेकौ ध्वनी गुञ्जिएका छन्। मैले कति सुन्न सक्छु, कति छुट्याउन सक्छु, त्यो मेरो क्षमताको कुरा।
हिमाली हावाको यही संगीत हो, जसले मलाई हरेक साल कम्तीमा एकपटक हिँडाएर हिमाल ल्याइ पुर्याउँछ।
हावाको स्याँठबाट हामी एउटा ठूलो ढुंगाको फेदमा छलिएका छौं। अगाडि सिधै सर्लक्क सेता हिमाल ठडिएका छन्। यो जन्नु हिमालको बेस क्याम्प हो।
अनुप सरको पिक फाइन्डर भन्ने एपले हिमाल चिन्न काम दिएको छ। यो खबुर हिमाल। यो फोले सोबितोन्जे। यो जन्नु। पर्तिरको खाम्बाचेन। पछाडिको राम्ताङ। परको टुप्पो मात्रै देखिएको चाहिँ यालुङकाङ।
बिहान नौ बजेतिरबाट टाउको दुख्न छाड्यो। मैले आराम पाएँ। मेरो शिरबाट दसौं किलोको बोझ निकालेझैं भएको छ। त्यहाँबाट झण्डै चार सय मिटर चढ्दा पनि म हलुका छु, अहिले।
अनुप सर जन्नु हिमालसँग आफ्ना भावना साट्दै हुनुहुन्छ, 'तिमीलाई नै हेरेर हुर्केको म। कुनै दिन पुग्छु, भन्ने थियो। आईपुगेँ...'।
मैले उहाँका आँखामा आँसु छचल्किएको देखिरहेको छु।
के लेखौं, के लेखौं भएको छ मलाई। तलतिर हिमनदी छ। हिमनदीको पारिपट्टी हिमपहिरो खसेको आवाज आइरहन्छ बेला बेला। हावाको संगीत जारी छ। जति हेरे पनि नअघाइने हिमाल आफूसँगै छन्। प्रकृति आफ्नै धुनमा उन्मुक्त छ। अपार आनन्दको यो क्षणलाई युगौंसम्म तन्काएर लैजान मन छ मलाई।
तर यस्तो भौतिक आनन्द, भौतिक सामिप्यता रहुन्जेल रहन्छ। यो वातावरणको साक्षी भइन्जेलसम्म मात्र। हरक्षण आनन्दित भइरहने उपाय अर्कै छ।
योगीहरू भन्छन्, 'आनन्द आफैभित्र छ, खोज्नुपर्छ। खोज्ने सामान्य तरिका छ। आफू स्थिर हुनु र आफैलाई नियाल्नु।'
तर हामी चाहिँ आफ्नै सुगन्ध नचिन्ने भएका छौं, कस्तुरीजस्ता।
मैले पनि योग/साधनमा रूचि नदेखाएको होइन। तर मैले अनुशासन गुमाएँ। आनन्द प्राप्तिको ढोकासम्म नपुग्दै मलाई अस्थिरताले बाहिर निकाल्यो। म चाख्न चाहिँ 'चाखेको' तर 'लत नलागेको' जस्तो भएको छु।
मैले आजै थाहा पाएँ, जन्नु भन्नु वा कुम्भकर्ण वा फक्ताङ्लुङ भन्नु एउटै रहेछ। एउटै हिमालको तीनवटा नाम। लिम्बूहरूले फक्ताङ्लुङ भन्छन्। भगवानको रूपमा मान्छन्। यहाँ छेवैमा प्रख्यात मन्दिर छ, फक्ताङ्लुङको। खासगरी लिम्बूहरू निकै टाढा टाढाबाट पनि दर्शन/पूजा गर्न आउँदा रहेछन्।
घाम बिस्तारै ओझेल पर्दैछ। यहाँ रात बस्ने ठाउँ छैन। खाम्बाचेन फर्किनुपर्छ। अब हिँड्छौं।
ओहो, के हो त्यो? न्याउरीमुसा? यो उचाइमा?
कस्तो अचम्म!