पदयात्राः अन्नपूर्ण बेसक्याप भाग १:
दसैं तिहारको सुरूआतसँगै नेपालभरि नेपालीहरूको मनमा छुट्टै उत्साहको अनुभूति हुन थाल्छ। यो नेपालीहरूको लागि ठूलो पर्व भएकाले सबै जना आफ्ना परिवार र साथीहरूसँग मिलेर रमाइलो गर्छन्।
मौसम पनि गर्मीयामबाट जाडोयाममा परिवर्तन हुने हुँदा देशका अधिकांश ठाउँमा रमणीय वातावरण हुन्छ। यो समयमा खासगरी नेपालीहरू र विदेशी नागरिकहरू पदयात्रा गर्न एकदमै मन पराउँछन्।
पदयात्राका लागि उपयुक्त मौसम भएकाले अन्नपूर्ण बेस क्याम्प, एभरेस्ट बेस क्याम्प, माछापुच्छ्रे बेस क्याम्प, गोसाइँकुण्ड, रारा ताल, तिलिचो ताल, पिके पिक लगायतका ठाउँहरूमा पर्यटकहरूको भिड लाग्ने गर्दछ। नेपालमा केही वर्षयता विदेशी पर्यटकहरूको आगमन र पदयात्रामा जानेहरूको संख्या बढेको समाचार पनि बेला–बेला पढ्न पाइन्छ।
२०२३ को वर्ष। मैले पनि साथीहरूसँग पदयात्रा जाने योजना बनाएँ। गन्तव्य छनोटका क्रममा हामी अन्ततः अन्नपूर्ण बेस क्याम्प जाने निर्णयमा पुग्यौं।
एउटा अनलाइन समूह बनाएर कसरी जाने, आवश्यक सामग्री के–के हुन सक्छन् र कस्ता कपडाहरू तथा सामग्री बोक्ने भन्नेबारे निरन्तर छलफल गर्न थाल्यौं।
१० जनाको समूहमा कोही नियमित पदयात्री थिए भने कोही कमै जाने र कोही पहिलो पटक जानेहरू पनि थिए। हाम्रो शारीरिक क्षमताको कारण पदयात्रा गर्ने क्रममा के कस्ता सम्भावनात्मक चुनौती आउन सक्छन् र कस्ता खालका सावधानीहरू अपनाउनुपर्छ भन्नेबारे छलफल गर्न थाल्यौं। सबै तयारी सकिएपछि ३ जनाको टोली वीरगञ्जबाट र अर्को ७ जनाको टोली काठमाडौंबाट पोखरामा भेट हुने गरी हिँड्यौं।
२८ अक्टोबर २०२३ का दिन सबैजना पोखरामा भेला भयौं। गाडी भाडामा लिएर झिनुमा एक रात बस्ने र त्यहाँबाट यात्रा सुरू गर्ने सहमति गर्यौं। समय व्यवस्थापनका लागि २७ अक्टोबरको राति वीरगञ्जबाट हिँडेर बिहान पोखरा पुगेँ र काठमाडौंबाट आउने साथीहरूको पर्खाइमा बस्न थालेँ। दिउँसो थप २ जना साथीहरू पोखरा आइपुगे भने बाँकी ५ जना साथी पर्यटक बसबाट यात्रा गरिरहेका थिए र दुर्भाग्य बाटोमा जाम परेका कारण साँझ लगभग बेलुकाको ७ बजेतिर मात्र आइपुगे। १० जनाको टोली पूरा भएपछि झिनुतर्फ प्रस्थान गर्यौं।
पोखराबाट झिनु पुग्न लगभग २ घण्टा जति लाग्यो होला। बाटोमा अँध्यारो र बत्ती नहुँदा पहाडको बाटो डरलाग्दो देखिरहेको थियो। म पछाडिको सिटमा बसेको र पछाडिबाट अँध्यारोमा पहाडको बाटो निकै डर लाग्दो देखिन्थ्यो। ड्राइभर दाइले पनि रमाइलो हुन्छ कि भनेर बीच–बीचमा रमाइला कुराहरू सँगसँगै पहाडको बाटोमा आफूले भोगेका डरलाग्दो भूतको अनुभवहरू पनि सुनाउनुहुन्थ्यो, जसले हामीलाई झन् डर लाग्न थाल्यो। हामीले रमाइला कुरा गरिदिन अनुरोध गर्दै यात्रा अघि बढायौं र राति लगभग ९ बजे झिनु पुग्यौं।
गाडीबाट सामान बोकेर झिनु डाँडातर्फ लाग्यौं। त्यहाँबाट होटल पुग्न लगभग ४५ मिनेटको पैदल यात्रा भयो। सुरूमा झोलुङ्गे पुल तर्दा रमाइलो लागेको थियो, तर पुलको बीचमा ठूलो समूह भएर होला कि पुल लामो भएर, पुल हल्लिन थाल्यो र मनमा अलि अलि डर लागिरहेको थियो। टर्च बालेर तल हेर्दा पुल निकै उचाइमा रहेको अनुभव भयो। पुल पार गरेर माथि उकालोतिर लाग्यौं। समतलमा हिँड्न बानी परेकोले सुरू सुरूमा भर्याङ चढ्न गाह्रो भयो। चारैतिर सुनसान, अबेर भएकोले कोही मान्छे नदेख्दा कहाँ आएको जस्तो लाग्यो। एक जना साथीले हामीले बुक गरेको होटलमा फोन गरेर बाटो बुझ्नुभयो, र विस्तारै भर्याङको एक–एक पाइला टेक्दै लगभग ३० मिनेटपछि होटल पुग्यौं। बेस क्याम्प रूटका होटलहरू साना र प्रायः काठका बनेका हुन्छन्। म ६ फिट १ इन्चको भएकोले कोठा र खाट सानो लाग्यो। राति सुत्दा पैंतालाहरू खाट बाहिर निस्किन्थ्यो, तै पनि निदाउन भने सकियो। पहिलो दिन भएकाले थकान पनि थियो र छिट्टै निदाएँ।
२९ अक्टोबर २०२३, सधैं बिहान चाँडै उठ्ने बानी भएकोले, लगभग ५ बजे म र मसँगै सुत्ने साथी उठ्यौं। ढोका खोलेपछि साथीले 'ओहो, कति चिसो!' भन्दै आफूले ल्याएको ज्याकेट र टोपी लगायो। चिया पिउँदै त्यस दिनको यात्रामा पालना गर्नुपर्ने सामान्य नियम र अन्य आवश्यक विषयमा छलफल गर्न थाल्यौं। विस्तारै सबै जना उठिसकेपछि, फ्रेस भएर पदयात्रा सुरू गर्ने तयारी गर्यौं।
करिब ७ बजे पहिलो गन्तव्य छोम्रोंगतर्फ यात्रा सुरू गर्यौं। झिनुबाट छोम्रोंगसम्म पुग्ने पहाडहरूको बाटो देख्दा त एकैछिनमा पुगिन्छ कि जस्तो लागेको थियो, तर आधा घण्टाको निरन्तर चढाइपछि खुट्टा र जिउ भारी हुन थाल्यो र धेरै बाँकी रहेछ भन्ने मनमनै सोच्न थालेँ।
सधैं तराईको समतलमा हिँड्ने बानीले गर्दा पहाडका ठूला–ठूला भर्याङ चढ्न सुरूको ३० मिनेट निकै गाह्रो भयो। त्यतिबेलासम्म ८ पनि बजेको थिएन, र पहाडमा बिहानको घामले सबैलाई पसिना आउन थाल्यो। सबै जना एक ठाउँमा रोकेर जाडोको लुगा फुकालेर हल्का कपडा लगायौं र थोरै विश्राम गरी गन्तव्यतर्फ प्रस्थान गर्यौं।
उकालो चढ्दै जाँदा त्यो उकालो कहिले सकिएला र छोम्रोंग पुगिएला भनेर सोच्दै, बीच–बीचमा माथि हेर्दै अघि बढ्न थालेँ।
'आहा, साथीहरू, माथि हेरौं, पहिलो डाँडो हामीले पार गर्न लाग्यौं!' भन्दै खुसीसाथ सबैलाई भनेँ।
तर त्यो त मात्र सुरूआत रहेछ; डाँडा काटियो भनेर खुसी भएको ठाउँबाट फेरि त्यस्तै धेरै उकालो चढ्न बाँकी नै थियो।
सबैको भिन्न–भिन्न शारीरिक क्षमता भएकाले अलि अलि चढेर, थोरै विश्राम लिँदै, आफ्नो साथमा ल्याएको पानी र एनर्जी बार खाँदै अन्ततः छोम्रोंगसम्म पुग्यौं।
२१७० मिटर उचाइमा रहेको छोम्रोंगको ताजा हावा, खुला आकाश र चारैतिरको हरियालीले हाम्रो सम्पूर्ण थकान मेटाइरहेको थियो। त्यहाँ एउटा क्याफेमा बस्दै, हामी कफी चिया पिउँदै प्रकृतिको सुन्दर दृश्यमा रमाउन थाल्यौं।
यस पदयात्राले म लगायत अरू साथीहरूलाई नेपाल प्राकृतिक रूपमा धनी छ भन्ने विषयको प्रत्यक्ष झलक र अनुभव दिलाउँदै थियो।
विश्राम र चियापछि हामी पुनः सिनुवातिर हिँड्यौं। छोम्रोंगमा पर्यटक सूचना केन्द्रको कार्यालय पनि रहेको छ। हामी जानेबेला, त्यहाँको एक जना कर्मचारीले हामी सबैको सामान्य परिचय लिई अन्नपूर्ण बेस क्याम्प पदयात्राको अवधिमा पालना गर्नुपर्ने आचारसंहिता बारेमा जानकारी दिनुभयो।
• पदयात्राको क्रममा शान्ति कायम राख्ने, एक अर्काबाट नछुटिने गरी अघि बढ्ने; यात्राको बेला होहल्ला नगर्ने र मोबाइलमा ठूलो चर्को आवाजमा संगीत नबजाउने
• प्लास्टिक वा नकुहिने अन्य सामग्री बाटोमा नफाल्ने; त्यसको व्यवस्थापनका लागि ठाउँ–ठाउँमा राखिएको डस्टबिनमा मात्रै फोहोर फाल्ने
• सिनुवादेखि ब्याम्बुसम्मको यात्रामा बाँदरजस्ता जनावर भेटिन सक्छन्, तसर्थ सकभर बेलुकाको अँध्यारोमा यात्रा नगर्ने र जनावरहरू देखिएमा जिस्क्याउने वा गिज्याउने जस्तो कार्य नगर्ने
• पदयात्रामा आन्तरिक वा विदेशी पर्यटकहरूले कुनै किसिमको पनि धारिलो सामान वा हातहतियार बोक्न निषेध गरिएको छ
• बाटोमा कुनै झगडा वा विवाद भएमा पर्यटक सूचना केन्द्रलाई जानकारी दिने
• उकालो चढ्दा थकाइ लाग्न सक्छ र उचाइको कारण कसै कसैलाई लेक लाग्ने सम्भावना भएकोले सकभर सावधानी अपनाउने; लक्षण देखिएमा आवश्यक औषधि सेवन गर्ने वा जोखिममा परेर यात्रा नगर्ने, अन्यथा दुर्घटनामा परेर ज्यान जाने सम्भावना रहन्छ
सम्झाउने क्रममा उहाँले थप्दै, यदि केही अप्ठ्यारो भएमा सम्पर्क गर्न भनी आफ्नो सम्पर्क नम्बर दिनुभयो र हाम्रो समूह संख्या लगायतका सामान्य जानकारी आफ्नो कार्यालय प्रायोजनका लागि रेकर्ड गरेर सफल पदयात्राको लागि शुभकामना दिँदै हामीलाई बिदा गर्नुभयो।
उहाँले यसरी दिएको उपयोगी सूचनाले म अत्यन्तै खुसी भएँ। सुरूमा मलाई लाग्यो कि त्यस्तो अभिमुखीकरण हामीलाई मात्र गरिएको थियो, तर अलिक पर पुगेर पछाडि फर्केर हेर्दा उहाँ आफ्नो जिम्मेवारी वहन गर्ने क्रममा अरू समूहलाई पनि अभिमुखीकरण दिइरहनुभएको थियो।
छोम्रोंगबाट ओरालो लाग्दा साँच्चै आनन्द महसुस भइरहेको थियो। अब झिनुदेखि छोम्रोंगसम्मको जस्तो ठाडो भर्याङ चढ्न नपर्ला सोच्दै, खुसी हुँदै ओरालो लाग्दै गएँ। त्यहाँको भर्याङ सामान्यभन्दा अग्ला अग्ला थिए, तल झर्ने बेला खुट्टा स्वतन्त्र रूपमा हल्लिएको कारण शरीरलाई सन्तुलनमा राखेर बिस्तारै तल झर्नु परिरहेको थियो।
'अब फेरि चढाइ सुरू भयो,' पछाडिबाट कसैले भन्दै बिस्तारै आइरहेको देखेँ।
हामी ढिलोचाँडो पदयात्रा गर्दै थियौं, तर त्यहाँका स्थानीय बासिन्दाहरू विशेष गरी भरियाहरू त समतल ठाउँमा हिँडेजस्तो आरामदायी तरिकाले उकालो चढिरहेका थिए। त्यति मात्र कहाँ हो र, उनीहरू आफ्नो टाउकोमा ६०–७० किलोको चामलका बोरा, ग्यास सिलिन्डर, र अन्य भारी सामान बोकेर पनि सहजै उकालो लागेका देख्दा हामी सबै चकित भइरहेका थियौं।
पदयात्रामा जाने पर्यटकहरू प्रायः बलिया, महँगा र पानीले नभिज्ने खालका जुत्ता लगाउने गर्छन्, तर त्यहाँका मानिसहरू सामान्य जुत्ताहरू लगाइरहेका र भरियाहरू चप्पल मात्र लगाएर भारी सामान ढुवानी गर्दै थिए, जुन मेरो लागि अविश्वसनीय थियो। यो मेरो पहिलो पदयात्रा भएको कारणले पनि होला, ती दृश्यहरू देख्दा निकै अचम्म लाग्यो, तर अरू साथीहरू प्रायः पदयात्रामा गइरहने भएको कारण त्यो सामान्य नै लागेको थियो।
यात्राको क्रममा, छोम्रोंगबाट तल झर्दै गर्दा, एक जना भरिया जो विदेशी पर्यटकको भारी सामान बोकेर हिँडिरहेका थिए। उनी बिस्कुन लागेर थकाइ मार्दै एकछिन विश्राम गरिरहेको देखेपछि, मलाई उनीसँग थोरै कुराकानी गर्न मन लाग्यो।
उनको छेउमा गएर अभिवादन गर्दै सोधेँ, 'दाइ, हजुरहरूलाई यत्रो भारी बोकेर हिँड्न गाह्रो हुँदैन?'