नेपाल र चीनबीच पौराणिक र ऐतिहासिक सम्बन्ध छ। यी सम्बन्धका अनेक आयाम छन्। त्यसैमध्ये मानसरोवर–कैलाश आफैमा अद्वितीय महत्त्वको क्षेत्र हो। यो हिन्दु धर्मका देवादिदेव महादेवको मूलघर हो भने बुद्ध घर्म, जैन धर्म, शैव धर्म लगायत हरेक ध्यानी-ज्ञानीका लागि ठूलो तीर्थस्थल हो।
चीनकै तिब्बतका मूलवासी पनि भुइँमा लम्पसार परेर सुत्दै, उठ्दै तीन पाइला बढेर नमस्कार गर्दै यही प्रक्रियाबाट एक महिना लगाएर कैलाश पर्वत परिक्रमा गर्छन्। सामान्य नेपालीलाई महँगो पर्ने मानसरोवर–कैलाश तीर्थयात्रा सम्पन्न गर्दा आफ्नो भोगाइका आधारमा मैले यो लेख तयार गरेको हुँ।
तीर्थयात्रीलाई सूचना
मानसरोवर–कैलाश क्षेत्र अनकन्टार र अतिदुर्गम छ। अगाडि बढ्ने बाटो कुन हो, कुन बाटो कहाँ पुग्छ, कहाँबाट कुन ठाउँ कति दूरीमा छ, उचाइ कति हो जस्ता सूचनाको अभाव छ।
बास बस्ने लज र होटल, बिरामी परेको खण्डमा उद्धार, तीर्थयात्रीले ध्यान दिनुपर्ने मुख्य कुरा, चोरी–ठगी, सुरक्षा प्रबन्ध जस्ता विषय अंग्रेजी भाषामा लेखेर राख्न आवश्यक छ।
भाषाको समस्या र सूचनाको अभावका कारण मानसरोवर–कैलाश यात्रा एक हिसाबले अँध्यारोमा हिँडेजस्तो हुँदो रहेछ।
तोड्नै पर्ने गाडी सिन्डिकेट
निकै लामो यात्रा गरेर मानसरोवर–कैलाश पुगिन्छ। बाटाहरू आकर्षक र राम्रा देखिए पनि मानसरोवर पुग्ने मुख्य द्वार छिर्दा हिलो र बालुवामा गाडी फस्ने अवस्था छ। पानी पर्यो भने ओत लाग्ने ठाउँ छैन। चियाखाजा खाने र सुस्ताउने ठाउँ पनि छैन।
अझ दुःखको कुरा, तीन-चार दिन यात्रा गरेर लगेको गाडी मानसरोवरभित्र प्रवेश नदिइने रहेछ। तीर्थयात्रीले आफ्नै गाडी लैजान पाउने कि नपाउने भन्ने कुरा त्यहाँ गेटमा बसेका व्यक्तिहरूको इच्छामा भर पर्ने रहेछ। तिनलाई पैसा (घुस) खुवाएर गाडी लैजान सकिने रहेछ।
मानसरोवर परिक्रमा मार्ग सुधार
कैलाश पर्वत हिँडेर र मानसरोवर गाडीमा परिक्रमा गर्ने चलन छ। गाडीबाट गरिने परिक्रमा करिब तीन घन्टाको हुन्छ। यो तीन घन्टा धुलाम्मे कच्ची र उबडखाबडयुक्त सडकमा निकै झन्झटिलो र कष्टकर छ।
मानसरोवर परिक्रमा गर्ने सडकको दुरवस्था देख्दा चित्त दुख्यो।
नुहाउने घाट निर्माण
त्यति विशाल मानसरोवरमा नुहाउने घाट कतै देखिएन। हामीले पश्चिम–उत्तर किनाराको धर्मशालानजिक हिले ठाउँमा नुहायौं। नुहाउन जाँदा अत्यधिक चिसोका कारण चप्पल लगाउनुपर्छ तर चप्पल हिलोमा गाडिने अवस्था छ।
हामी घुँडासम्मको हिलोमा धस्सिँदै मानसरोवरको किनारमा पुगेर छिपछिपे हिले पानीमा नुहाएर फर्कियौं।
फर्किंदा घुँडासम्म हिलो लाग्छ तर धुने पानी छैन। नुहाउने घाट सजिलो बनाउन र नुहाएपछि थप सफा हुन तातो–चिसो पानीको व्यवस्था गर्नुपर्ने देखिन्छ।
शौचालय सुधार
शौचालय कतिसम्म खराब अवस्थाको हुन सक्छ भन्ने मनसरोवर यात्रामै थाहा भयो। लहरै रहेका सामूहिक शौचालय खप्नै नसकिने दुर्गन्धित र भित्र पस्नै नसकिने अवस्थाका छन्।
कुनै पनि ढोकामा चुकुल छैन। पानी छैन। मलमूत्र त्याग गोप्य रहने स्थिति नै छैन। उदेकलाग्दो र बिजोग अवस्था छ। दुस्मनले पनि त्यति खराब शौचालय प्रयोग गर्नु नपरोस्!
म भुइँमान्छेले पनि त्यहाँको शौचालय प्रयोग गर्न सकिनँ। सकेसम्म राति नै उठेर, मौका पारेर खुला ठाउँमा शौच गरेँ। धेरैले त्यसै गर्ने रहेछन्। यस्तो भएपछि खुला ठाउँ कस्तो होला!
मानसरोवरभित्र पानीको ताल छ, बाहिर खुला ठाउँमा मलमूत्रले बेहाल छ।
मन्दिर र शिवलिंग
यति प्रसिद्ध र आस्थाको केन्द्र मानसरोवर–कैलाशमा मन्दिर छैन, शिवलिंग छैन। शिवको मूर्ति र कुनै स्वरूप छैन। यात्रुले लगेको भेटी र प्रसाद चढाउने ठाउँ छैन। करिब दस दिनको धार्मिक यात्रामा पुगिने मानसरोवर–कैलाशमा भगवान सम्झेर 'माथा टेकाउने' निर्दिष्ट स्थान नै छैन।
कैलाश यात्राको सुरूआतमा 'यमद्वार' भनेर उच्च मर्यादा दिइने स्थान एउटा सानो 'माने' सरह छ। त्यसमा चढाइएको पैसा कुहिएको देखिन्छ।
गर्नैपर्ने उपचार प्रबन्ध
तिब्बती प्लेटोमाथि करिब ४६ सय मिटर उचाइमा अवस्थित विशाल ताल मानसरोवर र करिब ५६५० मिटर नाघेर हिँड्नुपर्ने कैलाश पदयात्रामा अत्यधिक चिसो र कडा हावाहुरी हुने नै भयो।
हजारौं संख्याका तीर्थयात्री हिँड्ने स्थानमा एउटा पनि 'हेल्थ क्याम्प' वा आकस्मिक उपचार केन्द्र छैन। निजी क्लिनिक पनि छैन। औषधि पाइँदैन।
असंख्य यात्रु पुग्ने ठाउँमा आकस्मिक उपचारको व्यवस्था नदेखेर धेरै अचम्म लाग्यो। ठूलो धनराशी खर्च गरेर आउने तीर्थयात्रीको जीवनमाथि ख्यालख्याल गरेजस्तो देखियो।
लेक लागेमा लिनुपर्ने अक्सिजनसहितको सुरक्षित स्वास्थ्य केन्द्र हुनुपर्ने थियो। स्वास्थ्य शिविर चलाउनुपर्ने थियो। उपचार नपाएर यात्रुको ज्यान पनि जाँदो रहेछ। मैले त्यस्तो घटना प्रत्यक्ष देखेँ।
गर्नैपर्ने यात्री कल्याणको काम
उच्च हिमाली भेग र अतिप्रतिकूल भूगोलमा मानसरोवर र कैलाश पदयात्रामा जाने यात्रीको कल्याण र हितका खातिर कुनै व्यवस्था देखिएन।
तीन दिनको परिक्रमामा यात्रीको स्वास्थ्य र जीवन सुरक्षाका लागि कुनै पूर्वाधार छैन। बाटोमा हिँउ पर्यो भने ओत लाग्ने ठाउँ छैन। तातो पानी पिउन पाउने सुविधा पनि छैन।
करिब ५० वर्षअघि मेरा हजुरबुबा पुस्ता कैलाश यात्रामा जाँदा भोगेको कष्ट र आजको कष्ट उस्तै रहेछ। प्राकृतिक अवस्था उस्तै हुनु स्वाभाविक हो तर यात्री कल्याणमा ठूलो फरक पर्नुपर्ने थियो। सुविधा बढ्नुपर्ने थियो।
आकस्मिक उद्धारमा हेलिकप्टर
जीवनको सुरक्षा सबभन्दा महत्त्वपूर्ण पक्ष हो। उच्च हिमाली क्षेत्रमा आकस्मिक उद्धार गर्ने सहज साधन हेलिकप्टर नै हो तर मानसरोवर–कैलाश क्षेत्रमा उद्धारका लागि हेलिकप्टर लैजान दिइँदो रहेनछ।
मानसरोवर–कैलाश क्षेत्रमा चिनियाँ हेलिकप्टर उड्दा रहेछन्। हेलिकप्टर उड्ने नै भएपछि सुरक्षामा आघात पर्छ भन्ने नठान्नुपर्ने हो। यसमा ध्यान दिन आवश्यक देखियो।
सुधार गर्नुपर्ने अन्य विविध पक्ष
बाटोमा सुरक्षा संयन्त्रहरू विस्तार गर्नुपर्ने देखिन्छ। आवश्यक ठाउँमा सिसी क्यामराबाट पनि निगरानी गरे हुने हो।
तीर्थयात्रीहरूलाई ठग्न निकै दलाली पनि चल्दो रहेछ। तीर्थयात्रीले घोडा प्रयोग गर्दा एक दिनको ७० हजार नेपाली रूपैयाँ बराबर पैसा तिर्नुपर्दो रहेछ। यसबाट घोडाधनीले जम्मा २० हजार नेपाली रूपैयाँ मात्र पाउँदो रहेछ।
यस्तो ठगी र दलाली नियन्त्रण गर्ने कुनै संयन्त्र देखिएन। शुल्कसम्बन्धी कुनै जानकारी वा सूचना छैन।
स्थानीय प्रहरी र अध्यागमनबाट यात्रीमाथि धेरै कडा व्यवहार हुँदो रहेछ। मानसरोवर किनारमा चिनियाँ प्रहरीले लाठी लिएर तीर्थयात्रीलाई लखेटेको देखियो। यात्रीको सुरक्षातर्फ भने कुनै प्रबन्ध छैन।
(लेखक अवकाशप्राप्त प्रहरी वरिष्ठ उपरीक्षक तथा कानुनका प्राध्यापक र अधिवक्ता हुन्)