भाग-३
भ्रमणको ५ दिन:
आज सांघाई सहरको भ्रमण सुरू भयो। यो सहर विकासको दृष्टिले अति नै विकसित रहेछ। यो ठाउँ समुद्र सतहबाट १० मिटर उचाइमा रहेको कारणले होला यहाँ गर्मी र ह्युमिडिटी अलि बढी नै थियो।
बिहान ८ बजेबाट हाम्रो भ्रमण यात्रा सुरू भयो। पहिला हामीलाई जेट बुद्ध मन्दिरमा घुमाए। निकै नै आकर्षक मन्दिर रहेछ त्यहाँ लामाहरू पनि देखिए। त्यहाँको लामाको ड्रेस नेपालको भन्दा अलि फरक रहेछ पहेंलो लुगा र कालो रहेछ। अनि मैले सोधेँ- किन पहेंलो र कालो?
उनले भने- पहेंलो चाहिँ पूर्ण लामा हुन्, कालो ड्रेसमा भएकोहरू चाहिँ विद्यार्थी हुन्। त्यहाँ बुद्धका मूर्तिहरू रहेछन्, हामी चाहिँ धर्मप्रति अलि आस्था राख्ने भएकोले त्यहाँ धुप बालेर अलि अलि दान पनि गर्यौं, मन खुसी भयो।
४५ मिनेट जति घुमाइपछि हामीलाई गाइडले नानजिङ रोडतिर लिएर गयो त्यो पनि सपिङ क्षेत्र नै रहेछ। त्यहाँ घुम्न हामीलाई १ घण्टाको समय भनेका थिए, खासै सामान किनिएन। सबै ब्रान्डेड रहेछ मूल्य हेर्दा नेपालको र त्यहाँको खासै फरक थिएन। त्यहाँको तापक्रम ३० डिग्रीमाथि नै थियो।
चीनमा पनि नेपालमा जस्तो फोहोर टिप्ने बोरा बोकेर हिँड्ने मान्छेहरू हुँदा रहेछन्, यस्तो विकसित देशमा पनि फोहोर टिप्ने, अरूले फालेको खाना टिपेर खाने रहेछन्। हाम्रो ग्रुपको एक जना दिदीले जुस अलिकति खान नसकेर त्यो गिलासमा नै फालेका थिइन्, त्यो जुस त्यो मान्छेले टपक्क टिपेर खायो। विकसित देशमा पनि यस्तो खान नपाउने मान्छे पनि रहेछ भन्ने सोचेँ।
१ घण्टा भैसकेको थियो। गाइड आएर हामीलाई एउटा सानो सपिङ सब वेमा लिएर गयो, त्यहाँ हामी चकलेटहरू किन्यौं। त्यसपछि बजार भन्ने ठाउँमा लग्यो। त्यो ठाउँमा चाहिँ पुराना भवनहरूमा पसलहरू रहेछन्। त्यहाँ हल्का फुल्का घुमेर लन्च खायौं। त्यसपछि हामीले सपिङको लागि अरू ठाउँमा लिएर जान गाइडलाई अनुरोध गर्यौं।
उनले भने- होलसेल मार्केट छ तर त्यहाँ सावधानी अपनाएर सपिङ गर्नू।
'त्यहाँ तपाईंहरूलाई ठग्न सक्छ। कसैले तपाईंलाई यता सामान सस्तो छ, राम्रो छ म देखाइ दिन्छु भनेर लैजान खोजेमा नजानू'
हामीले पनि सोही अनुसार नै गर्यौं।
गाइडले भने जस्तै हामीलाई २/३ जनाले फलो गर्दै थिए तर हामीले वास्तै गरेनौं। त्यहाँ त्यस्ता व्यक्तिले पछ्याउन थालेपछि हामी बाहिर निस्कियौं। त्यसपछि हामीलाई सांघाईको एउटा विशेष क्षेत्र बत्ती बाल्ने ठाउँतिर लिएर गयो गाइड लुइसले।
हामी पुग्नुभन्दा अगाडि नै मानिसहरूको भिड थियो। प्राय: जसो त्यहीँका नागरिकहरू नै थिए पर्यटकहरू कम देखिन्थे। चाइनिजहरू हजारौंको संख्यामा यताउता हिँडिरहेका देखिन्थे। हामी त्यो ठाउँमा ६:३० बजेतिर पुगेका थियौं। बत्तीहरू ७ बजे बाल्ने रहेछन्।
त्यहाँ पनि पकेटमार हुन्छन् आफ्नो ब्यागहरू राम्रोसँग बोक्नु भनेर गाइडले सम्झायो। त्यही अनुसार हामी आफ्नो सामान सुरक्षितका साथ बोकेर हिँड्यौं। अचम्म त के लाग्यो भने त्यस्तो विकास भएको ठाउँमा पनि पाकेटमार हुन्छन भन्दा विश्वास लागेन। तर जे होस् गाइडले भने पछि त मान्नै पर्यो।
हामी त्यो बत्ती बाल्ने ठाउँमा पुगेको केही समयमा नै सबैतिरको बत्ती बाल्न थाले। त्यहाँ बत्ती ठ्याक्कै बेलुकाको ७ बजे बाल्ने रहेछ। बत्ती बल्दा रमाइलो लाग्यो। सबैतिर एकसाथ बत्ती हेर्न पाउँदा हाम्रो नेपालको दीपावलीको याद आयो। त्यस्तै खालको सबै भवनहरू प्रकाशमय उज्यालो हुँदा रहेछ। हामी सबै जना फोटो खिच्न व्यस्त भयौं। त्यहाँ आउने सबै जना नै फोटो खिच्न व्यस्त हुने रहेछन्।
बत्ती ७ बजेदेखि रातको १० बजेसम्म बल्ने रहेछ। करिब एक घण्टा लाइटको मनोरञ्जन लिएपछि हामी ८ बजेतिर हल्का डिनर खाएर त्यहाँबाट निक्लियौं। हाम्रो त्यहाँको अन्तिम घुमाइ भनेको फ्रेन्च क़्वर्टर थियो, त्यो ठाउँ भनेको चाहिँ नाइट मार्केट रहेछ। क्लब, बारहरू, यो चाहिँ हाम्रो नेपालको ठमेल जस्तो ठाउँ रहेछ।
यो क्षेत्रलाई कुनै समयमा पहिला फ्रेन्चले भाडामा लिएर चलाएको रहेछ। त्यही भएर होला सायद केही गोराहरू त्यहाँ देखिए, उनीहरू फ्रेन्च थिए। २५ मिनेट जतिको घुमाइपछि हामी होटलतर्फ लाग्यौं।
होटल पुग्दा रातको साढे १० जति बजिसकेको थियो। आजको दिनको घुमाइ धेरै भएकोले थकाइ पनि लागेको थियो। होटल पुग्ने बित्तिकै सुत्ने तरखर गर्यौं र करिब ११ बजेतिर सुत्यौं।
दिन ६
आज हाम्रो चीन सांघाईको अन्तिम बसाइ भित्र मनदेखि गाइड, होटल सबैलाई धन्यवाद भन्दै हामी नेपाल आउने तयारीका साथ बिहानको ब्रेकफास्ट खाएर होटलबाट चेक आउट लागि साँचो होटलको काउन्टरमा बुझायौं।
हामीलाई ड्रप गर्न गाइड लिन्डा आएकी थिइन्। बिहानको साढे आठ बजिसकेको थियो। बाटोमा ट्राफिक जाम पर्न सक्ने हुनाले हामी केही समय अगाडि नै जानुपर्छ भनेकोले हामी ९ बजे नै हिँड्यौं, बाटोमा मुसलधारे पानी परिरहेकाले बस बिस्तारै नै गुडाइन्। करिब डेढ घण्टाको यात्रापछि हामी एयरपोर्टमा १०:३० तिर पुग्यौं। हामी बोर्डिङ पास लिनको लागि लाइनमा बस्यौं।
एक जना बैनी मासिन मायाको नाम र पासपोर्ट नम्बर मिलेन भनेर फर्काइदियो। गाइडले करेक्सन गर्न एयरलाइन्सको काउन्टरमा त्यो बैनीलाई लिएर गइन्। सबै मिलाएपछि बोर्डिङ पास लिँदै हामी सबै अध्यागमनतिर लाग्यौं।
हामीलाई समस्या पर्ला भनेर लिन्डा बाहिर कुरेर बसिरहेकी थिइन्। त्यो उनको कुराइलाई म व्यक्तिगत रूपमा विशेष धन्यवाद दिन चाहन्छु।
सेक्युरिटी चेक गर्दै हामी जहाज भएको ठाउँतिर जाँदै थियौं, केही साथी पारिपट्टि कुरिरहेका थिए। हामीले पहिला नै भनेका थियौं कि सबै जना उता एक ठाउँमा पर्खने अनि सबै जना जम्मा भएपछि मात्र जाने। सबै जना एकैचोटि क्लिएर भएर जाने। यसरी केही साथी पार भैसकेका थिए भने मेरी श्रीमतीलाई रोकिराखेका थिए। कारण थियो- नाम मिलेन रे।
एयरलाइन्सले बोर्डिङ गर्दा मिस्टेक गरिदिएको रहेछ। गाइड लिन्डाले मेरी श्रीमतीलाई कुदाएर करेक्सन गर्ने ठाउँमा लगेर करेक्सन गरी ल्याइन्। यसै बेला मेरो झोला, ह्यान्ड क्यारी लगेज स्क्यानिङ सेक्युरिटी चेक हुँदै थियो।
मेरो लगेज स्क्यान गर्दा उनीहरूलाई त्यो लगेजमा केही मेटल छ जस्तो लगेर मलाई अफिसरले सोध्यो- 'यू ह्याभ नाइफ?' मैले 'नो' भनेँ। फेरि स्क्यानिङ मेसिनमा चेक गरियो। 'हेयर इज नाइफ' भनी।मैले भनेँ- यू क्यान चेक।
उनले सबै खोलेर हेरिन्। उनी महिला अफिसर थिइन्। केही पनि भेटिनन्। मलाई हेरी, मैले पनि उनलाई हेरेँ, अनि मैले भनेँ- आई डन्ट ह्याभ एनि नाइफ म्याम।
उनले स्क्यानिङ गर्ने अफिसरलाई सोधिन्। फेरि चेक गरिन्। लगेजको सामान छुट्टाछुट्टै चेक गरिन्। अन्तिममा त्यो एल्बममा छ भनेर संकेत गरिन्। मैले सोचेँ यसमा त के नै होला र!, यो त मैले ग्रेटवालमा लिएको यसमा त केही छैन होला भन्ने सोचेँ। तर त्यो एल्बममा त सोचेभन्दा फरक सानो पेपर कटर पो रहेछ। पेपर कटर भाँचेर राखेको रहेछ। म त छक्क परेँ। झसङ्ग भएँ, त्यो अफिसरले एल्बमको अन्तिम पानाबाट नाइफ निकाली। एल्बमको अन्तिम पाना त्यो बाक्लो पानाको बीचमा राखेर टाँसिएको रहेछ।
त्यसपछि उनले मलाई देखाएर सोधिन्- ह्याई यू टेक दिस् नाइफ?
मैले पनि अंग्रेजीमा नै भनेँ- आई डन्ट नो, आई वट दिस एल्बम इन ग्रेटवाल, आई डन्ट नो इट इज इन्साइड। त्यसपछि उनले अर्को पुलिसलाई बोलाइन्।
अर्को पुलिस आएर मेरो पासपोर्ट र बोर्डिङ पासको फोटो खिचे। त्यो सानो ब्लेडको पनि फोटो लियो। नाप लियो। फोटो खिच्न थाले। अनि मलाई अरू पुलिसहरूले पनि सोधे- ह्याई दिस नाइफ?
मैले एउटै जबाफ दिइरहेँ कि- आई डन्ट नो, दिस् इज नट माइन।
एक जना पुलिसले सोध्यो- होयर यू कम फ्रम?
मैले जबाफ दिएँ- वि आर फ्रम नेपाल, आई एम् व्विथ फेमिली भिजिटिङ योर कन्ट्री, ह्यू ह्याभ ग्रुप।
सबै हाम्रो ग्रुपलाई नै पुन: सेक्युरिटी चेक स्क्यानिङ गरे।
अनि मलाई चाहिँ 'वेट' भने र बाँकीलाई चाहिँ उता जानू भने।
अरू ग्रुप अलि पर गएर बसिरहे।
मलाई अलि उतापट्टि प्रहरीको अफिसमा लगे। पुन: सोधपुछ भयो। कहाँबाट आएको, कहिले आएको, कहाँ कहाँ घुम्यौ, किन यस्तो चिज बोकेको, विविध प्रश्नहरू गरिरहे।
मैले पनि नडराइकन जबाफ दिएँ। म आएको २९ अगस्टमा हो। आज फर्किंदै छु, छेन्दुमा ट्रान्जिट छ। भोलि सेप्टेम्बर ४ मा मेरो काठमाडौंको फ्लाइट ९.०५ बिहान छ भनेँ।
अनि उनले वाकीटकीबाट सायद माथि कुरा गरे जस्तो लाग्यो।
अनि एकछिनपछि मलाई पासपोर्ट, बोर्डिङ पास र त्यो एल्बम फिर्ता दिँदै 'यू क्यान गो' भने। यसरी एउटा एल्बमको कारण म झन्डै हिरासतमा पुगिनँ, जुन कुराको मलाई भेउ नै थिएन।
मलाई एल्बम चाहिँ लिन मन लागेन। किनकि त्यो सामान मैले मेमोरीको लागि लिएको थिएँ तर त्यो मेरो लागि ब्याड मेमोरी भयो। साइडमा केही पुलिसहरू उभिरहेका थिए।
मैले उनीहरूलाई सोधेँ- ह्वयर इज ट्र्यास बिन?
एक जनाले देखायो- देअर।
अनि मैले भनेँ- आई डन्ट वान्ट दिस्।
एक जना पुलिसले भन्यो- नो नो नाउ यू क्यान टेक दिस्।
अनि मैले उनलाई भनेँ कि- आई वट दिस् फर स्वीट मेमोरी बट दिस् मेड मि ब्याड मेमोरी सो आई डन्ट वान्ट भनेर त्यहाँ फालिदिएँ।
पुलिसहरूले हेरिरहेका थिए। अनि मैले 'ओके बाई' भन्दै त्यहाँबाट अलि पर आएँ।
त्यति बेलासम्म मेरी श्रीमतीको अझै पनि अध्यागमनमा क्लियर भएको रहेनछ।
उनको नाम र बोर्डिङको नाम मिलाएर आउँदा अझै भएको रहेनछ। उनलाई अझै अर्को २० मिनेट जति कुर्यौं। अनि उनी पनि आइन् र हामी सबै चेक इन गर्न गेट नम्बर H १५५ तिर गयौं। जहाजको सिटमा गएर बस्यौं। मुड अफ भयो। एयर होस्टेससँग पानी मागेँ। पानी पिएँ, टेन्सन लाग्यो। अनि सोच्न थालेँ कि, यिनीहरूको देश मात्र विकास भएको रहेछ, ठूला ठूला पुलहरू बनाएछन्, चिल्ला चिल्ला बाटोहरू बनाएछन्, गगनचुम्बी भवनहरू बनाएछन्, कारहरू बनाएछन्, मोबाइल बनाए, विश्वमा नम्बर १ भए। तर मलाई त लाग्यो कि यिनीहरूको केही नागरिकले अझै धेरै सिक्न बाँकी रहेछ। बौद्धिकस्तर त तल नै रहेछ। एल्बममा सानो ब्लेड राखेर बिक्री गर्नु, अरूलाई दु:ख दिने नियत हो, किनकि त्यो एल्बम भनेको त पर्यटकले मात्र किन्ने हो, स्थानीयले त किन्दैनन्। उनीहरूले त दु:ख पाउँदैनन्। दु:ख पाउने त घुम्न आउने पर्यटकले हो। यस्तो अरूलाई दु:ख दिने नागरिकले तिम्रो देशको उचाइ साँचै नै तल झार्छ। अनि मैले सोचेँ कि यसको बारेमा केही न केही त लेख्नुपर्छ ताकि अन्य नेपाली लगायत अरू कसैले पनि दु:ख नपाओस्।
त्यहाँको प्रशासनले यस विषयमा केही अनुसन्धान गरोस् र अबदेखि अन्य कुनै पनि देशको नागरिकलाई दु:ख नहोस् र एउटा लेख लेख्छु भन्ने निर्णयका साथ मेरो कलम नियात्रा लेख्न सुरू भयो।
वास्तवमा चीनमा घुम्न जान चाहिँ अन्य देशको तुलनामा अलि धेरै समस्या नै रहेछ। किनकि म व्यक्तिगत रूपमा अरू धेरै देशहरू घुमेँ। जस्तो: कतार, दुबई, सिंगापुर, मलेसिया, थाइल्याण्ड। यी देशहरू घुम्दा भाषाको समस्या नहुने, खानाको समस्या नहुने। घुम्दा सुरक्षित महसुस हुने। तर चीनमा मलाई त्यस्तो सहज अनुभव भएन।
अहिले हाम्रो नेपालीहरूमा पनि घुम्ने ट्रेन्ड चलिरहेको छ। म तपाईंहरूलाई के भन्न चाहन्छु भने सोभिनेयरको लागि भनेर ग्रेटवालबाट सकेसम्म केही पनि नलिनु होला, यदि लिन नै इच्छा भए सामानहरू एकदम राम्रोसँग चेक गरेर मात्र लिनु होला। यो मेरो अनुभव तपाईंहरूलाई सेयर गरेको छु।
अनि अर्को कुरा भनेको चाइनिज भाषा नजाने पनि अंग्रेजी चाहिँ राम्रोसँग बोल्न सक्ने नै भएर यात्रा गर्नुस्, नत्र कहिलेकाहीँ अनायासै दु:ख पाउन सक्नुहोला। करिब ३ घण्टा जतिको जहाजको यात्रापछि हामी छेन्दु विमानस्थल पुग्यौं।
लोकल गाइडले हामीलाई सट्टल बसको व्यवस्था गरी होटल पुर्याउने व्यवस्था गरिन्। उनको नाम लुइसा थियो। उनको व्यवहार पनि हामीप्रति राम्रो नै थियो।
उनले हामीलाई केही समस्या परेमा 'मलाई विच्याटमा कल गर्नु भनी नम्बर दिइन्।
हामी होटलमा ६ बजेतिर पुग्यौं। समय केही बाँकी छ सपिङ गर्न जाऊँ भने साथीहरूले। त्यहाँ नजिकै हङकङ मार्केट रहेछ। हल्काफुल्का सपिङ गरेपछि राति १० बजेतिर होटलमा फर्कियौं। बाहिरपट्टि केही चाइनिज रेस्टुरेण्ट रहेछ केही भेज खाना किनेर खायौं। भोलि नेपाल फर्किनको लागि सामानहरू लगेजमा प्याक गरी हामी करिब ११ बजेतिर सुत्यौं।
दिन ७
आज हाम्रो चीन भ्रमणको अन्तिम दिन। बिहान ४:३० बजे नै उठेर तयारी भयौं। हाम्रो फ्लाइट बिहान ९:०५ को थियो। बस ६ बजे आयो त्यो बस चाहिँ एयरपोर्टको सट्टल बस रहेछ। सबै लगेजहरू बसमा राखेर हामी सबै जना एयरपोर्टतिर लाग्यौं।
बसमा हाम्रो ग्रुपबाहेक अरू पनि थिए। करिब आधा घण्टा बसको यात्रापछि हामी सबै जना छेन्दु विमानस्थल पुग्यौं। सिचुवान एयरलाइन्सको काउन्टरबाट बोर्डिंङ पास लिएर सिधै अगाडि अध्यागमनतर्फ गयौं। केही समस्या पर्ला भनेर हामीले राम्रोसँग कन्फर्म गर्न लगायौं। अध्यागमनको चेकजाँचपछि हामीलाई एक्जिटको छाप लगाएर हामीलाई नेपाल आउन अनुमति भयो, प्लेनमा चढ्नको लागि गेटतिर लागियो। बीच बाटोमा सानो ड्युटी फ्री मार्केट रहेछ, केही चकलेटहरू किन्यौं। ड्युटी फ्री सोचेजस्तो ठूलो रहेनछ, भर्खर बन्दै गरेको जस्तो देखिन्थ्यो। यसरी चीनको तितोमिठो सम्झनाहरू लिएर हामी नेपाल फ्लाइट नम्बर ३यु३९०१ सिचुवान एयरलाइन्स छेन्दुबाट नेपाल प्रस्थान गर्यौं।
यी पनि:
चीनको यात्रा: सांघाई अध्यागमनमा पाएको दु:ख!
चीनको ग्रेटवाल चढ्दाको त्यो क्षण