तिब्ब्तको सानो र सुन्दर सहर दार्चेन बजार। चार हजार ६७० मिटरको उचाइमा रहेको यो बजारबाट कैलाश पर्वतको यात्रा सुरू हुन्छ।
चिसो मौसम। छिनमै घाम र छिनमै सिमसिम पानी। मन्द घाम लाग्दा हल्का खुलेको कैलाश पर्वतलाई होटलकै कोठाबाट हेर्न पाइने। तर एकैछिनमा हुस्सुले कैलाशलाई घुम्टो लगाइदिहाल्ने।
यहीँबाट सुरू हुन्छ कैलाश पर्वतको यात्रा। कतिपयले यो यात्रा तीर्थयात्राका रूपमा गर्छन्, कतिपयले ट्रेकिङ।
हामी अल्पाइन कैलाश ट्रेकमार्फत गएका थियौं। अघिल्लो दिन कैलाश मानसरोवर घुमेर दिउँसै दार्चेन पुग्यौं। दार्चेनमा हाम्रो बसाइ एक रातको थियो। कैलाश पर्वतको फेदीमा रहेको सुन्दर र सानो सहर दार्चेन साँझभरी घुम्यौं। बेलुका खानापछि आराम गर्यौं। भोलिपल्ट बिहान ५ बजे नै यमद्वार जानेबारे गाइडहरूले बताइसकेका थिए।
बिहानको नास्ता लिए पछि हामी यमद्वार जान तयार भयौं। यमद्वार प्रवेशसँगै हामी कैलाश परिक्रमामा निस्किने तालिका थियो। हिँड्नुपर्ने भएकाले हलुका झोला बोक्न गाइडहरूले सुझाव दिएका थिए। सामानहरू दार्चेनमै छोड्यौं। ट्रेकिङका लागि केही खानेकुरा र लुगा बोक्यौं।
दार्चेनबाट निस्किने बेला धेरै जना बिरामी भएको देखियो। अरू ट्राभल कम्पनीबाट गएका थुप्रै यात्रुहरू दार्चेनमै बसे। उनीहरूलाई अक्सिजनको कमी भएछ।
बसको करिब एक घन्टाको यात्रापछि हामी पनि यमद्वार पुग्यौं। शान्त, सफा र चिसो मौसम। हल्का पानी परिरहेको थियो। तीन फन्को घुमेर यमद्वारको पूजा गर्दै हामी कैलाशको बाटो अघि बढ्यौं।
कैलाश पर्वत परिक्रमाको यो पहिलो दिन हो। यो दिन १२ किलोमिटर हिँडेर देरापुक पुग्नुपर्ने रहेछ।
खोलाको किनारा जस्तो बाटो। माथिका हिमालहरू पग्लिएर निश्चल पानी बगिरहेको थियो। मानव निर्मित जस्तै देखिने प्राकृति सौन्दर्य। यस्तै मनमोहक दृश्य हेर्दै थोरै हिँड्दै अनि उभिँदै फेरि हिँड्दै अघि बढ्यौं। बाटोमा थुप्रै यात्रुहरू भेटिए।
बेलुकीपख हामी देरापुक पुग्यौं। देरापुक कैलाशकै आँगन रहेछ जहाँबाट कैलाश पर्वत आँखै अगाडि देखिन्थ्यो।
बिहान सूर्योदयको समयमा घामका किरण पर्दा कैलाश सुनौलो देखिने रहेछ।
हामी पुग्ने बेलामा पानी परिरहेकाले आधा भाग मात्र देखिएको थियो। आधा भाग कुहिरोले छेकिसकेको थियो।
देरापुकमा गाउँघरका विद्यालय भवन जस्ता देखिने होटल थिए। सिजनमा धेरै यात्रु जाने भएकाले टेन्टमा पनि बस्ने व्यवस्था रहेछ। होटलमा एउटा कोठामा दुईदेखि पाँच वटासम्म बेड थिए। गाडइहरूले कोठामै सुप, खिचडी र तातो पानी ल्याइदिए।
मौसम धुम्म थियो। रातभरि पानी पर्यो भने भोलिपल्ट कैलाश परिक्रमा गर्न नसकिने गाइडहरू बताउँदै थिए।
भोलिपल्ट बिहानको पाँच बजे देरापुकबाट उकालो चढ्नुपर्ने कुरा थियो। अघिल्लो दिनको भन्दा दोब्बर दुरी पार गर्नुपर्ने। ६ किलोमिटर उकालो चढ्न केही गाह्रो भए पनि त्यसपछिको ओरालो र समथरमा हिँड्न सजिलो हुने गाइडले सुनाए।
धेरैजसो यात्रु प्रायः अत्याधिक हिउँ पर्दा र माथि चढ्न नसकेको अवस्थामा देरापुकसम्म पुग्ने र फर्किने रहेछन्। त्यहाँबाट अघिल्लो दिन हिँडेकै बाटो हुँदै फर्किनुपर्ने रहेछ। केही यात्रु जिप वा घोडामा चढेर फर्किने रहेछन्।
बिहान गाइडहरूले बोलाएपछि बिहान ५ बजेबाट दोस्रो दिनको पैदल यात्रा सुरू भयो। टर्च बाल्दै हामी देरापुकबाट उकालो लाग्यौं। उचाइ बढ्दै थियो, सास पनि। एकछिन बस्दै फेरि उकालो चढ्दै अघि बढ्यौं। केही यात्रु घोडामा यात्रा गरिरहेका थिए।
यो ट्रेकिङमा देरापुकदेखि डोल्मा ला पाससम्मको दुरीलाई केही गाह्रै मानिने रहेछ। कतिपय यात्रुहरूलाई अक्सिजन कमी हुने रहेछ।
निरन्तर हिउँ पर्दा बाटोमा हिउँ जमिसकेको थियो। अलिअलि चिप्लिन्थ्यो। गाइडले डोल्मा ला पास भनेर देखाएको थुम्को नजिकै थियो। हामीसँगै हिँडिरहेका तिब्बतीमूलका यात्रुहरू झोलाबाट ध्वजा निकालेर बाँध्न थाले।
पाँच हजार ६२० मिटरको उचाइमा रहेको डोल्मा ला पास पुगियो। हिउँले ढपक्कै ढाकेका ठूला पहाड र चट्टानका बीचमा छ डोल्मा ला पास। यो उचाइको मनोरम दृश्यले सबै थकान भुलाउँछ। डोल्मा ला पासमा करिब पाँच मिनेट रमाएर ओरालो लाग्यौं।
थोरै ओरालो झर्न साथ फेदमा मनमोहक गौरीकुण्ड देखिन्छ। देवी पार्वतीले स्नान गर्ने गरेको कुण्ड हो भन्ने जनविश्वास रहेछ; ठूलो कुण्ड, टलक्क टल्किने नीलो पानी, हेर्दैमा मन आनन्द हुने।
अब अगाडि जति उकालो चढ्नुपरेको थियो, त्यति नै ओरालो झर्नु परिहाल्यो। तेर्सो बाटो सुरू भएपछि सजिलो भयो।
ठाउँठाउँमा आराम गर्दै हामी सुस्तरी हिँड्यौं। खोला किनारको बाटो थियो, बीचमा बगेको खोलाले यात्रुलाई शीलत पारिदिएझैं लाग्थ्यो।
यो बाटोमा भने घोडा लगिँदो रहेनछ। हिँड्न कठिन हुनेका लागि जिप जस्ता साना गाडी पाइँदा रहेछन्। केही तिनै गाडीमा सवार थिए।
हाम्रो टोली हिँडिरह्यो। साँझपख जुजुलपुकको होटलमा पुग्यौं।
तेस्रो दिन बिहान दुई घन्टँ हिँडेपछि दार्चेन पुगिन्छ भनेका थिए गाइडले। बिहान पाँच बजे नै जुजुलपुकबाट हामी दार्चेनका लागि हिँड्यौं। तातो पानी पिउँदै, ठाउँठाउँमा आराम गर्दै बिहान करिब आठ बजे हाम्रो टोली दार्चेन नजिकै पुग्यो।
कैलाश परिक्रमाबाट फर्केपछिको खुसीमा सबैले तस्बिर खिच्यौं।
हामीलाई लिन गाडी आइसकेको थियो। गाडीमै हामी दार्चेन बजार आइपुग्यौं। दार्चेनमा छाडेर गएका साथी र आफ्ना सामान लिएर फर्कियौं।
दार्चेनबाट सुरु भएको यात्रा दार्चेन नै आएर टुंगियो। यसरी दुई दिन र एक बिहानमा कैलाश पर्वतको परिक्रमा पूरा भयो।
यो केवल कैलाश पर्वत परिक्रमाको अनुभव हो।
काठमाडौंबाट कैलाश पर्वत परिक्रमाका लागि जाने सोचमा हुनुहुन्छ भने पहिलो दिन रसुवाको स्याफ्रुबेसी पुगिन्छ। दोस्रो दिन अध्यागमनको काम पूरा गरेर नाका प्रवेशसँगै केरुङ बजार पुगिन्छ। तेस्रो दिन केरुङबाट सागा, चौथो दिन कैलाश मानसरोवर र पाँचौं दिन दार्चेन पुगिन्छ।
छैटौं दिन दार्चेनबाट देरापुक, सातौं दिन जुजुलपुक हुँदै आठौं दिन जुजुलपुकबाट दार्चेन र उही दिन सागा आइपुगिन्छ। नवौं दिन सागाबाट केरुङ पुगिन्छ, दसौं दिन केरुङबाट काठमाडौं।
एक्लै यो यात्रामा जान सम्भव छैन। अध्यागमन अनुमति लिनुपर्ने भएकाले ट्राभल एजेन्सीमार्फत समूहमा जानुपर्छ। कैलाश जाने उपयुक्त सिजन अंग्रेजी पात्रोअनुसार मे देखि अक्टोबरलाई मानिन्छ।
तस्बिरहरूः