जिरी शब्द मीठो लाग्छ। अझ यहाँको हावापानी, वनजंगल, खोलानाला, मठमन्दिर, सडक अनि लस्करै मिलेको घरहरूले त्यसै त्यसै मन फुरूङ्ग बनाउँछ। बेला बेलामा घुम्न त गइन्छ जिरी। तर जिरी जति पटक पुगे पनि नयाँ नै लाग्छ।
सदरमुकाम चरिकोटबाट ५५ किलोमिटर टाढा रहेको छ जिरी।
साना ठूला जुनसुकै खालका सवारी साधनमा सहज तरिकाले पुग्न सकिन्छ। यही कारण पर्यटकहरू बारम्बार जिरी पुगेका हुन्छन्। जिरीमा जिरी मात्र छैन। जोकोहीलाई जिरीको खावा डाँडा प्रवेश गरेपछि नयाँ अनुभूति हुन्छ। यहाँको हावापानीले एक, दुई दिनको आयु नै बढ्छ कि भन्ने महसुस गर्छन्।
जिरीको बयान शब्दले मात्र पूर्ण नहुन सक्ला। जिरी पुगेकाले पनि जिरी नदेख्न सक्लान्। तर जिरीको जिरी बुझ्नलाई दायाँबायाँ घुम्नु नै पर्छ।
यस पटक हाट डाँडाबाट उकालो हुँदै बुद्धपार्कतिर लागेको थिएँ।
जिरी नगरपालिकाले दोलखामा सञ्चालित रेडियोकर्मीहरूसँगको भेटघाटमा नगर प्रमुख भित्रबहादुर जिरेल र उपप्रमुख कृष्णमाया बुढाथोकीले जिरीको धेरै बयान गर्नुभएको थियो। त्यही बयानले जिरी घुम्न झन् उत्साह बढ्यो।
बुद्धपार्कमा पुग्न हाट डाँडाबाट २० मिनेट जत्ति लाग्यो। बुद्धपार्क समाजसेवी इन्द्र बहादुर खड्काको पहलमा निर्माण गरिएको हो।
बुद्धको मूर्तिको साथै नजिकै रहेको ध्यान केन्द्रले झन् सबैको ध्यान तानेको थियो। यहाँबाट जिरीको हाट डाँडा, लिंकन बजार, चेर्दुङ डाँडा र जिरीको अधिकांश भूभाग नियाल्न सकिन्छ।
त्यसैले जिरी पुग्दा एकपटक बुद्धपार्क पनि पुग्ने कि?