दिन १
मिति २९ अगस्ट २०२४ का दिन श्रीमती दुर्गा माया गुरूङ, छोरी अनुष्का तामाङसहित १३ जनाको ग्रुप सिचुअन एयरलाइन्सको फ्लाइट नम्बर ३ यु ३९०२ बाट बिहान ११:४० को समयमा चीन प्रस्थान गर्न त्रिभुवन विमानस्थल पुग्यौं। अगाडि सेक्युरिटी चेकको बाटो हुँदै बोर्डिङ पास लिन एयरलाइन्सको काउन्टरमा पुग्यौं। बोर्डिङ पास र सिट नम्बर लिएपछि नेपालको अध्यागमनतर्फ गयौं।
एक तलामाथि अध्यागमनमा साधारण सोधपुछ भयो। 'कहाँ जाँदै हुनुहुन्छ? कति दिनको लागि? किन?'
हामीले जबाफ दियौं चीन घुम्न जान लागेको भनेर। 'सब परिवार नै भनेर' सोध्नुभो अध्यागमन अधिकारीले? मैले 'हजुर म, छोरी र श्रीमती' भनेपछि उहाँले 'ल त्यसो भए तपाईंहरू तीनै जनाको फोटो एउटैमा लिनुपर्छ' भन्नुभो। हामी तीनै जना एक साथ उभियौं। 'यति भएपछि त छोरी त हराउँदिनन् बाबामम्मीको साथ लगाएर पठाएपछि' भन्नुभो र अनि हामीलाई अनुमति मिल्यो जान।
त्यसपछि हामी तीन जना लगायत हाम्रो ग्रुप सेक्युरिटी चेकतर्फ अगाडि बढ्यो। यो नेपालको अन्तिम चेक पोइन्ट थियो, यहाँ चाहिँ हाम्रो जुत्ता, पेटी, हाते झोला, पर्स, मोबाइल सबै सानो टोकरीमा राखेर स्क्यानिङ मेसिनमा चेक गरियो अनि त्यहाँ बस्नुहुने प्रहरी अधिकारीले हाम्रो बोर्डिङ पासमा सेक्युरिटी चेकको छाप लगाई हामीलाई अगाडि जान अनुमति दिनुभो, त्यसपछि हामी अगाडिपट्टि प्रतीक्षालयमा आधा घण्टा जति कुरेर बस्यौं, हाम्रो सबै ग्रुप भेट भो।
करिब आधा घण्टा जतिको बसाइपछि हामीलाई जहाजभित्र जनाको लागि एयरलाइन्सको कर्मचारीले माइकिङ गरी बोलाउनुभो र हामी जहाजभित्र जना लाइनबद्ध भई अगाडि बढ्दै जहाजभित्र गयौं। जहाजमा एयर होस्टेसले सिट देखाइ दिनुभो।
सिट नम्बर अनुसार हामी सबै जना आ-आफ्नो सिटमा बस्यौं र केही समयपछि तालिका अनुसार नै हामी नेपालबाट ११:४० मा जहाज चीनको छेन्दुतर्फ उड्यौं।
करिब साढे ३ घण्टा जतिको यात्रापछि हामी छेन्दु अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयौं। त्यसपछि सबै जना छेन्दुको अध्यागमनतर्फ पुग्यौं। त्यहाँ हामी विदेशी पर्यटकले फर्म भर्नुपर्ने रहेछ विस्तृतमा। फर्म भरेपछि चीनको छेन्दुमा जाने अनुमति पायौं। तर हाम्रो ग्रुपको एक जना भाइ मिन्ग्मर ग्याल्पो शेर्पालाई केही समय रोके। कारण थियो उहाँको शरीरमा तापक्रम अलिकति धेरै थियो रे त्यहाँ उहाँको परीक्षणको लागि रगत निकालेर राखे अनि भित्र जाने अनुमतिका साथ हामी सबै एक्जिट गेटतिर गयौं त्यहाँ गाइड डेबिडसँग भेट भो। त्यसपछि सबै जना होटलतर्फ जानको लागि बसमा चढ्यौं। करिब एक घण्टाको बस यात्रापछि हामी होटल पुग्यौं। सबै जनाले होटलमा चेक इन गरेपछि बेलुकाको डिनरको लागि बाहिर होटल खोज्न भनी बजारतिर गयौं।
एक ठाउँमा चाइनिज रेस्टुरेन्टहरू रहेछ, त्यहाँ खानाहरू अडर गर्यौं, खाना नेपाली स्वादको नभएकोले हामीलाई खाना खाना गाह्रो भयो र जसोतसो पेट भर्ने सोचले केही खाना खाएर पुन: होटल फर्कियौं। त्यसपछि होटलमा सुत्नको तयारी गरियो। यसरी पहिलो दिनको यात्रा टुङ्गिन्छ।
दिन २
दोस्रो दिन हाम्रो यात्रा छेन्दुको सिटी र पाण्डा ब्रिडिङ सेन्टरतिर लागि तय भयो। बिहानको ब्रेकफास्ट खाइसकेपछि गाइड डेबिडको साथमा बसमा चढेर सहरको मनोरम दृष्य अवलोकन गर्दै पान्डा ब्रिडिङ सेन्टरतिर गयौं। जहाँ पान्डाहरूलाई हेरियो। त्यो एउटा चिडियाखाना जस्तो रहेछ। त्यहाँ १०० औं पाण्डाहरू रहेछन्। ठाउँ त गर्मी नै रहेछ वास्तावमा त्यो जनावर जाडोमा बस्नुपर्ने जातको रहेछ, त्यसकारण तिनीहरूलाई एयर कन्डिसन कोठाहरूमा राखिएको देखेँ। त्यहाँ बाहिरको तापक्रम करिब ३० डिग्री जति थियो यो गर्मी तिनीहरूलाई सहन नसक्ने हुनाले चिसो ठाउँमा राखिएको भनेर हामीलाई गाइडले बतायो। त्यहाँ ती जनावरहरूलाई हेर्दा रमाइलो लाग्यो, त्यस ठाउँमा केही फोटोहरू पनि खिचियो।
करिब २ घण्टा जतिको घुमाइपछि हामीलाई गाइडले लन्च खाना सिटीतिर लिएर गए। त्यो ठाउँ युनिभर्सिटी क्षेत्र रहेछ, खानाहरू राम्रो नै थियो तर स्वाद चाहिँ चिनियाँ। त्यहाँ हामी सबैले खाना खायौं र हामीलाई गाइडले जिन्ली ओल्ड स्ट्रिटतिर लिएर गयो। त्यस क्षेत्रको केही समयको घुमाइपछि हामी बेइजिङ जानको लागि बसपार्क गरेको ठाउँतिर गयौं र बसमा चढेर एयरपोर्टतर्फ लाग्यौं।
बाटोबाट देखिने गगनचुम्बी भवनहरूको दृष्य हेर्दै जिन्ली स्ट्रिटबाट करिब ४५ मिनेट जतिमा छेन्दुको आन्तरिक तर्फको टर्मिनल २ पुग्यौं। सबै जना सिचुवान एयरको फ्लाइट नम्बर ३ यु ८८९७ को लागि चेकइन गर्दै बोर्डिङ पास लिएर अध्यागमनतर्फ अगाडि बढ्यौं। त्यहाँ ४ जनालाई नाम, पासपोर्ट नम्बर मिलेन भनेर केही समय रोके। किन रोकेछन् भनी बुझ्दा बोर्डिङ पास लिँदा अपरेटरले मिस्टेक इन्ट्री गर्दिएको रहेछ। केही समयको पर्खाइपछि उनीहरूले नै करेक्सन गरे अनि प्लेनमा चढ्ने अनुमति मिल्यो। ३ घण्टा जतिको आकाशको उडाइपछि हामी बेइजिङ विमानस्थलमा अवतरण भयो। सेक्युरिटी चेकपश्चात् हामी एक्जिट गेटबाट बाहिर निक्लियौं। बाहिर हामीलाई म्याक्स भन्ने गाइडले पर्खिबसेका रहेछन्। उनीसँग भेट भो। हामी सबै जना बसमा चढेर होटलतिर प्रस्थान भयौं।
बसमा गाइडले भोलि र पर्सिको कार्यक्रम बारेमा ब्रिफिङ गर्दै थियो हामीले सुन्दै गयौं। यसरी करिब १ घण्टा जतिको यात्रापछि हामी बेइजिङको होटलमा पुग्यौं र चेकइन गरी आफ्नो रूमको साँचो लिएर रूम खोज्दै लिफ्ट चढेर रूम पुग्यौं। रातको १०:३० जति भैसकेको र थकान पनि लागेकोले हामी हल्का फ्रेस भएर सुत्यौं।
दिन ३
तेस्रो दिन बिहान ८:३० बजेबाट हाम्रो सिटी टुरको कार्यक्रम सुरू भयो। गाइड म्याकसले हामीलाई सबभन्दा पहिला अरनिको टेम्पल घुमायो। अरनिको हाम्रा नेपाली कलाकार त्यसबेला सन् १२६० तिर चीनमा गएर एकदम आकर्षक र प्रख्यात मन्दिर बनाएको हेर्दा मनभित्र देखि नै खुसी लाग्यो। त्यहाँ बसेर हामीले उनको शालिकसँग सबै जनाले फोटोहरू खिच्यौं। गाइडले हामीलाई 'योर ब्रदर स्ट्याच्यू इज हेयर' भने।
अरनिको मन्दिर घुम्दा साह्रै रमाइलो अलि फरक अनुभव भयो। हाम्रा नेपाली कलाकारले उत्कृष्ट कला कौशल प्रयोग गरी बनाएको मन्दिरको अवलोकन गर्न पाउँदा एउटा सौभाग्य नै ठानेँ। मन धेरै नै हर्षित भयो। त्यसपछि हामीलाई म्याक्सले वान्ग्फुजिन स्ट्रिटमा सपिङको लागि लिएर गए। त्यो ठाउँ पनि उच्च लेबलको पसलहरू मात्र रहेछन्। खास नै सामानहरू खरिद गरिएन र यसो हल्का हेर्दैहेर्दै १ घण्टा बितायौं। अब यसपछिको यात्रा थियो तियानमेन स्क्वायर र फर्बिट्टन सिटी। जुन बेइजिङको अति नै महत्वपूर्ण ठाउँ रहेछ। त्यहाँ सेनाहरूले विशेष पहरा दिइरहेका थिए। मनिसहरूको घुइँचो धेरै नै थियो। नजिकै रहेछ फोर्बिडन सिटी। त्यहाँ भित्र जानको लागि पासपोर्टबाट मात्र इन्ट्री पाइने रहेछ। पासपोर्ट देखाएर लाइनबद्ध भई भित्र प्रवेश गर्यौं। यो ठाउँ चाहिँ पहिलाका राजाका दरबार रहेछन्।
यो ठाउँ घुम्न हामीलाई करिब २ घण्टाभन्दा धेरै समय लाग्यो। गाइड म्याक्सका अनुसार पूरै घुम्न एक दिन पूरै लाग्छ भने। चिनियाँ प्राचीन कलामा बनेको दरबार हेरिसकेपछि हामीलाई पर्ल स्टोरमा लिएर गए। जहाँ मोतीको मालाहरू राखेका रहेछन्, एक जना मित्र शेर्पा भाइले केही मालाहरू किने। आजको भ्रमण तालिका अनुसार यहाँसम्म मात्र हो भनी हामीलाई गाइडले होटलतर्फ लिएर गए। अनि होटल छेउको रेस्टुरेन्टमा केही भेज खाना अर्डर गरेर खायौं। अब भोलि चाइना ग्रेटवालको लागि तयार हुनुपर्छ र भोलि नै हाम्रो बेइजिङबाट सांघाईको यात्रा बुलेट ट्रेनबाट हुने कुरा सुनाउँदै हामीलाई होटलतर्फ लगे।
क्रमश: