बुवा र आमालाई सँगसँगै विदेश घुमाउने रहर थियो। तर रहर जति कहाँ पूरा हुने रहेछन् र? जति भाग्यमा लेखेको छ, त्यति नै हो पूरा गर्ने।
विदेश जाने कुरामा आमालाई खासै मतलब थिएन। 'यतै बसेर दुनियाँले प्रगति गरेका छन्। तिमीहरू चैं विदेश किन जानु पर्यो?,' यसै भन्नुहुन्थ्यो। तर बुवाको भर्सन अलि फरक थियो। या त गाँउघरमै बसेर आफ्नो बिँडो थाम्नुपर्ने, या विदेशतिर सुइँकिने। तर के गर्ने, बुवाको दुवै इच्क्षा पूरा गर्न नपाउँदै बुवा अनन्त लाग्नुभयो। बुवा बितेको एक महिना नहुँदै म विदेश उडेँ।
मलाई थाहा थियो जीवन हामीले नसोचेझैं एकदम छोटो पनि हुन सक्छ र सोचेभन्दा एकदमै लामो पनि। त्यसैले क्यानडामा आइसकेपछि आमालाई एकचोटि सात समुद्र पारिको ठाँउ कस्तो रहेछ त भनेर देखाउनु थियो। सुपर भिसामा अप्लाई गरेँ। १० वर्षे भिसा दियो क्यानडाले। अनि आमा उडेर आउनुभयो क्यानडा।
यात्रा कस्तो रह्यो होला? कतिको पट्यार लाग्यो होला? भनेर सोध्धै नसोधौं। किनभने हामी तन्नेरीलाई त लखतरान पार्छ काठमाडौंदेखि क्यानडाको यात्राले। सत्तरी काटिसक्नु भएको आमाको के कुरा। तर सन्तानको मायाले दु:ख सबै भुलायो। छोरा, बुहारी र नाति नातिनाको मायाले सात समुद्र पारि ल्याइपुर्यायो।
अब आमालाई कता घुमाउने त? डाँडाकाँडा घुमाउन लैजाउ, जन्मे हुर्केकी डाँडाकाँडामा। सहर घुमाउ भने तिनै डाउन टाउनका अग्ला बिल्डिङ कतिचोटि हेर्ने। सपिङ मल, ग्रोसरी स्टोर फुर्सद हुना साथ जाने ठाउँ भैहाल्यो। किन्ने केही हुँदैन हेर्नलाई जुन सपिङ मल छिरे पनि त्यस्तै हो। त्यसैले मैले सोचे एकचोटि समुद्र नै देखाऊ।
हामी बस्ने ठाँउ अल्बर्टा आफैमा भूपेरिवेष्ठित स्टिक प्रोभिन्समा पर्दथ्यो। लगभग ६०० भन्दा बढी लेकहरू भएको अल्बर्टा सुन्दरताको हिसाबले त कुनै कमी थिएन। कुनै लेकहरू हेर्दा लाग्थ्यो कतै यो नै समुद्र हो कि? तर समुद्रको तिर्सना तलाउहरूले मेट्ने कुरै भएन। नेपाल फर्केर गफ गर्ने मसला पनि त चाहियो। अस्ट्रेलिया, अमेरिका, युरोप गएकाहरूसँग भेट भयो भने कुरो मिल्न पनि पर्यो। नत्र समुद्र नभएको देश पनि विदेश हुन्छ कहीँ भन्ने लाग्ला। त्यसैले मैले आमालाई प्यासिफिक ओसन देखाउने विचार गरेँ। ब्रिटिस कोलोम्बियाको भ्यानकुभर सिटी घुमायो भने सुन्दरताका अनेकन छटा देख्न मिल्ने। हामीहरूसँगै जानको लागि साथीको बुवाआमाहरू पनि हुनुहुन्थ्यो। हामी नजिकै बस्थ्यौं। हामीहरू काममा भएको बेला बुवाआमाहरू प्राय: सँगै बस्नु हुन्थ्यो।
एकदिन मैले साथीसँग सल्लाह गरेर भ्यान्कोभर घुम्न जाने योजना पक्का गरेँ। योजना बमोजिम अनलाइन प्लेन टिकट र होटल बुक गरियो। हाम्रो यात्रा तीन दिनको लागि थियो। हामीले सबै कुराहरूको बस्दोबस्त गरेर अघिल्लो दिन नै लगेज प्याक गरिसकेका थियौं। जाने दिन हामीले ट्याक्सी अर्डर गर्यौं र सबै जना ट्याक्सीमा एयरपोर्ट गयौं। एयरपोर्टबाट हाम्रो नौ बजेको फ्लाइट थियो। एड्मन्टन इन्टरनेसनल एयरपोर्टबाट ब्रिटिस-कोलम्बिया एक घन्टा चालिस मिनेटमा पुगिन्थ्यो। त्यो दिनको हाम्रो योजना भ्यानकुभर डाउन टाउन घुमेर होटलमा जाने। होटल हामीले कुकेत्लम भन्ने ठाउँमा बुक गरेका थियौं जुन मुख्य सहरभन्दा अलि टाढा पर्दथ्यो। डाउन टाउनमा होटलहरू अलि महँगा भएकोले त्यहाँभन्दा अलि टाढा बुक गरेका थियौं।
भ्यानकुभर एयरपोर्ट पुगेपछि हामीहरू उबर गरेर डाउन टाउन गयौं। त्यहाँ पुगिसक्दा सबैलाई भोक लागिसकेको थियो। एउटा इन्डियन रेस्टुरेन्ट नजिकै रहेछ। हातमा ठूला ठूला लगेजहरू घिसार्दै हामी लाग्यौं त्यतैतिर। केटाकेटी, बुढाबुढी, भुक्क पछाडि उछिट्टिएका झोलाहरू बोकेर हिँड्दै गर्दा मान्छेहरू हामीलाई एकटक लगाएर हेर्दै थिए। भर्खर गाउँबाट सहर छिर्दै गरेका अनाडी जस्तै थियौं हामी। दुई वर्षदखि पचहत्तर वर्षसम्मको हाम्रो ग्रुप रोडको दायाँ र बाँया हेर्दै हिँडिरहेको थियो। कतै अग्ला टावर देखियो भने उभिएरै उसको उचाइ हेरिन्थ्यो। त्यहाँ हामी हेर्न त गएका हौं। अरूले के भन्छ भनेर आफ्नो इच्छा मार्ने कुरो पनि त भएन।
त्यसपछि हाम्रो ग्रुप छिर्यो रेस्टुरेन्टभित्र। सायद लन्चको समय भएर होला मान्छेहरूले भरिभराउ थियो। काउन्टरमा बसेको व्यक्ति हामीलाई देख्ना साथ इशाराले त्यतै बोलायो। बुवाआमाहरू उभिएर अचम्म मान्दै यताउति हेर्दै हुनुहुन्थ्यो। म काउन्टरमा गएर उसलाई टेबल खाली भए/नभएको सोधे।
'आपलोक भेज हो?,' उसले सायद हामीहरूलाई इन्डियन हुन् भनेर सोच्यो होला। नेपाली वा इन्डियन हुनाले त्यहाँ के नै फरक पार्थ्यो र? मैले भेज भनेपछि उसले भित्र पट्टिको डाइनिङमा पठायो र वेटरलाई अर्डर लिन पठायो। उसले हामीलाई अप्ठ्यारो महसुस हुन दिएन। लगेज लगेर काउण्टर पछाडि राखिदियो।
'आपलोक टेन्सन मत लिजिए। आपका लगेज कोही भी नही चुराएगा।'
हामीले भेजी समोसा, नान, दाल, तरकारी खायौं। त्यसपछि निस्कियौं क्यानडा प्यालेसतिर। त्यहाँदेखि दश मिनेटको हिँडाइमा रहेछ। लगेजहरू घिसार्दै, केटाकेटीहरूलाई डोहोर्याउँदै, बुढाबुढीहरूलाई पर्खंदै हामी प्रशान्त महासागरको छेउ पुग्यौं। समुद्र त हामीले देखिसकेका थियौं पहिले नै तर जहाजबाट। त्यसो त समुद्र मेरो लागि नौलो कुरा थिएन। अठार, उन्नाइस वर्षको उमेरमा भारतको बम्बई बस्दा अरेबियन सागरसँग परिचित थिए। बस्ने घरदेखि पाँच मिनेट हिँडेपछि समुद्रको किनारमा पुगिन्थ्यो। कहिलेकाहीँ शौचकर्म गर्न पनि त्यतै गइन्थ्यो। महिलाहरू र पुरूषहरूको शौच गर्ने इलाका फरक फरक हुन्थ्यो। महिलाहरू घोप्टो परेर शौच कर्म गर्थे ठ्याक्कै पुरूषहरूको इलाका पारिपट्टि। त्यो बेलाको कुरा नगरौ। यहाँ म बाहेक सबै जनाको लागि समुद्र नौलो नै थियो।
हामी क्यानडा प्यालेसको अब्जर्बेसन डेकतर्फ लाग्यौं। त्यहाँ नजिकै बन्दरगाह थियो। विशाल समुद्री जहाज त्यहाँ मान्छेहरू चढाउँदै रहेछ। सुरूमा त बुवाअमाहरू मात्र हैन हामी सबै झुक्कियौं। हामीले त्यो जहाजलाई समुद्रमा उभिएको विशाल घर भन्ठानेका थियौं। तर जब ठूलो आवाजमा बिकुल फुक्दै चल्मलाउन थाल्यो, हामी सबै अचम्म मान्दै त्यतै हेर्न थाल्यौं। झन्डै अठार उन्नाइस तलाको त्यो जहाज डाउन टाउनको कुनै बिल्डिङ भन्दा कम थिएन। हामी उभिएको अब्जर्बेसन डेक र जहाज आमनेसामने थियो। त्यहाँ हेर्न पुगेका सबैले रोचक मानेर त्यतै हेरिरहेका थिए। फोटो खिचिरहेका थिए। हामीहरूले पनि जहाजलाई पृष्ठभूमिमा पारेर फोटाहरू खिच्यौं। महासागरको सबैतिर आँखा डुलायौं। साना साना जहाजहरू पानीमाथि उडिरहेका थिए। मोटरबोट, फ्लाई बोर्ड, वाटर स्पोर्ट्सले विशाल सागरको एक छेउलाइ वाटर कार्निभलमा परिणत गरेको थियो।
हामी एकैछिन त्यहाँ टहलिएर क्यानडा प्यालेसको सबैभन्दा माथिल्लो तलामा रहेको फ्लाई ओभरमा गयौं। त्यहाँ हामीले एउटा थिएटरमा बसेर सम्पूर्ण क्यानडाको भर्चुअल भ्रमण गर्यौं। यो हाम्रो लागि अनौठो अनुभव थियो। थिएटरभित्र प्रवेश गर्नासाथ हामीलाई सिटमा सिटबेल्ट बान्न लगाइयो। जब शो सुरू भयो, हामीले आफ्नो सिटसँगै उडेको अनुभव गर्यौं। उड्दै, उड्दै हामीहरू क्यानडाको सम्पूर्ण भूभागमाथि हेलिकप्टरबाट उडेको जस्तै भान भयो। नायग्रा फल्स नजिकै पुग्दा अनुहारमा पानीका थोपाहरू परे। यो अनुभव यस्तो जीवन्त थियो कि हामीहरू एकैछिन थिएटरमा नभएर नायग्रा फल्स या ज्यास्पर बाँफतिर कतै भएको जस्तो महसुस भैरहेको थियो। लगातार उडिरहेका थियौं। पहाडबाट कुद्द्दै झरेको घोडासँग त झन्डै ठोक्किएझैं भयो। म निकै तर्सें। आमाबुवाले त वास्तवमै उडेर त्यहाँ पुगियो भन्ठान्नु भएको रहेछ। पछि बाहिर निस्केर हाँसो भयो। राधिका म्याडमले जुत्ता खस्न लाग्यो भनेर झिकेर हातमा अड्याउनु भएको रहेछ। निकैबेर हाँस्यौं।
त्यसपछि लाग्यौ हामीले बुक गरेको होटलतर्फ। होटल थियो कुकेत्लममा। त्यहाँबाट लगभग आधा घन्टा लाग्थ्यो। हामीहरूले ट्रेनमा जाने निधो गर्यौं। हामी वाटर फ्रन्ट स्टेसनबाट ट्रेन चढेर सेन्ट्रल स्टेसन कुकेत्लम झर्यौं। सेन्ट्रल स्टेसनबाट १५ मिनेटको बाटोमा हाम्रो होटल थियो। बुवाआमाहरू थाकिसक्नु भएको थियो। तर पनि केही नभनी हाम्रो पछिपछि लाग्नु भयो। होटलको रिसेप्सनबाट साँचो लिएर हामी लगेजहरू घिसार्दै कोठातिर लाग्यौं। कोठा खोल्नासाथ् ढुसीको नराम्रो गन्ध नाकैमा ठोकियो। हेर्दा कतै पनि ढुसी नदेखिए पनि त्यसको गन्धले एकैछिनमा टाउको नै दुखायो। तर के गर्ने रात त काट्नै पर्यो। म खानेकुरा किन्नको लागि बाहिर निस्कँदै गर्दा होटलका कर्मचारीलाई कम्लेन गरेँ। तर उसले आफुलाई जानकारी नभएको झैं गर्यो। क्यानडाको भव्य सहरभित्र यस्ता ढुसी गन्याउने होटल पनि हुन्छन् भनेर यो दिमागले पहिले सोचेको पनि थिएन।
त्यो रातको डिनर पिजाले टार्यौं। केटाकेटी र हामीहरूलाई त खासै फरक परेन। तर बुवा आमाहरूलाई भने अलि गाह्रो भयो भन्ने मैले महसुस गरेँ। कतै निस्कौं भने पनि ढिलो भैसकेको थियो। अर्को दिन हामी भिक्टोरिया जाने योजना बनाएर सुत्यौं। हामीलाई लागेको थियो हर्सुबे बन्दरगाहबाट पानी जहाज चढेर त्यहाँ पुगिन्छ। रिसेप्सनमा बुझ्दा पनि हर्सुबेबाट नै जान्छ होला जस्तो कुरा गर्यो। अर्को दिन बिहान ट्याक्सीमा हामी हर्सुबे गयौं। बाटोमा निकै ठूलो पानी पर्यो। ट्याक्सीले त्यो पानीमा स्पिड लिमिटभन्दा ज्यादा नै चलायो। म अगाडिको सिटमा भएकोले निकै डराएको थिए। आफूलाई यति ठूलो पानीमा चलाएको अनुभव थिएन। ठूलो पानी परेको बेला गाडी चलाउनुभन्दा हिउँमा चलाउन सजिलो जस्तो लाग्यो। हर्सुबेमा पुगिसक्दा पानी पर्न रोकियो। त्यहाँ झरेर हामीले भिक्टोरियाको लागि टिकट काउण्टर खोज्न थाल्यौं। अलि छिटो पुगिएछ क्यारे काउन्टर नै खुलेको रहेनछ। एकछिन त्यहीँ कुर्यौं। त्यहाँ हामीले भिक्टोरियाको लागि टिकट काट्ने काउन्टर नै भेटेनौं।
हर्सुबे बन्दरगाहबाट जहाज धेरै साना साना टापुहरूमा जाँदो रहेछ। हामीले बोवेन आइल्याण्ड जाने विचार गर्यौं। जता गए पनि एउटा टापु त घुम्ने हो। त्योभन्दा पनि आमालाई पानी जहाजमा चढाउने रहर थियो मेरो। टिकट काटेको केहीबेरमा एउटा पानी जहाज आएर त्यहाँ रोकियो। मान्छेहरू गाडीसँगै लाइनमा बस्दा रहेछन्। गाडी नहुनेहरू टिकट काउन्टर भएको घरको माथिल्लो तलाबाट जहाजमा छिरियो। जहाजको भुइँतलामा मान्छेहरू गाडी पार्क गरेर माथिल्लो तलामा आउँदा रहेछन्। कतिपय गाडीसँगै जहाजभित्र बस्दा रहेछन्। गाडीसहित मान्छेहरू जहाजमा बस्ने कुरा सुन्दा म पहिले नै अचम्म पर्थे। त्यहाँ त झन् देखियो। हामी सबैको लागि नौलो अनुभव थियो। करिब आधा घण्टामा हामी बोवेन आइल्याण्ड पुग्यौं। समुद्रको बीचमा सुन्दर टापुमा साना साना चिटिक्क परेका घर। सिंगारिएको बाटो। रमाइलो लाग्यो। सबैलाई भोक लागिसकेको थियो। कतै टिम्हर्टन वा म्याकडोनाल्ड रेस्टुरेन्टहरू छन् कि भनेर खोज्यौं, कतै देखिएन। पछि एक जनालाई सोधेर बल्ल थाहा भयो कि त्यो टापुमा सबै कुराहरू लोकल हुँदो रहेछ। एउटा रेस्टुरेन्टमा बसेर धेरैबेर मेनु ओल्टाइ पल्टाई गरियो। केटाकेटीहरूले चिकेन बर्गर खाए। हामीले आलु फ्राई खायौं। निकै स्वादिष्ट। ढोरपाटनको आलुको सम्झना आयो। आमाले भन्नुभयो, 'यो त ढोरले आलु रैछ बाबु!' त्यो सम्झिँदा अझै पनि मुख रसाउँछ।
खाना खाइसकेपछि टुरिस्टहरूलाई स्वागत गर्ने सानो स्वागत गृहमा गयौं। त्यहाँ उनीहरूले हामीहरूलाई घुम्ने ठाँउहरूको बारेमा जानकारी दिए। हामीहरूसँग आफ्नो गाडी नभएकोले सबैतिर जान सम्भव थिएन। तर गज्जबको कुरा त्यहाँ आउने टुरिस्टहरूलाई र लोकल मान्छेहरू बोक्ने एउटा बस एक एक घन्टामा आउँदो रहेछ। हामी त्यही बसमा चढ्यौं। बस टापुमा कहिले उकालो त कहिले ओरालो गर्दै अगाडि बढ्यो। हामीले टापुका विभिन्न ठाउँहरू भित्रैबाट अवलोकन गर्यौं। जंगलको बीच बिचमा कलात्मक घरहरू, क्यासल र कटेजहरू लोभलाग्दा थिए। बाटाको तलमाथि कतै मृगहरू चरिरहेका देखिन्थे त कतै मार्मोट। सुनेअनुसार त्यहाँ मान्छेहरू रिटायर्ड लाइफ बिताउन बस्ने रहेछन्। तर त्यो टापुमा अस्पताल, स्कुल केही पनि रहेनछ। त्यसको लागि उनीहरू जहाज चढेर भ्याकुभर पुग्नुपर्ने रहेछ। बसले हामीलाई समुद्रको तटमा लगेर केहीबेरको लागि छोड्यो। करिब आधा घन्टामा सोही बस पछि हामीलाई पिकअप गर्न पनि आयो। त्यो समयमा हामीहरू समुद्रलाई पृष्ठभूमिमा पार्दै थुप्रै फोटाहरू समेत खिच्यौं।
त्यही टापुमा घुम्दाघुम्दै दिन चुर्लुम्म डुबिसकेछ। त्यतै कतै होटलमा रात काटौं झैं नलागेको पनि हैन। तर हामीले होटल दुई दिनको लागि बुक गरिसकेका थियौं। त्यहाँबाट फर्किने अन्तिम जहाजमा चढेर हामी फर्कियौं। टिकटको पैसा पहिले नै टु वेको लिँदो रहेछ। हर्सुबेबाट हामीहरूले ट्याक्सी लिएर बेलुका होटलमा फर्कियौं। कोठामा चुलो भएकोले केही खानेकुराहरू त्यही बनायौं र केही बाहिरबाट मगाएर गुजारा चलायौं।
अर्को दिन 'स्टान्ली पार्क, भ्याँकुभर अकुइरियम, र समुद्रको तट घुमेर एयरपोर्ट पुग्ने योजना थियो। त्यो साँझको हाम्रो रिटर्न टिकट थियो। बिहानै होटलबाट निस्कियौं र ट्रेनमा चढेर वाटर फ्रन्ट गयौं। त्यहाँबाट हिँड्दै स्टान्ली पार्क गयौं। झन्डै आधा घण्टा लाग्दो रहेछ। त्यहाँबाट भ्याँकुभर सिटीको सुन्दर दृश्य अवलोकन गरेर हामी त्यसैसँग जोडिएको भ्याँकुभर अकुइरियम गयौं। हामीहरूलाई झन्डै दश मिनेट जति लाग्यो त्यहाँ पुग्नको लागि। केहीबेर लाइनमा बसेर टिकट लियौं। लगेज सँगसँगै डुलाउँदै हामीहरूले अकुइरियमको सबैतिर अवलोकन त गर्यौं तर भिडमा हामी युनिक थियौं। सबैले हामीलाई एकटक हेर्थे। हामीलाई चिन्ने कोही थिएन। अरूको के मतलब। त्यहाँ हामीहरूले तीनसय प्रजातिका माछाहरू र अन्य हजारौं प्रजातिका सामुन्द्रिक जीवहरू देख्ने मौका पायौं। प्रशान्त महासागरसँगै जोडिएकोले विभिन्न प्रजातिका ह्वेल माछाहरू समेत प्रत्यक्ष हेर्ने मौका पायौं। पेनगुइनहरूको बथान देख्दा जिओग्राफी च्यानलमा देखेको अन्टार्टिका महादेशमै पुगेको भान भयो। राम्रोसँग सबै कुराहरू हेरौंभन्दा एकदिन पूरै लाग्ने त्यो ठाँउबाट हामीहरू दुई घण्टा नहुँदै बाहिर निस्कियौं। हामीहरूलाई अझै समुद्रको तटमा गएर फोटाहरू खिच्नु थियो भने, त्यो दिनको लन्च समेत खान बाँकी थियो।
त्यहाँबाट निस्केर हामीहरू अर्को गन्तव्य समुद्रको तटमा गयौं। सबैले फोटो त खिच्नु नै थियो। बालुवामा असला माछाझैं लाढिरहेका मान्छेहरूको बेवास्ता पानीमा गएर फोटाहरू खिच्यौं। बुवाआमाहरूलाई पनि पानीमा उभिन लगाएर फोटोहरू खिच्यौं। कता कता हाँसको बीचमा बकुल्लो झैं लागिरहेको थियो। त्यहाँ मान्छेहरू समुद्री तटको आनन्द लिन आफ्ना जोडीसँग आएका थिए। अर्धनग्न अवस्थामा बालुवामा टाबेल बिछ्याएर सुतिरहेका थिए। केटाहरू केटीहरूको ढाडमा क्रिम (संस्क्रिन) दलिरहेका थिए। मलाई थाहा त थियो समुद्रको तटमा यस्ता कुराहरु सामान्य हुन् भन्ने, तर के गर्ने देखाउनु त पर्यो समुद्र नजिकैबाट। साथीको बुवाले त एकचोटि समुद्रको पानीले नुहायो भने सबै रोगव्याधी नष्ट हुन्छ भन्नुहुन्थ्यो। लैजान त पर्यो। हामी फोटा खिच्न गएका चटके टुरिस्ट जस्ता भयौं। हामीले त्यही पनि आफ्नो कर्म पूरा गरेर इन्डियन होटल खोज्दै निस्कियौ। निकै भोक लागिरहेको थियो। त्यहाँ खाना खाएर ट्रेनमा चढी एयरपोर्ट गयौं। हतार हतारको यात्रा, अव्यस्थित भएता पनि छोटो समयमा धेरै ठाउँहरू घुमेका थियौं। आमा थाकेर लखतरान पर्नुभएको थियो। तर कुनै गुनासो गर्नु भएन।
यसरी हाम्रो तीन दिनको यात्रालाई बिट मारियो। तर खुसीको कुरा साथीको बुवाले अहिले पनि फोनमा भन्नुहुन्छ, 'बाबु त्यो सागरमा स्नान गरेदेखि मलाई कुनै रोग लागेको छैन।'