प्रकृतिसँग लुकामारी खेल्नको लागि उपयुक्त समय हो कालिञ्चोक।
सेकेण्ड सेकेण्डमा नयाँ नयाँ स्वरूपमा देखिन्छ कालिञ्चोक। आँखा झिमिक्क समेत गर्न दिँदैन यहाँको प्रकृतिले। युवा पुस्ता हिउँ खेल्नलाई उपयुक्त मान्छन् कालिञ्चोक। तर, मजस्ता प्रकृतिप्रेमीलाई वर्षायाम नै उपयुक्त लाग्छ।
प्रकृतिको छिनछिनमा रूप फेरिरहँदा हेरिरहन मन लाग्छ। म प्राय: हिउँदमाभन्दा वर्षायाममै बढी घुम्न मन पराउँछु। अझ कालिञ्चोक क्षेत्रको कुरा गर्नुपर्दा वर्षायामभरि यतै बसौं लाग्छ।
यहाँ चरिरहेको चौरी, याकले झनै मन लोभ्याउँछ। रंगीविरंगी फूलहरूको बयान गरिरहुँ झैं लाग्छ। कालिञ्चोक हरेक सिजनमा घुम्न उपयुक्त ठाउँ हो। झन् वर्षायाममा एक पटक घुमेका मान्छेलाई कहिले आउला वर्षायाम भनेर सोचमग्न बनाउँछ।
कालिञ्चोकमा यही सिजन हो चौरीको घ्यू, छुर्पी पाउने। दिनभरि यहाँको हरियाली फाँटहरूमा चौरी चरण नियाल्दा घण्टौं बितेको पत्तै हुँदैन। कालिञ्चोकमा पटक पटक पुगेको छु। तर, हरेक पटक नयाँ नयाँ नै देखिन्छ। जता हेरे पनि हेरिरहुँ झैं लाग्ने। त्यसैले कालिञ्चोकलाई तपस्वीहरूको तपोभूमि, प्रकृतिसँग रमाउनेहरूको क्रिडास्थल मानिन्छ। त्यस्तै धर्मकर्म गर्नेहरूको लागि पुण्यभूमि अनि प्रकृति, धर्म र साहसिक यात्राको उत्कृष्ट त्रिवेणीधाम हो।
कालिञ्चोक सदरमुकाम चरिकोटबाट १७ किलोमिटरमा पुग्न सकिन्छ। कालिञ्चोक मन्दिर ३ हजार ८ सय ४२ मिटरको उचाइमा छ। पैदल यात्राबाट पनि सजिलै पुग्न सकिने यस ठाउँमा हाल दैनिक रूपमा गाडीको सुविधा छ। अनेकौ किम्वदन्ती र पौराणिक कथाहरूमा समेत वर्णित यसको महिमा व्यापक छ।
विशेषगरी जनैपूर्णिमा, कार्तिक पूर्णिमा, चैतेदसैं, दसैं, नयाँ वर्षका दिन भव्य मेला लाग्ने यो पुण्यभूमिमा वर्षैभरी दर्शनार्थीहरूको बाक्लै उपस्थिति हुन्छ। प्रकृतिका छटाहरू नयनमा सजाउँदै, पाइलै पिच्छे गुञ्जने चराचुरूङ्गीका कर्णप्रिय वाणीहरूले यात्रालाई सजिलो र छोटोको आभास दिलाउँछ।
त्यस्तै, फागुनदेखि वैशाखको समयमा सेताम्य फूलेका चिमाल, लालीगुराँसले झनै कालिञ्चोकको शोभालाई बढाउने गरेको पाइएको छ।आँखै नजिक देखिएका गौरीशंकर हिमाल लगायत हिमश्रृङ्खलाले संवेदनशील मनहरूलाई तरंगीत गर्दछ।
बस्नको लागि देउराली, गैरी, कुरीका शेर्पा, तामाङ समुदायले गरेका आतिथ्य सत्कारले पटक पटक कालिञ्चोकको यात्रा गरौं गरौं लाग्छ।
तस्बिरहरू: