लाप्चीको यात्रा मेरो तेस्रो पटक हो। २०७४ सालमा हिँडेर पुगेको थिएँ। दोलखाको सदरमुकाम चरिकोटबाट लामाबगरसम्म गाडीमा अनि त्यहाँबाट दुई दिन हिँडेपछि पुगिन्थ्यो लाप्चीमा। त्यत्ति बेलै मेरो मन तानेको थियो लाप्चीले। न बत्ती, न सडक, न बजार, न सञ्चारकोे कुनै साधन नै थियो। पहिलो पटक नयाँ गन्तव्यमा पुग्दा कसलाई पो आनन्द आउँदैन र? बस्न खानको खासै वास्ता हुँदैन। चाहिँदैन पनि।
हरियाली वन जंगल, सङ्लो खोलानाला र गगनचुम्बी भीरपाखाले मेरो मनलाई तानिरह्यो। एक पटकमा सबै कुराको धीत् नमरेपछि पुनः गत वर्षमा पुगेको थिएँ। त्यत्तिबेला केही मात्रमा राहत पाइयो ट्याक्टरमा चढेर। ११ सय मिटर सुरूङमार्ग र १३ किलोमिटर जत्ति ट्याक्टरमा चढेर बाटो काटेँ। तर ७ वर्षको अवधिमा पनि खासै केही फरक पाइनँ। त्यस क्षेत्रमा निर्माणाधीन हाइड्रोपावरको कारण धमाधम सडक निर्माण कार्य भइरहेको छ। गाडीबाट ओर्लेर ४/५ घण्टाको अवधिमा लाप्ची पुग्न सकिन्छ।
यस पटक भने हेलिकप्टरले ७ मिनेटमै लामाबगरबाट लाप्ची पुर्यायो। कुनै पनि धार्मिक स्थलमा विजोर संख्यामा पुग्नुपर्छ भन्ने सुनेको थिएँ। लाप्ची पनि धार्मिक थलो हो। दुई पटक पुगेको हुनाले एक पटक थप्न मलाई कर र रहर दुवै थियो। यस ठाउँमा जत्ति पटक पुगे पनि धीत् मर्दै मर्दैन। लाप्ची मेरो लागि लतझैं बसेको थियो। किनकि यहाँको गुम्बा, लामाहरूको व्यवहार, सुन्दर शान्त थलोले पनि महिनौं, वर्षौंसम्म बसिरहन मन लाग्छ।
झन् हेलिकप्टरमा जानको लागि पत्रकार साथी गोकर्ण भण्डारीले व्यवस्था गरेपछि पत्रकार केदार शिवाकोटी र म तयार भयौं।
जिल्ला प्रशासन कार्यालय दोलखाबाट लाप्चीबासीलाई चीन प्रवेश पास दिनको लागि विकल श्रेष्ठ हुनुहुन्थ्यो। गत वर्ष पुग्दा मिलोप्पाको पाइला भएको ठाउँ भिरमा गुम्बा निर्माणाधीन अवस्थामा थियो। यस पटक यही जेठ १० गते बुद्ध जयन्तीको दिन उद्घाटन कार्यक्रम भएकाले लामाबगरबाट पूजाको सामान ओसार्न हेलीको व्यवस्था गरेका थिए फुर्वाथार्के शेर्पाले। हेलीमा ७ मिनेटको यात्रामा सुन्दर दृश्यावलोकन गर्ने अवसर मिल्यो। दोलखाको विगु गाउँपालिका–१ लामाबगरमा पर्दछ लाप्ची।
चीनसँग सिमाना जोडिएको यस लाप्ची ध्यान केन्द्रको रूपमा चिनिन्छ। यहाँ विश्वका बौद्धधर्मावलम्बीहरू ध्यान गर्नको लागि हिँडेरै पुग्ने गर्छन्। २३ घरधुरी शेर्पा समुदायको मात्र बसोबास छ। यिनीहरू हिउँमा लुम्नाङमा र गर्मी मौसममा लाप्चीमा बस्ने गर्छन्। लुम्नाङमा भने ४८ घरधुरी छ। समुन्द्री सतहबाट ३६७० मिटर उचाइमा रहेको छ लाप्ची गाउँ। यहाँ आउने पर्यटकरू विशेषगरी ३ महिना, ६ महिना र ३ वर्षको लागि ध्यान गर्न आउने गर्छन्।
यहाँ दुई वटा ठूला ठूला गुम्बाहरू छन्। साथै ध्यान गर्नको लागि छुट्टै ३२ वटा गुम्बाहरू बनाएका छन्। यसमा विदेशीहरू ध्यान गरेर बस्ने गर्छन्। यहाँका शेर्पाहरूको मुख्य पेशा चौरीपालन हो। चीनमा उनीहरूले पालेका चौरीका बाछा, चौरीको घ्यू, छुर्पी बेच्ने गर्छन्। लाप्चीबाट लामाबगर आउनै २ दिन लाग्ने भएकाले उनीहरू प्राय: उतै चीनको बजारमा किनमेल गर्ने गर्छन्।
तस्बिरहरू: