राधा दिदीले धेरै अगाडिदेखि भन्दै आउनुभएको थियो– बहिनी यो स्रष्टापद यात्रामा तपाईं पनि जोडिनु पर्छ। म जहिले जाँदा शोभा र तपाईंलाई निकै सम्झिन्छु। साहित्यप्रेमीहरूका लागि यो अवसर निकै उपयोगी हुनेरहेछ। तपाईंले लेख्न, नयाँ ठाउँ देख्न, प्रकृतिको नजिक भएर प्रकृतिको अनुपम छटाहरूलाई नजिकबाट हेर्न र महसुस गर्न पाउनुहुन्छ। प्रकृतिको नजिक जानैपर्छ बहिनी! स्वास्थ्य र साहित्य दुबैलाई फाइदा हुन्छ। कुनै पनि ठाउँको पदयात्रामा जाँदा त्यहाँको भूगोललाई आफ्नै पैतालाले चुम्ने अवसर मिल्छ। समाज, संस्कृति, पर्यावरण र इतिहासका कुराहरू बुझ्ने, जान्ने अवसर पाइन्छ। ल है बहिनी यो समूहमा जोडिनु होला।
राधा दिदीका कुरा निकै मुनासिव थिए। घुम्ने रहर मनभरि मौलाए पनि समय निष्ठुरी भएर जहिले पनि मेरा अगाडि ठिङ्ग उभिँदै मेरा बाटाहरू छेक्न आउँथ्यो। अझ स्रष्टाहरूसँग समूहमा घुम्न जान पाउनु कति खुसीको कुरा हो। यो समूहमा जोडिएर पदयात्रा गर्नलाई मन निकै उल्लासित भएको थियो। ईश्वरले पनि तँ चिता म पुर्याउँछु भन्छन् हो रहेछ, राधा दिदीले भनेको करिब तीन महिनापछि यो समूहसँग पदयात्रा गर्ने सुअवसर जुर्यो।
७८ औं स्रष्टा पदयात्राको अवसर २०८०- १०- ६ गते थियो। गन्तव्य थियो भीमढुंगा।
भीमढुंगाको नाम सुन्नेबित्तिकै निकै उत्साहित भएकी थिएँ। यो नाका काठमाडौं उपत्यका छिर्ने पुरानो नाका हो। गुर्जुधारा बसेर पनि यति नजिकैको एतिहासिक ठाउँ घुम्न जाने मौका मिलेको थिएन। पदयात्राको संस्कृति हाम्रो समाजमा उति साह्रो प्रचलित छैन। विदेशीहरू हाम्रो देशमा पदयात्रा गर्न भनेर कति टाढादेखि आउँछन् तर हामीलाई पदयात्राको उपयोगिता थाहै छैन। आफ्नै आँगनका कति महत्त्वपूर्ण ठाउँहरूलाई नजरअन्दाज गरिरहेका हुन्छौं।
सीतापाइलाबाट हाम्रो पदयात्रा आरम्भ हुँदै थियो। शुक्रबारबाटै लागेकी थिएँ यात्राको तयारीमा। मन उत्पुलक छ। पदयात्रामा जाने यात्रीहरूले घरैमा पकाएका सात्विक खाना बोकेर जानुपर्ने रहेछ। मेरो भागमा तरकारी परेको छ। यात्रामा जाने सङ्ख्या ४५ जनाको छ। एकपटक त म तर्सिएँ पनि– लौन! कसरी यत्रा मान्छेलाई तरकारी बोक्नू! हिँड्नु छ, फेरि भारी पनि बोक्नु पर्ने भो, हे प्रभु! कसरी हिँड्नु अब। मलाई त पर्नु पीर पर्यो। अनि राधा दिदीलाई सम्पर्क गरेँ।
दिदीले हाँस्दै भन्नुभयो– सबैले बोक्छन् बहिनी, छ सात जनालाई पुग्ने गरी तयार गरे हुन्छ। सबैले केही नै केही ल्याएका हुन्छन्, खाने कुरा टन्न हुन्छ।
दिदीको सल्लाहबमोजिम तयार भएँ।
शनिबार बिहान सबेरै उठेँ। निकै साधारण तरिकाले चनाको तरकारी पकाएर पोको पारेँ। सुभाष सरले चिल्लो पिरो नखाने भएकाले सादा रोटी पनि पकाएँ। स्रष्टा पदयात्राको अनुभव नभएकाले नौलो संवेग उठ्दैछन्। साहित्यकारहरूको जम्बो टोली छ। आठ बजे सीतापाइला चोक पुग्नु छ। कतै ढिलो भयो भने? हाम्रा पाइला हतारिएका छन्। गुर्जुधाराबाट जनता यातायात चढ्यौं। कलंकीमा ओर्लिएर निकैबेर चक्रपथ जाने अर्को गाडी कुर्दैछौं। हामी नजिकै उभिएकी छन् एकजना यात्री। स्रष्टा पदयात्राको पोसाकमा सजिएकी ती महिलाको मुहारमा मेरा आँखा घरीघरी टाँसिन पुग्छन्। त्यहीबेला गाडी आयो। ती महिला आँखाबाट ओझेल परिन्। हामी ठीक आठ बजे सीतापाइला चोकमा पुगेका छौं। कलंकीमा देखिएकी यात्री पनि हामी नजिकै उभिएकी छन्। सुभाष सरनजिकै गएर कुराकानी गर्न थाल्नुभयो। अनुहार निकै परिचित लाग्दै छ। कुरा गर्दै जाँदा त देखिरहेकी दिदी नै पो हुनुहुँदो रहेछ।
केहीबेरमा यात्रामा जाने यात्रीहरू आउने क्रम बढ्दै गयो। हेर्दैछु चिरपरिचित अनुहारहरू। प्रभा बराल, सितल गिरी, मुरारी सिग्देल, लीलाराज दाहाल, आलोक चालिसे, पशुराम परासर, शारदा पराजुली, आदिलाई नियाल्दै छु। ८:३० बजे सीतापाइलाबाट उँभो लाग्दैछौं। सीतापाइलाको भूमि गाडीबाट सयौं पटक नाघे पनि पहिलो पटक आफ्नै पैतालाले टेकेकी छु। मेरा आँखाहरू वरिपरि घुम्दैछन् सीतापाइलाको पर्यावरणमा। हिँड्दै छौं यात्री भएर। अगाडि देखिँदैछ नगरपालिकाको भव्य भवन। नागार्जुन नगरपालिकाको त्यो भव्य भवनमा केहीबेर उभिएर फोटोहरू खिचायौं। साथीहरूलाई पर्खियौं। सडकबाट देखिँदैछन् भव्य गुम्बाहरू। अहो! नगरपालिकाका भवनहरू सबैतिर एउटै रङ र संरचनामा ढाल्ने कोसिस बढो उद्देश्यमूलक लाग्दैछ। चन्दागिरि नगरपालिकाको भवनजस्तै देख्दैछु यो नगरपालिकाको भवन पनि। नगरपालिकाको त्यो चिल्लो भवनले मेरो हृदय निकैबेर तानिरह्यो। हामी सडकको एकछेउमा फैलिएर हिँडिरहेका छौँ । परपर देखिँदैछन् डोजर र स्काभेटले कोपरेका भित्ताहरू । सुन्दर प्रकृतिमाथि खुल्ला हमला भएको छ शहरीकरणको । ऊर्जाशील भूमिको मुटु फुटाएर ठडिएका छन् निर्जीव सिमेन्टका घरहरू। देख्दैछु, अव्यवस्थित सहरीकरणको विवर्ण रूप। म कल्पना गर्न पुग्छु सहरीकरणले नछोएको सीतापाइलाको कुमारी स्वरूपलाई। कल्पनामै मेरा आँखा विस्मित हुन्छन्।
बुझ्दैछु स्रष्टा पदयात्राको महत्त्व। स्रष्टाहरूले आफ्नो कृतिहरू उपहार दिँदै हुनुहुन्छ। परिचय आदानप्रदान पनि हुँदैछ। हामी साहित्यको कुराकानी गर्दैछौं। बाटो कटेको पत्तै छैन। नवराज रिजाल सरले घरबाट ल्याएको च्याउको पकौडा बाँड्दै हुनुहुन्छ शारदा म्याम। कसैले सुन्तला बाँड्दै छन्। कसैले चकलेट। रमाइलो वातावरणमा हिँडिरहेका छौं अगाडि अगाडि। चकलेटको स्वादमा साहित्यको प्रेम चाख्दै छु। सिन्धुलीकी मान्छे सुन्तलाको रसमा सृजनाको मुहान खोज्दैछु। हेर्दाहेर्दै रामकोट आइपुग्यौं। सीतापाइलाबाट रामकोट। अहो! नाम त बढो मिलाएर राखेका रहेछन्। जानकीलाई हेर्दैछु रामकोटको भूमिमा। सीतारामलाई हृदयमा राखेर अझ अगाडि पाइला बढ्दैछन्। उमा गाउँ देखिन्छ। सीतापाइलापछि उमा गाउँ। पुलकित हुन्छ मन देवीहरूका नामले सुसज्जित ठाउँ देखेर।
म कल्पना गर्दैछु सम्पूर्ण सकारात्मक ऊर्जा यही भूमिमा समाहित भएका पो छन् कि? रोडको छेउमा एउटा मन्दिर देखिन्छ। स्रष्टा पदयात्राको साहित्यिक कार्य यही मन्दिरबाट आरम्भ हुन्छ। पदयात्रामा सहभागी स्रष्टाहरूले आफ्ना सृजना वाचन गर्ने परम्परा रहेछ। म बुझ्दैछु यहाँको चलनहरू। पहिलो चरणको कार्यक्रमको संचालन शारदा पराजुलीले गर्नुभयो। शोभा पोख्ररेल, राधा बोहोरा, नानी बाबा, एनबि जनकपुरी आदिले आफ्नो रचनाहरू सुनाउनुभएको छ। बढो रमाइलो वातावरणमा रमाएका छौं। कोही साथी हात हातमा खाने कुरा पनि बाँड्दै हुनुहुन्छ। स्रष्टाहरू कपाकप खाँदै पनि हुनुहुन्छ। कोही फोटो खिच्न व्यस्त हुनुहुन्छ। कोही वाचित कविता रेकर्ड गर्न। पहिलो चरणको कविता वाचनपछि पहिलो सत्रको कार्यक्रम समाप्त भएको छ।
यात्रा अगाडि बढ्दैछ। मन्दिरको केही अगाडि एक जना स्थानीय आमासँग जम्काभेट हुन्छ। निकै लोभलाग्दा पोटिला बकुलासिमी भर्खरै बारीबाट टिपेर ल्याउनु भएको रहेछ। सुभाष सरलाई औधी मन पर्छ।
मैले सोधेँ –आमा अब कति टाढा छ भीमढुंगा?
त्यहीँबाट औँलाले देखाउनुभयो – ऊ; त्यही हो भीमढुङ्गा। त्यो माथिको डाँडो इन्द्रदह हो। ऊः त्यो भूल ढुङ्गा हो।
करिब सत्तरी वर्ष काटेकी स्थानीय आमाले सोध्नुभयो– कताबाट आएका? कति जना छौ? किन हिँडेका? कर्मवीर आमाको उज्यालो मुहार हेरिरहूँ जस्तो लाग्यो। निमेषभरको भेट पनि आत्मीय रह्यो। आमाको प्रश्नको उत्तर दिँदै हात जोडेर बिदा भएँ। हाम्रो यात्रा अझ उँभो लाग्दैछ। हाम्रो समूहलाई निकैबेर नियालिरहनु भयो ती आमाले। हामी बाटैबाटो मरठ्ठा गाउँ पुगेका छौं। त्यहाँका स्थानीयसँग पनि केहीबेर भलाकुसारी भयो। त्यहाँ धैरै घर मरठ्ठाहरूको रहेछ।
पाइलाहरू रोकिएका छैनन्। अब हामी पाँच धारा पुगेका छौं। त्यहाँ पनि हामीले केही फोटो खिचायौं। हाम्रा पैतालाहरू रमाउँदैछन् नागार्जुनका विभिन्न वडाहरूमा। अब हामी भूल ढुङ्गा आइपुग्यौं। त्यही भूल ढुंगामाथि चढेर पनि फोटो खिच्न भ्याउनुभएको छ साथीहरूले। कतै हरियो डाँडाकाँडा देखिन्छ, मन रोमाञ्चित भयो। कतै उजाड र चिथोरिएका डाँडा देखिन्छन्। चारैतिरका पाखा ताछिएका छन् घडेरीका लागि। समथर जमिनदेखि भित्तापाखामा पनि प्लटिङ गरिएको देखेर मन अमिलो भयो। यात्रामा रमाउन हिँडेकी मान्छे मन अमिलो भएको देखेर आफैं सतर्क भएँ। हामी हिँड्दै छौं घट्टेखोलो – ईन्द्रदह पदमार्ग। ठाउँ ठाउँमा टाँगिएको छ पदमार्गको नाम र दिशा।
दोस्रो सत्रको कार्यक्रमको लागि बस्ने ठाउँको खोजी हुँदैछ। बाटो छोडेर हामी तल्लो बाटोतिर ओरालिन्छौं तर त्यहाँ पनि उपयुक्त ठाउँ भेटिँदैन। अनि हाम्रा पाइला भीमढुङ्गातिर उक्लिन्छन्। रोड निकै सफा र राम्रो छ। कालोपत्रे रोड निख्खर कालो छ, भर्खरै सीताले नुहाएर सुकाएको कालो घना कपालजस्तै। यातायातको चाप नभएकाले सडक शान्त छ, ध्यानस्थ योगीझैं। पारिपट्टिको जंगल सल्लाको रूखले हरियो र घना देखिएको छ। आँखैमा टाँसिएको छ शान्तमय प्रकृति। अब हामी भीमढुंगा आइपुग्यौं। दशैंको सप्तमीको दिन गोरखा दरबारदेखि ल्याएको फूलपाती हनुमानढोका दरबारसम्म भित्र्याउनलाई हरेक साल यही बाटो भएर लैजाने गरेको इतिहास आज पनि जीवितै छ।
धादिङ र काठमाडौं जिल्ला जोडिएको यो ठाउँ काठमाडौंबासीहरूको लागि निकै महत्त्वपूर्ण छ। यही बाटो भएर धादिङमा उत्पादित तरकारी, फलफूल, दूध काठमाडौं सजिलै भित्रिन्छन्। म हेर्दैछु भीमढुङ्गाबाट देखिने अनुपम प्रकृतिका दृश्यावलीहरू। भीमढुंगाको इतिहास सुनाउँदै हुनुहुन्छ मन्दिरा मधुश्री– काठमाडौं उपत्यकामा त्यो बेला ठूलो पोखरी थियो। साँगा भञ्ज्याङबाटै डुङ्गा चढेर पश्चिम जानको लागि पूर्वबाट आउनुपर्थ्यो। भीमढुंगा डुंगा थियो। महाभारतकालमा साँच्चै भीमले चढेर काठमाडौं उपत्यकाको पोखरी वारपार गरेको ढुंगा हो रे।
म अचम्मित हुँदै सोध्छु– कहीँ ढुङ्गाको डुङ्गा पनि पानीमा तैरिन्थ्यो त?
मन्दिरा दिदी हाँस्दै भन्नुहुन्छ– त्योबेला मन्त्रको कस्तो शक्ति थियो, तन्त्रमन्त्रले त्योबेला जे पनि गर्न र गराउन सकिन्थ्यो नि।
दिदीका कुराले म झसंग हुन्छु। अहो! कति चाँडै बिर्सिएकी मैले भर्खरै पढेकी थिएँ भुवनहरी सिग्देलको ‘साँखेजुङ्को उकालो’। त्यहाँ सिद्धपुरूष र सिद्धिका आश्चर्यजक घटनाहरू उल्लेखित छन्।
म कल्पनामै देख्छु मन्जुश्रीले चोभारको डाँडा खड्गले काट्नुभन्दा अगाडिको काठमाडौं उपत्यकाको स्वरूपलाई। चारैतिर जलैजल देख्छु। साँगादेखि ढुंगा खियाउँदै आएका भीमलाई पनि देख्छु। म टकटकी बाँधेर इतिहासलाई हेरिरहन्छु। शोभा म्यामले घच्घच्याउँदा पो झसङ्ग हुन्छु।
अब हामी भीमढुङ्गा नजिकैको मन्दिरमा पेट पूजा गर्न थाल्छौं।
अहो! कति धेरै खाने कुराहरू। एक थुकी सुखी सय थुकी खोली त्यसै भनेका होइन रहेछन्। थोरै थोरै खाना जम्मा हुँदा पनि ठूलै भोज भयो। खाना खाएपछि दोस्रो चरणको कविता वाचन आरम्भ भयो। सुरूमै मेरो पालो परेको थियो मैले पनि ‘मृत्यु’ शीर्षकको कविता वाचन गरेँ।
सुभाष सर, मन्दिरा मधुश्री, आदिले कविता र लघु कथा वाचन गर्नुभयो। पुरूषोत्तम सरले यो सत्रको समीक्षा गरेर कार्यक्रम समापन पनि गर्नुभयो। म दङ्दास भएकी छु। नौलो नौलो अनुभव बटुल्दैछु।
मौसम उति साह्रो खुला थिएन त्यसैले धादिङलाई भीमढुंगाबाट मज्जाले नियाल्न सकिएन।
तुवाँलो खलनायक भएर प्रकृतिको सौन्दर्यमा ठाँटिएर उभिएको छ। खलनायकलाई चुनौती दिँदै, भीमढुङ्गाको तीनदोबाटोमा हामीले मडारिएर फोटो पनि खिचाउन भ्याएका छौं। कुनबाटो जाने भनेर केहीबेर अलमल पनि भयो। बहुमतले स्वीट्जरल्याण्ड पार्कतिर निस्कने निर्णय गर्यो। सबैको सल्लाहबमोजिम हामीले बाटो नाप्न थाल्यौं। बिहानदेखि नै काठमाडौं उपत्यका नजिकैका सुन्दर ठाउँहरूको दृश्यपान गर्दै अगाडि बढिरहेका छौं। गीत गाउँदै छौं अहिले। नारायण पोखरेल प्रतिष्ठानको गेटको अगाडि उभिएर फोटो पनि खिच्दैछौं। कानैमा गुन्जियो नारायण पोखरेलको त्यो मीठो आवाज। केहीबेरको हिँडाइपछि राधा बोहोरा दिदीले श्री ईन्द्र आधारभूत विद्यालयको आँगनमा तेस्रो सत्रको कविता वाचन कार्यक्रम आरम्भ गर्नुभयो।
प्रोल्लास सिन्धुलीय दाइले ओखर बाँड्दै हुनुहुन्छ। लक्ष्मी मुडवरीको मुक्तक निकै प्रेमिल सुनिन्छ। शारदा पराजुली, अनिता यात्री, रञ्जु दाहाल, आदिले निकै गहकिला रचनाहरू सुनाउनु भएको छ। अब हामी हिँड्दैछौं जङ्गलको बीच भागबाट। बाटोमा देखिँदै छ होटल नागार्जुन प्यालेस। बाटो निकै रमणीय छ। साहित्यिक कुराकानी उस्तै मिठा छन्। हामी स्वीट्जरल्याण्ड पार्कमा आइपुगेका छौं। पार्कमा भीड छ। रोडभरि गाडीहरू तैनाथ छन्। ठूलो स्वरमा माइकहरू गुन्जिएका छन्। शनिबारको सदुपयोग सबैले गरेका छन्। पिकनिकको संस्कृति जवान भएको छ। प्रविधिले प्रकृतिको शान्ति खोसेको छ। हाम्रो चौथो सत्रको कार्यक्रमलाई यहाँको वातावरणले असर गर्ने देखिएको छ। बिन्दबासिनी मन्दिरलाई गन्तव्य बनाएर हिँड्दै छौं। सयौं सिँढीको बाटो भएर उक्लिँदै छौं। भर्खर पुनहिलबाट आएकी हुनाले यो बाटोले मलाई पुनः पुनहिल पुर्याउँदैछ। पृथ्वी नारायण शाहले निर्माण गर्न लगाएको मन्दिर रहेछ यो।
पक्कै साधना गरेर विजय हासिल गर्न यस्तो ठाउँमा देवीको उपसाना गरेका होलान् पृथ्वीनारायणले। अष्टकोणमा निर्माण गरेको यो मन्दिर उचाइमा रहेछ। मन्दिर सुन्दर र शान्त छ। चन्दागिरिको डाँडाले सूर्यलाई निल्न हतार गरेको छ। अब हाम्रो अन्तिम बसाइँ सायद यही ठाउँ होला। हामी पैँतीस जना जम्मा भएका रहेछौं। बाँकी रहनुभएका सबै सष्टाहरूले आफ्नो रचना यही मन्दिरको प्राङ्गणमा देवीलाई साक्षी राखेर सुनाउनुभयो। शितल गिरी, लिलाराज दाहाल आदिले निकै उत्कृष्ट रचनाहरू वाचन गर्नुभयो। अन्तिम सत्र निकै रमाइलो वातावरणमा सम्पन्न भयो।
कार्यक्रम सकेर हामी हुरूरू ओरालो झर्न थाल्यौं। केहीबेरपछि हाम्रो समूह छुटियो पनि। अब हामी दश जनाको समूहमा सीमित भयौं। झमक्क साँझ परिसकेको छ, सबैलाई घर फर्किनै हतारो छ। हामी पनि कुहिरे डाँडाबाट सोझै दहचोकतिर ओर्लोयौं। सल्लाको जङ्गलमा हिँड्दा पदयात्रा रोमाञ्चकारी लाग्दैछ। दहचोक, बलम्बु हुँदै गुर्जुधारा आइपुग्यौं। बाइस किलो मिटर हिँडेछौं। सोचेकी नै थिइनँ आफ्नै घरको आँगनमा टुप्लुक्क आइपुगिन्छ भनेर।
मैले प्रोल्लास दाइलाई अनुरोध गरेँ। हाम्रो घरमा गएर कफी पिउन। अरू सदस्यहरूले पनि मेरो कुरामा सहमति जनाउनुभयो। म पुलकित भएँ। प्रभा बराल, शोभा पोख्ररेल, लक्ष्मी मुडबरी, अनिता यात्री, रञ्जु दाहाल, प्रोल्लास सिन्धुलीय, बिनोद नेपाल र देवराज ढकालसहित हाम्रो घरको छतमा बसेर कफीको चुस्की लिँदै केहीबेर रमाइलो गर्दै यो यात्रा अझ जारी रहोस् भन्दै बढो अविस्मरणीय रूपमा यात्रालाई बिट मार्यौं।