चारैतिर झलमल्ल खुलेका हिमाल। हातैले छोइएला जस्तै! तल सेताम्मे बादलको तलाउ। पूर्वमा भर्खर उदाउँदै गरेको सूर्यको सुनौला किरण। नजिकै फराकिलो चउर। अनि चउरमा फर्फराईरहेका रंगीन लुङ्दारहरू। बीचमा चार तले गुम्बा। अनि हिमाल र पवित्र लुङ्दारलाई छोएर आएको चिसो हावा।
सबैले भन्छन्–धर्म गरे स्वर्ग, पाप गरे नर्क। मरेपछि पुगिने स्वर्ग कस्तो हुन्छ कसैलाई थाहा छैन। आमा याङ्ग्री पिक (३,७७५ मिटर)मा पुग्दा लाग्यो, ‘स्वर्ग यस्तै हुन्छ कि!’ हिमालको काखमा, बादलुको तलाउ माथि, सूर्यको न्यानो किरणमा।
हेलम्बुको आमा याङ्ग्री डाँडामा पुग्दा सबै पदयात्रीहरु सुन्दर प्रकृतिमा रमाउँदै नेपालको राष्ट्रिय झन्डा फर्फराएर हिमाललाई पृष्ठभूमि बनाउँदै तस्बिर खिच्न थाले। कोही भिडियो त कोही टिकटक बनाउन व्यस्त बने। शेरबहादुर महर्जन भने गीत गाउँदै नाच्न थालेः
आमा याङ्ग्रीको काखैमा
चौंरी त चर्ने पाखैमा
झन् हेरुँहेरुँ लाग्ने
मैच्याङको गाजलु आँखैमा ।
उहाँसैगै सबै नाचे। मैले पनि आमा याङ्ग्री गुम्बा र हिमाललाई पृष्ठभूमि राखेर धेरै तस्बिर खिचेँ।
जति खिचे पनि मन नअघाउने! आँखै नझिम्क्याई हेरिरहन मन लाग्ने। एक छिन आँखा चिम्म गरेर आँखा अगाडि ठोकिन आएका प्रकृतिलाई मनभरी सजाएँ। कति सुन्दर छ हाम्रो देश! स्वर्गसरी! यसलाई हामीले बुझ्न र चिन्न सक्नुपर्छ।
पिकमा प्रकृतिप्रेमी समूहका संस्थापक एवं हाम्रो टोली नेता डा. उमेश श्रेष्ठले नारा लगाउन थाल्नुभयो–
‘आस्वा, आहा!’ उँहासँगै सबै पदयात्रीले जोशिलो स्वरमा दोहोर्याए,‘आस्वा, आहा!’
अझ पदयात्रीहरू नारा घन्काउन थालेः
सहरका मान्छे गाउँ घुमौं।
एक ठाउँका मान्छे अर्को ठाउँ पुगौं।
आन्तरिक पर्यटन प्रवर्द्धन गरौं ।
आमा याङ्ग्री पिक नै आस्वा आहाले गुञ्ज्यिो।
त्यसो त चार दिने पदयात्रामा हामी यसैगरि स्वास्थ्यको मुल मन्त्र लगाउँदै हिँडेका थियौं। हामीले नारा लगाउँदा मान्छेहरू अचम्म मानेर हेर्थे । सोध्थे, के हो आस्वा, आहा भनेको?
‘आस्वा’ को अर्थ ‘आफ्नो स्वास्थ्य’ ‘आहा’को अर्थ ‘आफ्नै हातमा’।
‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ प्रकृति प्रेमी समूहको मुल मन्त्र।
सबैले आफ्नो स्वास्थ्य आफ्नै हातमा लिई स्वास्थ्यको जिम्मेवारी आफैंले लिएर, आफ्नो स्वास्थ्यको हेरविचार आफैं गरेपछि मानिस स्वस्थ्य हुन सक्छन्। यसको सरल विधि भनेको दैनिक जीवनमा उचित आहार, विहार र विचार (उआविवि) अपनाउनु हो।
यसरी उआविविको दैनिक अभ्यासले मानिस निरोगी र आनन्दित हुनसक्छ भन्ने प्रकृतिमा रहेको सत्य ज्ञान फैलाउदै समूहले स्वस्थ्य आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले विगत १७ वर्ष देखि काठमाडौं वरपरका गाउँघरमा १ दिने पदयात्रा हाइकिङ र काठमाडौं बाहिर बहुदिने पदयात्रा गराउँदै आएको छ।
यसै क्रममा २०७९ मंसिर २८ देखि पुस २ गतेसम्म सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा पदयात्रा गरिएको थियो। पदयात्राको क्लाइमेक्स विन्दु थियो–आमा याङ्ग्री।
गुरु रिम्पोछे अर्थात् पद्मसम्भवले योग र ध्यानका लागि छुट्टयाएको ‘बेयुल’ मानिन्छ हेलम्बुलाई।
सिन्धुपाल्चोक जिल्लाको उत्तरपश्चिम भेगमा अवस्थित गाउँपालिका हो ‘हेलम्बु’। साविकका महाँकाल, इचोक, पाल्चोक, किउल र हेलम्बु गरी पाँच गाविस मिलाएर गाउँपालिका बनाइएको छ। गाउँपालिकाको क्षेत्रफल २८७.२६ वर्ग कि.मि. छ।
हेलम्बुको केही भाग लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्छ। तार्केघ्याङ, मेलम्चीघ्याङ, शेर्माथाङ, काजेघ्याङ, आमा याङ्ग्री, कुटुमसाङ, मिलारेपा केभ, घोप्टेघ्याङ, चित्रे डाँडा, गुरु रिम्पोचे डाँडा आदि चर्चित ठाउँ हुन्।
यहाँ पद्मसम्भव र बौद्ध योगी मिलारेपाले ध्यान गरेका गुफा एवम् पदचिन्ह छन।
पहिलो दिन
मंसिर महिनाको चिसो बिहानीमा हामी प्रकृतिप्रेमी समूह, निरोगधामबाट ६ बजे एउटा गाडीमा गुड्यौं। हाम्रो २७ जनाको समूह थियो। पहिलो दिनको यात्रा थियो काठमाडौबाट मेलम्ची हुुदै नाकोटेसम्म गाडीमा र त्यहाँबाट पदयात्रा गरेर मेलम्ची घ्याङ पुग्ने योजना।
हामी साँखु, जहरसिंहपौवा, नाङ्लेभारे हुँदै करिब ४ घण्टाको बस यात्रा पछि बिहान १० बजेतिर मेलम्ची बजार पुग्यौं। नाग्लेभारे कटेपछि नै सिन्धुपाल्चोकका सुन्दर दृश्यहरू देखिए। डाँडै डाँडाहरू, कुनै अग्ला कुनै होचा एकमाथि अर्को खप्टिएर बसेझैं देखिने। तिनै डाँडाका बीचबीचमा सुन्दर बस्तीहरू। अनि गरागरा मिलाएर गरिएका खेती। कति मिहिनेती छन् गाउँलेहरू ! त्यसैले त बलिया र स्वस्थ पनि छन् ।
मेलम्ची
अहिले काठमाडौंको घरघरमा मेलम्ची पसेको छ। सबै खुसी छन्। मेलम्ची काठमाडौं बासीका लागि खानेपानीको मुहान हो। धेरै वर्षको मेहनतले उपत्यकामा पानी आइपुगेको छ। यसका लागि नेपाल सरकारलाई धन्यवाद ! अझै पनि सबैतिर पानी पुग्न बाँकी छ, चाँडै सबैका धारामा मेलम्ची पुग्ने छ।
काठमाडौंबाट ८० किलोमिटर दूरीमा मर्ने मेलम्ची भन्ने वित्तिकै सबैलाई पहिला मेलम्ची खोलाकै सम्झना आउँछ। बाहुने पाटीदेखि नै मेलम्ची खोलाको सुन्दर दृष्य देखिन्छ।
आफ्नो बाटो आफैं बनाउँदै एक नासले बगेकी मेलम्ची। हरियो, सफा नदी। तीरमा बस्ती अनि खेतीयोग्य जमिन।
लाङटाङ राष्ट्रिय निकुञ्जको फेदमा बसेको बस्ती। यहाँ एक दिन सजिलै विताउन सकिन्छ। बस्न होटल तथा होमस्टे सुविधा छ।
घुमफिर गर्न खोला, गुम्बा र बस्ती छन्।
केही दृश्यले भने मन नरमाइलो बनायो। बाढीले मेलम्चीलाई धेरै अप्ठेरो बनाएको रहेछ। मानवीय तथा धनजनको क्षति। अझै देखिन्छन् बाढीको विनास, खोलाले बगाएका घर र माटोका ढिस्काहरू।
अहिले मेलम्ची माथि उठिसकेको छ। ‘हामीले आफ्नै पहलमा मेलम्चीलाई धेरै माथि उठाइसक्यौं’, स्थानीय होटल व्यवसायी सागर श्रेष्ठले भने, ‘अहिले मेलम्ची सुरक्षित छ। सबैलाई एकपटक मेलम्ची भ्रमण गरि हामीलाई साथ दिनुहुन अनुरोध गर्दछु।’
हामीले केही समय मेलम्ची अवलोकन गरेर त्यहीँको एक होटलमा खाना खाएर फेरि गाडीमा अगाडि बढ्यौं। कच्ची मोटरेबल उकालीओराली जंगलको बाटो हुँदै हामी दिउँसो १ बजे नाकोटे बस्तीमा पुग्यौं।
नाकोटे
आकर्षक बस्ती नाकोटे (१,७०० मिटर)। गाउँको बीचमा चैत्य। मुन्तिर मेलम्ची नदी।
हाम्रो पदयात्राको सुरुवात विन्दु। पदयात्रा सुरु हुनु अघि हामीलाई टोली नेता उमेश सरले पदमार्गका विषयमा जानकारी गराउनुभयो। ४ किलोमिटर उकालो चढेर मेलम्ची घ्याङ (२,६५० मिटर) पुग्नु थियो।
दुईटा बाटा थिए, एउटा तुइनबाट र अर्को अलिक लामो झोलुङ्गे पुल तरेर जानु पर्ने। हामी झोलुङ्गे पुल तरेर उकालियौं। बाटोमा ठाउँठाउँमा माने थिए।
४ बजेतिर मेलम्ची घ्याङ् बस्तीमा पुग्यौं।
हामी पुग्दा सूर्य अस्ताउँदो थियो। अस्ताउँदो सूर्यका किरण डाँडामा पोखिँदा डाँडै राताम्मे देखिए। बस्ती पुग्नु अघि खुल्ला चौर थियो। चौरबाट एकछिन दृष्यावलोकन गरेर होटलमा पुग्यौं।
मेलम्ची घ्याङ २६५० मिटर
नाकोटेबाट ४ किमी ठाडो उकालो पछि पुगिन्छ सुन्दर बस्ती मेलम्ची घ्याङ। चारैतिर ठूल–ठूला डाँडाले घेरिएको स्यानो उपत्यका। आमा याङ्ग्रीको छहारीमा बसेकी बस्ती। चिटिक्क घर, सफा आँगन। ढुङ्गा ओच्छाइएका बाटो। बस्ती बीचमा सेतो चैत्य, सर्लक्क मिलेका खेतमा पहेंलपुर तोरीबारी।
मेलम्ची घ्याङमा तामाङ, हेल्म, शेर्पा समुदायको बसोबास छ। कृषि कर्म र होटल व्यावसायमा व्यस्त छन् गाउँले। गाउँमा सुविधायुक्त होटल तथा होमस्टे सुविधा छन्। हामी पुग्ने वित्तिकै गाउँलेहरूले निश्चल मुस्कानमा दुई हात जोडेर हाम्रो स्वागत गरे।
हामी बस्ने होटल भने गाउँबाट अलिक पर थियो। गाउँका तस्बिर खिच्दै होटल पुग्यैं। पुग्ने वित्तिकै होटल सञ्चालक पेमा लामा बाहिर आएर हाम्रो स्वागत गरे। हामी झोला बिसाएर बस्यौं। गायक शेरबहादुर महर्जन भने गीत गाउँदै नाच्न थाले। केही बेरको रमाइलो पछि कोठामा बाँडिएर बस्यौं।
म फ्रेस भएर भान्छा कोठातिर लागें। लोकल आलु, साग र भात पाक्दै थियो।
खानापछि केही बेर अन्तरक्रिया गर्यौं। मिठो खानाको स्वागत सत्कार पायौं।
होटलकी साहुनी निकै फरासिली। श्रीमानश्रीमती मिलेर होटल चलाएका। उहाँले गाउँमा जनावर तथा पशुपन्छी काटमार गर्न नपाइने नियम सुनाउनुभयो।
‘यहाँ काटमार गर्दा केही न केही अनिष्ट हुन्छ’, उहाँले भन्नु भयो। अहिंसा क्षेत्र हेलम्बु। गुरु पद्यसंभवले तपस्या गरेको पवित्र भूमि भएकाले यहाँ हिंसा बर्जित छ।
मेलम्ची घ्याङ ‘पहिला विदेशी बढी आउँथे अहिले नेपाली नै बढी हुन्छन्’, उहाँले भन्नुभयो, ‘आन्तरिक पर्यटकको स्वागत गर्न पाउँदा निकै खुसी लाग्छ।’
काठले बनाइएको सफा किचन। बीचमा आगो ताप्ने ठाउँ। खानापछि केही बेर आगो ताप्यौं। र, एकएक लिटर तातोपानी लिएर सुत्न गयौं।
दोस्रो दिन
बिहान ४ बजे तिरै बिउँझियौँ। मनतातो पानी पियौं अनि नित्य कर्म सकेर बाहिर निस्क्यौं। चिसो हावा, काला डाँडाहरू। केही बेरमै सूर्यका किरण देखिन थाले।
अहो ! सेता बादलको तलाउ माथि हामी। बिस्तारै उज्यालो छरिँदै जाँदा बस्तीहरू सुन्दर देखिन थाले। सूर्योदय, सूर्यास्त अनि बादलको संसार निकै सुन्दर देखिन्छ।
बिहान ६ बजे गाउँ डुल्न निस्कियौं। पद्यसंभवले ध्यानमा बसेको स्थान घुमेर होटलमा फर्कियौं।
मेलम्ची घ्याङममा घुम्ने धेरै पर्यटकिय स्थल छन्। पद्यसंभवले तपस्या गरेको ठाउँ, गुफा, गुरु रिम्पोचेका पाइला, अनि शेर्पा कला, संस्कृति र जीवनशैली अध्ययन गर्न पाइन्छ। यहाँ एक दिन बसेर घुम्नु उपयुक्त हुन्छ।
हामीलाई भने तार्केघ्याङ हुँदै आमा याङ्ग्री बेस क्याम्पमा पुग्नु थियो।
बिहान ८ बजे लोकल नास्ता थेन्डुक खाएर गाउँलाई बाईबाई गरि हामी ओरालो झर्यौं। गाउँसम्मै मोटर बाटो छ। हामी नाकोटेसम्म मोटरबाटो ओेरालो ६ किलोमिटर झर्यौं। नाकोटबाट भने फेरि गाडीमा तार्केघ्याङसम्म पुग्यौ। नाकोटेबाट हिँडेरै पुग्न सकिन्छ तार्केघ्याङ। बाटोमा ठाउँठाउँमा चैत्य र वस्ती छन्।
तार्केघ्याङ (२,५५० मिटर)
हिमालको छहारीमा बसेको तार्केघ्याङ पुग्दा मध्यान्ह १२ बजेको थियो। होटलमा हाम्रा लागि खाना तयार भैसकेको थियो। खाना खाएर केही बेर फोटो खिचेपछि हाम्रो पदयात्रा सुरु भयो।
हामीलाई लिन आमा याङ्ग्री बेस क्याम्पबाट सांगे हेल्मो दाइ आउनु भएको थियो । हामीले उहाँलाई पच्छयाउँदै जंगलको उकालो लाग्यौं।
केही बेर हिँडेपछि तार्केघ्याङको ध्यान केन्द्रमा पुग्यौं। त्यहाँ केही बेर पानी ब्रेक गर्यौं।
जतिजति उचाई लिँदै गयौ उतिउति हाँसेका हिमालहरु अनि चिसो हावा। उकालो चढ्दा हतारहतार गर्नु हुँदैन। लेक लाग्न सक्छ।
बिस्तारै हिँड्ने। ठाउँठाउँमा मनतातो पानी ब्रेक गर्दै आराम गर्दै हिड्नुपर्छ। अर्को बुझ्नु पर्ने कुरा, मुख खुला राखेर हिँड्नु हुँदैन।
टाउको दुख्ने, रिंगटा लाग्ने, थकाई लाग्ने जस्ता लक्षण देखिएमा आराम गर्ने। धेरै टाउको दुखेमा, घुच्चुक दुखेमा वा वाकवाकी लागेमा भने ओरालो झरि हाल्ने।
हामी बिस्तारै उकालियौं हिमाललाई दायाँ, बायाँ पार्दै। जंगलको उकालो करिब ६ किलोमिटर पछि ४ बजे तिर आमा याङ्ग्री बेस क्याम्प, चोमोथान पुग्यौं।
आमा याङ्ग्री बेस क्याम्प, चोमोथाङ ( ३,२०० मिटर)
निलो आकास, खुलेका हिमाल अनि खुला चौरमा बस्न राखिएका मेचहरू। नजिकै सानो घर। हामी पुग्ने वित्तिकै ताततातो चिया खुवाउनु भयो। मैले सोचेकी थिएँ, यहीँ होला हाम्रो बास बस्ने घर। दुई जना भाइ थिए। मैले एउटालाई सोधेँ, ‘हामीलाई कोठा खोई त?’
भाइहरूले जिस्किएर भने, ‘यहीं ओच्छ्यान लगाउने हुन्न र?’ मैले हुन्छ भने।
पछि थाहा पाएँ, हामी बस्ने होटल अलिक तल रहेछ। यो त चिया घर, थाकेर आएका पर्यटकलाई आराम गराएर तातो चिया दिएर स्वागत गराउने थलो। आमा याङ्ग्री यतैबाट उकालो लाग्नु पर्ने।
चिया पछि केही मिनेट जंगलको बाटो हिँडेर होटलमा पुग्यौं।
काठले बनाइएका ससाना चिटिक्क परेका घर। नजिकै टेन्ट पनि। बेस क्याम्पबाटै हिमाल देखिन्छन्।
वेस क्याम्पमा यहीँ एउटा मात्र होटल छ। करिब ३० देखि ५० जना क्षमताको। हामी ८ जना महिलाहरु काठका घरमा बस्यौं। अरू टेन्टमा।
आ-आफ्ना कोठामा झोला बिसाएर हामी एक्लमटाइज हुन केही बेर आमा याङ्ग्री डाँडामा चढ्न गयौं भोलिलाई सजिलो होस् भनेर। करिब २०० मिटर उकालो नापेर हामी ओरालो झर्यौं।
वातावरण चिसो थियो। सबै आगो ताप्न र तातोपानी पिउन किचनतिर लाग्यौ। काठले बनाइएको भान्छामा धुवाँरहित चुलो। केही बेरमै हाम्रो खाना आयो। खाना खाइवरी तातोपानी लिएर हामी सुत्न गयौं। भोलि विहान सबेरै उठ्नु थियो।
धेरै चिसो होला भन्ने लागेको थियो, तर काठको घर न्यानो रहेछ।
तेस्रो दिन
बिहान सबेरै उकालो चढ्नुपर्छ पिकमा जान। त्यसैले बिहान ३ बजे देखिनै उठ्न थाल्यौं।
मनतातो पानी एकएक लिटर पिएर पेट सफा गर्यौं। खाली पेटमा एक लिटर मनतातो पानी पिउनाले पेट सफा हुन्छ। हामी पदयात्रामा यस्तै व्यवहारिक स्वास्थ्य ज्ञान बाँड्दै र अभ्यास गर्दै हिँड्छौं।
५ बजे नै तयार भएर हिँड्यौं। पुस १ गतेको बिहान चिसो थियो, निष्पट्ट अँध्यारो। टर्च बाल्दै हिड्नुपर्ने । कसैका टाउकामा टर्चलाइट थियो भने कसैका हातमा।
लामबद्ध भएर हामी बिस्तारै अघि बढ्यौं। सबैभन्दा अगाडि टोली नेता डा. उमेश बस्नु भयो भने सबैभन्दा पछाडि स्वयंसेवक होमराज तामाङ।
टर्चलाइटको मधुरो उज्यालो। जंगलको बाटो। हामी सुस्तरी हिँड्यौं। ढुङ्गैढुङ्गाको ठाडो उकालोमा।
उकालोमा मुख खुला राख्नु हुँदैन। हामीले ठाउँठाउँमा मनतातो पानी ब्रेक गर्दै यात्रा गर्यौं।
अरु पर्यटक भने सूर्योदयको स्वागत गर्न हतारहतार अघि बढे।
बिस्तारै अँध्यारोलाई चिर्दै सूर्यको किरणले स्वागत गर्न थाले। मधुरो उज्यालोमा पछाडि फर्केर हेर्दा बादलुको तलाउ देखिए। अनि भर्खर उदाउँदै गरेको सूर्यका किरण बादलमा पोखिँदा स्वर्गको टुक्रा जस्तै देखियो प्रकृति!
दुई डाँडाको बीचबाट उदाउँदो सूर्य। तलतल बादलुको तलाउ अनि हिमाली शृंखलाहरू। भर्खर उदाउँदै गरेको सूर्यका किरण हिमालमा छर्दा सुनौला देखिए।
सबै पदयात्रीहरू रमाएर सूर्योदयको तस्बिर खिच्न थाले, कोही भिडियो खिच्न त कोही टिकटक बनाउन व्यस्त बने।
कलिलो सूर्यको स्वागत गरेर हामी उकालो चढ्यौं बादललाई तलतल पार्दै।
डाडाँको शिखरमा, हिमालको छहारीमा बसेकी छिन् आमा याङ्ग्री।
माथि पुगेपछि देखियो आमा याङ्ग्रीको प्रवेशद्वार। बिहान ८ बजे प्रवेश द्वारबाट भित्र पस्यौं। मनको इच्छा पुर्याइदिने देवीको शरणमा।
आमा याङ्ग्री पिक ३७७५ मिटर
आमाको अर्थ ‘रक्षा गर्ने’ र याङ्ग्रीको अर्थ ‘इच्छा पुर्याइदिने’। डाँडाको बीचमा चार तले रंगिन गुम्बा। यसमा पद्यसंभवको मूर्ति बनाउने काम भइरहेको छ। लाङताङ राष्ट्रिय निकुञ्जमा गुरु पद्यसंभवले ध्यान बसेको पवित्र भूमि हो हेलम्बुको आमा याङ्ग्री।
यहाँबाट ३६० डिग्रीमा हिमालहरु देखिन्छन् गौरीशंकर, दोर्जेलाक्पा, जुगल, लाङ्टाङ, गणेशलगायतका हिमालहरू। हिमालसँग आँखा झिम्क्याउँदै सुरु हुन्छ आमा याङ्ग्रीको बिहानी।
डाडाँमा बस्ती छैन। पहिला तार्केघ्याङ्को बस्ती यतै थियो। चट्टानैचट्टान भएकाले बस्ती तल सरेको यहाँका पुजारी बताउँछन्।
उनीहरू बर्सेनी यहाँ आएर पूजापाठ गर्छन्। डाँडामा चैतबैशाखमा मेला लाग्छ। सेर्पा, तामाङ, क्षेत्री आदिको बसोबास छ।
यस क्षेत्रमा बर्षैभरि यात्रा गर्न सकिन्छ। चैतवैशाखमा हेलम्बु क्षेत्र गुराँसले राताम्मे हुन्छ, पुस माघमा भने हिउँले सेताम्मे। हामी केही बेर यहाँबाट देखिएको दृष्याबलोकन गरेर खाजा खायौं। अनि सामूहिक तस्बिर खिचेर केही बेर स्वास्थ्य सम्बन्धी नारा लगायौं। अनि ओरालो झर्यौं।
ओरालोमा झर्दा घुँडालाई ध्यान दिएर झर्नु पर्छ। करिब १० बजेतिर बेस क्याम्प पुग्यौं। केही बेर आराम गरेर खाना खायौं।
वेस क्याम्पबाट तार्केघ्याङ झरेर काठमाडौं फर्कन सकिन्छ। हामी चाहिँ बेस क्यम्पबाट शेर्माथाङ तिर लाग्यौं।
शेर्माथाङ (२,५५० मिटर)
चोमोथान बेस क्यम्पबाट ८ किमी निकुञ्जको जंगल बाटो उकाली ओराली हुदै पुगिन्छ। बाटोमा चौरहरुमा याकहरु चर्दै गरेको देख्न सकिन्छ।
शेर्माथाङ लाङताङ राष्ट्रिय निकुञ्जको प्रबेश विन्दु चिटिक्क छ बस्ती। बारीमा हरिया साग। आँगनमा लहराईरहेका रंगिन लुङ्दारहरु। ठाउँठाउँमा चैत्य र मानेहरू। हेलम्बु सर्किट पदयात्राको विन्दु हो शेर्माथाङ। शेर्पा, हेल्मो, तामाङ आदिको बसोबास रहेको शेर्माथानमा करु, आलु, मुला साग खेती हुन्छ। गाउँलेहरु कृषि कर्म र होटल व्यवसायमा व्यस्त छन्। काँडाघारी पाउने ठाउँ भएकाले ‘क्षरमाथान’ भन्दाभन्दै शेर्माथाङ भनिएको भनाई छ।
शेर्माथानको स्नोफल होटलमा बास बस्यौं। आधुनिक होटल। सफा कोठा। ठुलो हल। फ्रेस भएर हलतिर लाग्यौं।
शेर्पा भाषामा ‘हेल्’को अर्थ आलु र ‘लम्बु’को अर्थ मुला। हेलम्बु पहिला स्याऊका लागि प्रख्यात थियो। अचेल स्याऊ त पाइँदैन, आलु र मुला भने प्रशस्तै पाइन्छ।
बिहान फ्रेस भएपछि हामीले योग गर्यौं। योग पछि गाउँ घुम्यौं। !
शेर्माथाङमा घुम्नलायक धेरै ठाउँ छन्। भ्यूपोइन्ट, बुद्धपार्क, गुम्बा आदि। त्यसै गरी यहाँबाट सिन्धुपाल्चोकको पाचपोखरी पदयात्रा गर्न सकिन्छ। हामी भ्यूपोइन्ट गयौं, स्कुल घुम्यौं र बिहानको खाना खाएर मध्यान्ह १२ बजे गाडीमा काठमाडौं फर्कियौं।
हेलम्बु क्षेत्र काठमाडौंबाट हिमाल हेर्दै शेर्पा कला संस्कृति अध्ययन गर्न सकिने नजिकको पर्यटकिय गन्तब्य हो। हेलम्बुलाई स्वस्थ आन्तरिक पर्यटन विकास गर्न प्रकृति प्रेमी समूहले बेलाबेलामा पदयात्रा गर्ने उदेश्य राखेकोछ। हामी त पुग्यौं हेलम्बुको पवित्र स्थान आमायाङग्री। अहिले हिउ पर्ने मौसम छ। हिउँमा टेक्दै आमा याङ्ग्री पदयात्रा गर्ने हो कि ?
यसरी पदयात्रा गर्दा आन्तरिक पर्यटनको विकास हुन्छ, गाउँको आर्थिक विकास हुन्छ। आउनुहोस्, आन्तरिक पर्यटन प्रवर्द्धन गरौं। गाउँको अर्थतन्त्रमा टेवा पुर्याऔं। आफ्नो गाउँ आफैं घुमौं। आफ्नो ठाउँ आफैं बनाऔं।
आफ्नो स्वास्थ्य आफ्नै हातमा
देशको भाग्य सबैको हातमा।
कसरी पुग्ने?
काठमाडौंको जोरपाटीबाट मेलम्ची हुँदै तार्केघ्याङ्सम्म सार्बजनिक बस चल्छन्। जिप चाहिँ आमा याङ्ग्री वेस क्याम्पसम्मै पुग्छ।
तार्केघ्याङबाट वेस क्याम्पसम्म ६ किलोमिटर मोटरेबल बाटोमा पदयात्रा गर्न २ देखि ३ घण्टा लाग्छ। बेस क्याम्पमा बास बसेर भोलि बिहान वेस क्याम्पबाट २.५ किलोमिटर ठाडो उकालो चढेर आमा याङ्ग्रीमा पुग्न करिब २ देखि ३ घण्टा लाग्छ।
पदयात्रा गर्दा :
पहिलो दिन - : काठमाडौंबाट नाकोटेसम्म करिब ९७ किलोमिटर गाडीमा ६–७ घण्टा।
पदयात्रा - : नाकोटेबाट मेलम्ची घ्याङ वस्तीसम्म, ४ किलोमिटर ठाडो उकालो ।
समय - : ३–४ घण्टा ।
बास - : मेलम्ची घ्याङमा। यहाँ धेरै होटल छन्।
सम्पर्क - : तेङ्बा लामा ९८६६१९३५३३, याङ्ग्री होटल एण्ड लज।
दोस्रो दिन - : मेलम्ची घ्याङ्बाट नाकोटे हुँदै तार्केघ्याङ र तार्केघ्याङबाट आमा याङ्ग्री बेस क्याम्पसम्म पदयात्रा।
पदयात्रा - : मेलम्चीघ्याङ (२,६६० मिटर) देखि नाकोटे (१,९०० मिटर) ६ किलोमिटर मोटरेबल ओरालो। नाकोटेबाट तार्केघ्याङ (२,५५० मिटर) सम्म गाडीमा ७.५ किलोमिटर उकालो।
तार्केघ्याङबाट आमा याङ्ग्री बेस क्याम्प (३, २०० मिटर)सम्म पदयात्रा (जंगलको मोटरेबल उकालो)।
पदयात्रा दूरीः १२ किलोमिटर, समय - : ६ घण्टा।
बास - : बेस क्याम्पमा। यहाँ एउटा मात्र होटल छ।
आमा याङ्ग्री प्याकेजः
आमायाङ्ग्री पदयात्रा गर्न एक रात दुई दिन छुटाए पुग्छ। चोमोथान होटलमा प्याकेजको ७ हजार तिरेमा काठमाडौंबाट बेस क्याम्प सम्म गाडीमा र भोलि पिक पुगेर काठमाडौंसम्म जिपमा पुर्याउने व्यवस्था रहेछ। यसमा गाडी यात्रा देखि खाने बस्ने सुविधा छ।
सम्पर्क - : दाबा शेर्पा ९८५१३१४३१८, चोमोथाङ रिसोर्ट।
तेस्रो दिन - : बिहान ५ बजे नै तयार भएर आमा याङ्ग्री पिक (३,७७५ मिटर) चढ्ने। वेस क्याम्पदेखि याङ्ग्री पिक २.५ किलोमिटर ठाडो उकालो। पिकमा दर्शन गरेर ओरालो झर्ने। बेस क्याम्पमा खाना खाएर हिड्न सकिन्छ।
पदयात्रा दूरी - : वेस क्याम्प–आमा याङ्ग्री ५ किलोमिटर ठाडै उकालो÷ओरालो। बेस क्याम्प–शेर्माथाङ ८ किलोमिटर उकाली र ओराली। लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र।
जम्मा पदयात्रा दूरीः १३ किलोमिटर।
समय - : पिक चढ्न २ घण्टा, ओरालो झर्न २ घण्टा। बेस क्याम्पदेखि शेर्माथाङसम्म ४ घण्टा। जम्मा ८ घण्टा।
बास - : शेर्माथाङमा धेरै होटल छन्।
सम्पर्क - : डोल्मा लामा–९८१३४८२८१०, स्नो फल रिसोर्ट।
चौंथो दिन - : गाउँ घुम्ने। खाना खाइवरि गाडीमा फर्कने वा मेलम्ची बजारसम्म पदयात्रा गर्न पनि सकिन्छ। शेर्माथाङ–मेलम्ची करिब १८ किलोमिटर, पदयात्रा समय करिब ४ घन्टा।
पदयात्राका विशेषताहरु :
- शेर्पा कला, संस्कृति र जीवनशैलीको सुवास
- मेलम्ची खोला, उकाली ओराली।
- बौद्ध गुम्बा, मानेहरु
- हरिया जंगल निकुञ्ज क्षेत्र
- गुरु पद्यसंभवले ध्यान गरेको पावन भूमि।
- पवित्र तिर्थस्थल आमा याङ्ग्री मन्दिर
- सफा गाउँ बस्ती ।
- हिमाली श्रृखलाहरु।
- सुर्योदय र सुर्यास्तको मनमोहक दृष्य।
- बादलको संसार
हेर्नुहोस् भिडिओ
पदयात्रा गर्दा ध्यान दिनु पर्ने कुराहरू
- पदमार्गबारे राम्रोसँग जानकारी लिने। त्यहाँको मौसम र बाटोको अवस्थ बुझ्ने। नक्शा तथा अनलाइनमा जानकारी हेर्ने। भ्रमण तालिका बनाउने।
- सजिलो रुक्स्याक व्याग बोक्ने। व्यागमा ज्याकेट, टिशर्ट, क्याप, सन ग्लास, पञ्जा, मोजा, रेनकोट, लौरो, पानी बोतल, क्यामेरा, डायरी, कलम, दुरबिन, टावल, टुथ पेष्ट, साबुन आदि बोक्ने।
- हिँड्न सजिलो जुक्ता हुनुपर्छ। जुक्ता अप्थ्यारो भएमा हिड्न गाह्रो हुन्छ। तसर्थ टे«किङ बुट प्रयोग गर्ने। अतिरिक्त एक जोर जुत्ता पनि बोक्ने।
- प्राथमिक उपचारका सामाग्रिहरु, जीवनजल, सिटामोल, हयाण्डी प्लास्ट, व्याण्डेज आदि बोक्ने ।
- खानाः स्वस्थबद्र्ध खानेकुराहरु प्रयोग गर्ने। झोलिलो कुरा बढी खाने। हिड्दा चिल्लो, पिरो, अमिलो तथा उत्तेजना बढाउने खालका खाना नखाने। मद्यपान, धुम्रपान नगर्ने, यसले अम्लियता बढाउँने, टाउँको दुख्ने र हिड्न अप्थ्यारो गराउँछ ।
- पानीः हिड्दा पानी नियमित पिउँनु पर्छ। चिसोमा हिड्दा मनतातो पानी प्रयोग गर्ने। पानी एकैपटक धेरै नपिउँने। प्रतिघण्टा करिब ३०० एमएलका दरले पिउँने वा पसिना निस्केको अनुपातमा पिउँने। ठोस आहार र पानीको अन्तर कम्तिमा आदा घण्टाको राख्ने।
- उकालोमा हिड्दा मुख खुल्ला हुनेगरी नहिड्ने। मुख खुल्ला गरेर स्वाँस्वाँ गरी हिडेमा मुटुलाई धपेडी हुन्छ। आफ्नो क्षमता अनुसार हिड्ने। ओरालोमा घुडाको ख्याल गरी ट्रेकिङ लौरोको सहायतले विस्तारै हिड्ने।
- एकैपटक तातोबाट ह्वाट्ट चिसोमा जाने वा लुगा खोल्ने वा नुहाउँने नगर्ने।
- फोटो खिच्दा लडिएला, होस पु¥याउने। ढुङ्गामा चढ्ने वा अप्थ्यारा ठाउँमा गएर फोटो नखिच्ने।
- स्वास्थ्यको अबस्था ठिक राखेर मात्र यात्रामा निस्कने।
- २५ सय मिटर भन्दा माथि अक्सिजनको कमिले स्वास फेर्न समस्या हुनेलाई बतिष्तगमभ कष्पलभकक भनिन्छ। त्यसैले उचाई चढ्दा बिस्तारै आराम गर्दै पानी खाँदै हिँड्ने। रिंगटा, थकाई लागे, घुच्चुक दुखेमा आराम गर्ने। वाकवाकि लागेमा भने ओरालो झरिहाल्ने।
- बासस्थान तथा खानाः खान र बास बस्न होटल तथा होम स्टेमा पहिला नै सम्पर्क गरेर बासको लागि व्यवस्था मिलाउँने। अन्यथा बास बस्न अप्थ्यारो हुन्छ।
- सामानको ख्याल गर्नेः बास बसेको ठाउँमा पर्स, कपडा, डायरी, व्याट्रि तथा मोबाइल चार्जर, क्यामेरा, दुरबिन, झोला आदि सामान छुट्न सक्छ । ख्याल गर्ने।
- पदयात्रामा एक्लै निस्कनु भन्दा समूहमा हिड्नु उपयुक्त हुन्छ। एक्लै हिड्दा गाइड तथा राम्रो जानकारी लिएर मात्रा हिड्ने। समूहमा समूहमा हिड्दा एकले अर्कालाई सहयोग गर्दै हिड्ने।
- पदयात्रामा स्थानीय संस्कृति, जीवनशैली र गाउँलेको सम्मान गर्ने । गुम्बा वा मन्दिरमा अनुमति लिएर मात्र जाने । हल्ला नगर्ने। मान्छेका तस्बिर अनुमति लिएर मात्र खिच्ने ।
- पदयात्राबाट फर्के लगत्तै नोटबुक र तस्बिरको राम्रो अर्काइभ राख्ने। सामाजिक सञ्जालमा अनुभव बाँड्ने। साथीलाई अनुभव सुनाउने।
- खुद्रा पैसा बोक्दा सजिलो ।
(‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक महर्जन योग तथा उआविवि (उचित आहार, विहार र विचार) प्रशिक्षक हुन्।)
आमा याङ्ग्रीका थप तस्बिहरू