गुराँसको लालीले काठमाडौंं सेरोफेरोका वनजंगल राताम्मे भएका छन्। अहिले काठमाडौंंमा गर्मी बढेको छ। काठमाडौंको गर्मी छल्न तपाईंहरू पनि चिल्लाङ लालीगुराँस हाइकिङमा निस्कने कि?
गुराँस फूल्दा वनै घमाइलो
कोइली गाउँदा मनै रमाइलो
वसञ्तले मुस्काउँछ,
भँवराले जिस्काउँछ
भुनभुन गरेर।
कम्मर भाँची नाचिदिउँकी छुनमुन गरेर...
थानकोट गोदामबाट चित्लाङतिर पदयात्रा गर्दा बाटैभरि ढकमक्क फुलेका गुराँसको सौन्दर्य देखेर मनमा यो गीत गुन्जिन थाल्यो।
लालिगुराँसको सौन्दर्यमा सबै पदयात्री रमाउन थाले। कोही फोटा खिच्न थाले त कोही कम्मर मर्काएर नाच्दै टिकटक बनाउन व्यस्त भए।
कस्तो मिठो सामिप्यता! प्रकृतिका सन्तान हामी प्रकृतिको काखमा पुगेपछि आमाको काखमा पुगेझैं रमाउने! पदयात्रामा पछाडि बसेर सबैलाई अघि बढाउने मेरो जिम्मेवारी तर, मैले सबैलाई अगाडि बढाउन सकिरहेकी थिइनँ।
म एक टकले उभिएर त्यो दृष्य हेरिरहेँ। आखिर प्रकृतिभन्दा सुन्दर के छ र ! निश्च्छल प्रकृतिको काखमा पुगेपछि सबै रमाउने।
घुमफिरमा यस्तै अनुभूति सँगाल्न पाइन्छ। प्रकृतिको नियम बुझ्दै, हरियालीमा रमाउँदै, चराको चिरबिर सुन्दै, उकाली र ओरालीमा पसिना चुहाउँदै हिँड्दा स्वास्थ्य लाभ हुन्छ। जति हामी प्रकृतिको नजिक पुग्छौं त्यति जीवन सरल र सुन्दर बन्छ। त्यसैले स्वस्थ रहन हरेक व्यक्तिले बिहान दैनिक १ घण्टा हिँड्नु पर्छ। साथै सके हप्तै पिच्छे, नसके महिनाको एक पटक भए पनि स्वच्छ वातावरण भएका ठाउँमा हिँड्नु पर्छ।
पदयात्राले स्वास्थ्य लाभ हुन्छ, मन चंगा बन्छ। पसिनामार्फत शरीरका विकार बाहिरिन्छ। साथै गाउँले जीवनशैली, प्रकृति र संस्कृति बुझ्न पाइन्छ।
हामी पनि यस्तै पदयात्रामा हिँडेका थियौं फागुन २८ गते प्रकृति प्रेमी समूहको १६४ औं शृंखलाको चित्लाङ हाइकिङमा।
हाम्रो गन्तव्य थियो–थानकोट गोदामको पानीघाटबाट ठाडो उकालोहुँदै चन्द्रागिरि भज्याङ र भज्याङबाट मकवानपुरको चित्लाङसम्म।
त्यो दिन हामी निरोगधाम, सातदोबाटोमा नाम दर्ता गरी ४ वटा गाडीमा कलंकी, थानकोट हुँदै थानकोटको गोदामदेखि २ कि. मि. माथि पानीघाटसम्म गएका थियौं।
त्यहाँ केही बेर पदयात्रा गन्तव्यबारे जानकारी गराएपछि उकालो गोरेटो समात्यौं।
‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लेखिएको निलो क्याप लगाएका हाइकर्सहरू लहरै उकालो लाग्दा रमाइलो दृश्य देखियो।
जंगलको बाटो रोमाञ्चक थियो। ठाउँठाउँमा पानी र फलफूल ब्रेक गर्दै उकालियौं।
पदयात्रा सुरु गरेको केही समयपछि नै लालीगुराँसको वैंस मुस्कुराएको देख्न पाइयो। रुखमा राताम्मे थियो। यतिवेला काठमाडौंंलाई पहरा दिइरहेको जुनसुकै डाँडा चढे पनि गुराँस देख्न पाइन्छ।
हामी गोदामबाट हिँडेर चन्द्रागिरि भञ्ज्याङ (२,२५० मिटर) मा पुग्दा बिहानको ११ बजिसकेको थियो। भञ्ज्याङ मास्तिर भ्युटावर बनाइएको रहेछ, अवलोकन गर्यौं। हामी पुगेको दिनमा काठमाडौंंका केही कलेजले विद्यार्थीलाई चित्लाङ घुमाउन ल्याएको देखियो। उनीहरूले केवलकारबाट ओर्लेर हाइकिङ सुरु गरेका रहेछन्। यसरी विद्यार्थीलाई पदयात्रा गराउँदा दिमाग फ्रेस हुन्छ। प्रकृतिलाई बुझ्ने मौका मिल्छ।
अहिले गोदामबाट भञ्ज्याङ भएर चित्लाङ जोड्ने सडक फराकिलो बनिसकेको छ। राणाकालमा मान्छेले गाडी बोकेर भिमफेदी, चित्लाङ, चद्रागिरिहुँदै कठमाडौं ल्याएका थिए। त्यहाँ सानुभाइ जिम्बाले चलाएको खाजा घर छ जहाँ थकाई मार्न सकिन्छ।
हामीले पनि एक छिन आराम गर्यौं। अनि पश्चिमतिर ओरालो झर्यौं। ओरालोमा पनि राताम्मे गुराँस। मौसमअनुसार प्रकृतिले आफ्नो रंग फेर्छिन्। कहिले गुराँसको लाली त कहिले हरियाली अनि कहिले भुइँकुहिरोको साम्राज्य !
भञ्ज्याङबाट करिब ६ किलोमिटर पदयात्रा गरेर हामी गुर्जुधारामा पुग्यौं। त्यहाँ बुद्धरत्न मानन्धरको परिवारले गुर्जुधारा होमस्टे चलाउँदै आएको छ।
होमस्टेमा हाम्रो लागि खाना तयार थियो। ब्राउन राइस, दुई थरि हरियो तरकारी, दाल र गोलभेडाको अचार।
हाम्रो पदयात्रामा यस्तै स्वास्थ्यवर्द्धक खाना खुवाइन्छ। मैदाबाट बनेका परिकार हामी खाँदैनौं। हाम्रो यात्रामा जंकफुड, फास्टफुड, मदिरा, चुरोट आदि प्रतिबन्धित छ।
हामीले तीन बराबर खाना खायौं अर्थात, एक भाग अन्नस्वरुप भात, एक भाग तरकारी र एक भाग सलादस्वरुप गाजर र स्याउ खायौं। यसरी तीन थरि मिलाएर खाँदा शरीरलाई चाहिने रेशा अर्थात छोक्राबोक्रा प्रशस्त पुग्छ। कब्जियत हुँदैन। कब्जियत नभए पछि स्वस्थ रहन सकिन्छ। यसरी मिलाएर खाँदा मोटोपन हुँदैन र बढी भएको तौल पनि कम हुँदै जान्छ।
सबै पदयात्रीले खाना खाएपछि हामीले स्वास्थ्य सम्बन्धी अन्तरक्रिया गर्यौं। प्रकृतिप्रेमि समूहका संस्थापक डा. उमेश श्रेष्ठले समूहको अभियानबारे जानकारी गराउनुभयो भने होमस्टे सञ्चालक बुद्धरत्नले चित्लाङको चिनारी पस्किनुभयो।
प्रकृति प्रेमी समूहले निरोगआन्दका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। त्यस मध्ये हाइकिङ एक हो। समूहले स्वस्थ र निरोगी रहने जीवनशैली कसरी अँगाल्ने भन्ने व्यवहारिक ज्ञान दिँदै आएको श्रेष्ठले बताउनुभयो।
अन्तरक्रियाको अन्त्यमा हामीले नाचगान गर्यौं। त्यहाँबाट त्रिगजुरेश्वर महादेव दर्शन गरेर हामी फर्कियौं। फर्कंदा चन्द्रागिरि भञ्ज्याङबाट भने हामीले मोटर बाटोलाई पच्छ्यायौं। यसरी हामी १६ किलोमिटरको लालीगुराँस हाइकिङ हिँड्यौं।
काठमाडौंको गर्मी छल्ने सुन्दर गन्तव्य मानिएको चित्लाङमा वर्षैभरि सिरक ओढेर सुत्नुपर्छ। मकवानपुरको थाहा नगरपालिकामा पर्ने चित्लाङ उपत्यका उत्तरदक्षिण फैलिएको लाम्चो आकारमा छ। यहाँ वर्षैभरि घुमफिर गर्न सकिन्छ। कहिले लालीगुराँस, कहिले ऐंसेलु, कहिले भुइँस्याउ, कहिले भुइँकुहिरोको सुवासमा रमाउन पाइन्छ।
चित्लाङमा नेवार, तामाङ, क्षेत्री, बाहुन, बलामी आदिको बसोबास छ। यहाँ घुम्न, रमाउन र अध्ययन गर्ने धेरै सम्पदा छन्। यसको सेरोफेरोमा पनि घुम्नलायक गन्तव्यहरू छन्। चिल्लाङमा एक दिन बास बसेर यसको सेरोफेरो घुम्नु उपयुक्त हुन्छ। बास बस्न बस्तिमा होमस्टे र होटलहरु छन्।
चित्लाङका सम्पदा
त्रिगजुरेश्वर
एउटै मन्दिरमा तीन वटा गजुर भएको दृश्य कमै देखिन्छ। चित्लाङ तीन वटा गजुर भएको त्रिगजुरेश्वर महादेव छन्। पुरातात्विक महत्वको मन्दिरमा शिवलिंग छन् । यहाँ साउने सोमबार, शिवरात्री र ठूलो एकादशीमा मेला लाग्छ।
हालै मन्दिरको जिर्णोदार गरिएको छ। मन्दिरको अगाडि रहेको सत्तल पनि धमाधम पुननिर्माण भइरहेको छ।
गुर्जुधारा
मोटर बाटो नखुल्दा पहिला पहिला चन्द्रागिरि भञ्ज्याङ भएर तराई र भारत आउजाउ गरिन्थ्यो । यात्रीहरू चित्लाङ आइपुगेपछि गुर्जुको धारामा सुस्ताउँथे । र, यहाँको चिसो पानी पिउँथे । नेपाल भाषामा यसलाई ‘ल्हो हिटी’ भनिन्छ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि धेरै पटक यहाँको पानी पिएको गाउँले सुनाउँछन्। एक पटक पानी पिएर बसेका बेला पशुपतिनाथ दर्शन गर्न एउटा मोटे भारतीय मान्छेको काँधमा चढेर आएको उनले देखे। उनलाई लाग्यो मान्छेलाई दुःख दिएर पनि कतै धर्म कमाइन्छ? त्यसैले उनले लेखे ‘कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो, मानिसहरूको काँध चढि कुन देवपुरी जाने हो?
धाराको जिर्णोदार गरिएको छ। छेवैमा पूर्व शिक्षक एवं पर्यटन अभियन्ता बुद्धरत्न मानन्धरले होमस्टे चलाएका छन्।
दरबार
काठमाडौंं–तराई ओहोरदोहोर गर्ने बेलामा बास बस्नका लागि राणाकालमा चित्लाङमा दरबार बनाइएको थियो। चन्द्र शमशेरको पालामा बनेको दरबार जीर्ण भैसकेको छ। इँटाको गारो र माटोको जडान भएको दरबारमा जस्ताको छाना छ। स्वच्छन्द भैरब उच्च मा.वि.ले भोगचलन गर्दै आएको दरबारलाई शिक्षक आवासगृह, कार्यालय र सभा कक्षमा रुपान्तरण गरिएको छ।
सातधारा
चित्लाङ बस्तीको एक छेउमा ७ वटा ढुंगेधारा छन्। त्यहाँबाट हरपल पानी खसिरहन्छ। उहित्यै सत्य युगदेखिका धारा मानिन्छन्। तिनताका चित्लाङमा ऋषिमुनि ध्यानमा बस्थे। उनीहरू त्यहाँको पानी पिउँथे। नुहाईधुवाई गर्थें।
हालै सातधाराको जिर्णोदार गरिएको छ। वि.सं. २०७२ वैशाख १२ को भुकम्पमा धाराको पानी सुकेको थियो। फेरि वि.सं. २०७६ मा अर्को भुकम्प आउँदा पानी पुनः आउन थाल्यो। अचेल पनि स्थानीयले पिउन, नुहाउन, लुगा धुन र सिंचाईमा यसको प्रयोग गर्दै आएका छन्।
अशोक चैत्य
भारतवर्षमा बौद्ध धर्म प्रचार गरेका सम्राट अशोक लुम्बिनी घुमेर ईसापूर्व २७३ मा छोरी चारुमतीसँगै काठमाडौंं आएका थिए। उनले चाबेलमा चारुबही र चित्लाङमा चैत्य बनाएका थिए। चित्लाङमा बनाइएको चैत्यलाई ‘अशोक चैत्य’ भनिन्छ। त्यही चैत्यसँग लङ मिलाएर घरहरू बनाइयो
चित्लाङ सेरोफेरोका गन्तव्य
बाख्रा फार्म
मकवानपुरको थाहा नगरपालिका–१० र इन्द्रसरोवर गाउँपालिका–१ मा पर्दछ बाख्रा विकास फार्म। जनबोलीमा यसलाई बाख्रा फार्म भनिन्छ।
स्थानीय जातको भेडाको नश्ल सुधार र वर्णशंकर जातका पाठापाठी उत्पादन गर्न सरकारले वि.सं. २००१ मा भेडा विकास फार्मका रुपमा यसको स्थापना गरेको थियो। यसको क्षेत्रफल ३०५ रोपनी छ। केही वर्षअघि भेडा हटाएर बाख्रा फार्ममा रुपान्तरण गरिएको थियो। यहाँबाट उन्नत जाताका बाख्राका पाठापाठी बिक्रि गरिन्छ।
पुरानो इतिहास कायम राख्न हालै यहाँ फेरि भेडा पनि पालन गरिएको छ। साथै खरायो पनि। विशेषतः मनुसनमा घुम्दा हरिया पाखामा भेडाबाख्रा चरिरहेका दृश्य सुन्दर देखिन्छ।
इन्द्रसरोवर
इन्द्रसरोवर मानव निर्मित ताल हो। ७ किलोमिटर लामो र करिब २ किलोमिटर चौंडा इन्द्रसरोवरमा ८ करोड ५३ लाख घनमिटर पानी सञ्चितत हुन्छ। यहाँको पानीबाट कुलेखानी जलविद्युत् आयोजना सञ्चालित छ।
वि.सं. २०३४ मा बिजुली उत्पादन गर्न सरोवर बनाइएको थियो। खोलाहरूको पानी रोक्न बाँध बाँधेर ताल बनाइएको हो। यहाँको पानी सुरुङ मार्गबाट भिमफेदीको ढोडसिंहमा पुर् याई ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको कुलेखानी दोस्रो आयोजना चलाइएको छ।
तालमा डुङ्गा चढ्न पाइन्छ। किनारमा होटल तथा खाजा घर छन्। तालमा माछा उत्पादन गरिन्छ। चित्लाङबाट ८ किमीमा छ।
बज्रबाराही
चित्लाङ नजिकै प्रख्यात गाउँ कुन्छालको फेदिमा बज्रबाराही मन्दिर छ। बज्रबाराही शक्ति पिठ हुन्। मनोकांक्षा पुर्याइदिने बज्रबाराही देवीलाई जमिन र जंगलको प्रतीक मानिन्छ।
रोगव्याधी नलागोस् भनेर मन्दिरमा पूजा गरिन्छ। यहाँ हरेक तीन वर्षमा बुद्ध पूर्णिमाका दिन रथ यात्रा गरिन्छ भने हरेक १२ वर्षमा बध पूजा।
बज्रबाराही क्षेत्रमा गौखुरेश्वर, उन्मुक्तेश्वर र नन्दीकेशर महादेव मन्दिर पनि छन्।
चन्द्रागिरि भञ्ज्याङ
चन्द्रागिरि भञ्ज्याङ (२,२५० मिटर) प्राकृतिक भ्युटावर हो। काठमाडौंं र मकवानपुरको साँधमा रहेको भञ्ज्याङबाट चारैतिर दृश्यावलोकन गर्न सकिन्छ। पूर्वमा काठमाडौंं उपत्यका देखिन्छ भने उत्तरमा हिमालको लर्कन। त्यसैगरि पश्चिममा चित्लाङ उपत्यका र दक्षिणमा भालेश्वर महादेव छन्।
भञ्ज्याङमा चौबाटो छ। यहाँबाट ३ कि.मि. दक्षिण लागेमा भालेश्वर महादेव मन्दिर पुगिन्छ। पश्चिम ६ कि.मि.मा रमणीय चित्लाङ पर्दछ भने उत्तरतिर ५ कि.मि.मा तामाङ बस्ती तोप्लाङ।
केही समय अघिसम्म भञ्ज्याङमा पुरानो चैत्य थियो। सडक बिस्तार गर्दा त्यसलाई हटाइएको छ। भञ्ज्याङमा सानु भाइ जिम्बाको पुरानो खाजा पसल पनि छ।
किंवदन्तीअनुसार उहिल्यै महादेवले विष सेवन गरेपछि डाहा भएर भौतारिँदै यहाँ आइपुगेका थिए। यहाँ उनको त्रिशूल गाडिएनछ। ‘यहाँ त चण्डालको पो बास रहेछ’ भनेर महादेव गोसाइँकुण्ड गएछन्। चण्डालगिरि भन्दाभन्दै चन्द्रागिरि भन्न थालिएको रे ! गोदामदेखि भञ्ज्याङसम्मको दूरि ६ कि.मि.छ।
भालेश्वर
चित्लाङको शिरमा चन्द्रागिरि डाँडा (२,५५१ मिटर) छ। यहाँ बसेका भालेश्वरको दर्शनले मनकामना पुरा हुने जनविश्वास छ।
धार्मिक कथा श्रीस्वस्थानीकाअनुसार महादेवले सतिदेवीको मृत शरीर बोकेर हिँड्दा उनको भाल अर्थात निधार पतन भएकाले यहाँ भालेश्वर महादेव उत्पन्न भएको हो।
डाँडाबाट काठमाडौंं उपत्यका र मकवानपुरका बस्ती दर्शन गर्न सकिन्छ। यहाँबाट हिमालयको लामो लर्कन देखिन्छ। ऐतिहासिक हिसाबले हेर्ने हो भने राजा पृथ्वीनारायण शाहले भालेश्वर दर्शन गरि काठमाडौंं जित्ने कामना गरेका थिए। त्यसैले उनी सफल बनेको मानिन्छ ।
डाँडासम्मै चन्द्रागिरि भञ्ज्याङतिरबाट मोटर बाटो जोडिएको छ। त्यस्तै थानकोट पछाडिको गोदामबाट मन्दिरसम्म केवलकार सञ्चालित छ। यहाँ राजा पृथ्वीनारायणको सालिक, भ्युटावर, रेष्टुराँ, होटल र जिपलाइन पनि सञ्चालन गरिएको छ।
होमस्टे/होटल
चित्लाङमा पर्यटकीयस्तरका होटल, रिसोर्ट र होमस्टे सुविधा छ। चित्लाङ सामुदायिक होमस्टेका २२ घरमा पाहुना राखिन्छ। त्यसैगरि आधा दर्जन होटल तथा रिसोर्ट छन्। होमस्टेमा बास बस्ने गरि यात्रा योजना बनाउँदा पहिल्यै होमस्टे सञ्चालकलाई खबर गर्नुपर्छ।
सम्पर्कः
चित्लाङ सामुदायिक होमस्टे
राधाकृष्ण बस्नेत–९८०४३९१८८२
गुर्जुधारा होमस्टे
बुद्धरत्न मानन्धर–९८४५१४९३६२
कसरी पुग्ने?
काठमाडौंंको बल्खु, कलंकीहुँदै थानकोटको गोदामसम्म गाडीमा। गोदामबाटै हिँड्न सकिन्छ। गोदामबाट पानीघाट २ कि.मि. छ। त्यहाँसम्म गाडीमा गएर पदयात्रा गरे सजिलो हुन्छ। पानीघाटबाट ठाडो उकालो चढेर चन्द्रागिरि भञ्ज्याङहुँदै चित्लाङ पुग्ने।
चित्लाङबाट भन्ज्याङसम्म गएकै बाटो फर्कने। भन्ज्याङबाट मोटरबाटो हुँदै पानीघाटसम्म पदयात्रा गर्ने। पानीघाट–भञ्ज्याङ २ कि. मि. ठाडो उकालो। भञ्ज्याङबाट चित्लाङ ६ कि. मि.। जम्मा पदयात्रा दूरी १६ कि.मि.,समय ६ घण्टा। मोटर बाटो चित्लाङसम्मै जोडिएको छ। यो पदमार्गमा हाइकिङ, बाइकिङ र साइकलिङ गर्न सकिन्छ।
बक्स
गर्मीमा पदयात्रा गर्दा ध्यान दिनुपर्ने कुराहरूः
बाटो- चैत–वैशाखमा चर्को घाम लाग्ने हुँदा सकेसम्म धुलो नउड्ने जंगलको बाटो रोज्ने।
टोपी- निधार छोपिने टोपी अनिवार्य लगाउने। धुलो र धुवाँबाट बच्न सन ग्लास लगाउने।
लुगा- घामले नपोल्ने खालको सजिलो लुगा कटनको कपडा प्रयोग गर्ने। हिँड्न सजिलोे स्पोर्ट जुत्ता र पछाडी सजिलो व्याग बोक्ने।
पानी-
- गर्मीमा शरीरलाई बढी पानी चाहिन्छ। हिँड्दा पसिना निस्कन्छ। त्यसैले ३ लिटर पानी बोक्ने।
- पानीको कमिले रिंगटा लाग्ने, टाउको दुख्ने, पिँडुला फर्कने, बेहोस हुने हुन्छ। त्यसैले बेलाबेलामा पानी पिउँदै हिँड्ने।
- पानी हरेक आदा देखि १ घण्टाको फरकमा पिउने। पसिना निस्केको अनुपातले पिउने। तर एकै पटक भने धेरै पानी नपिउने। करिब २५० एमएलदेखि ३०० एमएल सम्म पिउने।
- कुनै पनि ठोस आहारसँग पानी नपिउने। ठोस आहार र पानीको अन्तर कम्तिमा आधा घण्टादेखि एक घण्टा पार्ने
खाना–
- मैदाजन्य खाना जंकफुड, चिल्लोमा तारे भुटेका, पिरो खाना नखाने।
- गर्मिमा अमिलो तितौरा, पिरो खानाले अम्लियता बढेर टाउको दुख्ने, वाकवाक लाग्ने, हिँड्न गाह्रो हुने हुन्छ। तर्सथ पदयात्रामा यस्ता खाना नखाने।
- स्वास्थ्यवर्द्धक आहार खाने। मौसमअनुसारका फलफुल बोकेर पदयात्रा गर्ने।
कसरी हिँड्ने
सुरुमै छिटोछिटो नहिँड्ने। सुरुमै छिटोछिटो हिँड्दा स्वास फुलेर अप्ठेरो हुन्छ। तर्सथ मध्यम गतिमा बिस्तारै हिँड्ने।
उकालो चढ्दा स्वास फुल्ने गरि मुख खुला राखेर नहिँड्ने। मुख खुला राखेर हिँड्दा मुटुमा अप्ठेरो हुन्छ। तसर्थ आफ्नो क्षमताअनुसार मात्र हिँड्ने। क्षमताअनुसार हिँडेमा मुख खुल्ला हुँदैन।
धेरै गाह्रो भएमा पानी पिउँदै आराम गर्दै हिँड्ने।
ओरालो झर्दा शरीरको भार घुँडामा पर्छ। त्यसैले बिस्तारै हिँड्ने। दौडने, कुद्ने गर्दा घुँडामा असर गर्छ।
शरीरको अबस्था
रूघाखोकी, ज्वरो वा अन्य समस्या छ भने नहिँड्ने। त्यसैगरि तौल बढी भएका, सुगर, प्रेसर वा मुटु सम्बन्धी समस्या भएकालाई हिँड्न अप्ठेरो हुन्छ। त्यसैले स्वास्थ्यको मापदण्ड ठिक राखेर मात्र हिँड्ने।
माक्स लगाउने। बाटोमा हल्ला गरेर नहिँड्ने।
एकले अर्कोलाई सहयोग गरेर हिँड्ने।
औषधि-
प्राथमिक उपचारका सामानहरू सिटामोल, व्याण्डेज, टेप, मुभ आदि बोक्ने।
कोशेली- पदयात्रा गन्तव्यका खानेकुरा वा सजाउने सामान किनेर कोसेली ल्याउने। यसले स्थानीयको उद्यमशीलता विकासमा टेवा पुग्छ।
प्रचार–आफू घुमेका ठाउँका तस्बिर, भिडियो र जानकारी सामाजिक सञ्जालमा पोष्ट गरेर ती ठाउँको प्रवद्र्धनमा टेवा पु¥याउने।
(प्रकृति प्रेमी समूहकी कोषाध्यक्ष रामदेवी महर्जन ‘हाइकिङ काठमाडौंं’ पुस्तककी लेखक हुन्।)