अहो! कति साना नानीहरू, डोकोभरी भारी बोकेर हिँडेका। सबै पदयात्रीका नजर ति सानी नानीहरुमा परे। गहुँगो भारीले होला शरीरको सन्तुलन मिलेको थिएन, लड्खडाउँदै हिडेका थिए।
शिवपुरी राष्ट्रिय निकुञ्जमा बिहान ११ बजे हामी पुग्दा उनीहरू भारी बोकेर फर्किंदै थिए। पछाडि उनीहरुकी आमा थिइन्। मैले तिनीहरुकी आमासँग अनुमति मागेर सबैभन्दा सानी नानीको तस्बिर खिचें।
‘तिम्रो नाम के हो नानु ?’
उनी लजाउँदै हातको औंला टोक्न थालिन्। केही बोलिनन्। भारीको बोझले होला, जिउको सन्तुलन नभएर लडिन्।
मैले आमासँग सोधें, ‘कति वर्ष पुगे यी नानीहरू?’
सानी ४ वर्ष र ठूली ७ वर्ष।
अनि, ‘स्कुल जान्छन्?’
जान्छन्। आज शनिबार भएकाले स्याउला लिन आएका–उनले भनिन्।
सबेरै उठेर जंगल आएका नानीहरू कति परिश्रमी। नानीहरूको मात्र होइन, गाउँले जीवन यस्तै हुन्छ। शारीरिक श्रम र स्वच्छ वातावरणले शरीर तन्दुरुस्त बन्छ। नानीहरूको शरीर पनि मिलेको थिया अनि हँसिलो मुहार।
मैले हाम्रा शहरका बालबालिकाहरु सम्झिएँ। हाम्रा शहरका बालबालिका भने अबेरसम्म ओच्छ्यानमै हुन्छन्। बालबालिकाको मात्र के कुरा गर्नु, प्रायः सबै ढिला सुत्छन् र ढिलै उठ्छन्। उठेपछि पनि ओछ्यानमै बसेर मोबाइल, टिभी तथा इन्टरनेट हेर्छन्। कसरत र हिँडडुल कम हुन्छ। दिनभर कोठामै समय बिताउँछन्। यसले शारीरिक अवस्था पनि नमिलेको, आवश्यकता भन्दा बढी तौल र अन्य समस्या हुन्छ।
वास्तवमा हामीले शरीरलाई जस्तो बनायौं त्यस्तै बन्छ। एउटा भनाइ छ ‘शरीर जति चलायमान रहयो उति स्वस्थ हुन्छ र मनलाई जति स्थिर राख्यो उति स्वस्थ्य।’
हेर्दा गाउँको जीवन कष्टकर भए पनि शारीरिक श्रम र वातावरण सफा हुनाले गाउँलेहरू स्वस्थ र बलिया हुन्छन्। जति शरीरको कसरत हुन्छ त्यत्तिकै शरीरको लचकता पनि बढ्छ, बलियो पनि हुन्छ।
त्यसैले बालबालिका हुन् या युवा, बृद्ध स्वस्थ रहन हरेक व्यक्तिले दैनिक कम्तिमा १ घण्टा शारीरिक व्यायाम वा हिँड्डुल गर्नुपर्छ। त्यसैगरी सके हप्तैपिच्छे, नसके कम्तिमा महिनाको एक पटक भए पनि स्वच्छ वातावरण भएका गाउँपाखामा पदयात्रा गर्नुपर्छ। हिँड्दा सम्पूर्ण शरीरको व्यायाम हुन्छ। स्वच्छ वातावरणमा सफा अक्सिजन मिल्छ। घामको सामिप्यता पाइन्छ।
बालबालिकाहरु प्रकृतिको काखमा पुग्दा रमाउँछन्, खेल्छन्, धेरै कुरा सिक्ने मौका पाउँछन्। जसले गर्दा शरीर स्वस्थ्य, स्फूर्त र बलियो हुन्छ भने मन पनि प्रफुल्लित बन्छ। अर्को कुरा, उनीहरूले गाउँको जनजीवन अनि देशको अवस्था पनि बुझ्ने मौका पाउँछन्।
यसका लागि विद्यालय वा कलेजबाट बालबालिकालाई महिनाको १ पटक भए पनि स्वस्थ वातावरण भएका ठाउँमा हाइकिङ गराउने व्यवस्था हुनुपर्छ। अभिभावकहरुले पनि शनिबारको दिन टिभी, फिल्म, इन्टरनेट चलाएर घरमा समय बिताउनुभन्दा नजिकैका गाउँघरमा पदयात्रा गराउनु उत्तम हुन्छ। पदयात्राले स्वस्थ र जाँगरिलो बनाउँछ।
यहीँ कुरा मध्यनजर गरेर प्रकृतिप्रेमी समूहले स्वस्थ पर्यटन प्रबर्दन गर्न विगत डेढ दशकदेखि पदयात्रा आयोजना गर्दै आएको छ। ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा, उचित आहार, विहार, विचार’ लाई मुल मन्त्र बाएर समूहले हरेक महिनाको चौथो शनिबार काठमाडौंका डाँडापाखामा पदयात्रा गराउँदै आएको छ।
हाम्रो समूहले १६२ औ नियमित पदयात्रा काठमाडौंको मणिचुड क्षेत्रमा गराएको थियो।
हामी कात्तिक २७ गते बिहान प्रकृतिप्रेमी, निरोगधाम सातदोबाटोमा जम्मा भएर २ वटा बसबाट पुरानो नेवार वस्ती साँखुहुँदै बज्रयोगिनी मन्दिरको फेदीसम्म पुग्यौं। त्यहाँ केहीबेर पदयात्रा गन्तव्य र पदयात्रा नियमबारे जानकारी गराएपछि पदयात्रा सुरु भयो।
कोरोना कहरका कारण मानिसको मनमा डर छँदैछ। तै पनि हामीले नित्यकर्म जारी राख्नुपर्छ। त्यसैले हामीले पनि पदयात्रा गर्यौं।
हाम्रो पदयात्रा गन्तव्य थियो बज्रयोगिनी मन्दिरबाट मणिचुड पुगेर सुन्दरीजलहुँदै मेलम्ची गेटसम्म पुग्ने। सबैको शिरमा निलो टोपी अनि स्वास्थ्यको मूल मन्त्र ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ गुन्जाउँदै अगाडि बढे।
सांस्कृतिक सहर साँखु
साँखुलाई त हामीले गाडीबाटै देख्यौं। शंखरापुर नामले चिनिने साँखु गुचुमुच्च परेको वस्ती हो। साँखु काठमाडौं उपत्यकाको सबैभन्दा प्राचीन नेवार वस्ती।
संस्कृतिविद् प्रकाशमान श्रेष्ठकाअनुसार ३३२२ वर्ष अगाडि नै साँखुमा बस्ती बसेको थियो। त्यतिबेला बज्रयोगिनी मन्दिरका पूजारी जोगदेव बज्राचार्यले शंख आकारमा बस्ती बसालेका। त्यहीँ भएर साँखुलाई ‘शंखरापुर’ पनि भनिन्छ।
साँखुमा ८ टोल, ८ विहार, ८ अष्टविनायक, अष्ट भैरव र अष्टमातृका छन्। साथै स्वस्थानी मेला लाग्ने साली नदि पनि छ। वस्तीमा ९ द्वार रहेकामा ५ वटा बाँकी छन्। ढोकाको बेग्लाबेग्लै बिशेषता छन्। एउटा ढोका छोरी विदाई गर्ने, अर्कोबाट दुलही भित्र्याउने। एउटाबाट मूर्दा बाहिर लाने, अर्कोबाट देवता भित्र्याउने र पाँचौं ढोकाबाट स्वस्थानी मेलामा माधवनारायण आवतजावत गराउने।
बस्तीमा कलात्मक मन्दिर छन्। देवतैदेवताको सहर हो साँखु। साँखु बजारमुन्तिर शाली नदी छ। त्यसको किनारमा महादेव, स्वस्थानी, गणेश, नागनागिनी, हनुमान, बद्रीनाथ, वासुकी आदिका मूर्ति छन्।
हिन्दू शास्त्रअनुसार विष्णुले पार्वतीलाई स्वस्थानी माताको व्रत बस्ने विधि सिकाए। पार्वतीले नदी किनारमा व्रत बसेर महादेव स्वामी पाइन्। त्यसैले शाली नदी क्षेत्रमा माधवनारायणको प्रतिमा साक्षी राखी व्रत बसिन्छ। ब्रत १ महिनासम्म चल्छ।
साँखुमा केही होटल, नेवारी खाजा घर र रेष्टुराँ छन्। उर्वरा जमिन भएकाले कृषिमा निर्भर छन् साँखुबासी। धान, गहुुँ, आलु राम्रो उत्पादन हुन्छ।
साँखु तिब्बत जाने प्रबेशद्वार पनि हो। पहिलापहिला ल्हासा जानेहरू यतैबाट ओहोरदोहोर गर्थे। भृकुटीको बज्रयोगिनीमा स्वयम्बर गराएर तिब्बत हुँदै भोट लगेकाले त्यहीँ बेलादेखि तिब्बत ल्हासा व्यापार चलेको हो।
बज्रयोगिनी
साँखु वस्तीबाट करिब २ किमि दूरिमा छ बज्रयोगिनी मन्दिर। जंगल बीचमा ढुङ्गा ओछ्याइएको ठाडो उकालो चढेपछि पुगिन्छ पवित्र धार्मिक तिर्थस्थल।
मन्दिर पुग्नु अगाडि बाटोको दायाँ बायाँ ढुङगे धारा छन्। त्यहाँ बाँदरको झुण्डहरू देख्न सकिन्छ। भुइँचालोपछि बज्रयोगिनी पुनः निर्माण गरिएको छ। वरपरका अरू मन्दिर पनि पुननिर्माण हुँदैछन्।
मन्दिरबाट साँखुको पुरा दृश्य देखिन्छ। १६ औं शताब्दीमा राजा प्रताप मल्लले बनाएको बज्रयोगिनी मन्दिर हिन्दू र बौद्ध धर्मावलम्वीको साझा तीर्थ हो। तीन तले मन्दिरको प्रबेशद्वार अगाडि सिंहका मूर्ति छन्। नजिकै ठूलो घन्ट छ। मन्दिर पछाडि धारा छन्। मन्दिर परिसरमा देवदेवीका प्राचीन मूर्ति छन्।
आगोको रश्मीबाट उत्पन्न भएको हुनाले बज्रयोगिनीलाई उग्रताराको रुपमा पनि पुजिन्छ। मन्दिर मास्तिर जात्रा हुँदा बज्रयोगिनी राख्ने घर छ। चैत्र पूर्णिमादेखि एक साता बज्रयोगिनी जात्रा मनाइन्छ। जात्रा ३३ सय वर्ष पुरानो मानिन्छ।
बज्रयोगिनीलाई नेवार समुदायको इष्टदेवता समेत मानिन्छ।
स्कुस गाउँ
बज्रयोगिनीबाट जंगलको ठाडो उकालो चढ्ने। हरियो जंगल, दायाँबायाँ हरिया रूखहरू बिचमा बाटो, सेतो स्तुपा अनि रंगीन लुंडार झन्डाहरु फरफराउँदै गरेको दृष्य हेर्दै हिड्न सकिन्छ। करिब ४५ मिनेट हिँडेपछि पुगिन्छ तामाङ बस्ती जसलाई घुमारेचोक भनिन्छ।
वर्षैभरि स्कुस खेती हुने भएकाले यसलाई स्कुस गाउँ पनि भनिन्छ। सफा बस्ती। घरहरूको टुँडालमा मिलाएर मकैका घोगा झुण्डाइएको देख्न सकिन्छ। यहाँ मौसमअनुसार काँक्रो, साग, स्कुस तरकारीहरू कोसेली किन्न सकिन्छ।
वनदेवी स्कुल
तामाङ वस्तीबाट मोटरेबल उकालो लागेपछि छुट्टै वातावरण अनुभव हुन्छ। निलो सफा आकाश मुनि साँखु बस्ती र उपत्यकाको दृश्यावलोकन गर्दै हिँड्न सकिन्छ। गाउँबाट करिब १ घण्टा हिँडेपछि पुगिन्छ वनदेवी स्कुल।
वनदेवी स्कुल नजिकै शिवपुरी निकुञ्ज कार्यालय छ। पहिला भित्र छिर्न यहाँ टिकट काट्नुपथ्र्यो। अचेल तल सुन्दरीजलमा टिकट लिनुपर्छ।
वनदेवी स्कुलबाट अगाडि २ बाटा छन्। सिधा बाटो लागे सुन्दरीजल पुगिन्छ। दायाँ जङ्गल उकालो लाग्ने। जंगलको बिच बाटोमा ढुङ्गा ओछ्याइएको उकालो चढेपछि ३० मिनेटमा चौर पुगिन्छ।
शान्त छ चौर। त्यहाँ बसेर खाजा खान सकिन्छ। डाँडामा खाजा पसल छैनन्। आफैंले खाना बोक्नुपर्छ। चौरबाट भित्र हिँडे पुगिन्छ पवित्र तिर्थ मणिचुड।
मणिचुड
चारैतिर डाँडाले घेरिएको खुल्ला आकाश मुनि चिटिक्क परेको दह। दह नजिकै चैत्य। चैत्यको बायाँ शिव–पार्वती मन्दिर। दायाँ शिवलिंग। शिवलिंग नजिक नन्दीको प्रतिमा। अनि बस्न सानो पाटी। दहको पश्चिममा बुद्धले आफ्नो मासु काटेर खुवाएको मूर्ति छ। यसैलाई मणिचुड दह भनिन्छ।
मणिचुड राजाले राज्य चलाएको स्थान भएकाले यस ठाउँको नाउँ मणिचुड रहन गएको भनाई छ। प्राचीन धार्मिकस्थल मणिचुडमा जनै पूर्णिमाका दिन मेला लाग्छ। मणिचुड (२,२०० मिटर) बाट उत्तरमा हिमालको सुन्दर रुप देखिन्छ। वरपर हरिया डाँडा पनि ।
मणिचुड भएको ठाउँलाई पौराणिक भाषामा ‘मृगेन्द्र पर्वत’ भनिन्छ। शंखचुर अर्थात शिवपुरी डाँडा पनि भनिन्छ। यसको पूर्वमा लप्सेफेदी, नाङलेभारे पर्छन्। ६४ शिवलिंग मध्ये कागेश्वर, मणिचुडेश्वर, योगेश्वर र नारायणेश्वर यहीँ डाँडामा पर्छन्।
मणिचुड दह कमण्डलु आकारको छ। किंवदन्तिअनुसार हाल दह भएको ठाउँमा बज्रयोगिनी खेल्न आउँथिन्। एक दिन खेल्दाखेल्दै उनको कमण्डलु खसेकाले त्यहाँ दह उत्पत्ति भयो। कमण्डलु खसेकाले दह कमण्डलु आकारको भएको भनाई छ। पछि त्यहाँ मन्दिर र चैत्य बनाइयो।
हामीले मणिचुड चौरमा बसेर स्वास्थ्यवर्द्धधक ३ बराबर आहार खायौं। जसमा एक भाग अन्न च्यूरा, दुई थरी हरियो तरकारी, साँधेको आलु, चना र सलादस्वरुप स्याउ खायौँ।
हिँड्दा स्वास्थ्य लाभ हुन्छ भन्ने ज्ञान सबैमा भएको छ। त्यसैले अचेल हाइकिङ संस्कृति बढेको छ। कोही साथीहरूसँग समूह बनाएर हिँड्ने गर्छन् भने कोही परिवारसँग। तर स्वास्थ्यका लागि गरिने पदयात्रामा जानेर वा नजानेर मनपरी खाएर हिँडेको पाइन्छ। जसकारण जति स्वास्थ्य लाभ हुनुपर्ने हो त्यति भएको पाइँदैन।
कोही तौल घटाउन हिँडेका हुन्छन् भने कोही अरु समस्याबाट मुक्त हुन्। जुनसुकै उद्देश्ले हिँडे पनि खाने खाना भने स्वास्थ्यबर्धक हुनैपर्छ। तसर्थ पदयात्रा गर्दा केही कुरामा ध्यान दिनुपर्छः
- हिँड्दा शरीरबाट पसिना निस्कन्छ तसर्थ उचित तरिकाले पानी पिउनुपर्छ। करिब २-३ लिटर पानी बोक्ने।
- प्रति घण्टा २५०-३०० मिलिलिटरका दरले पानी पिउने।
- नास्तामा मौसम अनुकूलका फलहरू स्याउ, अङ्गुर, सुन्तला आदि बोक्ने।
- खानामा सकेसम्म स्वास्थ्यबर्धक आहारहरू जस्तै भात, डिँढो, चिउरा, मकै आदि प्रयोग गर्ने।
- खानासँग प्रशस्त हरिया तरकारी लिने।
- अन्त्यमा सलाद (फल वर्गहरू) लिने।
यसरी उचित तरिकाले खाएमा हिँडेको उद्देश्य पनि पुरा हुन्छ भने स्वास्थ्य लाभ पनि। हाम्रो पदयात्रामा स्वास्थ्यबर्धक आहार खुवाउँछौं। खान्छौं। हाम्रोमा जंकफुड, मदिरा र मैदाजन्य पदार्थहरू प्रतिबन्धित हुन्छ।
हामीले खाजापछि मणिचुड दहलाई फन्को मारेर फोटो खिच्यौं। अनि केहीबेर स्वास्थ्य सम्बन्धी अन्तरक्रिया र नाचगान गरी फर्कियौं।
फर्कने बेलामा हामी मणिचुडबाट निकुञ्जको मोटरेबल तेर्सो ओरालो बाटो झर्यौ। बाटोमा झरनाको कलकल आवाज सुन्दै सुन्दरीजल ड्याम हुँदै मेलम्ची गेटसम्म हिँड्यौं। मणिचुडबाट गएकै बाटो साँखुसम्म पदयात्रा गर्न पनि सकिन्छ। यसरी पदयात्रा गर्दा पदयात्रा दूरी १२ किमी हुन्छ।
यस पदयात्राका प्रायः पदमार्ग निकुञ्ज क्षेत्रमा पर्दछ। तसर्थ चर्काे आवाज ननिकाल्ने, बोटबिरूवा नटिप्ने र जनावरलाई नजिस्काउने।
हाम्रो पदयात्रामा १० वर्षका बालकदेखि ७७ वर्षसम्मका पदयात्री थिए। मध्यम गतिमा पदयात्रा गराइने भएकाले सबै उमेर समूह हाम्रो पदयात्रामा सहभागी हुन सक्छन्।
हाइकिङ मात्र होइन, साइक्लिङका लागि पनि मणिचुड उपयुक्त छ। साँखुबाट साइक्लिङ सुरु गरेर मणिचुड भएर सुन्दरीजलमा अन्त्य गर्न सकिन्छ।
मणिचुडबाट धेरैतिर पदयात्रा गर्न सकिन्छ। पानी मुहान, गुर्जे भञ्ज्याङ, बिष्णुद्वार, बाघद्वार, नागी गुम्बा, शिवपुरी पिक, चिसोपानी, भोटेचौरलगायत ठाउँ पुग्न सकिन्छ।
हामी त पुग्यौ पवित्र तीर्थस्थल मणिचुड। तपाईंहरू पनि जाने होइन त ? अहिले चिसो मौसम छ, पारिलो घाम ताप्दै जंगलको सफा हावाले फोक्सोको व्यायाम गर्ने कि ? सुन्तला हाइकिङ गर्ने कि?
पदमार्गका विशेषताहरू
- सफा निलो आकाश
- पुरानो नेवार बस्ती साँखु
- पवित्र तीर्थस्थलहरू बज्रयोगिनी, मणिचुङ दह
- तामाङ बस्ती (स्कुस गाउँ)
- निकुञ्ज क्षेत्र
- काठमाडौं र साँखु वस्तीको दृश्यावलोकन
- सुन्दरीजल झरना र पानीको कलकल आवाज
- जंगलमा फागुन–चैतमा वनैभरी गुराँस फुल्छ। कात्तिकदेखि माघसम्म हिमाल खुल्छ। त्यहाँको चौरमा क्याम्पिङ गर्न सकिन्छ। त्यसका लागि निकुञ्जसँग अनुमति लिनुपर्छ।
कसरी पुग्ने:
काठमाडौं–साँखु १८ किमि गाडिमा एक घन्टा। साँखुबाट बज्रयोगिनी बसपार्कसम्म गाडीमा।
बज्रयोगिनी बसपार्कबाट बज्रयोगिनी मन्दिर तामाङ वस्ती, घुमारेचौर, वनदेवी विद्यालय हुदै मणिचुड। त्यहाँबाट सुन्दरीजल मेलम्ची गेटसम्म पदयात्रा।
बज्रयोगिनी बसपार्क–बज्रयोगिनी मन्दिर १ किमी, बज्रयोगिनी मन्दिर–मणिचुड ५ किमी ठाडो उकालो, मणिचुड–मेलम्ची गेट १० किमी तेस्रो ओरालो। जम्मा पदयात्रा दूरी १६ कि.मी.। पदयात्रा समय करिब ६ घण्टा।
(उचित आहार, विहार र विचार प्रशिक्षक रामदेवी महर्जन ‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक हुन्।)